गते र बार ठ्याक्कै यकिन नभए पनि २०५८ साल चैतको अन्तिम हप्ता। नेपालगन्जको गर्मी सम्भवतः ३७ डिग्री सेल्सियससम्म थियो होला। हामी जुम्ला आउने तरखरमा शाही नेपाल वायु सेवा निगम (हाल नेपाल वायु सेवा निगम) को काउन्टरमा आफ्नो लगेज चेकिङमा थियौँ; म र जिल्ला विकास समिति मुगुको साथी।
त्यतिखेर मुगु जान जुम्ला भएर जानु पर्थ्यो। हवाई टिकट लिनै धौधौ, टिकट पाइसकेपछि काउन्टरमा टिकट इस्यु गर्न झनै सकस। जेनतेन सामान चेकिङ गरी बोर्डिङ पास हातमा लियौँ।
त्यो दिन काठमाडौँ-नेपालगन्ज-जुम्ला-नेपालगन्जको फ्लाइट तालिका थियो। हामी करिब दिनको ३ बजेसम्म नेपालगन्जको यात्रु विश्राम कक्षमा काठमाडौँबाट आउने प्लेनको प्रतीक्षामा थियौँ। केही बेरपछि प्लेन नेपालगन्जको धावन मार्गमा अवतरण गर्यो।
हामी अब जुम्ला पुगिने भइयो भनेर ढुक्क थियौँ तर केही बेरपछि माइकिङ भयो- ‘जुम्लामा बढी हावा चलेकाले फ्लाइट रद्द।’ न्यास्रो मुख लाउँदै हामी राझा एयरपोर्टमा होटलबास खोज्न लाग्यौँ।
त्यतिखेर रेडियो नेपालको रातिको ९ बजेको समाचारपछि अत्यन्त जरुरी सूचना जारी गरी भोलिपल्ट नेपाल अधिराज्यमा हुने आरएको फ्लाइटको समय तालिका प्रसारण हुन्थ्यो। भोलिपल्ट आरएबाट यात्रा गर्ने यात्रुहरू त्यही सूचनाबाट जानकारी पाउँथे। हामीले पनि भोलिको हाम्रो डिले फ्लाइट बिहान ७ बजे हुने थाहा पायौँ।
भोलिपल्ट बिहानै म नेपालगन्ज एयरपोर्टमा पुगिहालेँ। त्यही समयमा आरएको काउन्टर नजिकै नेपाली पोसाकमा अपरिचित व्यक्ति देखेँ। विमान सुरक्षा गार्डका प्रमुखले मछेउ आएर परिचय गराउँदै भने, ‘उहाँ जुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पहिलो चोटि सरुवा भएर जुम्ला जाँदै हुनुहुन्छ।’
मैले उहाँलाई आफ्नो परिचय दिएँ।
उनले पनि आफ्नो परिचय दिए- ‘नाम दामोदर पन्त, घर पाल्पा, हाल बसाइ काठमाडौँ। पहिलो चोटि जुम्ला नयाँ जिम्मेवारीका साथ जाँदै छु।’
केही बेरपछि हाम्रो फ्लाइटको बोर्डिङ भयो। बिहान करिब ७:३० भएको थियो। त्यस दिनको त्यो पहिलो फ्लाइट थियो। हिजोको रद्द फ्लाइट आज उडेको थियो।
म र प्रजिअ दामोदर पन्त एउटै डबल सिटमा छौँ। बिहानको समय छ। प्लेन उडिरहेको छ। केही अघिसम्म गर्मीले सताएको हामीलाई अब भने चिसो महसुस भयो।
त्यतिखेर नेकपा माओवादी सशस्त्र द्वन्द्वले नेपालभरि उग्र रूप लिएको थियो। प्लेनभित्र जुम्लाको शान्ति सुरक्षा, भय, डर त्रास बारे प्रजिअले सोधिरहे। मैले भने त्यस्तो केही छैन। गाउँघरमा जान सकिँदैन। बजार र सदरमुकाम शान्त नै छ भनिरहेको थिएँ।
मौसम सफा भएकोले तल समतल फाँट प्रस्ट देखिन्थ्यो। हाम्रो प्लेन जब दैलेख र कालिकोटको सिमाना महाबु लेक (समुद्र सतहबाट करिब ४६०० मिटर उचाइ) मा पुग्यो। यहाँनेर जहिले पनि, जुनसुकै प्लेन पनि, जस्तोसुकै मौसम भए पनि, हावा भए पनि नभए पनि हल्लाउँछ, बम्पिङ गर्छ। लेक काटेपछि खसाले झैँ हुन्छ। भनिन्छ त्यो ठाउँमा गुरुत्वाकर्षण छ रे।
तर त्यस दिन त्यो लेक नकाट्दै दैलेखको छान्नाभन्दा माथि हाम्रो प्लेन अनियन्त्रित भयो। खसे झैँ भयो। हामी धेरै तल खस्यौँ। त्यो फ्लाइटमा भएका हामी सबै १७ जना यात्रुहरूको चिच्याहट भयो। एयरहोस्टेस बहिनी पनि कराइन् डराइन्। हामीलाई झनै त्रास भयो।
२०७२ साल फागुन १४ गते यही ठाउँमा नेपालगन्ज-जुम्ला यात्रु उडानमा एयर काष्ठमण्डपको एक पङ्खे जहाजको पङ्खा रोकिएर केही मिनेट उडे पनि कालिकोटको महाबु गाउँपालिका चिल्खाया गाउँमा पुगेर खसेको थियो। जहाँ फ्लाइटका मुख्य चालक दिनेश न्यौपाने (डोल्पा ) र अर्का सहायक चालक सन्तोष राना (पाल्पा) को घटनास्थलमै निधन भएको थियो।
दुःखद भन्ने हो कि सुखद भन्ने, त्यस दुर्घटनामा जुम्लाका लक्ष्मण खड्का, मिमराज गिरी, धनञ्जय खत्री, गणेश भट्टचन लगायत ९ जना सामान्य घाइते भए तर सबै यात्रुहरू बाँचेका थिए।
केही समयपछि हाम्रो जहाजले बाटो मोडेको थाहा भयो। महाबु नभएर हाउडीको लेकतिर। मैले एयरहोस्टेस बहिनीलाई डराएको देखेर सोधेँ, ‘के भएको हो? अगाडि क्याबिनमा गएर सोध क्याप्टेन साबलाई।’
क्याप्टेन थिए वाईपी जुहारचन। यिनको फ्लाइट सुरक्षित मानिन्छ। उनी तालिम प्रशिक्षक पनि हुन्। तर आज एकदमै असुरक्षित महसुस भयो।
प्लेन उडिरहेको छ। केही समयपछि एयरहोस्टेस बहिनी क्याबिन तिरबाट हामीतिर आएर हँसिलो मुखमा भनिन्, ‘हावाले गर्दा यस्तो भएको रहेछ, हामी अर्को रुटबाट जुम्ला जाँदै छौँ।’
अब भने हामीलाई सहज भयो।
केही समयपछि हामीले जुम्ला विमानस्थलमा अवतरण गर्यौँ। सधैँ ३० मिनेट लाग्ने उडान आज करिब ४० मिनेट लाग्यो। आ-आफ्नो लगेज बुझिसकेपछि क्याप्टेन वाईपी जुहारचन हामीमाझ आएर भने- ‘आज असहज महसुस भयो होला, बिहानको समय भएकोले महाबु लेक पास गर्ने बेला हावाको दिशा एक्कासि परिवर्तन भयो। त्यसैले हामीले एक्कासि रुट परिवर्तन गर्यौँ।’
प्रजिअ दामोदर पन्तले मतिर फर्केर भने- ‘साइत त्यति राम्रो भएन, पहिलो गाँसमा नै ढुङ्गा लागे जस्तै भयो।’
बाहिर सुरक्षा टोली नयाँ प्रजिअको स्वागतमा थिए। हामी छुट्टियौँ। म आफ्नो कार्यालयतिर लागेँ।
जुम्लामा कार्यरत सिडिओहरू मध्ये यिनी २५ औँ नम्बरमा गएका थिए। उनीभन्दा पहिले कविराज खनाल थिए। कार्यालय प्रमुख बैठकमा होस् अथवा अन्य कुनै बैठक वा अन्य बेला, मलाई माया अनि राम्रो व्यवहार र नजिकबाट हेर्थे। आफूलाई प्रमुख जिल्ला अधिकारीको अनुभव पहिलो हो, उनी आफै भन्थे।
कृषि कार्यक्रम अनुगमन निरीक्षणमा फिल्डतिर जाँदा होस अथवा गाउँघरका किसानहरू कृषि कामको सिलसिलामा कार्यालयमा आउँदा, उनीहरू भन्ने गर्थे- ‘माओवादीले जिल्ला हान्ने रे, व्यापक हल्ला छ।’
कहिलेकाहीँ फिल्डतिर जाँदा स्थायी शिक्षकबाट माओवादी पार्टीमा भूमिगत भएका गजेन्द्रबहादुर महत (२०७४ मा प्रतिनिधि सभामा निर्वाचित), जिल्ला विकास समितिका सब-इन्जिनियरबाट भूमिगत भएका नरेश भण्डारी (२०६४ मा संविधान सभा सदस्य निर्वाचित र २०७४ मा प्रदेश सभामा निर्वाचित भई मन्त्री), आफ्नो स्कुले जीवनबाटै भूमिगत भएकी गोमा गौतम (२०७४ मा पशुपक्षी विकास राज्य मन्त्री) लगायत अन्य विभिन्न माओवादी नेता तथा कार्यकर्तासँग भेटघाट हुन्थ्यो। उपरोक्त सबै पार्टी नेताहरू मेरा लागि पूर्व परिचित थिए। फेरि कृषि विकास कार्यक्रम उनीहरूको प्राथमिकतामा परेको थियो।
२०५९ साल कात्तिक २६ गते जुम्लामा हल्का वर्षा र लेकतिर हिमपात भयो। यसले गर्दा एकदमै चिसो बढेको थियो। त्यसको दुई दिनपछि अर्थात् कात्तिक २८ गते अफिसबाट छुट्टी भएर घरतिर लागेँ। ६ बजेपछि सदरमुकाम अथवा बजारमा कर्फ्यु लाग्थ्यो। हिँड्न पाइँदैन थियो। खै किन हो? त्यो दिन मनमा खल्लो महसुस भइरहेको थियो। मनमा कता-कता आत्तिए जस्तो डराए जस्तो भइरहेको थियो।
घर पुगेँ। खाना खाएँ। बिजुली थिएन। बिजुली बत्तीको पावर हाउस पहिले नै माओवादीले भत्काइसकेका थिए। घरमा सोलार बत्ती भएकाले केही सहज थियो। रातिको करिब १० बजेतिर बम र बन्दुकको ठुलो आवाज आयो। प्रायः अरू रातमा पनि बम र बन्दुकको आवाज आइरहने भएकोले सुरुमा सामान्य नै लाग्यो। पछि धेरै ठुलो आवाज आयो, आइरह्यो।
बाहिर मानिसहरू कराएको आवाज सुनियो। बाहिर गएर हेर्ने आँट नै आएन। लगातार बम खसिरहे। करिब १२ बजे बाहिर हेलिकप्टरको आवाज आयो। त्यो त नाइट भिजन लडाकु हेलिकप्टर रहेछ, भोलिपल्ट थाहा भयो। सोही राति २ बजे ८/१० जना मान्छे मेरो घरभित्र पसे। म, मेरा साना बच्चा र श्रीमती थियौँ। उनीहरूले आफ्नो परिचय दिँदै भने- ‘डराउन पर्दैन, तपाईंको घरमा बत्ती भएकोले हाम्रा घाइते बिमारीलाई उपचार गर्न ल्याएको।’
भोलिपल्ट कात्तिक २९ गते बिहानै बाहिर हेर्दा माओवादी लडाकुको लस्कर पूर्वतिर फर्किरहेको, देवल डाँडामा रहेको क्षेत्रीय प्रहरी इकाई कार्यालयमा आगो र धुवाँको मुस्लो आइरहेको, जताततै कहीँ माओवादीको त कहीँ प्रहरीको लासहरू ढलेको देखियो।
मन झसङ्ग भयो। डर लाग्यो। आङ काँप्न लाग्यो। मन जिरिङ्ग भयो। त्यत्तिकैमा बिजयनगरमा रहेको मेरो कार्यालय कृषि विकास कार्यालयमा गएँ। कार्यालय पूरै ध्वस्त छ। धुवाँ आइरहेको छ। जताततै गोलीका खोका यत्रतत्र छन्। अगाडि रहेको जिल्ला अदालत र पुनरावेदन अदालत त्यति खेरको जुम्लाको आधुनिक भवन जलेको छ, ढलेको छ। जिल्ला प्रहरी कार्यालय जलेको छ, ढलेको छ। प्रायः सबै सरकारी भवन र केही निजी भवन जलेका छन्, ढलेका छन्।
यताउता कोही मानिस पनि हिँडेको देखिँदैन। सदरमुकाम सुनसान छ। खल्लो छ। त्यतिकैमा जुम्लाका सिडिओ दामोदर पन्त र डिएसपी विष्णु घिमिरेको याद आयो, चिन्ता लाग्यो। अघिल्लो दिनमा एउटा बैठकमा सँगै थियौँ। पारि हेरेँ, जिल्ला प्रशासन कार्यालय पनि जलेको छ। अब भने झनै खतरा महसुस भयो।
त्यतिखेर जुम्लाको देवीदल गुल्मका गुल्मपति हिरालाल जोशी सहितको टोली सबै कार्यालयको अवस्था बुझ्न हिँडेको देखेँ। म पनि उनीसँगै हिँडेँ।
दुर्भाग्य, दुवै जना अघिल्लो रातको आक्रमणबाट ज्यान गुमाइसके छन्। सिडिओ दामोदर पन्त आफ्नै कार्यालय नजिक सुरक्षित हुन्छ भनी खनिएको बङ्कर (खाडल) भित्र लास भेटियो भने डिएसपी विष्णु घिमिरेको कुन स्थानमा मृत्यु भयो भन्ने यकिन नै भएन। उनको मृत शरीरको कुनै संकेत नै भेटिएन।
माथि गराल डाँडामा रहेको क्षेत्रीय प्रहरी इकाई कार्यालयका डिएसपीसहित ६ जना र मुख्य भूमिकामा रहेको देवलदल ब्यारेकमा ४ जना सुरक्षाकर्मीको मृत्यु भएको थाहा भयो। यही घटनाको सेरोफेरोमा लेखिका राधा पौडेलले ‘खलंगामा हमला’ नामक पुस्तक लेखी २०७० सालको मदन पुरस्कार समेत प्राप्त गरेकी छन्।
जुम्ला नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उद्गम स्थल समेत भएकोले यहाँका मानिसको जनजिब्रोमा घटना परिवेश र विचारसँग सम्बन्धित नयाँ उखान टुक्काको सिर्जना तुरुन्त गरिहाल्छन्।
हो, यही घटनाले जुम्लामा एउटा नयाँ उखान टुक्काको सिर्जना भयो- ‘बड्डा मरिग्या ढड्डा जलिग्या।’ यहाँ ‘बड्डा’ भनेको विशेष गरी प्रमुख जिल्ला अधिकारी दामोदर पन्तलाई संकेत गरिएको छ भने ‘ढड्डा जलिग्या’ भनेको सरकारी कार्यालयमा रहेका विभिन्न प्रमाण कागजहरू, अभिलेखहरू, स्रेस्ताहरू, रेकर्डहरू; नागरिकताको रेकर्डहरू, लालपुर्जाहरू आदि सबै जलिसके नष्ट भइसके, अब कहाँ खोजेर पाइन्छ? भनिएको छ।
जुम्ला तथा कर्णाली प्रदेशतिर जिल्लाको मुख्य मानिस, टोलको मुख्य मानिस अथवा घरको मुख्य मानिसलाई माया, सम्मान, आदरले बोलिने शब्द हो ‘बड्डा’। सरकारी कार्यालयमा रहेका पुराना तथा नयाँ रेकर्डहरू स्रेस्ताहरू अभिलेखहरू दस्ताबेजहरूलाई बोलिने सारांश शब्द हो ‘ढड्डा’। पुराना मान्छे (मान्ठ) मरिसके, कार्यालयमा रहेका रेकर्ड दस्ताबेजहरू जलिसके, नष्ट भइसके अब जो जसले जस्तोसुकै रेकर्ड तथा प्रमाणहरू बनाउन सक्ने स्थिति सृजना भयो भनिएको हो।
जुम्लाका जनताहरूले विशेष गरी नेपाली नागरिकता प्रमाणपत्र र जग्गाको लालपुर्जा लिन थुप्रै झन्झट बेहोर्नु पर्यो। त्यसैले माओवादी द्वन्द्वको यस घटनाले जुम्लीहरूको जनजिब्रोमा ‘बड्डा मरिग्या ढड्डा जलिग्या’ भन्ने एउटा नयाँ उखान टुक्काको सिर्जना भयो।
आजभोलि कुराकानीको सिलसिला होस् अथवा जो जससँग विषय वा प्रसङ्ग आयो भने जुम्लीहरू भनिहाल्छन्- ‘बड्डा मरिग्या ढड्डा जलिग्या।’ आजभोलि यो नेपाली उखान-टुक्का भएको छ।
(लेखक कृषि विकास कार्यालय, जुम्लाका तत्कालीन कार्यालय प्रमुख हुन्।)