गाउँले परिवेशमा जन्मे हुर्केको भएर होला सायद मलाई त्यही गाउँ नै प्यारो लाग्छ। सानैबाट स्कुल जान रहर गर्ने म। घरबाट स्कुल जान करिब २० मिनट उकालो हिँड्नु पर्ने थियो। जब स्कुलको छुट्टी हुन्थ्यो अनि हामी सबै साथी ‘छुट्टी मकै भुट्टी’ भनेर उफ्रिँदै घरतिर लाग्थ्यौँ।
घर पुग्नसाथ सबैभन्दा पहिला आमालाई खोज्ने दैनिकी नै थियो। काम गर्न बारीमा जानुभएको रहेछ भने आमालाई खोज्दै त्यही पुग्ने गर्थ्यौँ। त्यसपछि खाजा खाइसकेर हामी धुलोमा भलिबल खेल्न जाने गर्थ्यौँ। हात त धुलोले पट्पटी फुट्थ्यो हाम्रो। न भविष्यको चिन्ता थियो न वर्तमानकै चिन्ता। त्यो बेला हामी जति खुसी कोही थिएन होला सायद।
बालापन सबैको यस्तै यस्तै हुन्छ थाहा छ। जब हामी किशोरावस्थामा पुग्छौँ नि, अनि दुनियाँ हेर्न पुग्ने रहेछौँ। लोभ, रिस, लालच, ईर्ष्या सबै यही उमेरमा हुने रहेछ। म जस्तो जान्ने त कोही छैन लाग्ने रहेछ। तर त्यो समय नै सबैमा त्यस्तो हुने रहेछ। बालापन के हो बिर्सिदिने उमेर रहेछ।
अहिले सम्झिँदा बालापन नै प्यारो लाग्छ। केही चिजको पिर नहुने, भविष्यको चिन्ता नि नहुने। आहा! त्यो बालापन कति मिठो हुने गर्दथ्यो। भलिबल म्याच नि खेल्ने गर्थ्यौँ। कति खुसी हुन्थ्यौँ। जित्यो भने कुखुराको भाले पाउँथ्यौँ। हारे रुँदै आउने गर्दथ्यौँ।
हाल म कोरियामा छु तर मलाई मेरै बालापनको खुब याद आउँछ। मेरो बालापनका साथीहरू कहाँ गए होलान् र के गर्दै होलान्? सँगै गुच्चा खेलेको, लप्सीको बियालाई घोटेर भुरुङ नचाएको कति याद छ कति मेरो बालपनको।
त्यो गाउँमा चिरबिर गर्दै सुसेली खेल्ने चराहरूको कति याद छ कति। गाउँमा बग्ने ठाडे खोला झरनामा चराहरूको चिरबिरको कति हो याद कति। बाख्रा चराउन जाँदा बाख्रा कता छ थाहा छैन तर साथीहरूसँग डन्डीबियो खेलेको याद आउँछ। मोजाको बल बनाएर खेलेको त्यो बालापन फेरि पाउन मन छ। उमेर र समयले त्यो अवसर मिल्दैन पक्का नै छ तर बालापन याद र सपनीमा आइराख्ने रहेछ।
स्कुल पढ्दा सरहरूले कुखुरा बनाउनु भएको कुरा अहिले झलझली याद आउने रहेछ। हुन त म अहिले धेरै टाढा छु तर आफ्नो गाउँ परिवेश र यादहरूलाई सम्झाइदिने रहेछ यो विदेशले। सबैभन्दा आनन्द आउने उमेर नै बालापन रहेछ। त्यसपछि त तनाव नै तनाव रहेछ।
हो, म त्यो बालापनमा फेरि रमाउन मन छ तर म अब परिपक्व भइसकेँ भनेर मेरो समाजले मलाई निधारमा लाहा छाप हानेको छ। मैले बच्चाको हरकत गरेँ भने समाजले मलाई पागल भन्छ सायद। मलाई समस्या त्यो बालापन कसले र किन खोसियो भन्नेमा छैन। समस्या यही नेर छ कि ‘अब तँ ठुलो भइसकिस् बच्पना नगर’ भन्नेमा हो।
आफ्नो माटो प्यारो बालपनमा बढी हुने गर्छ। तर कता कता लाग्छ कि फेरि बालापन आए क्या आनन्द हुने थियो। अहिले छोरा बालापनमा छ। उसको रहर देखेर आफूलाई त्यही बालापनका दिनहरूमा सम्झिने गर्छु।
अहिले आफ्नो देशबाट टाढा छु। यो परदेशलाई आफ्नो ठानी परिश्रम गरिरहेको छु। यहाँ धेरै सेवा सुविधा छन्। तर पनि मलाई मेरो देशकै माटो प्यारो लाग्छ। मलाई होलीका रङहरूभन्दा नि मेरो देशको माटोसँग बढी माया लाग्छ। किनकि म माटोसँग हुर्केको मान्छे हुँ।
संसारका धेरै ठाउँ देखेँ तर मेरो देशको माटो जस्तो अरू देशको माटो मलाई प्यारो लागेन, आफ्नोपन मिलेन। त्यो रातो माटो र कमेरोसँग होली खेलेर हुर्केको म मेरो नेपाल आमालाई कहाँ भुल्न सक्छु र!
दुनियाँभन्दा बेग्लै मेरो बालापनको त्यो क्षण सम्झिँदा नि कति खुसी लाग्ने रहेछ। यदि भगवान् हुनुहुन्छ भने मेरो बालापन फिर्ता दिनुहोस्। म त्यही बालापनमा रम्न चाहन्छु। थाहा छ अब मेरो बालापन फिर्ता पाउने छैन। त्यो सम्भव हुने कुरा पनि हैन। तर पनि मन उडेर त्यतै पुग्ने रहेछ।
अहिले छोराको बालापन हेरेर आफ्नो विगत सम्झिएको छु। हुन त उसको बालापन पनि समयको खेल हो। एक दिन ऊ पनि ठुलो हुनेछ र यो समय विगतमा गनिने छ। ऊ पनि मैले झैँ आफ्नो सन्ततिमा आफ्ना विगत हेर्ने प्रयास गर्छ। तर पनि आफूले भोगेको समय प्रिय हुन्छ। ती यादहरूमा स्मृतिमा आइरहने छन्।
अहिले परदेशमा बसेर म देश अनि आफ्नो विगतसँग न्यास्रिएको छु, आत्तिएको छु; त्यसरी नै जसरी स्कुलबाट फर्किँदा घरमा आमालाई नदेख्दा। एक दिन त्यो बालापनको रहर मेटाउनु छ मलाई । विदेशमा हुँदा बालापनको याद त कति हो कति आउने रहेछ नि। त्यो उमेर भनौँ कि समय फर्काउन नसके नि ती यादहरू दिलाउन भए नि रातो माटो र कमेरोको होली खेली मेरो बालापनको याद दिलाउन मन छ मलाई। ती दिनको पर्खाइमा छु।