कति तनाव छ है आजभोलिको जीवनमा? फलानाले यो गर्यो तनाव, ढिस्कानाले त्यो गर्यो तनाव! जता हेर्यो त्यतै तनाव।
आफ्नै जीवनमा दिनहुँ भइरहेको घर-परिवार, काम, बच्चा र अन्य विभिन्न तनाव त छँदै छन्; त्यहीमाथि सामाजिक संजालले दिएको तनावको त झन् कुरै नगरौँ।
सामाजिक संजालले हामीलाई सिकाएको छ नि, कोही चिनेका नजिकका आफन्त अथवा साथी संगतले जे गर्यो त्यही गर्नलाई। हिजो राति साथीहरूले घुमेको र पिज्जा खाएको फोटो फेसबुकमा हालेका थिए। अब आज पिज्जा नखाई मलाई पनि भएन! हामी मध्ये कति जनालाई यस्तो हुन्छ त?
पिज्जा त खानु पर्यो पर्यो अनि फोटो त नहाली हुँदै भएन नि। कहिलेकाहीँ त फोटो खिच्नु र हाल्नुको धुनले के खायो थाहा पनि हुँदैन। स्वाद पनि आएको हुँदैन खानेकुराको। आनन्द लिन नै बिर्सी सकियो जस्तो लाग्छ।
पहिला खिच्न पर्यो। अनि फेरि एडिट। अनि फेरी फोटो हाल्न पनि पर्यो। अनि समय समयमा भ्युज कति आयो पनि पत्ता लाउनै पर्यो। कति मेहनत! यो समय र मेहनत अरू कुनै काममा लायो भने त केही हुन्थ्यो होला।
हामी पिज्जा खानु र घुम्न त जानु पर्छ तर त्यो साँच्चिकै आफूलाई मन लगेर हो कि दुनियाँले गरेको भएर र दुनियाँलाई देखाउन मात्र हो? यो प्रश्न मात्र कुनै कुरा गर्न भन्दा अगाडि आफूलाई गर्यौँ भने पनि धेरै कुरा स्पष्ट हुने रहेछ।
मैले आजभोलि आफूलाई सोध्ने प्रश्न त्यही नै हो। मलाई मन लागेको छ र आफ्नो आनन्दको लागि र आफ्नो खुसी लागि गरेको हो भने त्यो गर्नु उचित लाग्छ मलाई। तर सबैले गरे त्यसैले गर्न पर्छ भन्न भावना चाहिँ मलाई खोक्रो लाग्छ।
राम्रा दृश्य देख्ने बित्तिकै क्यामेरा निकाली हाल्न मन लाग्छ। कहिलेकहीँ आफैलाई अचम्म लाग्छ मलाई, यो कुन एडिक्सन हो भनेर। आँखाले लिनु पर्ने आनन्द त क्यामेराले लिइरहेको छ। सामाजिक संजालको धुनमा कति मिठा पल, साथ र समय खिएर गए जस्तो लाग्छ।
फोटो लिनु, फेसबुक चलाउनु पक्कै पनि नराम्रो त होइन। तर सायद आफ्नो ‘लिमिट’ आफैले राख्नु पनि पर्छ। जब फोटो खिच्ने, हाल्ने अनि देखाउने अनि कति वटा लाइक या कमेन्ट आयो भन्ने मात्र हाम्रो धुन छ भने चाहिँ आफूले सोच्ने बेला भएको हो।
कतै जमघट हुन पाएको छैन सबैभन्दा पहिला त फोनकै जमघट हुन्छ। सबैलाई थाहा दिने पर्ने; आज कता कति बजे गएँ, कति बजे आएँ र के खाएँ? के भएको हो यो हामीलाई?
फेरि भनेन भने पनि अर्को पिरलो छ है! ‘आजभोलि तिमीलाई के भएको फोटो हाल्दैनौ?’ रे! यो कुन किसिमको प्रश्न हो? अब मेरो जीवनको सबै निर्णय त फेसबुकले गर्ने भएछ! मेरो जीवन कति सक्रिय छ त्यो अब फेसबुकले भन्ने रहेछ।
मसँग चाहिँ उल्टो हुन्छ फेरि, म धेरै खुसी र सक्रिय भएको बेला खासै फेसबुक चलाउँदिनँ। कहिलेकाहीँ फेसबुक अथवा सामाजिक संजाल डिएक्टिभेट गरेको छु भने २\४ दिनमै म त पूरै फ्रेस भएको महसुस गर्छु। आनन्द लिएको महसुस गर्छु। त्यही भएर बेलाबेलामा हराउँछु। मेरो आफ्नो अनुभवमा; म जब फोन चलाउन बिर्सन्छु नि, त्यो बेला पूरै रमाइलो र आनन्द लिएकी हुन्छु।
कति जनालाई त सामाजिक संजाल चलाउन पनि बाध्यता हुने रहेछ। मन नलागी नलागी पनि चलाउन पर्ने!
एक जना दिदी हुनुहुन्छ, वहाँको आमाले टिकटक किन नबनाएको भनेर किचकिच गर्नु हुन्छ रे! ‘सबैले बनाउँछन्, तँ पनि बना है’ भनेर भेटेपिच्छे भन्नुहुन्छ रे। सबैले आफ्नो छोरीहरूको टिकटक देखाउँछन् रे! अब वहाँले सबैलाई देखाउनको लागि बनाउनु कि आफूलाई मन लगेर? रहर भएको भए त बनाउनु हुन्थ्यो होला नि, मन लाग्दैन रे।
सबैले नाचे नाच्न पर्ने, खाएर फोटो हाले, आफूले पनि हाल्नु पर्ने, ट्विनिङ गरे, त्यो नि गर्नु पर्ने, फलाना घुम्न गए, अब जसरी होस् जान पर्ने!
केही फरक पर्दैन, आज कसैलाई नदेखाई होटेलमा खान पनि मिल्छ। बारबार लगाएको लुगा फेरि फेरि पनि लाउन मिल्छ। नसकेको बेला अथवा मन नलागेको बेला कुनै ठाउँ नजाँदा पनि केही फरक पर्दैन। यस्ता झिना मसिना कुराभन्दा माथि निस्किन सक्नु पर्यो।
फलानाले नयाँ स्कुटर किनिछिन्, अर्की त आज पोखरा घुम्न गइछिन्। अब तनाव आफूलाई! हैन त? यसो सोचौँ त, के भयो त? ठिक छ त, आज उसको लागि रमाउने। आफूलाई यस्ता सानातिना कुरामा अल्झाएर र देखासिकी गरेर बेकारको तनाव किन?
समय, बेला बखत, अवस्था मिलेको बेला आफू पनि घुम्न, थकाइ मेट्न र रमाउन जम्ला नि। तर किन अरूले खाएको, रमाएको, लगाएको देखेर तनाव लिनु? किन अरू गए भनेर जानु? जानु, खानु, नाच्नु तर आफ्नो लागि। आफूलाई मन लागेर। किन्नु तर आफूलाई चाहिएर, आफूलाई मन लागेर न कि सबैले किने त्यसैले।
हामीले खासमा आफूलाई राम्रो बनाउन, आफ्नो भविष्य बनाउन, आफूलाई भित्रबाटै खुसी पर्ने कुराहरूमा ध्यान दिनु जरुरी छ न कि फलानाले के गर्यो र फलानीले के गर्यो! कसले के लायो, के खायो, के गर्यो, जे गरोस् मतलब नगर्नुस्। आफूलाई खुसी दिने स-साना कुराहरूलाई ध्यान दिनुस्। आफूले आफूलाई चिन्नुस्, आफ्नो जीवन बनाउन यति व्यस्त हुनु पर्छ कि दुनियाँले जे गरे पनि आफ्नै धुनमा मन मगन मस्त हुन सक्नु पर्छ।
अर्को खुसी रहने उपाय चाहिँ अरूको खुसीमा पनि खुसी हुन सिक्नु पर्छ। जीवन लामो छ, पालो सबैको आउँछ। आज उसको त भोलि मेरो। आज मेरो त भोलि उसको। मेरी दिदीले आफ्नो सहजताको लागि गाडी किनिन्। अब म दुखी हुने कि खुसी हुने भन्ने कुरा मेरो मानसिकतामा फरक पर्छ। पक्कै म भने खुसी नै हुन्छु।
मेरी नन्दले जागिर पाइन्, अब म मेरो जागिर छैन भनेर निराश हुनु कि उनको लागि खुसी हुनु? यो पनि मेरै मानसिकतामा भर पर्छ। तर म यी सबै कुरामा खुसी हुन सक्दिनँ भने समस्या ममा छ र मैले मेरो मानसिकताको समाधान निकाल्नु पनि जरुरी छ।
सामाजिक संजालले त धेरै नै समस्याहरू निम्त्याएको छ आजभोलि। त्यसमध्ये एउटा समस्या ‘सोसल मिडिया डिप्रेसन’ हो। हामीले सामाजिक संजाल चलाउने कि सामाजिक संजालले हामीलाई चलाउने? जसले जे गर्यो त्यही गर्नु पर्ने, जता गयो त्यतै जानु पर्ने, जे लगायो त्यही लगाउन पर्ने। यो त पूरै सामाजिक संजालले हामीलाई आफ्नो धुनमा नचाइरहेको छ।
आजभोलि आफूलाई कतै जान निम्तो आएको छ भने म आफूलाई यही सोध्ने गर्छु- के मलाई साँच्चै त्यहाँ जान मन छ? के मेरो समयको राम्रो उपयोग हुन्छ? के मेरा मन मिल्ने मान्छेहरू त्यहाँ हुनेछन्?
यदि यी सबै प्रश्नको उत्तरले मलाई जाऊ भन्छ भने मात्र म जान्छु। अब आफ्नो समयको महत्त्व पनि बुझिरहेको छु। सबैतिर जान पनि मन लाग्दैन। जरुरी पनि छैन।
अनि साथीहरूसँग आनन्द लिएको बेला आफैलाई सम्झाउने गर्छु, मलाई कति रमाइलो भएको छ। म सक्दो मोबाइल नचलाऊ र यो समयको सदुपयोग गरौँ भन्छु। छोराको छुट्टी चलिरहेको छ। उसले पिज्जा खान जाम भन्यो, आमा-छोरा गयौँ। पिज्जा खाँदै गर्दा सोचेँ, आखिर फोटो नखिची पिज्जा खाँदा के चाहिँ हुँदो रहेछ त?
बाबुले बेलाबेलामा फोन मागिरहेको थियो। उसलाई पनि सम्झाएँ बुझाएँ कि तिमी र म यति आनन्द लिइरहेका छौँ, आज फोन नहेरे पनि केही हुँदै।, उसले पनि बुझ्यो। बानी त हो, जस्तो लगायो त्यस्तै हुने हो।
छोरा पनि धेरै फोन चलाउन खोज्छ, चिन्ता लाग्छ। उसलाई पनि आफू घर भएको समयमा गट्टा खेल्न, फुटबल खेल्न, स्केच बनाउन र आफू पनि ऊसँग संलग्न हुने कोसिस गर्छु। कोसिस जारी छ। आफ्नो बच्चासँग खेल्दा र कुरा गर्दा हामीले फोन नचलाउने नियम बनाएका छौँ। बेडरुममा सक्दो फोन कम चलाउने नियम पनि जारी छ।