२०४० सालअघिको कुरा हो, हामी आफ्नो घरमा ताल्चा ठोकेर चौपायाहरू लगेर चार किलोमिटर उत्तरमा रहेको देउखुरी खेतको फाँटमा जान्थ्यौँ र खेतका गराहरूमा लहरै किलोहरू ठोकेर ती चौपायाहरू बाँध्थ्यौँ। अस्थायी छाप्रो बनाएर त्यसै छाप्रोमुनि परालमाथि काम्लो ओछ्याएर राति त्यसैमा सुत्थ्यौँ।
देउखुरी दाङको एक अर्को उपत्यकाको नाम पनि हो भने मेरो जन्मथलो रोल्पाको खुंग्रीमा खेतको फाँट छ, त्यसलाई पनि देउखुरी नै भनिन्छ। त्यसलाई धेरैले दिखुरी पनि भन्ने गर्छन्। हाम्रो खेत वल्लो देउखुरीमा थियो भने कतिपयका खेतहरू पल्लो देउखुरीमा थिए र छन्।
साबिक खुंग्री गाविसमा पर्ने हिलेमा जाँदा देउखुरीबाट अर्चले हुँदै उकालो चढ्दै निस्कनुपर्छ। त्यहाँ गिरी, पुरीहरूको बस्ती नै छ। हिले नामको ठाउँ काँक्रो, बोडी, सिमी र भटमासका लागि प्रसिद्ध छ भने केरा पनि प्रशस्त फल्ने ठाउँ हो हिले।
काम पर्दा हामीलाई गोगनपानी भएर लिबाङ जानुपर्थ्यो। कुनै बखतसम्म झोरा, खुंग्रीकोट हुँदै तिमीले, भालजम्, आशेओडार, टोड्के र लाहालेक भएर सातदोबाटो पुगेपछि सदरमुकाम लिबाङका लागि ओरालो झर्नुपर्थ्यो। अहिले भने सार्वजनिक यातायातको सुविधा छ। त्यहीँ गोगनपानीबाट पनि देखिन्छ रमणीय ठाउँ- हिले।
पहिले पहिले गाउँमा बग्ने कुलोको पानी पिउनयोग्य ठानिन्थ्यो भने अहिले कुलोमा बोतल, प्लास्टिक, थोत्रा लुगा, थोत्रा जुत्ता-चप्पल भेटिन्छन् र त्यस्तो दृश्य देखिनु दुःखद मानिन्छ। हामी पौडी खेल्ने लुंग्री नदी उहिले अर्थात् २०५० सालअघि सफा अनि कञ्चन थियो। हामी निर्धक्कसँग लुंग्रीको पानी अञ्जुलीबाट पिउने गर्थ्यौँ।
लुंग्रीमा पौडिने, घोप्टो र लम्पसार परेर तातो बालुवा ताप्ने र बगरमा रहेका ठुला-ठुला ढुंगा पनि ताप्ने गर्थ्यौँ। चैतको आधाआधीदेखि असारको मध्यसम्म हामी दैनिक रूपमा त्यही नदीमा पौडिएर रमाउँथ्यौँ। पानीमै विभिन्न खेल खुल्थ्यौँ भने बगरको बालुवामा सियो-धागो खेल पनि खेल्थ्यौँ। ओगिल्जा नामको घाँसे मैदानमा गाई गोरुहरू चरिरहेका हुन्थे भने हामी आँपका बगैँचामुनि शीतलमा घोडेपासा, बाघचाल, डण्डीबियो र कपर्दी खेल्थ्यौँ। बेलुका घाम डुब्ने बेला गाई गोरु घाँसले अघाएर आफै घरतर्फ लाग्थे।
जेठ-असारमा पाक्ने चिउरीका गेडा अर्थात् बिजौला जाबीमा राखेर चौपायाको पछि-पछि लौरोसहित घरतर्फ लाग्थ्यौँ। लुंग्रीको छालतिर रहेका च्याप्टा ढुंगामुनि साना खालका माछा बस्ने हुँदा त्यसै ढुंगामाथि अर्को ढुंगाले हिर्काउँदा च्याप्टो ढुंगामुनि बसेका माछा मर्थे। त्यसरी माछा मार्ने कामलाई ‘पत्थरचट्वा’ भनिन्छ।
हामी ओगिल्जा बाँझोमै आगो बालेर माछा पोलेर पनि खान्थ्यौँ। कसै कसैले ‘सिन्की रङाउनुपर्छ’ भनेर माछा घरतिर लैजान्थे। माछाको झोलमा सिन्की मिसाउँदा बेलुकीको भोजन स्वादिष्ट नै हुन्थ्यो। थोरै माछा भएमा कसैले ‘चटनी खान पुग्छ’ भन्थे भने धेरै माछा भएमा पकाएर वा फ्राई गरेर खानासँग खाने चलन थियो। माछा मार्न दुवाली थुन्ने, जाल फ्याँक्ने, बल्छी खेल्ने र बर्कोमा समेत माछाका भुराहरू थाप्ने गर्थ्यौँ। माछा समाउनका लागि घर्वा थाप्ने र भुप थाप्ने चलन अहिले पनि छ।
साँझपख देउखुरीबाट घर फर्कने क्रममा रात परेपछि लुंग्रीपारि हेसु भन्ने ठाउँभन्दा दक्षिणतिर र बाहेखोलाबाट उत्तरतर्फ रहेको बाझोमा ज्यालदाना देखिन्थे। अँध्यारोमा देखिने यस्ता दृश्यले हामी डराई डराई घर फर्कन्थ्यौँ। एकै ठाउँ भएको आगो दुई भाग बन्ने र चार भाग बन्ने र फेरि एकै ठाउँमा बल्ने ती दृश्यलाई हाम्रो भेगतिर ‘ज्यालदाना’ भनिन्छ। अहिलेसम्म ‘त्यो के हो त?’ भनेर बुझ्न सकिएको छैन।
सानो कुलो र ठुलो कुलो
देउखुरी फाँटका धान खेतमा सिँचाइ गर्न माथि तिरबाट बग्ने ठुलो कुलो थियो भने तल र पूर्वपट्टिका गराहरू सिँचाइ गर्न सानो कुलोको सहारा लिइन्थ्यो। सिरानबाट बग्ने ठुलो कुलोभन्दा एक किलोमिटर माथि बग्ने कुलोमा चाहिँ खुंग्रीको धनचौर, धारापानी, खुंग्रीचौर र लाल्टीबाङमा सिँचाइका लागि पानी बग्थ्यो भने ठुलो कुलोले देउखुरी फाँट, डोरको फाँट, गोधुङको फाँट, बाह्रमुरेको फाँट र सेराको फाँटका खेतहरूमा सिँचाइ गरिन्थ्यो।
भिर हुँदै बग्ने सानो कुलोबाट मेरो आँखै अगाडि गाई-गोरु हाम फालेपछि
एक दिन गाई-गोरु कता गए त भनेर म खोजी गर्न देउखुरी खोलाको बगरै बगर पश्चिमतिर जाँदै थिएँ, आफ्ना गाई गोरु त देखिएनन्। तर सानो कुलै कुलो भएर चार वटा गाई-गोरु उत्तर-पश्चिमतर्फ लाग्दै थिए। कुनै जमानामा भिर खोपेर बनाइएको कुलो थियो त्यो सानो कुलो। गाई-गोरुहरू अगाडि बढ्दै थिए, मैले तल बगरबाट हेरिरहेको थिएँ।
कुलोलाई ठुलो खालको एक च्याप्टो ढुंगाले ढाकेको देखेँ, त्यसै ढुंगा मुनिबाट कुलो बगेको थियो। ‘त्यो च्याप्टो र ठुलो ढुंगा कसरी पार गर्लान् गाई गोरु आज? भिरबाट खस्ने भए’ भन्ने मैले अन्दाज गरिसकेको थिएँ। जब एउटा गाई त्यो ठुलो च्याप्टो ढुंगानिर आएर रोकियो। अप्ठ्यारो ठाउँ भएकोले त्यो ढुंगा माथिबाट गाई पार गर्ने अवस्था थिएन।
अगाडिको गाई रोकियो, पछाडिको दोस्रो गाई पनि पहिलो गाईको पछाडि रोकियो, यस्तै तेस्रो र चौथो पनि त्यस्तै गरेर क्रमशः उभिए। आखिर पशु न थियो! बच्नका लागि पछाडि सर्ने बुद्धि-विचार नभएपछि अघिल्लो गाई हो वा गोरु त्यो ढुंगामाथि चढ्न खोज्दा भिरबाट बल्ड्याङ खाँदै लड्दै बगरमा थचारियो र लामो सास फेर्यो। पछि क्रमैसँग थप तीन वटा पनि त्यसै गरी कुलोको डिल हुँदै भिरबाट बल्ड्याङहरू खाँदै लड्दै बगरमा अडिए। ती चौपायाका जीउमा घाउ पनि देखेँ।
म एक्लै थिएँ, मेरा खुट्टाहरू काम्न थाले र मुटुले पनि ढ्याङ्ग्रो ठोक्न थाल्यो। यताउता हेरेँ, गोठाला कोही पनि देखिँदैन थिए। बगरमा अन्य केही गाई-गोरु र बाख्राहरू चर्दै थिए। चर्दै गरेका ती गाई-बाख्राहरूले भिरबाट लडेका गाई-गोरुतिर वास्ता थिएन। किनकि पशु भनेको पशु नै हो। आफ्नो मात्र ध्याउन्न हुने पशुलाई अरू प्राणीहरूतिर ध्यान जाने कुरा भएन। उल्टो गरी अर्थात् पछाडितिर हिँड्न जानेका भए ती गाई गोरु लड्ने थिएनन् र दुःख पनि पाउने थिएनन्। भीरबाट चौपाया ‘लड्नु’ लाई हाम्रो भेगतिर ‘खुरमुरिनु’ भनिन्छ।
ब्याड गरोको बेग्लै पहिचान
देउखुरी फाँटमा रहेको हाम्रो खेतहरूमध्ये सधैँ एउटै गरामा मात्र बीउको ब्याड राखिन्थ्यो। त्यसो गर्नु पर्नाको कारण कसैलाई सोध्ने कुरा पनि थिएन। एउटा रीति जस्तो नै थियो एउटै गरामा मात्र धानका बीउ राखिनु। हरेक वर्ष जेठको १०/१२ गतेतिर धानको ब्याड राखिन्थ्यो भने एक महिनापछि अर्थात् असारको आधाआधीमा रोपिन्थ्यो। ब्याडमा धानको बीउ राख्नु पूर्व बीउको थैलो पिताजीले सानो खालको झरनामा बिहानैदेखि भिजाइराख्नु हुन्थ्यो।
हिलोमा छापो अर्थात् असुरोको पातहरू हालिन्थ्यो। असुरो वासनादार वनस्पति हो भने यो हरियो मलको रूपमा पनि प्रख्यात छ। असुरो आयुर्वेद विज्ञानले उपयोगी औषधीय वनस्पतिको रूपमा लिने गरेको पाइन्छ। असुरोको फूल सेतो हुन्छ, त्यसै फूलको भेट्नो बङ्ग्याएर हामीले आँखाको गहिरो भागको तल र माथि अड्याएर ‘चस्मा’ भनेर लगाउँथ्यौँ र खेल्थ्यौँ।
रोपिएका गराहरूमा डिलमा रहेका आँपका बोटहरूबाट झरेका आँपहरू कुहिएर अमलो गन्ध आएको हुन्थ्यो। त्यस गरोलाई ब्याड गरोको नामले चिनिन्थ्यो। ब्याडमा धान टुसाएर हुर्किँदै गएपछि आलीमा जलुकोका सुइरा अर्थात् टुसा पलाएर आउँथ्यो र हामी त्यो टिपेर सँगालेर घरमा लैजान्थ्यौँ। जुन तरकारीका लागि उपयोग गरिन्थ्यो।
धान रोपिसकेपछि रोपाहारले खानका लागि घरबाट खानाको रूपमा लगिएको फुस्रे रोटीमा नौनी वा घिउ दलिएको हुन्थ्यो। कहिलेकाहीँ खाना वा नास्ताका लागि ठुला आकारका पुरी पनि हुन्थ्यो। रोपाहार र हली लगायतका कामदारहरूका लागि घरबाट ठेकामा मही वा दही, भिजाएको सिन्की, आलुको अचार लैजान्थ्यौँ।
असारमा चिउरी पाक्ने हुँदा कुलोले बगाएर ल्याएका चिउरीका गेडा अर्थात् बिजौला गरामा पानी पस्ने मुखैमा थुप्रिएका हुन्थे भने ती बिजौला हामीले सँगालेर घर लैजान्थ्यौँ। जुन परम्परागत कोलमा पेलेर वनस्पति घिउ निकालिन्थ्यो। चिउरी रुखका हाँगा माथिबाट उँधोतिर झुकेका पनि हुने भएकोले हामी हाँगाबाट पनि रुखमा चढ्थ्यौँ। हाँगा हल्लाएपछि चिउरीका पाकेका दाना बररर भुइँमा खस्थे र मान्छेले रस चुस्दै गदला (अनुपयोगी गुदी) र बोक्रा थुक्दै अनि बिजौला जाबीमा राख्थे।
कुलोमा निरन्तर हल्लिने जलुकोका पातहरू
हाम्रा खेतहरू भएका ठाउँहरूमा बग्ने कुनै पनि कुलोमा पानी बगिरहँदा पानीको बेगले कुलोको छेउमा उम्रिएका र हुर्किएका जलुकाका पातहरू हल्लिरहेका देखिन्थे। गोधुङमा साउन महिनामा साउने धान रोपाइँ हुन्थ्यो भने शेरामा जुडा धान रोपाइँ हुन्थ्यो। साउनमा रोपिने धानमा विशेष गरी जडन धान नै हुन्थ्यो। हाम्रो घरमुनि केही वर्ष धान रोपियो। कालो रङका धान गौरी र श्यामजिराको भात ज्यादै वासनादार लाग्थ्यो। भात पकाउँदा पचास मिटर परसम्म पनि वासना थाहा हुने ती जातका धान पछि रोप्न छाडियो। पहिले झैँ पानीको मूल फुट्न छोडेपछि कुलोमा पानीको मात्रा कम हुन गएकोले धान रोप्न सकिने अवस्था थिएन। घरमुनिको गराहरूमा तीन बाली हुन्थ्यो- मकै, धान अनि गहुँ।
‘कोइलापाते’ आँपको सम्झना
काँचो छँदै आँपको दानामा असिनाले हिर्काएको घाउमा केही दिनपछि कालो दाग देखिन्छ। अरू आँप काँचै खादा अमिलो हुन्छ भने ‘कोइलापाते’ आँप केही गुलियो हुन्छ। सुपारी जत्रा आँपदेखि एक किलो सम्मका आँप फल्ने हाम्रो गाउँ खुंग्री समशीतोष्ण हावापानी भएको रमणीय ठाउँ हो। तर सिँचाइको खासै सुविधा नहुँदा अनाज र तरकारी उत्पादनका लागि समस्या छ।
भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा फगामखोलाको पानी खुंग्रीमा ल्याउने भनी बजेट भाषणमा फलाकियो तर बाँध बाँध्दाबाँध्दै स्थानीयले अवरोध गरेका कारण त्यो योजना बिचैमा तुहियो। कतिपय योजनाहरू कागजमा मात्र सीमित हुने गरेका छन्।