जीवन कहिलेकाहीँ सरल र कहिले निकै कठोर हुन्छ, हामीले कल्पना गरेकोभन्दा नि कठोर।
हामी सबैलाई लाग्छ, आफ्नो जिन्दगी जति गाह्रो र तनावपूर्ण सायदै कसैको होला भनेर।
तर, केही यात्रा र ती यात्रामा भेटिएका मानिसका कथा सुनेर महसुस हुन्छ, आफ्नो दुःख त केही होइन रहेछ।
त्यस्तै एक मिठो यात्रा रह्यो ‘देउखुरी, दाङ’को।
वन्यजन्तु त्यसमा पनि विशेष काठे भालु र लक्कडे बाघ सम्बन्धी अनुसन्धानको लागि त्यहाँ पुगेको म लगायत टिमलाई स्थानीयसँग पनि अन्तर्क्रिया गर्नुपर्ने थियो। त्यसै क्रममा एउटा संघर्षको कथामा गएर ठोक्कियो मेरो अध्ययन।
यो कथाले मलाई, अनुसन्धानतर्फ प्रेरणा मात्र दिएन, मेरो जिन्दगीलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गरिदियो।
अध्ययनको क्रममा राजपुर गाउँपालिकाका मानिसहरूसँग संवाद गर्दै जाँदा एक जना बुवाको कथा धेरैले सुनाए।
उहाँमाथि भालुको आक्रमण भएको रहेछ। यसै कुराले गर्दा धेरै गाउँलेहरूले भालुप्रतिको नकारात्मक धारणा व्यक्त गर्दै हुनुन्थ्यो।
'भालु खतरा हो, किन बचाउनु?,' 'बचाएर हाम्लाई के हुन्छ र?,' 'हामीमाथि आक्रमण गर्ने जनवारलाई बचाउन खोज्नु गलत हो।' भन्ने खालका आवेगपूर्ण प्रतिप्रश्न तथा प्रतिक्रिया गाउँलेहरूबाट प्रशस्तै सुन्न पाइन्थ्यो।
बुवासँग भेट्न मन भयो तर त्यस्तो आवेगपूर्ण प्रतिक्रियाहरू सुनेको हुनाले डर पनि लाग्यो। कसरी संवाद गर्ने? कसरी यस्तो संवेदनशील विषयमा कुरा उठाउने? भालुको नाम सुन्नेबित्तिकै झन् रिसाउनु पो हुन्छ कि जस्ता प्रश्न मनमा खेल्न थाल्यो तर पनि भेट्न जाने निर्णय गरियो।
हामी उहाँको पसल नजिकै पुग्यौं। टाढैबाट बुबालाई चिन्यौं पनि। उहाँको एउटा आँखा थिएन, अनुहारमा स्पष्ट रूपले घाउको दाग देखिन्थ्यो, हाफ प्यान्ट लगाएको भएर होला खुट्टामा पनि चोटका निशान देखिएको थियो। उहाँ आफ्नो सानो पसल बाहिर काठको काम गर्दै, सायद झ्यालको लागि चाहिने सामग्री तयार पार्दै हुनुन्थ्यो। हामीले नमस्कार गर्दै परिचय गर्यौं।
मेरो फ्याट्टै बोल्ने बानी नै यस्तै भएर होला कि के हो तर मैले सिधै सोधिहालेँ, 'भालुले आक्रमण गरेको रहेछ, है?'
सोध्न त सोधिहालेँ तर झ्याप्प मनमा डर सहितको जिज्ञासा पलायो- कस्तो प्रतिक्रिया आउला भनेर? कस्तो सिधै सोधेको भन्दै आफैलाई प्रश्न गर्दै थिएँ म।
बुबाले भन्नुभयो, 'हो, धेरै पहिलेको कुरा हो। ढाड र खुट्टामा चोट लाग्यो, एउटा आँखा पनि गुम्यो। तर पनि बाँच्न पाउँदा खुसी छु।'
यी वाणीहरू संसारका सबभन्दा सुन्दर वाणी थिए हाम्रा लागि, त्यसैले त यस्तो सुन्दा हामी सबैको मन हावाजत्तिकै हलुङ्गो भयो अनि अलि धेरै हर्षका साथ हामीहरू कुरा गर्ने तरखरमा लाग्यौं। मैले फेरि सोधेँ, 'भन्न मिल्छ भने सुनाउनुस् न, कसरी भयो त्यो घटना?' थाहा थिएन यो जिज्ञासापूर्ण भाव थियो कि भावपूर्ण जिज्ञासा।
उहाँले भन्नुभयो, 'धेरै वर्षअघि बिहान जंगल नजिक खोलाको बाटो हुँदै आफ्नो काममा जाँदै थिएँ। ठूलो भालु देखेँ। भाग्न खोज्दा बेस्सरी झम्टियो। धेरै घाइते भएँ, सहन नसकेर बेहोसै भएछु। मरिसकेको मान्छेलाई धन्न परिवार र गाउँलेहरूले बचाए भनम्। दाङ अस्पतालले सक्दिनँ भन्यो रे, काठमाडौं लान सकेनन्, नेपालगन्ज अस्पतालमा लगेछन्। अस्पतालमा धेरै समय लाग्यो, भएको जग्गा गयो, ऋणधनमा परियो। तर, बाँच्ने साहसले मलाई बचायो। आज पनि यही सानो काम गरेर बाँचिरहेको छु' काठको काम गर्दै भन्नुभयो।
मैले फेरि सोधेँ, 'हजुरलाई के लाग्छ भालुको बारेमा? यस्तो गर्ने जनावरलाई के गर्नुपर्छ होला त? गाउँलेहरूले त मार्नुपर्छ, बचाउनु हुन्न भन्नुहुन्छ त!'
उहाँले शान्त स्वभावले भन्नुभयो, 'किन मार्नु छ र भालुलाई? उसले पनि डरले आफ्नो ज्यान जोगाउन आक्रमण गर्यो होला। घरमै आएर आक्रमण गर्या हैन, जंगल त उसको घर हो। हामीले किन दुःख दिनुपर्यो? उसले पनि बाँच्न पाउने अधिकार छ। मैले भोगें, अरूले भोग्न नपरोस्। बरू सरकारले जनावरबाट बच्ने उपाय सिकाए हुने, कुन जनवारको स्वभाव कस्तो हुन्छ कहाँ थाहा हुन्छ र सबैलाई हैन त, आक्रमण भयो भने सहयोग गर्ने, जनावर र समुदाय दुबैको सुरक्षाको ख्याल गरिदिए हुने, बस्, त्यत्ति मात्र।'
सायद हाम्रा कानले सुन्न खोजेका शब्दहरू उहाँले एकदम सरल ढंगले भनिदिनुभयो अनि हाम्रो मनमा यस्तो प्रतिक्रिया आउँछ भन्ने आशा पनि कम थियो।
बुवाको कुराले हामी दुखी सँगसँगै चकित र कहीँकतै खुसी पनि भयौं (भर्खर उदाउँदै गरेको संरक्षणकर्मीलाई सकारात्मक सोच र समुदायमासँग मिलेर धेरै काम गर्न सकिन्छ भन्ने झिनो आशा दिएको थियो यो कुराले)।
वन्यजन्तुहरूले वास्तवमा आफ्नो क्षेत्रमा कोही आयो वा डराउन दियो वा उसलाई आफ्नो वा बच्चाको डर भयो भने मात्र भड्किने तथा आक्रमण गर्ने गर्छन्।
उनीहरूको वासस्थानको सुरक्षाको जिम्मेवारी पनि सबभन्दा बुद्धिवान भएको हुनाले मानिसले नै लिनुपर्छ।
होला, वन्यजन्तु कतै बढेका छन्, तर धेरै ठाउँमा घटेका पनि छन् नि (हामी मानिसकै कारणले गर्दा), हो मानिस सँगको संघर्ष नि बढेका छन् होला (पहिले नि संघर्ष हुन्थ्यो, हामी परापूर्व कालदेखि जनवारसँग सहअस्तित्व गर्दै आएका छौं) तर त्यसको अर्थ अब वन्यजन्तुलाई मार्नुपर्छ, बेच्न पर्छ भन्ने होइन, यसले त भावी दिनहरूमा झन् ठूलो समस्या निम्त्याउँछ।
हाम्रो पूरै पारिस्थितिक प्रणालीमा असर पो पार्छ, अझै सजिलो रूपमा भन्नुपर्दा मान्छेले आफ्नो अस्तित्वकै लागि वन्यजन्तु र बासस्थानको संरक्षण गर्न खोजेको छ, त्यसैले यसलाई व्यवस्थापन कसरी गर्ने भन्नेमा ध्यान पुग्नुपर्छ र बुवाले भनेको जस्तो अब अरूमा आक्रमण नहोस् भन्नको लागि के गर्ने र समस्याहरूको समाधान खोज्नमा एकत्रित हुनुपर्छ जस्तो लाग्छ (यो सबको लागि उचित वैज्ञानिक अध्ययन हुन जरूरी पनि छ)।
त्यसदिन बुवाले सिकाउनुभएको कुरा अझै पनि बेला बेला झस्काइरहन्छ, त्यो सकारात्मकताको त धेरैमा कमी छ, वातावरण तथा वन्यजन्तुसम्बन्धी काम गर्न लागेका हामीहरूमा पनि कमी छ जस्तो मलाई लाग्छ।
आफूलाई आक्रमण गर्ने जनावरप्रति पनि उहाँको सहानुभूति थियो। सहअस्तित्व र जीवनको सकारात्मक सोचको यति ठूलो उदाहरण मैले सायदै देखेको थिएँ।
बुवाले आफ्नो कथा मात्र भन्नुभएन, जीवनोपयोगी पाठ पनि पढाउनुभयो। जीवनमा संघर्ष र कठिनाइ आउँछन्। तर, तिनलाई आत्मसाथ गरेर अघि बढ्ने अठोट नै ठूलो कुरा हो। मानिस संघर्ष गर्न आएको प्राणी हो र यो संघर्ष आफ्नो लागि मात्र नभएर सम्पूर्ण शृष्टिको रक्षा मानिसकै पोल्टामा पर्ने जिम्मेवारी हो। हामी सामाजिक हुनुको अर्थ सम्पूर्ण शृष्टिको रक्षा हेतु एकत्रित भएर सकारात्मकता छर्नु पनि हो। कुनै देशले के गर्यो, कोही मानिसले के गर्योभन्दा पनि हामीले आफ्नो ठाउँबाट के गर्न सक्छौं भन्ने कुरा ख्याल राख्न जरूरी छ।
बुवाले आफूलाई यसमा अब्बल साबित गर्नुभएको महसुस भएको छ। त्यसपछि हिच्किचाउँदै उहाँसँग फोटो खिच्न अनुमति मागेँ।
उहाँले मुस्कुराउँदै भन्नुभयो, 'म कानोको नि फोटो? किन नमिल्नु, लिनुस्!' उहाँको त्यो मुस्कान मेरो लागि भने एक सकारात्मक्ताको प्रतीक बनेको छ।
हाम्रो समाजमा हामी सबैलाई सजिलो समाधान चाहिन्छ। जस्तोसुकै समस्यामा पनि दोष अरूमा थोपर्ने र सजिलो बाटो खोज्ने बानी छ। तर, बुवाको जस्तो दृष्टिकोण हामी सबैमा हुनु आवश्यक छ। यो कथा केवल बुवाको भालुसँगको संघर्षको कथा होइन, सहअस्तित्व र सकारात्मक दृष्टिकोणको सन्देश पनि हो। भालु होस् या अन्य वन्यजन्तु, हामीले तिनलाई केवल खतरा ठान्ने? वा मानव, वन्यजन्तु र सह-अस्तित्व बारे: समस्या र समाधान पहिचान गरेर बाँच्ने साहस राख्ने? वा हार मान्ने?