लामो कलाकारिताको यात्रामा मैले देश र विदेशका कैयौँ ठाउँहरू घुमेको छु। कति संसारभरि परिचित छन् भने कति केही मानिसहरूमाझ मात्रै परिचित छन्। असाध्यै राम्रो हुँदाहुँदै पनि राम्रो लागेको ठाउँ, सोलुखुम्बुको गौरी टाप हो भन्ने लागेको छ।
गौरी टाप विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल हेर्न पाइने ठाउँ रहेछ।
हामी यहाँ आउँदा हल्का बादल लागेको थियो। गौरी टापको डाँडामा अघिल्लो रात टेन्ट क्याम्पिङ गर्दा निकै रमाइलो भयो। एड्भेञ्चर यात्रामा जाँदा हाम्रो सोच पनि त्यहीअनुसारको हुनुपर्छ भन्ने लाग्छ। हामी काठमाडौंबाट हिँड्दा गर्मीले सताएको थियो। चर्कंदो गर्मीमा गौरीटापको उकालो लाग्दा डाँडामा पनि हल्काफुल्का गर्मी हुन्छ कि भन्ने लागेको थियो। तर यहाँ आइपुग्दा त यहाँको वातावरण निकै फरक भएको पाएँ। यहाँ त सोचेभन्दा बढी चिसो रहेछ।
यो ठाउँ नजिकबाट सगरमाथा लगायतका हिमाल हेर्न चाहनेका लागि उपयुक्त गन्तव्य रहेछ। सगरमाथा हेर्न एभरेष्ट बेसक्याम्प, गोरकसेप र कालापत्थर पुग्न नसक्नेका लागि यो ठाउँ बनेको हो जस्तो लाग्यो।
गौरी टाप सोलुखुम्बुको नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सिमानामा पर्ने यो ठाउँ समुन्द्री सतहदेखि करिब तीन हजार मिटरको उचाइमा अवस्थित छ। रमाइलो कुरा यहाँ चारपांग्रे सवारीमै सजिलै पुग्न सकिने रहेछ। मलाई काठमाडौंबाट विद्युतीय सवारीमा यहाँसम्म आउन सकिन्न कि भन्ने लागेको थियो। तर सहजै आउने वातावरण बन्यो।
गौरी टापबाट सगरमाथा, ल्होत्से, मकालु, कञ्चनजंघा, कुम्भकर्ण, गौरीशंकरलगायत थुप्रै हिमशृंखलाहरूको दृश्य एकैपटक खुला आकाशमुनि देख्न सकिने रहेछ। यति नजिकबाट, यति स्वच्छ दृश्य, कुनै विशेष पर्वतारोहण तालिम बिना, कुनै जटिल पदयात्रा विना, बस सवारी चढेर यस्तो दृश्य हेर्न सकिन्छ भन्ने सोचेको थिइनँ। खासगरी एड्भेञ्चर रूचाउने युवाका लागि टेन्ट क्याम्पिङका लागि यो ठाउँ विशेष रहेछ।
प्राकृतिक सौन्दर्य त छँदैछ, तर गौरीटापको धार्मिक पक्ष पनि गहिरो छ। यहाँ गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, र शिव पञ्चायन मन्दिर छन्। ती मन्दिरहरू न केवल पूजा–आराधनाको स्थान हुन्, तर शान्त वातावरणमा बसेर आत्मा विश्राम दिने स्थान पनि हुन्। यहाँको वातावरण, मौनता र आस्थाले मानौं जीवनलाई केही बेरको शान्तिमा बाँधिदिन्छ। यहाँको जंगलमा लालीगुँरासको घना घारी छ। यति धेरै प्रजातिका गुँरास एउटै ठाउँमा देख्न पाउनु पनि भाग्यको कुरा हो।
गौरी टापसम्म यात्रा गर्ने अवसर स्पार्क कारले आयोजना गरेको स्पार्क एड्भेञ्चरका कारण सम्भव भएको हो।
स्पार्क एड्भेञ्चरको पहिलो संस्करणमा म लमजुङको भुजुङमा पनि सहभागी भएको थिएँ, र त्यसको अनुभव निकै सकारात्मक थियो। दोस्रो संस्करण शैलुङमा हुँदा म विदेशमा भएकाले जान पाइनँ। तर यसपटकको ‘गेट वे टु एभरेष्ट’ संस्करणको अनुभव झन् गहिरो रह्यो ।
टेन्ट क्याम्पिङ, हिमालको साक्षात्कार, स्थानीय स्वाद, साथीहरूसँगको रमाइलो—यी सबैले यो यात्रा जीवनभर सम्झनलायक बनायो। गौरीटाप एक सम्भावना मात्र होइन, एक अनुभव हो। सगरमाथासँग आँखाको संवाद गर्न पाइने, गुँरासको जंगलसँग हराउन पाइने, हिमाली शीतलतामा टेन्टभित्र रमाउन पाइने अनि आफ्नै देशको सौन्दर्य फेरि एकपटक चिन्ने अवसर हो यो।
(स्पार्क कारले आयोजना गरेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा सहभागी भएपछि अभिनेता हमालसँग गरिएको कुराकानीको सम्पादित अंश।)