केही दिनअघि एउटा हिँड्दा हिँड्दै अन्तर्वार्ता सहभागी हुँदा सहभागी मध्येका एक जना मित्रले आफ्नो विषयको शोधपत्र कठिन भएको र सामग्री तथ्याङ्क पाउन कठिन भएकाले महिनौँसम्म लागेर शोधपत्र तयार गरेको बताए। साथै उनले शोधपत्रलाई मानिसहरूले ‘सारपत्र’ भन्ने पनि गरेको बताए. किन सारपत्र भनियो त भन्दा सबै सार्ने भएकोले सारपत्र भनिएको रहेछ। हुन त सबैले आफ्नो विषय कठिन छ भन्ने दावा गर्छन् नै तथापि उहाँले गरेको विषय कठिन न थियो।
हुन त त्रिविमा अधिकांश शोधपत्रमा प्लेगरिजम अर्थात् अरूको हुबहु सारेको, नक्कल गरेको सिकायत बारम्बार आउने गरेको छ। तर पनि अहिले यसमा कडाइ छ भन्ने सुन्नमा आयो। खैर प्राध्यापक समेत भइसकेका व्यक्तित्वहरू पनि यसमा मुछिएका छन्। प्राज्ञिक क्षेत्रमा दल निकटता, दल सम्बद्धताले गर्दा गम्भीर त्रुटि पनि क्षम्य भएको छ।
पोखरामा हामी पढ्ने समयमा पृथ्वी नारायण क्याम्पसमा सबैजसो शोधपत्र ‘रारा चाउचाउ’ अर्थात् गण्डकी नुडल्सको भएकोले कलेजले त्यसलाई नलिने गरेको थियो। यस्तै त्रिवि काठमाडौँ अन्तर्गतका कलेजमा ‘सडक बालबालिका’ हरूको बारेमा धेरै शोधपत्र छन्। त्यसैले यस बाहेक अन्य विषय चयन गर्न भनिएको पनि सुनिन्छ।
प्लेगरिजम जाँच्ने सफ्टवेयर भएकोले अहिले विद्यार्थी सतर्क नै छन् तर अनुसन्धान भन्ने विषय सबै विद्यार्थीहरूमा भारी बनाइएको छ र सबैमा भय नै छ। यो भय अरू कसैबाट पनि होइन, स्वयम शिक्षकबाट सृजना गरिएको छ। अपवाद बाहेक पढाउने बेलामा गतिलो नपढाउने तर शोधपत्र भने राम्रो खोज्ने रोग रहेको आरोप छ। अर्कोतर्फ शोधपत्रमा नम्बर दिँदा पनि अन्य विषयमा कस्तो अंक छ हेरी सुपरभाइजरबाट अंक प्रदान गर्ने चलन छ।
म आफू बच्चाको एनजिओमा काम गर्दा एक जना नेपाली महिला मिनोसोटा अमेरिकाबाट सडक बालबालिकाको बारेमा पिएचडी (विद्यावारिधि) शोधपत्र तयार गर्न गर्न प्रोफेसरसहित आएकी थिइन्। उनी करिब ९ महिना बसेर काम गरिन्। यसरी गहन शोधपत्र पनि बनाइएका छन्। यस कारण सबैलाई सारपत्र भन्नु अन्यथा होला।
शोधपत्रहरू किन्न पाइने, लेख्ने मान्छे भेटिने, पैसा लिएर काम गरिदिने, शोधपत्र अगाडि चाहिने प्रस्ताव पत्र समेत तयार गर्ने तथा पर्चा, पोस्टर, पम्पप्लेट समेत टाँसेको सहरका चौक, गल्ली र विश्वविद्यालय वरपर तथा कलेज नजिक यत्रतत्र भेटिन्छ। शोधपत्रको व्यापार गर्ने जमात बाक्लै छ। गरी खाएका छन्, त्यो पनि राम्रै हो। यो गर्न पनि तागत र ज्ञान हुनपर्यो। तर किन्ने, सेवा लिने, खरिद गर्ने महानुभावलाई भने मान्नै पर्छ। प्रणालीमा अधिक छिद्र भएकाले अपराध मौलाएको छ।
हुन त त्रिविमा नै ‘घिउ तथा मसिनो चामल’ आदि दस्तुर चढाउने कुरा सुनिन्थ्यो ५०/६० साल ताका। समय फेरिए पनि नियति र प्रवृत्ति नफेरिने हाम्रो मुलुकमा यस्तै छ। एकलव्यले औँला काटी गुरु भेटी चढाएको संस्कार तथा इतिहासबाट गुज्रिएका हामी नेपाली नै हौँ। यस्तै नै रहेछ जहाँसम्म न सुधार्नेहरू तयार छन् न त सुध्रिनेहरू सुध्रिन तयार छन्। ‘एक से बढकर एक’ छन्। यसैले सुध्रिन कठिन छ नै। अल्छी जिब्रा मिठा चिउरा चलिरहेकै छ।
यी त भौतिक कुरा भए, अब अन्य अभौतिक कुरा जुन अझ गम्भीर छन्, जसमा शारीरिक तथा यौन शोषण, यौन हिंसा, दुर्व्यवहार छन् नै। जसमा त्रिविमा दर्जनौँ केस छन्। थामथुम पारेर फकाई फुलाई गरी सल्टाइएको छ र मिलाइएको छ। प्राध्यापकबाट शोधकर्तालाई बारम्बार एकान्तमा भेट्न बोलाउने, फोन गर्ने, डिनर अफर गर्ने, घुम्न बोलाउने आदि अवाञ्छित हरकत त कति छन् कति। साथै विद्यार्थीलाई हौसला गिराउने, हेप्ने, खिसीटिउरी गर्ने, निरुत्साहित पार्ने धेरै प्रिन्ट गर्न लगाउने पनि छन्।
शोधपत्र किन सारपत्र भयो त? कुरा सिधा छ; कठिन, शिक्षण सिकाइमा कन्जुस्याइँ, झारा टार्ने चलन, सोच, प्रवृत्ति तथा नपढी विद्धान बन्ने हुटहुटीले गर्दा शोधपत्र सारपत्र नै बनेको छ।
मेरो जानकारी आएसम्म शोधपत्र तयार गर्न दश/बिस हजार रुपैयाँसम्म खर्चिने सुनेको छ। त्यसो त त्रिवि चिकित्सा शिक्षण संस्थामा नक्कली परीक्षार्थी भेटेको कुरा त स्वयमले नै प्रत्यक्ष देखेको छु। परीक्षा नै नक्कली परीक्षार्थी हुने देशमा थेसिस अर्थात् ‘डिजर्टेसन’ सार्नु, नक्कल गर्नु ठुलो विषय भएन। पहुँचवाला जान्ने सुन्ने, धनीमानीबाट यस्ता हरकत भइरहेका छन्। समाजले पनि पचाइरहेको छ।
अहिले पछिल्लो समय आएर शोधपत्र अनिवार्य छ। जबकि केही दशक अगाडि स्नातकोत्तर तहमा समेत शोधपत्र नै नगरी पेपर नै लेख्ने चलन पनि थियो, अन्य तहको कुरा परै जाओस्।
अहिले बच्चैदेखि प्रोजेक्ट वर्कको भारी छ, बच्चामा ज्ञान पनि बढेको छ। प्रोजेक्ट वर्क, एक्जिविसन, टर्म पेपर, फिल्डवर्क, रिपोर्ट आदि लेख्दालेख्दै बच्चाले स्कुल तहमा नै धेरै कुरा सिक्छन् पनि। यस कारण समस्या छैन।
हामी पढ्ने बेला यानि ५० को दशकमा सार्ने, चोर्ने, नक्कल गर्नेको जमात बाक्लै थियो नै तर त्यो बेला त यतिका धेरै शोधपत्र, अनुसन्धान, टर्म पेपर, फिल्ड रिपोर्टको चलन नै थिएन। म आफैले भोगेको, बेहोरेको, देखेको जब कि प्रवीणता प्रमाणपत्र तहमा मुटकोर्ट तयारपछि सिधै स्नातकोत्तर तहमा शोधपत्र लेख्नुपर्ने हुन्थ्यो। त्यो पनि ऐच्छिक थियो। अहिले यो अवस्था रहेन।
विदेशतिर त प्राध्यापकले अन्तर्राष्ट्रिय विद्यार्थी तथा शोधकर्तालाई भौतिक रूपमा नभेटी शोधपत्र जाँच अध्ययन, थपघट, शुद्धाशुद्धि, फिडब्याक दिने तथा अंक दिने चलन छ। अनलाइन प्रविधिले सहज पारेको छ। शोधकर्तालाई शोधपत्रको प्रस्ताव तयार गर्दा नै हम्मे हम्मे छ। शोधपत्रकर्ताले केवल डिफेन्स गर्न मात्र उपस्थित हुँदा हुन्छ।
हामीहरूले पनि हाम्रा विश्वविद्यालयहरूमा शोधपत्र तथा अनुसन्धानप्रति विद्यार्थीहरूलाई अभ्यस्त गराउनुपर्छ। तब त अध्ययन अध्यापन खारिन्छ।