कल्ड कम्युनिटी भ्वाइसेसले प्रस्तुत गरेको प्रिकोइन्सी–साइलेन्ट हिरोज् डकुमेन्ट्रीमा अफ्रिकाको केन्या मुलुकका एकजना पात्र छिन्– लाउरीता टिन्डी।
उनी अस्ट्रेलिया आएको दुई हप्तामा नै एक अन्जान व्यक्तिबाट बलात्कृत भएकी थिइन्।
मलाई एक जना अस्ट्रेलियन पोडकाष्टरले उनलाई पनि डकुमेन्ट्रीमा समावेश गर्न सुझाव दिएका थिए। यसै सिलसिलामा मेरो लाउरीतासँग कुरा भयो र उनको कहानी सुनेपछि मैले उनलाई सोधेँ– के तपाईं भिडिओको लागि साँच्चै नै तयार हुनुुहुन्छ?
उनले सहजै भनिा्– एस् आई एम।
अनि फेरि मैले सोेधेँ– तपाईं के चाहनुहुन्छ अनुहार देखाउनुहुन्छ कि छोप्नु हुन्छ? नत्र पछि एडिटिङ ब्लर गरौँला।
उनले हाँस्दै भनिन्– मैले किन अनुहार छोप्नु पर्यो? अनुहार त अपराधीहरूले पो छोप्छन्। ब्लर पनि नगर्दा हुन्छ। अनुहार देखाएर नै कुरा गरौँ न हुन्न?
उनको आत्मविश्वास गजब लाग्यो अनि त्यसपछि म केही बोलिनँ। सुटिङको डेट फिक्स्ड भयो, उनलाई कन्सेन्ट पेपरमा साइन गराइयो अनि सुटिङ हामीले पार्कमा गर्यौं।
क्यामेरा, साउण्ड, एक्सन
'हाई माइ नेम इज लाउरीता..............' त्यसपछि उनीसँग भएको घटना सुरू भयो। त्यो घटना भनिरहँदा उनको हरेक शब्द शब्दमा पीडा लुकेको थियो। उनको वाक्यमा आक्रोश थियो।
सुन्दर भविष्यको कल्पना गरेर विद्यार्थीको रूपमा उनी केन्यादेखि अस्ट्रेलिया आएकी थिइन्। केन्याको सेन्ट जोसेफ गर्ल्स स्कुल पढेकी लाउरीता एक अब्बल विद्यार्थी थिइन्। आफ्नो देशमा रहँदा उनको लिडरसीपको अनुभव लामो थियो। स्कुल क्याप्टेनदेखि वादविवाद प्रतियोगिताहरूको विजेतादेखि त्यहाँको रेडियोमा सञ्चारकर्मी अनि लेखिकाको रूपमा उनले राम्रो परिचय बनाएकी थिइन्। यही कारणले पनि उनी आमसञ्चार पत्रकारिता पढ्न अस्ट्रेलिया आएकी थिइन्।
अरूले जस्तै उनी पनि मेलबर्न आएपछि एउटा साथीसँग रूम सेयरिङमा बस्न थालिन्। त्यस्तै दुई हप्ता भएको थियो रूम सेयरिङमा बसेको। उक्त साथीले उनलाई एकदिन आफ्नो ब्वाइफ्रेण्ड उनीसँग रात बिताउन आउँदैछ त्यसैले एकदिनको लागि अन्तै गएर बस्न अनुरोध गरिन्।
अन्जान ठाउँमा एक रातको लागि म कहाँ गएर बस्ने भनेर उनी आत्तिइन्। तर उनको साथीले त्यसको पनि व्यवस्था मिलाइसकेको कुरा लाउरीतालाई भनिन्।
उक्त साथीले आफूले चिनेको एक जना दाइ जस्तै राम्रो व्यवहार गर्ने मान्छे छ उसकोमा तिमी गएर बस भनिन्।
लाउरीता नचिनेको मान्छेकोमा जान्नँ भनेर हिच्किचाइन् तर साथीले एकदमै राम्रो मान्छे हो र त्यहाँ बस्दा मलाई पनि ढुक्क हुन्छ भनेर लाउरीतालाई बल्ल बल्ल मनाइन्। त्यसपछि लाउरीतालाई लिन त्यो मान्छे घरमा नै आयो।
बाटोमा जाँदा त्यो व्यक्तिले लाउरीतालाई राम्रो व्यवहार पनि गर्यो साथीले भनेको जस्तै। घर पुगेपछि त्यो व्यक्तिले उनलाई गेष्ट रूम पनि देखाइदियो। लाउरीता गेष्ट रूममा नै त्यो रात बिताइरहेकी थिइन् एक्कासि त्यो व्यक्ति लाउरीताको कोठामा आएर उनलाई जबरजस्ती गर्यो।
यसो भनिरँदा लाउरिता स्तब्ध भइन्।
हामी पनि स्तब्ध भयौं।
लाग्यो पार्कमा एकछिनको लागि रूखको सबै पातहरू पनि स्तब्ध भए।
'अनि पुलिसलाई फोन गर्नुभयो त?' हामीले साध्यौं।
'त्यो हिम्मत ममा कहाँ थियो र?' आत्तिएर कसलाई कसरी कुन नम्बरमा फोन गर्ने पनि यादै भएन। त्यहीमाथि कसैलाई भन्यो भने तँलाई घरको न घाटको बनाउँछु भनेर धम्की पनि दिएको थियो त्यो मान्छेले। भिषा रद्द हुन्छ कि भनेर डर पनि लाग्यो।'
'अनि साथीलाई भन्नुभयो?' हाम्रो अर्को प्रश्न थियो।
'अँ भनेँ। तर त्यो साथीले मलाई चुप लागेर बस्न सुझाव दियो। उनले पनि मलाई डर त्रास देखायो। त्यसपछि म पूरै डिप्रेसनमा गएँ। मेरो सहारा कोही भएन जस्तो भयो। तर पनि आफूलाई समाल्दै गएँ। सोसल एक्टिभिष्टहरूलाई भेट्न थालेँ। आफ्नो यो घटना सेमिनारमा अनि मान्छेसँग भन्न थालेँ। उनीहरूले मलाई हिम्मत दिए। अनि अन्तत म त्यस मान्छेविरूद्ध केस फाइल गर्न तयार भएँ। जुन दिन मैले उसको विरूद्ध केस फाइल गरेँ, त्यही दिन ऊ अस्ट्रेलिया छोडेर आफ्नो देश गयो। सायद कसैले उसलाई भनिदियो।'
सुटिङ सकिएर घर आएपछि मैले यस विषयमा धेरै सोचेँ।
लाउरीता जस्तो कति विद्यार्थीहरू छन् होला यहाँ जो यस्तो घटनाबाट प्रताडित छन्। कतिले भनेको छन् होला त कतिले लुकाएका छन् होला। कतिले केस गरेका छन् होला त कतिले गर्न बाँकी नै छ होला।
त्योसँगै हेराल्ड सनले २०१० मा छापेको एउटा घटना पनि याद आयो।
एक जना महिलाले आफ्नो घरको एउटा कोठा एक जना पुरूषलाई भाडामा दिएकी थिइन्। त्यो पुरूषले ती महिलालाई घर सरेको तीन दिनमै बलात्कार गरेको थियो। उक्त पुरूष रातभर मदिरा सेवन गरेर घर फर्किएका थिए। घर पुग्दा उसले ती महिलालाई सोफामा सुतेको अवस्थामा देखे अनि ती पुरूषले ती महिला निद्रामा रहेको बेला जबर्जस्ती यौन दुर्व्यवहार गर्यो।
महिला बिउँझिएपछि उनले चिच्चाउन थालिन् अनि उसलाई रोक्ने प्रयास पनि गरिन्। तर त्यो पुरूषले उल्टै तँ किन यसरी सोफामा सुतिस् भनेर महिलालाई आरोप लगायो। आफ्नो कोठामा नसुतेर यसरी बाहिर सोफामा सुत्नु नै उनको गल्ती भएको उसले तर्क दियो। जब भोलिपल्ट उसको रक्सीको नशा उर्तियो अनि उनले माफी मागेर र प्रहरीसमक्ष आत्मसमर्पण गर्यो। अदालतमा पेस गरिएका विवरण अनुसार, ती पुरूषले मेलबर्न गमट्री वेबसाइटमा कोठा भाडामा दिने विज्ञापन देखेर ती महिलासँग बस्न गएका थिए।
अब नेपाल र नेपालीकै कुरा गरौं।
नेपालबाट अस्ट्रलिया आउने भाइबहिनीहरू कि त आमाबुबाको घर छोडेर आएको हुन्छन्, कि त होस्टेल, कि त भाडाको कोठा। अस्ट्रेलिया वा अन्य देशमा झैँ अझ पनि अन्जान व्यक्तिसँग फ्ल्याट सेयर गरेर बस्ने चलन त्यति आइसकेको छैन। आजकाल सुरू भएको भए बेग्लै कुरा। तर यहाँ पढ्न आउँदा अन्जान मान्छेसँग विभिन्न नियत भएको मान्छेसँग कोठा वा घर सेयर गरेर बस्नुपर्ने बाध्यता हुन्छ। कहिलेकाहीँ आफू सही हुँदा तर अरूको नियत बिग्रँदा नराम्रो घटनाहरू घट्ने गर्दछ।
यौन शोषण योनीमा मात्रै नभई शरीरको अन्य अंगमा छोइदिँदा पनि हुन्छ। यौन शोषण छोएर मात्रै होइन दृष्टिबाट पनि हुन्छ, शब्दबाट पनि हुन्छ, हाउभाउबाट हुन्छ।
एक जना नेपाली बहिनी आफ्नो घरको दाइ दिदीहरूसँग माउण्ट बुलर घुम्न जाँदा उनीहरूले बोलेको एफ’ ल्याङ्गवेज अनि उनलाई नै सुन्न अप्ठ्यारो हुने वाक्यहरू, कमेन्टहरू र घिनलाग्दो हाँसोले मानसिक रूपमा असर गर्यो।
दाइ दिदीहरू दुवैलाई आफ्नो अगाडि यस्तो शब्दहरू नबोल्न आग्रह गर्दा र यस्तो सुन्दा आफूलाई असहजिलो महसुस भएको भनेर अनुरोध गर्दा पनि उनीहरू नरोकिएर उल्टै एक जनाले उनको तिघ्रामा छोएर 'ग्रो अप लिटल बेबी' भन्दा उनी रातमा केही हुन्छ कि भन्ने डरले कसैलाई नभनी उनी त्यहाँबाट राति नै भागेकी थिइन्। यो घटनाले उनलाई साह्रै आघात भयो। पछि घरको मान्छे फर्केर आएपछि उनलाई उल्टै तथानाम भनेर गाली गरेछ। यति सानो कुरामा पनि त्यसरी राति एक्लै मेलबर्न कसरी फर्किन सकेको! बाटोमा केही भएको भए को जिम्मेवार हुन्थ्यो भनेर उनीहरूले उनलाई उल्टै थर्काएर त्यहाँबाट अन्तै सर्न अह्राएछन्।
उनी रूँदै मेरो अगाडि यो कुरा भन्दा उनीमाथि शब्द र वाक्यले उनीमाथि भएको यौन शोषण सजिलै महसुस गर्न सकिन्थ्यो।
बाटोमा केही भएको भए भन्ने तिनीहरूले बाटोभरी उनलाई असहजिलो महसुस गराउँदा चाँहि डर लागेको थिएन, चिन्तित थिएन।
मेरो प्रश्न त्यहाँ पनि थियो– तिमीले त्यतिखेर हेल्पलाइनलाई फोन गरेनौँ?
'कहाँ हिम्मत हुनु दिदी।'
'अनि पुलिसलाई पनि खबर गरेनौँ?'
'कसैले पनि पुलिसकोमा जा भनेन। एक दुई जना साथीहरूलाई भनेको उनीहरूले जाबो यस्तो कुरा पनि पुलिसलाई भन्छ त। यस्तो त भइरहन्छ। अहिले नयाँ भएर यस्तो शब्द सुन्दा अप्ठ्यारो भएको हो तर पछि बानी हुन्छ भने अनि त्यसपछि मलाई साह्रै गाह्रो भयो। डिप्रेसनमा नै गएँ।'
'तिमीले अहिले पनि पुलिस केस गर्न सक्छौ थाहा छ?' मैले उनलाई भनेँ।
तर उनले 'होइन दिदी भयो। अब नेपाल फर्किन लागेको। उहिलेको कुरा हो यो। भिसा पनि रिजेक्ट भयो अब नेपाल फर्कन लागेको,' भनिन्।
धेरै मान्छेलाई यस्तो घटना हुँदा के गर्ने कहाँ भन्ने भन्ने कुरा थाहा छैन। त्यसैले पनि यदि आफू असुरक्षित छ भन्ने महसुस भयो भने दायाँबायाँ केही नसोची 000 मा फोन गर्न सकिन्छ नभए Sexual Assault Crisis Line1800 806 292 मा फोन गर्न सकिन्छ।
हरेक राज्यको लागि छुट्टाछुटै हेल्पलाइनहरू रहेको हुन्छ र यो चाहिँ भिक्टोरियाभरी छ।