मलद्वारको फिस्टुलालाई चिकित्सकीय भाषामा ‘फिस्टुला इन एनो’ भनिन्छ। आयुर्वेदमा यसलाई भगन्दर भनिन्छ जसलाई ‘महारोग’ को उपमा दिइएको छ। बिरामीका लागि यो निकै पीडादायक रोग हो भने सर्जनका लागि यो नाम बदनाम गराउने रोग हो पनि भन्न सकिन्छ।
पीडादायक रोग यस मानेमा कि यस रोगले मानिसलाई शारीरिक रूपमा मात्र नभएर मानसिक रूपमा पनि उत्तिकै प्रताडित गरिराखेको हुन्छ। न उसले मलाई यस्तो रोग भएको छ भनेर कसैलाई भन्न सक्छ, न ४-५ दिन औषधी खाएर निको हुन्छ। बदनाम गराउने रोग यस मानेमा कि, यो अरू कुनै सर्जिकल रोगजस्तो चट्ट काटेर फालेर सिलाएर सन्चो हुने खालको रोग होइन। यसको पुनरावृत्ति हुने सम्भावना पनि उत्तिकै रहन्छ, जसको कारण अप्रेसन मात्र नभएर त्यस पछाडिको उचित ड्रेसिङमा ध्यान नपुर्याउनु पनि हुन्छ।
एक सिद्धान्तअनुसार यो रोग मलद्वारको वरिपरि हुने स-साना ग्रन्थिहरू (एनल कृप्ट्स) मा सङ्क्रमण भएर हुने गर्दछ, जसबाट समय क्रममा एउटा अस्वाभाविक मार्ग बन्छ र विभिन्न दिशामा गति लिन्छ। त्यही मार्ग मलद्वारको बाहिर पट्टि छालामा पिलोजस्तो भएर निस्किन्छ र त्यसैबाट पिप निस्किने पनि हुन्छ।
मलद्वारको बाहिर पट्टि यसरी फुटेर पिप निस्किए यसको उपचार केही सहज हुने गर्दछ तर कहिलेकाहीँ यो बाहिर ननिस्किएर भित्र-भित्रै पनि फैलिएको हुन्छ जुन उपचार गर्न केही कठिन हुने गर्दछ। यसलाई आयुर्वेदमा अन्तर्मुखी भगन्दर पनि भनिन्छ। ना
म एउटै भए पनि हरेक व्यक्तिमा हुने फिस्टुला फरक-फरक प्रकृतिको हुन सक्छ। त्यसैले कोही एक जनाको उपचार हेरेर अरू बिरामीको पनि त्यस्तै तरिकाले त्यति नै समयमा उपचार भएर ठिक हुन्छ भन्न सकिँदैन।
आफ्नो सर्जिकल अभ्यासको क्रममा मैले फिस्टुलाको बिरामी एक हप्तादेखि लिएर १९ महिनासम्मको समय लिएर पूर्ण रूपमा ठिक भएको देखेको छु। हरेक फिस्टुलाको बिरामीको एउटै प्रश्न हुने गर्दछ- यो कति समयमा ठिक हुन्छ?
मेरो पनि एउटै जवाफ हुने गर्दछ- अप्रेसनपछि मात्रै भन्न सक्छु।
अप्रेसनपछिको जवाफ हुन्छ- २ हप्ता, १ महिना, २ महिना, ४ महिना, हेरी हेरी।
फिस्टुलाको अप्रेसन र उपचारका क्रममा सर्जन र बिरामी दुवै जनालाई एउटै चिजको आवश्यकता हुन्छ- त्यो हो धैर्य। सामान्य रूपमा विभिन्न चिकित्सा प्रणालीहरूले यसको उपचारका लागि निश्चित कार्यविधिहरू अपनाउँछन्। तर सर्जनहरूको अनुभवअनुसार यो त्यस्तो सर्जिकल चुनौती हो जहाँ मात्र प्रोटोकल पर्याप्त हुँदैन— सर्जनको कला, अनुभव र सूक्ष्म निर्णय क्षमताले नै उपचारको परिणाममा महत्त्वपूर्ण भूमिका खेल्दछ।
फिस्टुलाका विभिन्न अप्रेसनहरू हुने गरेका छन् जस्तै कम्प्लिट फिस्टुलोटोमी, फिस्टुलेक्टोमी, सिटोन प्लेसमेन्ट, लेजर पद्धति, क्षारसूत्र पद्धति आदि। जुनसुकै पद्धति अपनाए पनि यसको उपचारमा कुनै निश्चितताभन्दा पनि निरन्तरको अनुगमनले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।
जुनसुकै पद्धतिबाट अप्रेसन गरे पनि सबैभन्दा महत्त्वपूर्ण भनेको फिस्टुलाको मार्ग कुन बाटो हुँदै फैलिएको छ भनेर पत्ता लगाउनु हो। यो पत्ता नलगाएसम्म यसको प्रभावकारी उपचार हुन सक्दैन। पत्ता लगाउने सबैभन्दा पहिलो र सबैभन्दा महत्त्वपूर्ण उपाय भनेको चाहिँ बिरामीको क्लिनिकल परीक्षण नै हो, जसलाई हामी चिकित्सकीय भाषामा ‘डिआरई’ (डिजिटल रेक्टल एक्जामिनेसन) भन्छौँ, जसमा हामी औँलाको मद्दतले मलद्वारको भित्रसम्म परीक्षण गर्ने गर्दछौँ।
फिस्टुलाको निर्क्योल गर्न विभिन्न उपकरणहरू रहेका छन् जस्तै फिस्टुलोग्राम, ट्रस (ट्रान्स रेक्टल अल्ट्रासाउन्ड), एमआरआई आदि। एक जना सामान्य फिस्टुलाका बिरामी जो मेरो ओपिडीमा आउनुभएको थियो, उहाँलाई मैले फिस्टुलाको मार्ग सामान्य छ, फिस्टुलोग्राम गराउनु पर्दैन भन्ने सल्लाह दिँदा दिँदै पनि आफ्नो इच्छाले गराउनुभयो।
उहाँलाई फिस्टुलोग्राम गराउँदा अत्यधिक दुखाइ भएछ। पछि मसँग अप्रेसन गर्न आउने बेला आफूले जबरजस्ती फिस्टुलोग्राम गराएको प्रति दुःख व्यक्त गर्दै हुनुहुन्थ्यो। एक त पैसाको खर्च, दोस्रो अनावश्यक दुखाइको अनुभव।
एमआरआईलाई फिस्टुलाको निदानमा ‘गोल्ड स्ट्यान्डर्ड’ भनिन्छ। यसको प्रयोग हाइ एनल फिस्टुलामा गरिन्छ। यद्यपि यसमा मिल्ने रिपोर्ट कहिलेकाहीँ क्लिनिकल परीक्षणसँग मेल नखाएको पाइन्छ।
सामान्य रूपमा फिस्टुलाको अप्रेसनमा एउटा प्रोटोकलले उपचारको आधार बनाउँछ— जस्तै प्राथमिक निदान (क्लिनिकल एन्ड रेडियोलोजिकल डायग्नोसिस), फिस्टुला ट्रयाक्टको पहिचान, शल्यक्रिया गर्ने निर्णय, घाउ सफा गर्ने तरिका, एन्टिबायोटिक वा अन्य औषधिको प्रयोग। तर यी सबै प्रक्रियाहरू एकै प्रकारका सबै केसमा लागू भने हुँदैनन्। रोग एउटै भए पनि हरेक रोगी फरक फरक हुने हुँदा सूक्ष्म अवलोकन अत्यन्त जरुरी हुन्छ।
कसैमा फिस्टुलाको मार्ग सिधा हुन्छ भने कसैमा घुमेको हुन्छ। कसैमा एउटा मात्रै मार्ग हुन्छ भने कसैमा धेरै मार्गहरू हुन्छन्। कसैमा पहिलाको अप्रेसनले त्यहाँ बनाएको जटिलता हुन्छ।
आयुर्वेदमा फिस्टुलाको शल्यक्रियामा क्षारसूत्र एउटा अद्भुत प्रविधि बनेर रहेको छ जसको प्रयोग उपयुक्त ढङ्गबाट भए यसको पुनरावृत्ति हुने दर कम गर्न सकिन्छ। एक जना बिरामी एउटा अल्ट्रासाउन्डको रिपोर्ट लिएर मेरो ओपिडी आउनुभयो। उहाँको त्यो रिपोर्टमा सबै सामान्य थियो, केही देखिएको थिएन। उहाँको समस्या भने मलद्वार दुख्ने र हल्का ज्वरो आउने थियो। उहाँको क्लिनिकल परीक्षण गर्दा उहाँमा मलद्वारको भित्र, बाहिरबाट नदेखिने गरी पिप जम्मा भएको पाएँ।
तत्काल अप्रेसन गर्नुपर्छ भनेपछि उहाँ राजी हुनुभयो र तत्काल नै मैले पनि उहाँलाई जानकारी दिएँ कि उहाँको दुई पटकसम्म अप्रेसन गर्नुपर्ने हुन सक्छ। पहिलो अप्रेसनको ठ्याक्कै १ महिनापछि उहाँ फेरि मलद्वारबाट पिप बग्ने समस्या लिएर आउनुभयो। त्यसपछि हामीले उहाँको क्षारसूत्र प्रविधिबाट अप्रेसन गर्यौँ। अप्रेसन गरेको १ महिनापछि सम्म पनि उहाँ मलाई यहाँ ठिक नहुने भए भन्दिनु, म काठमाडौँ जान्छु भन्नुहुन्थ्यो। अन्त्यमा ४ महिनामा उहाँको फिस्टुला ठिक भयो। अहिले ठिक भएको पनि ४ महिनाभन्दा बढी भइसक्यो, उहाँमा कुनै समस्या भएको छैन।
उचित अप्रेसन र निरन्तरको अनुगमनका साथसाथै युक्तिपूर्ण ड्रेसिङले नै उहाँको फिस्टुला निको भएको थियो, जो यस रोगको हरेक व्यक्तिमा उत्तिकै सुझबुझपूर्ण ढङ्गले गर्नुपर्दछ।
कर्णालीमा मान्छेको विश्वास जित्ने संघर्ष
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यहाँको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रमा शल्यक्रिया सेवा सञ्चालन भइराखेको छ। यहाँका मानिसहरूमा यहाँ यसको उपचार हुन्छ भन्ने जनचेतना जगाउनका लागि नै अलि संघर्ष गर्नु परेको अवस्था रहेको छ।
‘नजिकको तीर्थ हेला’ भनेझैँ सुरुमा सुर्खेतमै यसको विशेषज्ञ सर्जनबाट शल्यक्रिया हुन्छ भन्दा यहाँका मान्छेलाई पत्याउन गाह्रो परेको छ। पहिलेदेखि नै नेपालगन्ज हुँदै रूपहिडिया जाने बानी परेको हुँदा तत् सम्बन्धी परामर्श अझ जोडबल दिएर गर्नु परिरहेको छ।
मान्छेहरू एक त रोगको परीक्षण गराउन नै लाज मान्ने गरेको, त्यही लाजका कारण डाक्टरलाई नदेखाई औषधी पसलबाट नै औषधी किनेर खाने गरेको हुँदा रोग बढ्दै जाने गरेको तथ्य स्पष्ट रहेको छ। त्यसैमाथि आयुर्वेदका नाममा अनलाइनमा आउने विभिन्न फर्जी प्रचारका पछि लाग्दा मानिसहरू पीडित हुने गरेको पाइएको छ।
प्रदेश आयुर्वेद अस्पताल एउटा सरकारी अस्पताल हो जहाँ निकै कम मूल्यमा यसको शल्यक्रिया हुने गर्दछ। अहिले यहाँ अन्तरङ्ग सेवा पनि सुरुआत भइसकेको छ। धेरै जना बिरामीहरूको प्रश्न- यहाँ बिमा छ कि छैन भन्ने हुने गर्दछ। तर यस अस्पतालमा बिमा सुविधा नभएको हुँदा धेरै जना सुविधाबाट वञ्चित भएको पाइएको छ। यसबाट घर नजिकै सुविधा पनि पाइने र पैसा पनि धेरै खर्च नहुने सहजता हुने थियो।
हाल बिमा सुविधा नभए पनि यहाँ निकै कम लागतमा अप्रेसनहरू हुने गरेका छन्। अप्रेसनकै लागि नेपालगन्ज, रूपहिडिया वा काठमाडौँ जानुपर्ने बाध्यता हट्ने विश्वास लिइएको छ।
(लेखक प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेतमा कन्सल्टेन्ट शल्य चिकित्सकका रूपमा कार्यरत छन्।)