विदेश जानेको कथा र पीडा हरेक नेपालीको मनमनमा छ। हरेक घरका कथा हुन्। अनुभव र अनुभूति हुन्। कथाहरू थरीथरीका छन्। ठुला देशमा जानेहरूको कथा, साना देशहरूमा जानेहरूका कथा, कमाउनेहरूको कथा, नकमाउनेहरूको कथा। अनगिन्ती छन्।
समग्रमा भन्ने हो भने ती पीडाका कथाहरू धेरै छन्। यसै पनि बिदेसिनु आफैमा पीडादायक हो। परिवार छोडेर जानु नै खुसीको हरण हुनु हो। समुद्रपारि घर-परिवारका सम्झना बोकेर जानु सुखानुभूति होइन। झिना मसिना सपना बोकेर घर-परिवारका दुःख दूर गर्ने सपना बोक्नु अर्को दुःख थप्नु हो।
युवाहरू कलकलाउँदो बैँस बोकेर पुग्छन्, विदेशी भूमिमा अनि जीवनका सुन्दर दिनहरू सुन्दर भविष्य सम्झेर बिताउँछन्। भोलिको सुखको कल्पना गर्छन् अनि समय काट्छन् भोलि आउने सुखको हिसाबकिताब गर्दागर्दै थाहै नपाई लाउँला खाउँला भन्ने जीवन सकिन्छ अनि एक थान रित्तो जीवन बिसाउन आइपुग्छन्। सबै कुरा परिवर्तन भइसकेको हुन्छ तर दुःख भने जस्ताको त्यस्तै। गलेको जीवन उही पुराना दिनहरूको यादमा बित्छ। अनि दोष दिन्छन्, भाग्य र नियतिलाई। खै अब त्यो भाग्य हो या नियति थाह छैन।
नमरी स्वर्ग देखिँदैन भनेजस्तै विदेश पुगेपछि मात्र थाह हुन्छ, दुःख र संघर्षको सीमा हुँदैन भनेर। अर्काको खटनमा परेपछि घर फर्कन पनि मुस्किल पर्छ। जति पीडा भए पनि घरको दुःख ढाक्नको लागि मुटुमाथि ढुङ्गा राखी राम्रो खबर पठाउँछन्। जसोतसो ऋणको बोझ काट्न पनि निश्चित समय विदेशमा रहन्छन्। घर-परिवारको माया, देशको माया जतिसुकै भए पनि यथार्थको अगाडि टरेर टर्दैन।
यी सबै कुराको बाबजुद पनि कतिपय युवाहरू फर्कन्छन्। जोखिम मोलेर भए पनि आफ्नै घर गाउँ फर्केर पुरानो लय समात्छन्। परदेशमा सिकेको ज्ञान र सीप देशमै फलाउन पनि खोज्छन्। नयाँ तरिकाले पुरानो काम गर्न पनि खोज्छन्। यस्ता धेरै उदाहरणहरू छन्। ती व्यक्तिहरू अरूको लागि प्रेरणाको स्रोत बन्न सक्छन्। तर यी सबै कुरा सहज भने पटक्कै छैन।
राम (नाम परिवर्तन) कक्षा दशमा फेल भयो। विकल्प फेरि पढेर पास गर्ने थियो तर उसले त्यो विकल्प होइन विदेश जाने विकल्प रोज्यो। बाबु आमाले पनि पढेर भलो होला भन्ने सोचेनन्। बरु विदेश गयो भने पैसा कमाउँछ भन्ने सोच राखे। छरछिमेकबाट सरसापट गरेर पैसाको जोहो गरी उसलाई विदेश पठाए।
अहिले जसरी हाम्रो समाजमा विदेश उड्नु समस्याको समाधान मानिन्छ, विमानस्थलबाट देश छोड्नु सुन्दर भविष्य ठानिन्छ। त्यसरी नै उसले पनि देश छोड्यो। एकछिन परिवारको आँखामा आँसु झरे पनि उनीहरूको मन दुखी थिएन। बरु आशा र सपना भरिन थालेका थिए।
घर-परिवारले पनि विदेशीको भूमिमा गरिने परिश्रम र दुःखको मूल्य हिसाबकिताब गर्दैनन् बरु छोराछोरी विदेश उडे आम्दानीको स्रोत बढ्छ भन्ने सोच मात्र राख्छन्। महिना हिसाब गर्छन्। महिना मरेपछि फोन गर्न थाल्छन्। कमाइको हिसाबकिताब घरबाटै राख्छन्। घरका कृत्रिम दुःख देखाएर भए पनि पैसा मगाउँछन्। यो निर्मम दुःख पनि आज संस्कृति बनेको छ। संस्कृति र चलनभित्र दुःख देखिँदैन।
विदेश त पुग्यो तर सोचेजस्तो भएन। कम्पनी राम्रो परेनछ। पैसा बचत गर्न उसलाई मुस्किल थियो तर ऋणको बोझले ऊ फर्कन सक्दैन थियो। साहुको नमिठो व्यवहार सम्झेर पनि ऊ त्यही अडियो। अनेक बाध्यतामा जेलिएर ऊ दुबईको आकाशमुनि संघर्ष गर्न थाल्यो। दिन गन्ती गरेर समय कटाउन मुस्किल थियो। कम्तीमा पनि तीन वर्ष कटाउने बाध्यता थियो। उसले पनि त्यति समय बस्ने निधो गर्यो।
त्यो समय कम थिएन तर पनि ऊ होमियो बाध्यताको जालोभित्र। जति दुःख भए पनि समय रोकिने कुरा भएन। जसोतसो तीन वर्ष पूरा भयो। उसले ठुलो सास फेर्यो। गएको ऋणसम्म चुक्ता गर्यो। ऋण काढेर गयो। फर्कँदा त्यही ऋण पूरा गर्यो। उसको हातमा केही पनि थिएन। जस्ताको त्यस्तै। खै उसको तीन वर्ष कता हरायो। उसले तीन वर्ष केको लागि बितायो। ऊसँग पनि उत्तर थिएन। तर देश फर्कन पाएकोमा भने ऊ खुसी थियो।
नेपाल आउने बित्तिकै काठमाडौँमा उसको र मेरो भेट भयो। उसले मलाई सबै बेलिबिस्तार सुनायो। उसको कुरा सुनेर म छक्क परेँ। मलाई मनमनै लाग्यो कि दुःखले मानिसलाई परिपक्व बनाउने रहेछ। उमेरले ऊ सानै थियो तर कुराले परिपक्व थियो। दुःखले उसलाई उमेरभन्दा बढी ज्ञान दिएको थियो। उसले मलाई सिकाउन थाल्यो तर मैले पनि अनुभवरूपी ज्ञानको शिरोधार्य गरेँ। मैले उसको सत्यलाई स्वीकार गरेँ। दुई चार ऊ मसँगै बस्यो। उसले सबै बेलिबिस्तार लगाउन भ्यायो पनि। उ
सले उसको निचोड बतायो, ‘दाइ म विदेश जान्नँ, अब गाउँमा गएर जस्तोसुकै काम गर्छु। कृषि गर्छु। तरकारी उत्पादन गर्छु। टमाटर रोप्छु। जसरी नि त्यहाँभन्दा राम्रो गर्न सक्छु।’
मैले उसका कुरालाई अन्यथा मानिनँ। मनमनै सलाम गरेँ। मलाई खुसी पनि लाग्यो। गाउँ नै रित्तिएको बेला एउटा युवा गाउँमा बस्नु ठुलो प्रेरणाको कुरा थियो।
विदेशीको पीडा मैले यति नजिकबाट सुनेर अनुभूति गर्न पाएको थिइनँ। जब उसले मलाई आत्मादेखि सुनायो। मेरो मन झस्कियो। उसको कुराले मेरो मन शान्त बस्न सकेन। दुई चार दिन त तिनै कुरा घुमिरहे। मनमा अनेक कुरा खेल्न थाले। मैले अनेक धारणा बनाए। विदेश जानु सजिलो विषय होइन भन्ने सैद्धान्तिक ज्ञान चाहिँ थाह थियो।
अर्को देश, अर्को भाषा, अर्को परिवेश, अर्को संस्कृति सम्पूर्ण कुराहरू फरक हुन्छन्। कठिनाइ त अवश्यम्भावी हुन्छ। अनि ती सम्पूर्ण कुराहरूमा सम्झौता गरिकन पनि विदेशीको हेपाइ, पेलाइ र अपमान सहेर बस्नुपर्दा दुःख नभएर के होला र? पक्कै पनि सोचेभन्दा बढी दुःख होला।
मैले उसले भनेका हरेक कुरा केलाएर सोचेँ। उसका कुरा सुनेर कोही पनि विदेश जाँदैन होला जस्तो पनि लाग्यो। तर दिनदिनै समाचारहरू सुन्दा मलाई विश्वास लागेन। विमानस्थल कहिल्यै खाली भएन। बरु नेपालीहरू सबै कुरा गुमाएर पनि विदेश जान होमिएका समाचारहरू सुनिरहेँ, पढिरहेँ। अनि मलाई लाग्यो, सबैको आ–आफ्नै दुःख होला।
त्यसपछि लामो समय ऊसँग भेट भएन। कुराकानी पनि भएन। कम्तीमा पनि ऊ एक वर्ष जति गाउँमा नै बस्यो र त्यो समय बिच कहिल्यै पनि सम्पर्कसम्म पनि भएन। लगभग एक वर्षपछि म गाउँमा पुगेँ। त्यो बेला ऊसँग फेरि भेट भयो। उसले मलाई उसले गरेको कृषिको बारेमा सुनायो। देखायो। उसले टमाटर र खोर्सानी खेती गरेको रहेछ।
म उसको खेती देखेर दङ्ग भएँ। आधुनिक खेती गरेको थियो। आम्दानी पनि राम्रो हुन्छ भन्ने कुरा सुनायो। मलाई साँच्चै खुसी लाग्यो। वास्तवमा उसले जे बोलेको थियो मलाई लाग्यो कि उसले वचन पूरा गरेको थियो। स्वदेशमा केही हुन्छ भन्ने भान पारेको थियो। उसले भोगेको पीडालाई उसले क्यास गरेको थियो। विदेशमा भोगेको पीडाको क्षतिपूर्ति गरेको थियो। जे होस ऊ पनि आफैबाट खुसी थियो। उसले थप अगाडिका योजनाहरू पनि सुनायो। मलाई पनि ठिकै लाग्यो।
उसले लिएका योजनाहरू नराम्रा थिएनन्। मलाई लाग्यो कि ती पूरा गर्न सक्ने खालका नै थिए। उसले आशाका कुरा सुनाउँदा म हर्षित नै थिएँ। तर अपसोच, म काठमाडौँ फर्किने बेला उसले मसँग केही गुनासाहरू पनि सुनायो। ती उसले गरेका गुनासाहरू हतोत्साहित गर्ने खालका थिए।
उसले भन्यो, ‘दाइ, म यही केही गरेर यही बस्न मन छ तर मलाई बाबुआमाले जसरी विदेश जा भन्छन्, मलाई जान मन छैन। विदेश जाँदैनस् भने बिहे गरेर छुटिएर बस भन्छन्।’
ऊ बिचमै रोकियो। मैले परिपूरक प्रश्न पनि गरिन्। गर्न मन पनि लागेन। तर पनि म एक छक्क भने परेँ।
म बाटो लागेँ। मन भने उसका कुरामा अल्झियो। मेरो हिसाबमा सोचिरहेँ। केही दिनपछि कम हुँदै गयो। मेरो आफ्नै कुराले मेरो आकाश ढाकियो।
लगभग सात महिनापछि हाम्रो भेट काठमाडौँमा भयो।
मैले उसलाई सोधेँ, ‘के तेरो कुरा घरमा बुझाइस् त?’
ऊ एकछिन त मलाई हेरिरह्यो। केही बोलेन।
‘दाइ, गाउँ बस्न नसकिँदो रहेछ। म त हारेर हिँडेको। गरिखान नदिने रहेछन्,’ ऊ गलिसकेको आभास भयो।
मैले फेरि सोधेँ, ‘किन अब गाउँमा केही गर्न सक्दैनस्? कि केही हुँदैन?’
‘गाउँमा सब थोक छ, पैसा पनि छ तर बस्ने वातावरण छैन।’
उसको कुरा सुनेर म छक्क परेँ। चासो पनि लाग्यो। सवाल पनि उठ्यो कि के समस्या छ र गाउँमा?
‘किन के भयो र? कसले के गर्छ र?’ मैले जोडा प्रश्न गरेँ।
‘दाइ, विदेश नजानेलाई त गाउँमा हेला गर्छन्। खिसी गर्छन्। गिज्याउँछन्। हाँस्छन्। कुरा गरेर साध्य छैन। विदेश नजाने हो भने त विवाह पनि नहुने रहेछ। पहिलो प्रश्न नै कुन देश गएर आएको भनेर सोध्छन्,’ उसले भन्यो।
गम्भीर खालको हाँसो लाग्यो अनि मैले उसको अनुहारमा हेरेँ। सत्यता यसै झल्किन्थ्यो उसको अनुहारमा। म डुबेर एकछिन सोच्न बाध्य भएँ। समाज सम्झेर घृणा पनि लाग्यो।
‘गाउँमा केही गर्छु भन्ने त वातावरण छैन। मलाई घरबाट नै हतोत्साह गरेँ। साँझ बिहान जति बेला भेट हुन्छ, विदेश जा मात्र भन्छन्। गाउँमा केही नाप्दैनस्। साथीभाइलाई हेर त को छ यहाँ? सबै जना विदेश छन्। धेरथोर कमाएकै छन्। बुद्धि नबिगार्। देशमा बसेर नबिग्री। खुरुक्क जा। यही हो दाइ। रातदिन भोग्ने कुरा,’ उसले सबै वृत्तान्त सुनायो।
केही समयपछि ऊ फेरि उही परदेशमा पुग्यो। अहिले पनि ऊ विदेशमै छ। सायद सम्झिँदो हो त्यही गाउँघरको तितो अनुभव। अनि रोकिँदो हो उसको उठेको पाइला पनि।
आक्कलझुक्कल कुराकानी हुन्छ। म भने उही प्रश्न बारम्बार सोधिरहन्छु, ‘कहिले आउँछस्?’
‘खै दाइ त्यहाँ आएर के गर्नु? फर्किनलाई किन आउनु? त्यही बसौँ भने त्यही हो समाज। काम गरेर बस्ने वातावरण छैन। बरु यही ठिक छ। दुःख त छ तर कसैले देख्दैन। कसैले मतलब राख्दैन। आउँदिनँ अहिले तत्काल,’ उसले उही गुनासोसँगै निर्णय सुनाउँछ।
म नाजवाफ हुन्छु।
यो एउटा कथा भन्दा पनि यथार्थ हो। आज नेपाली युवाहरू जो विदेशमा छन् उनीहरू देश फर्कन नचाहने भने पक्कै होइन तर सबै जना बाध्यतामा अल्झेका छन्। अर्को कुरा हाम्रो समाज युवाहरू विदेश पठाउन उद्धत छ किनभने यहाँ विदेश नजानेहरूको इज्जत गरिँदैन। खेती किसानी गर्नेहरू हेला गरिन्छन्। अपमान गरिन्छ। कमजोरको संज्ञा दिइन्छ। यो त हाम्रो समाजको संस्कृति बनिसकेको छ।
हरेक युवाहरूको दिमागमा विदेश जानुपर्छ भन्ने छ। सायद धेरैको विदेश यात्राका पछाडि यही कथा लुकेको छ। विदेश नजा कसैले भन्दैन। देशभित्र नै केही गर्नुपर्छ भन्ने ढाडस कसैले दिँदैनन् बरु यहाँ केही हुँदैन गइहाल भन्ने सल्लाह पो भन्छन्। उद्यम गर्न, व्यवसाय गर्न कसैले ऋण दिँदैन तर विदेश जान तुरुन्त पाइन्छ। यो सोचले देश र समाजको भलो हुनेवाला छैन। समाज स्वार्थी र निकम्मा बनिरहेको छ।
हाम्रो समाज यसरी नै सकिँदै छ। घर होस् वा देश छोड्न कसैलाई मन हुँदैन होला तर विदेश जानुपर्छ भन्ने मान्यता स्थापित भइसकेको छ। सबैको मनमा सत्य बनी गडेको छ। विदेश नजानु कमजोर ठहरिनु, असफल हुनु, लाटो सोझो हुनु र समाजमा पछि पर्नु भन्ने भाष्य निर्माण भएको छ। यो भाष्यका अगाडि एउटा बबुरो व्यक्तिले केही गर्न सक्दैन अनि ऊ सबैदेखि हारेर पुग्छ विदेशको भूमिमा।
व्यक्ति आफूलाई के चाहिएको छ भन्ने कुरा होइन, समाजले के चाहन्छ र कसरी हेर्छ भन्ने कुराले पाइला विदेशतिर नै बढ्छ।