‘फेयर एन्ड लब्ली’ क्रिमको विज्ञापन आउँदा सायद म कक्षा ५ मा पढ्थेँ। सुरुसुरुमा त यो विज्ञापन ठिकै लाग्थ्यो तर पछि आफ्नो करियर सफल गराउन, बिहे गर्न, केटीको छाला गोरो हुनुपर्ने नत्र उसले कहीँ सफलता पाउने छैन भन्ने किसिमको यो विज्ञापनको सन्देश फिटिक्कै मन परेन।
आफ्नो छाला गहुँगोरो भएर होला सायद, यो विज्ञापनले ‘फेयर’ छाला नभएमा जीवनमा असफल नै हुन्छु भन्ने कुराको गहिरो छाप पर्यो। सानै दिमाग भए नि फेयर एन्ड लब्ली र यस्ता कुनै किसिमको क्रिमको प्रयोग अब कहिले गर्ने छैन भन्ने निधो गरेँ।
म आफू जस्तो छु त्यस्तै मलाई अरूले स्विकार्नु पर्छ भन्ने लग्यो। अलिकति विज्ञानप्रति झुकाव भएर होला, आफ्नो जिनमा मेलनिन बढी छ र यो कुनै बाहिरी क्रिमले यतिकै फल्न सक्दैन भन्ने लाग्यो।
आफ्नो छाला सफा, चम्किलो भएको कसलाई मन पर्दैन र? तर गोरो र सफा छाला मात्र सौन्दर्यको प्रतीक हो भनेर समाजले बारम्बार प्रमाणित गर्न खोजिरहँदा म आफूलाई सोच्न बाध्य हुन्छु, हामी कुन समाजको निर्माण गरिरहेका छौँ? हुन त कालो र गोरो छाला भएर नै श्वेतहरूले अश्वेतहरूलाई नोकरका रूपमा व्यवहार गर्यो अनि एउटा ठुलै क्रान्तिको आवश्यक पर्यो समान हक अधिकारको लागि।
एक पटक भोलुन्टर भएर काम गर्दा एक जना भर्खर १२ सकेको भाइले मलाई इंगित गर्दै ‘सरी टु से बट आइ लाइक फेयर ह्यान्ड्स एन्ड फिङ्गर्स, मेरो इन्गेजमेन्टमा औँठी लगाउँदा’ भने। मलाई अचम्म लाग्यो, मलाई किन सरी भनेको होला भनेर। सायद उसले मेरो छालाको रङ इंगित गरेको होला।
एक पटक एउटा कलेजी रङको टिसर्ट किनेको थिएँ। सपिङ सेन्टरबाट बाहिर आएपछि एउटा साथीले 'किन यस्तो रङको कपडा किनेको कालो मान्छे भएपछि?’ भन्दा म केही बोल्न सकिनँ। त्यो टिसर्ट साह्रै मन परेर किनेको थिएँ, दुई वर्षसम्म लगाउन सकिनँ आफूलाई सुहाउँदैन भनेर।
जब आफ्नो स्नातक सकिएर मास्टर्स गर्न चाइना गएँ, त्यहाँ विभिन्न देशका मान्छे र उनीहरूले लगाउने रंगिविरंगी पहिरनले म अचम्म परेँ। मलाई सबैभन्दा बढी अफ्रिकन देशका साथीहरूले लगाएको लुगाको रङले नयाँ रङहरू ट्राई गर्न मन लाग्यो।
म विशेषतः सादा रङ र निलो रङ बाहेक अरू रङको कपडा नै किन्दिन थिएँ। लाग्थ्यो मलाई सुहाउँदैन। आजकल यो सबै कुराको मतलब लाग्दैन, आफूलाई मन पर्ने रङको कपडा किन्छु। ऐना हेर्न र तस्बिर खिच्न आजकल असहज मान्दिनँ पनि।
हुन त कालो र गोरो छालामा फरक नहुँदो हो त विश्वभर चर्चा कमाएका माइकल ज्याक्सनलाई किन आफ्नो छालाको रङ फेर्नु परेको थियो होला र? मलाई अचम्म लाग्छ। अझै पनि पैसा भए मान्छेहरू विभिन्न किसिमका उपचार गर्छन्। छालालाई गोरो बनाउन बजारमा यति धेरै ब्रान्ड र कस्मेटिक्स आएको छ कि हामी प्रयोग गर्न बाध्य छौँ समाजको सौन्दर्य प्रतीकमा आफूलाई अब्बल राख्न।
उपभोग यति बढेको छ कि हरेक हप्ता जसो नयाँ ब्रान्ड लन्च हुन्छ। लुइजा मे अल्कटद्वारा लिखित ‘अ लिटल वोमेन’ पुस्तकमा जोसेफाइनले ‘महिला, उनीहरूसँग दिमाग छ, र उनीहरूसँग आत्मा छ, साथै केबल मुटु छ। अनि उनीहरूसँग महत्त्वाकाङ्क्षा छ, र उनीहरूसँग प्रतिभा हुनुका साथै केवल सौन्दर्य छ। मलाई मानिसहरूले भन्ने कुरादेखि धेरै दिक्क लाग्छ कि एउटी महिलाको लागि प्रेम नै सबै थोक हो’ भन्दा समाज अझै नि १८६८ मै अड्किएको छ कि झैँ लाग्छ।
भारतीय प्रख्यात स्ट्यान्डअप कमेडियन जाकिर खानले एक पटक भनेका थिए, आफ्नो कभरलाई यति प्रचलित बनाऊ कि कसैले तिम्रो कभरलाई हेराइले जज नगरोस्।
अक्सर मलाई सोधिने प्रश्न- ‘तिमी साउथ इन्डियाबाट हो कि अफ्रिकाबाट?’
म हाँसेर, ‘हैन नेपालबाट हो, नेपाल जानु भएको छ?’ मेरो प्रतिप्रश्न रहन्छ।
हामी पनि गोरा छाला भएको सबै व्यक्ति कि त अमेरिका या बेलायत या अस्ट्रेलियाकै होला भन्ने सोच जस्तै होला झैँ लाग्छ उनीहरूको सोच पन। तर मलाई यो प्रश्नले असहज गर्दैन हिजोआज। ‘म नेपाली हुँ, नेपाल देश कति सुन्दर छ, एक पटक पक्कै घुम्न जानुहोला’ भनेर सुझाव पनि दिइहाल्छु।
२०२४ मा म ‘एसओएस डिसिसी पर्सा’ मा मिल कोअर्डिनेटर तथा पर्सा जिल्लाको जिल्ला संयोजक भएर काम गर्दा मधेसको ५ जिल्ला पर्सा, सर्लाही, रौतहट, सिराहा, सप्तरीसम्म पुगेको थिएँ। लगभग ८ महिना वीरगन्ज बसेर काम गरेँ। मधेस प्रचण्ड गर्मी हुने ठाउँ, त्यसैले त्यहाँ पनि प्रायजसो मान्छेको छाला मेरै जस्तो थियो। मलाई तिनीहरू कुनै मेकअप नगर्दा पनि कति सुन्दर र आकर्षण लाग्थे। मेरा सहकर्मीहरूमा ८०% महिला नै थिए र मेरै उमेर समूहका थिए, कति आफूभन्दा सानो पनि तर सुन्दरता मेकअपले नभई मुस्कानले आउने रहेछ भनेर मलाई उनीहरूले नै सिकाए राम्ररी।
गर्मीको समय छ र अहिले सूर्यको किरणमा सायद युभी रेडिएसन धेरै पाइन्छ होला, ओजन लेयर पातलो भएर। सनस्क्रिन प्रयोग गर्नु छालाको लागि राम्रो रहेको पाइएको छ। तर आफ्नो छालामा हरेक किसिमका बजारी सामानको प्रयोग गरेर ‘कन्जुमेरिजम’को लिस्टमा आफूलाई नराख्दा बेस होला कि।
सबैभन्दा ठुलो लडाइँ आफैसँग हुने रहेछ, आफूले आफ्नो अस्तित्व स्विकार्न। आफूले आफूलाई नस्विकार्दा अरूले आफूलाई स्विकार्न कहाँ सक्छन्? आफ्नो अनुहार र शरीरको बनावटबाट आफैलाई आफैमा हीनताबोध भएको, आफूले आफूलाई नस्विकारेको र आफूले आफैलाई धेरै तल महसुस गराएको र यही कुराले आफू फ्रस्टेसन, डिप्रेसनमा गएको कुरा मैले केही साथीहरूबाट सुनेको नै छु।
अहिले युवा पुस्तामा झन् अरूको भ्यालिडेसन र बाहिरी आवरणलाई बढी प्राथमिकता दिने गरेको छ झैँ लाग्छ। अमेरिकामा अहिलेका नयाँ पिँढी मेकअपमा बढी झुकाव रहेको एक अध्ययनले नै देखाएको पनि छ जसलाई ‘सेफोरा किड्स’ भनिन्छ। यो ट्रेन्ड नेपाललगायत अन्य मुलुकमा पनि बढ्दै छ झैँ लाग्छ।
हुन त यो आफ्नो छनोट को कुरा हो, मेकअप प्रयोग गर्ने कि नगर्ने भन्ने कुरा। आफ्नो छाला र आफ्नो शरीरमा कुनै किसिमको समस्या भएको कसलाई मन पर्छ र! तर केही कुरा जस्तो छ त्यस्तै रहन दिन पनि त्यो कुराको आफ्नै सुन्दरता हुन्छ। पहिला आफूलाई माया गर्न सिक्नुस्, आफूले आफ्नो अस्तित्व स्विकार्नुस्, जिन्दगी जिउने नजरिया बदलिएर त हेर्नुस्, जिन्दगी सरल र सहज बन्छ।
हुन त म त्यति सफल भइसकेकी छैन जिन्दगीमा तर फर्केर हेर्दा आहा भन्ने चाहिँ पक्कै भएको छ।