'सेलिब्रेटीको जीवन पर्दा पछाडि पनि हुन्छ, पर्दामा मात्र होइन, त्यसैले उनीहरूलाई जस्तो पनि प्रश्न गर्न पाउनुपर्छ'— यिनै शब्दहरू हाल सामाजिक सञ्जालमा केही व्यक्तिहरूले तर्कको रूपमा प्रस्तुत गरिरहेका छन्। तर के त्यो 'जस्तो पनि प्रश्न' गर्न पाउनुपर्छ भन्नु वाक स्वतन्त्रताको नाममा चरित्र हत्या गर्ने, गहिरो व्यक्तिगत घाउमा नुनचुक छर्किने, र उक्त व्यक्तिको आत्मसम्मानमाथि हमला गर्ने छुट दिन्छ?
अहिले अमेरिका बस्दै आइरहेकी चर्चित नायिका अरूणिमा लम्सालको विषयमा कुरा गरौँ। उनलाई सामाजिक सन्जालमा अनगिन्ती गालीगलौज, अनावश्यक उपहास, र अति निजी प्रश्नहरूको सिकार बनाएको छ।
विशेषतः उनको दोस्रो विवाह र त्यसपछिको डिभोर्ससम्बन्धी विषयलाई लिएर नेपाली डिजिटल दुनियाँमा असभ्य र अराजक टिप्पणीहरूको बाढी आएको छ। मानौं अरूणिमा कुनै सामान्य मानव होइनन्, कुनै एउटा वस्तु हुन् जसमा कुनै भावना छैन, उनी एउटा ढुङ्गा हुन् वा फुटबल जसलाई पत्रकार, पोडकाष्टर वा समाजले समीक्षा मात्र होइन, चिरफार गर्न पाउने, उचाल्न र फाल्न पाउने अधिकार पाएको छ र कमेन्टमाथि कमेन्ट अनि प्रश्न माथि प्रश्न गर्छौं।
'अब तेस्रो विवाह कहिले गर्ने?,
'तपाईंको उहाँसँग सम्पर्क भयो कि नाइँ?'
'तपाईंको सुहागरात पनि भएन ला?'
'अब अर्को विवाह कहिले गर्नुहुन्छ?'
'के अब हरेक वर्ष नयाँ श्रीमान ल्याउने हो?',
'छि छि एउटा महिला भएर पनि लाज लाग्दैन?',
'छोरीलाई यस्तो पाठ सिकाइरहेकी?'
चाहे जतिवटा डिभोर्स होस् या विवाह?' आदि इत्यादि........। जस्ता अमर्यादित र पीडादायक प्रश्नहरूले हाम्रो सामाजिक चेतनाको स्तर कस्तो छ भन्ने देखाउँछ?
निश्चित रूपमा, सेलिब्रेटीको निजी जीवनप्रति चासो हुनु अस्वाभाविक होइन। उनीहरू समाजका चर्चित अनुहार हुन्, उनीहरूको फ्यानहरू हुन्छन्, जसको हरेक गतिविधि, दैनिकी, प्रेम, विछोड, विवाह, डिभोर्स, हिँडाइ, फेसन, बोलाइ, हाँसो, रूवाइ, हेराइ मानिसहरूको नजरमा पर्छ।
उनीहरू लाइमलाइटमा रहिरहन्छन् र मानिसहरू उनीहरूबाट इन्फ्ल्युएन्स चाँडो हुन सकिन्छ। त्यस अर्थमा हो, सेलिब्रेटीलाई प्रश्न गर्न पाइन्छ। उनीहरूमाथि आलोचना गर्न पनि पाइन्छ। तर त्यो आलोचना–मानवीयताको सीमाभित्र हुनुपर्छ, न कि अपमान र मानसिक हिंसा बनोस्। उनीहरू पनि संवेदनशील पात्र हुन्? उनीहरूलाई पनि चोट लाग्छ। उनीहरूको पनि बुबाआमा, दाजभाइ, दिदीबहिनी आफन्त। उनीहरूको पनि इज्जत हुन्छ। यस्तो सस्तो र अराजक टिप्पणीले उनीहरूलाई पनि आँच पुर्याउँछ।
हामी बुझ्नै चाहँदैनौं — कुनै पनि सम्बन्धको सफल वा असफल हुनु केवल एक जनाको निर्णय वा गल्ती होइन, दुई जना मानिसहरूको आपसी समझदारी, परिस्थिति, परिवेश र भावना को नतिजा हो। डिभोर्स भन्ने निर्णय सधैं गलत, दुर्बलता वा अपरिपक्वता होइन कहिलेकाहीँ त यो नै आत्मसम्मानको रक्षा र मानसिक शान्तिको सुरक्षाकवच हुन्छ।
कसैको विवाह असफल हुनुमा दोषको तराजु नाप्न मिल्दैन।
हो, कुनै पक्षको दोष बढी हुन सक्छ, कुनैको कम, कुनैको अति बढी त कुनैको अति कम, कतै दुबैको बराबरी, वा कहिलेकाहीँ दुबै निर्दोष हुँदा पनि परिस्थितिहरू दोषी हुन सक्छन्। कहिलेकाहीँ त समाज, परिवार र परम्पराले पनि सम्बन्धलाई चिर्ने बिखन्डनकारी भूमिका खेल्छ।
विवाह भन्नु केवल दुई जना मानिसको मिलन होइन — त्यो त दुई परिवार, दुई संस्कार, दुई भूगोल, दुई सोच, दुई जीवनशैलीको संगम हो। फरक जीवनशैलीको व्यक्ति र उसको घरपरिवारसँग नाता गाँस्ने निर्णय चानचुने हुँदैन। विवाह गर्दा कोही पनि 'म डिभोर्स गर्छु' भनेर अघि बढ्दैन। विवाहमा स्वयंम्बर गर्दा, पोते र सिन्दुर लगाउँदा, बेहुलीललाई घर भित्राउँदा सबैले सुन्दर भविष्य, साझा सपना, र समान भावनात्मक यात्रा को अपेक्षा राखेका हुन्छन्।
तर जब जन्म, हुर्काइ, संस्कार, परिवेश, सोच, अपेक्षा सबै फरक–फरक हुन्छन्, कहिलेकाहीँ त्यहाँ सम्झौता गर्दागर्दै पनि सहनै नसकेपछि अन्य विभिन्न कारणले गर्दा सम्बन्धमा चिरा आउन थाल्छ। कति रोकथाम गरेर निको पार्छन्, कति निको पार्ने कोसिस गर्छन् त कतिले सक्दै सक्दैन। र जब सम्बन्धले बोकेको भारी असह्य बन्छ, त्यतिबेला छुट्टिने निर्णय दुबै पक्षका लागि सजिलो हुँदैन।
अझ पीडा त त्यो हो — जब समाजले सम्बन्ध बिग्रिएकोमा मात्र ध्यान दिन्छ, त्यसको भित्रको कथामा हैन।
डिभोर्सलार्ई कुनै एक जनाको चरित्र 'दोष' का रूपमा हेर्ने चलनले अझ पीडालाई बल दिन्छ।
जसलाई प्रेम गरियो, विश्वास गरियो, सपना बुनेको मान्छेसँग अलग हुनु आफैमा एउटा युद्ध हो। त्यसपछि पनि समाजले उचाल्ने, टिप्पणी गर्ने, घोच्ने काम गर्छ भने त्यो युद्ध दोहोरिन्छ– अझ बिनासमरको, बिनासहयोगको।
त्यसैले, जब कोही डिभोर्स गर्छन्, उनीहरूलाई ‘कमजोर’ नभनौं, ‘चरित्रहीन’ त झन् कदापि होइन, बरू उनीहरू साहसी हुन् — आफ्नै मानसिक स्वास्थ्य र आत्मसम्मानका लागि कठिन निर्णय लिन सक्ने।
आज अरूणिमा लम्सालमाथि उठेका प्रश्नहरू पनि यिनै परिप्रेक्ष्यले हेर्नुपर्ने हो। यो बेला उनी र परिस्थिति बुझेर संयमता देखाउने समय हो। उनीलाई प्रश्न गर्ने, चासो लिने तर आत्मालाई नै चोट पुर्याएर, भच्याएर नै प्रश्न गर्नु गलत हो। कसैको निजी पीडामाथि प्रश्नको भाले जस्तो उफ्रिनु हाम्रो सभ्यताको चिह्न होइन। तर हाम्रो समाज अझै पनि स्त्रीको निर्णयलाई सधैं शंका, निन्दा, र अपराधबोधको आँखाले हेर्छ।
के एउटी महिलाले प्रेममा दोस्रो पटक विश्वास गर्नु अपराध हो?
के उसले आफ्नो जीवन पुनः सुरु गर्न खोज्नु लाजको विषय हो?
के उसको विगतका सम्बन्धले उसको सम्पूर्ण चरित्र तोक्छ?
अझ हैरानीको कुरा – यी प्रश्नहरू पुरूषहरूबाट मात्रै नभइ धेरैजसो महिलाहरूबाटै पनि उठ्छन्। सामाजिक सञ्जालमा आफूलाई ‘सुधारक’ सावित गर्न अर्की महिलाको जिन्दगी लिलामी गरिरहेको पनि हुन्छ।
समाज किन यति छिटो न्यायाधीश बन्न पुग्छ? किन हाम्रो सहानुभूतिभन्दा पहिले आलोचना अघि बढ्छ? कुनै पनि सम्बन्ध दोस्रो, तेस्रो वा चौथो किन नहोस्, यदि त्यस सम्बन्धले मानसिक शान्ति, भावनात्मक सन्तुलन र व्यक्तित्वको सम्मान दिन सक्दैन भने त्यो सम्बन्धलाई निरन्तरता दिनु नै अन्याय हो – खासगरी महिलाका लागि, जसलाई सधैं सहनशीलताको परिभाषा बनाइन्छ।
सम्भवतः अरूणिमा लम्सालको डिभोर्स व्यक्तिगत निर्णय हो— त्यो उनी र उनको पूर्वश्रीमानबीचको कुरा हो, जसको जरो हामी बाहिरबाट बुझ्न सक्दैनौं। तर त्यस निर्णयलाई लिएर, मजाक बनाउँदै, सार्वजनिक रूपमा मानसिक आघात पुर्याउने गरी, सामाजिक सञ्जाललाई ट्रोल र निन्दाको अखाडा बनाउनु नैतिक हो?
कला र कलाकारलाई सम्मान दिनुपर्छ, तर त्यो सम्मान पर्दामा मात्र सीमित नहोस्। पर्दा पछाडि उनीहरूको आँसु, पीडा, खुसी, निर्णय र भविष्य पनि हुन्छ, जुन हामीले बुझ्न जरूरी छ।
जीवन एक स्क्रिप्ट होइन, जसमा संवाद अरूले लेखिदिन्छन्। यो त आफ्नै कथाले बनाएको यात्रा हो– जहाँ हाँसो, आँसु, प्रेम र पीडा सबै आफ्ना हुन्। सेलिब्रेटीका आँखामा पनि सपना हुन्छन्, हरेक निर्णयमा द्वन्द्व हुन्छ, र हरेक मुस्कानभित्र कहिलेकाहीँ आँसु लुकेका हुन्छन्।
अतः, कुनै नारीले आफूलाई केन्द्रमा राखेर लिएको निर्णयलाई ‘त्रुटि’ भन्दा ‘साहस’ को चस्माले हेर्न सक्नु नै हाम्रो चेतनाको परिपक्वता हो।