घरबाट टाढा हुँदा घरको याद आउनु त अन्तर्निहित नै हो। सायद आफ्नो घरमा बस्दाको अभूतपूर्व सहजताको लोभ होला, चाहे त्यो आफ्नो स्वादअनुसारको खाना होस् या आफ्नो कम्मरलाई बानी परेको ओछ्यान।
बिहान सबेरै उठेर तयार भई काममा निस्कनुअघि सामान मिलाउँछु अनि आफ्नो कोठामा चाबी लगाउँछु। मनमनै आफ्नै सुरमा गुनगुनाउँदै म सिँढीबाट ओर्लन्छु। तर घरबेटी दिदीको तलामा पुग्ने बित्तिकै म आफैँ शान्त हुन्छु र सभ्य तरिकाले चुपचाप हिँड्छु।
त्यतिखेर मलाई झसङ्ग हुन्छ। ए यो त भाडाको घर पो हो, आफ्नै घर त होइन! आफ्नै घर भएको भए त म गीत गाउँदै, सबै परिवारसँग कुरा गर्दै काममा निस्कन्थेँ नि।
मनमा यस्तै कुरा खेलिरहँदा मेरो आँखा ठ्याक्कै एउटी पाँच वर्षकी नानीमा पर्छ। ऊ आमाको औँला समातेर कतै जाँदै छे र हातमा एउटा चकलेट छ। एकैछिनमा उसले आमालाई पनि चकलेट खाने हो भनेर इसाराले सोध्छे। आमा मुसुक्क हाँसेर हुन्छ' भन्छिन्।
यति देख्दा मनै प्रफुल्लित हुन्छ। आहा! कति पवित्र र रमणीय उमेर अनि आमाप्रतिको निस्वार्थ प्रेम।
हिँड्दै गर्दा बाटोमा विद्यालयका विद्यार्थीहरू भेट्छु। स्कुल सडकको अर्को किनारमा छ र एक जना बुवा दुई सन्तानसहित बाटो काट्दै हुनुहुन्छ। सानो छोरा अन्दाजी ६ वर्षको र ठुलो छोरा करिब १२-१३ वर्षको देखिन्छ। ठुला ठुला टिपरहरू हुइँकिरहेका छन्, सायद त्यसैले गर्दा बुवा डरले दुवैको हात समात्न खोजिरहनु भएको छ। सानो छोराले चाहिँ बुवाको हात दह्रिलो गरी समातेको छ तर ठुलो छोरा भने निकै अप्ठ्यारो मान्दै हात समातेकोमा लाज महसुस गरिरहेको छ।
सडकपारि हेर्दा स्कुलबाहिर उनका साथीहरू आपसमा कानेखुसी गर्दै उसलाई हेरेर हाँसिरहेका थिए। यस्तो देखेर अचम्म लाग्यो, एकातिर सानो छोरा बुवाको हात समातेर ढुक्क महसुस गरिरहेको छ भने अर्कोतिर किशोर छोरालाई त्यही बुवाको हात समात्न लाजले भुतुक्कै परेको छ!
अफिस पुगेर काम गरिरहँदा एक जना बुवा एक्लै आउनु भएको थियो। मेरा सहकर्मीले जति सम्झाए पनि उहाँले कुरा बुझिरहनु भएको थिएन। सहकर्मीले उहाँलाई फेरि पनि बुझाउँदै हुनुहुन्थ्यो, ‘हप्तामा तीन पटक आइसक्नु भयो, अस्ति त छोराछोरी कसैलाई ल्याउनुहोस् भनेको, तैपनि आज फेरि एक्लै आउनुभयो!’
बुवाले आँखाभरि आँसु पारेर भन्नुभयो, ‘कोही छैन साथी आइदिने। छोरा-बुहारी सहरमा छन्, दसैँमा पनि फर्केर हेर्दैनन्। छोरीको बिहे गरेर अर्कै गाउँमा। हामीलाई कसले हेरिदिने ?’
त्यति नै बेला ती बुवा जानुभयो र हाम्रा सिनियर दाइ आउनुभयो। उहाँको बुवा अस्ति बिरामी भएर सहरको अस्पतालमा राख्नुभएको रहेछ। अहिले केही सुधार भएर घरमा राखिएको रहेछ।
दाइ भन्दै हुनुहुन्थ्यो, ‘निकै दुःख पाउनुभयो बुवाले। त्यस्तो हिँड्ने मान्छे, अहिले शौचालय जान पनि अरूको सहारा चाहिन्छ। पहिले बस् एकछिन गफ गरौँ भन्दा म व्यस्त छु, काम छ भनेर हिँड्थेँ। अहिले बुवाले बोल्नुभयो भने कति कुरा गर्थेँ जस्तो लाग्छ। तर बुवा राम्ररी केही बोल्न सक्नुहुन्न। मलाई त साह्रै दिक्क लागिरहेको छ। कहिले घर जाऊँ र बुवासँग समय बिताऊँ जस्तो भएको छ।’
मनमा चिसो पस्यो र आँखा रसाए। आजको दिन साँच्चै गजबको रह्यो। बिहान चकलेट खाँदै गरेकी नानीदेखि, ती दाजुभाइ अनि वृद्ध र अन्तमा ती वरिष्ठ दाइसम्म— सबैको जिन्दगी दिनभरि आँखाअगाडि आएजस्तो भयो। साँच्चै, कतिपय मान्छेलाई सानो छँदा बुबाआमा नै संसार लाग्ने। तर ठुलो हुँदै गएपछि बुबाआमासँग माया देखाउन लाज लाग्ने। कमाउन थालेपछि त बुबाआमा नै बोझजस्तो लाग्ने। फेरि उमेर ढल्किँदै गएपछि बाबुआमाको महत्त्व बुझिने- त्यही बच्चामा लाग्नेजस्तै माया, पुरानो बेलाजस्तै घरमा सँगै बसेर समय बिताउने र आफूलाई संसारमा सबैभन्दा निस्वार्थ माया गर्ने मान्छेहरूसँग समय बिताउन पाउने इच्छा लाग्ने रहेछ।
समय चक्रको गहिरो भाव बुझ्दै जाँदा, यो स्वार्थी संसारमा निस्वार्थ माया गर्ने र सधैँ हाम्रो भलो चिताउने बुबाआमा नै सबैभन्दा महत्त्वपूर्ण हुनुहुँदो रहेछ भन्ने सत्य स्पष्ट हुन्छ। यही नै जीवनको परम सत्य रहेछ। आज यो भाव बुझ्दाबुझ्दै बिहानदेखिको घरको यादले मन अझै भावुक बनायो!