कतिपय मान्छेहरूको सोचाइअनुसार रोल्पा निकै विकट जिल्ला ठानिन्छ। वास्तवमा त्यसो होइन। डोल्पाभन्दा रोल्पा धेरै सुगम छ। तर रोल्पालाई पनि डोल्पा सरह ठान्ने गरेको पाइन्छ। कुनै पनि भूभागको भ्रमण नगरीकन हचुवाको भरमा र अरूले गरेको कुरालाई आधार मानी आकलन गरिनु ठिक होइन।
२०७६ साल फागुनमा रोल्पामा सरुवा भई रमाना लिएर जाँदा बिहान छ बजे काठमाडौँमा चढेको माइक्रो बस घाम छँदै अर्थात् साढे चार बजे नै आफ्नो जन्मथलो रोल्पाको खुंग्रीमा पुगेको थिएँ भने बेलुका साँझ नपर्दै सदरमुकाम लिबाङ पुगेको थिएँ। वास्तवमा रोल्पा सोचेजस्तो विकट होइन।
भौगोलिक बनावटका कारण कतिपय अनकन्टार ठाउँहरू भेटिए पनि समग्रमा रोल्पा खासै दुर्गम होइन। ३१ वर्षअघि म रोल्पाबाट तीन दिन लगाएर काठमाडौँ प्रवेश गरेको थिएँ। त्यति बेला रोल्पा दुर्गममा गनिनु स्वाभाविकै थियो। किनकि सञ्चार, यातायात, विद्युत् लगायतका सुविधाहरू थिएन। सञ्चारको नाममा सदरमुकाम लिबाङमा आ.बा. घर थियो। कुनै बखतसम्म सो आ.बा. जेनेरेटरको सहायताले चल्थ्यो।
मान्छेहरू मलाई सोध्छन्- ‘रोल्पाबाट काठमाडौँ कहिले झर्नुभएको हो?’
वास्तवमा मेरो जन्मथलो रोल्पाको खुंग्री गाउँ समुद्र सतहबाट ७०० मिटरको उचाइमा अवस्थित छ, जबकि काठमाडौँ त्यसको दोब्बर अर्थात् १४०० मिटर उचाइमा अवस्थित छ। यस हिसाबले रोल्पाको मेरो गाउँबाट काठमाडौँ आउनुलाई ‘झर्नु’ भन्दा पनि ‘उक्लिनु’ भन्दा मनासिब ठहर्छ।
जनमानसमा रोल्पा जति नै पिछडिएको जिल्ला बुझिन्छ त्योभन्दा पनि रोल्पा प्राकृतिक सम्पदाहरूमा धेरै नै धनी छ। ती सम्पदाहरूका विषयमा यो लेखकका धेरै लेखहरू राजधानी लगायत अन्य जिल्लाका विभिन्न सञ्चार माध्यमहरूबाट समेत प्रकाशित भइसकेका छन्। रोल्पाको भ्रमण गरेर हेर्ने हो भने रोल्पामा धेरै सम्पदाहरू भेटिन्छन्, अर्को शब्दमा भन्नुपर्दा रोल्पालीहरू धनी नहोलान् तर रोल्पा धेरै धनी छ।
प्राकृतिक सुन्दरता, धार्मिक र तीर्थस्थलहरू, स्लेटढुंगा, सुन र फलामलगायतका खानी, झरना, नदीनाला, गुफा र गढी त्यहाँका प्रमुख सम्पदाहरू हुन्। बहुमूल्य जडीबुटीहरू धेरै पहिलेदेखि नै ढाकरहरूमा बोकेर भारततर्फ निकासीका लागि कोइलाबाससम्म लगिन्थ्यो। त्यो बेला भरियाहरूले सही मूल्य पाउँथे वा पाउँदैन थिए त्यो आफ्नो ठाउँमा छ।
व्यापारीहरूले रोल्पाको भाँगो, सिमीको गेडा, भटमासलगायतका उपजहरू जिल्लाबाट बाहिर लगेर बिक्री गर्न थालेको धेरै भइसक्यो। तर किसानहरूले उचित मूल्य पाए वा पाएनन् यहाँ शंका गर्नुपर्ने अवस्था छ।
रोल्पाको प्रमुख अनाजहरूमा मकैका साथै कोदो, फापर, लट्टे, जुनेलो पर्दछन् जुन स्वास्थ्यका लागि लाभदायक मानिन्छन्। रोल्पामा धान खेतीका लागि खासै खेतका फाँटहरू देखिँदैनन्, कता कतै मात्र धान खेती हुने गर्दछ। रोल्पाको जडन धानले भने कुनै बखत चर्चा कमाएकै थियो। जडन धान अहिले लोप भइसक्यो भन्दा पनि हुन्छ। संघीय राजधानी काठमाडौँमा दुर्लभ मानिने कतिपय सागसब्जीहरू भने रोल्पामा उत्पादन हुने गरेका छन्।
संघीय राजधानी काठमाडौँमा दुर्लभ मानिने एउटा रोल्पाली तरकारी हो ‘काठेगोपी’ अर्थात् ‘काठेकाउली’। झट्ट हेर्दा यो ब्रोकाउलीको जस्तो रङको हुन्छ तर पातहरू ठुला र च्याप्टा हुन्छन्। काठेकाउली फुल्नुअघि सबै पातहरू एकठ्ठा गरेर टुप्पोनिर डोरीले हल्का किसिमले बाँधिन्छ। बाँधेर पातले ढाकिसकेपछि काठेकाउलीको फूल भने हत्तपत्त कसैले पनि देख्न पाउँदैनन्। यसको बिरुवा असारे झरी गर्ने याममा सारिन्छ।
काठेकाउलीको बीउ सार्न छुट्टै ब्याडमा गेडाको बिउ राखिँदैन। बोटको फेददेखि माथिसम्म फेद र पात जोडिएका कापहरूमा टुसाएका साना-साना टुसा वा पालुवा वा रोल्पाली बोलीचालीमा ‘काइना’ चुँडाएर रोप्ने गरिन्छ। बिरुवा रोपेको ९/१० महिनामा मात्र यो तरकारी खानको लागि तयार हुन्छ। यसको तरकारी भुटुवाभन्दा पनि झोल नै मिठो हुने भएकोले रसदार किसिमले पकाइन्छ।
काठेकाउलीको तरकारी निकै स्वादिलो मानिने हुँदा गाउँघरमा कुनै बखतसम्म यो लोकप्रिय थियो। तर आजकल यसको खेती गर्ने चलन हराउँदै गएको पाइन्छ। यसको खेती बारीमा भन्दा पनि आँगनको डिल वा करेसातिर रोप्ने गरेको पाइन्छ। काठेकाउली काठमाडौँमा जताततै खोज्दा पनि पाइँदैन।
रोल्पा र आसपासका क्षेत्रहरूमा व्यावसायिक रूपमा काठेकाउलीको खेती गर्ने गरेको भए राजधानीसम्म आउँथ्यो होला। तर रोप्नेको घरमा मात्र तरकारीको रूपमा प्रयोग हुने हुँदा उत्पादन क्षेत्रबाट अन्यत्र सहर बजारमा यसको पहुँच छैन। यो पहाडी भेगका चिसो ठाउँहरूमा रोप्ने गरिन्छ। घरको छेउमा काठेकाउलीको बोट देख्दा बित्तिकै घरको शोभा नै अर्कै देखिन्थ्यो जुन अहिले यस्ता दृश्य देखिन छाडेको पाइन्छ।
रोल्पाको सातदोबाटोबाट विभिन्न घुम्तीहरू पार गर्दै बामरुक हुँदै लिबाङ बजार प्रवेश गर्दा बित्तिकै लिबाङको सुन्दरताले जसलाई पनि लोभ्याउँछ। बजार क्षेत्रभन्दा अलि वरै केही उचाइमा अवस्थित सैनिक इलाका कटेपछि तल गहिरामा रहेको सदरमुकाम लिबाङबजार झ्वाट्ट हेर्दा मिनी दार्जिलिङ हो कि भन्ने भान हुन्छ। हल्का भिराला जमिन र केही समथर देखिने अनि टुँडिखेल वरपरका रंगीचंगी घरहरू देख्दा लिबाङ साँच्ची सुन्दर देखिन्छ।
पानीको स्रोत प्रशस्त भएकै कारण लिबाङमा जिल्ला सदरमुकाम राख्न उपयुक्त ठानिएको थियो। वरिपरि घरहरू र बिचमा हरियाली टुँडिखेल हेर्दा निकै सुहाएको देखिन्छ भने केही तल धाङ्सीखोला निरन्तर बग्दै माडीखोलामा मिसिएर माडीखोलाको आकारलाई थप बल र आकार दिएको हुन्छ।
रोल्पाका हरेक वडाहरूमा मोटर बाटो पुगिसकेको छ। रोल्पा भ्रमण गर्न मोटरसाइकलबाट अझ उपयुक्त हुन्छ। किनभने समय समयमा भनेको स्थानमा आउजाउ गर्न सार्वजनिक सवारी साधनहरू उपलब्ध छैनन्। तोकिएको स्थान र समयका लागि मात्र कतै ठुला बस छन् भने कतै साना खालका सवारी साधन उपलब्ध छन्।
रोल्पा र रोल्पालीलाई होच्याएर अन्दाजको भरमा बोल्नेहरूले एक पटक रोल्पा भ्रमण गर्न जरुरी छ। २०७६ फागुनदेखि २०७९ असारसम्म मलाई रोल्पा मालपोत कार्यालयको प्रमुख भएर बस्नुपर्ने थियो। तर मलाई मालपोत कार्यालय रुचिको निकाय नभएकोले छ महिना मात्र हाजिर भई सबैभन्दा कमजोर निकाय भनेर चिनिने खेलकुद मन्त्रालयमा सरुवा माग गरेँ र यसै मन्त्रालयबाट अनिवार्य अवकाश लिएँ।
‘मालपोत जस्तो कार्यालय छोडेर हिँड्ने?’ भनेर केही आफन्त समेत कतिपयले कुरा पनि काटे। किनकि मालपोत भनेपछि मरिहत्ते गर्ने कर्मचारीहरू यहाँ धेरै छन्।
कुनै बखत म उद्योग मन्त्रालयमा कार्यरत रहँदा कुनै एक जिल्लाका एक जना साथी हाम्रो मन्त्रालयमा आए। उनी पनि निजामती जागिरे नै थिए कुनै एक सरकारी निकायमा। परिचय हुँदै जाँदा उनले मलाई फ्याट्टै भनिहाले- ‘रोल्पालीले पनि सरकारी जागिर खान्छन् र?’
उनको यो प्रश्नले मलाई हीनताबोध भयो, रोल्पालीलाई यसरी हेपेर बोल्दा। संयोगको कुरा यो छ कि २०५६ देखि २०६० सालसम्म म उद्योग मन्त्रालयमा कार्यरत रहँदा तत्कालीन राप्ती अञ्चलका पाँचै जिल्लाका एक-एक जना कर्मचारीको प्रतिनिधित्व थियो। यसलाई मैले त्यति बेला महत्त्वका साथ प्रचार पनि गर्दथेँ। निजामती सेवा गर्ने कोही रोल्पाली छन् कि भन्दै मैले सिंहदरबारभित्रका निकायहरूमा बुझ्न खोज्थेँ तर कोही पनि भेटाउँदैनथेँ।
२०५६ सालसम्ममा लोक सेवा परीक्षा पास गरी निजामती सेवा प्रवेश गर्ने रोल्पाली म एक्लै नै ठान्दथेँ। साबिक राप्ती अञ्चल अन्तर्गतका दाङ, प्युठान, रुकुम र सल्यानका तमाम निजामती जागिरेहरू काठमाडौँमा भेटाएँ तर रोल्पाली भेटाइनँ।
त्यस बेलादेखि मैले सोच्दै आउँथेँ- कारण के होला त रोल्पालीले निजामती सेवामा अवसर नपाउनु?
यसका कारण त विविध छन्, ती कुराहरू यहाँ उल्लेख गर्न थालियो भने कुनै संस्थाका मान्छे रिसाउलान् त कोही व्यक्तिगत रूपमै रिसाउलान्। आफू रोल्पाली भएकै कारण बेलाबखत मानसिक तनाव पनि भोग्नु परेको थियो।
एक पटक चाबहिल भाडाको कोठामा दश वर्ष बस्दा द्वन्द्व कालमै आधारातमा सशस्त्र प्रहरीका दुई जवान बुटसँगै कोठामा प्रवेश गरेर दराज, बाकस लगायत सबैतिर खानतलासी गरेका थिए। ‘म सरकारी कर्मचारी हुँ’ भन्दा पनि उनीहरूको मुर्ख्याइँका अगाडि हाम्रो केही लागेन। सायद कसैले ‘रोल्पाली त्यो घरमा बस्छन्’ भनेर सुराकी दिएको अन्दाज थियो। कहीँ कतै कोही मान्छेसँग परिचय गर्न पनि गाह्रो थियो। मैले नाम बताएपछि घर ‘रोल्पा’ भन्दा बित्तिकै अनुहार नै अर्कै बनाउँथे दोस्रो व्यक्तिहरूले।
एक दिन म कार्यरत निकायमा ‘रातामकै’ अर्थात् किरण केसी र ‘मुखाँ हान्नुजस्तो’ अर्थात् शिवहरि पौडेल आउनु भएको थियो। परिचय हुँदै जाँदा मैले आफ्नो घर रोल्पा भन्दा बित्तिकै उहाँ दुवै जनाले ‘खोइ खोइ रोल्पाका मान्छेलाई छुँदा कस्तो हुँदो रहेछ?’ भन्दै मेरो काँध र पिठ्यूँमा छामछुम पार्नु भएको थियो। त्यस बेला देशभर द्वन्द्वले चर्को रूप लिएको थियो र रोल्पाको नाम सुन्दा बित्तिकै मानिस झस्कन्थे पनि।
एक जना उपसचिवले ‘रोल्पालीले त चामलको गेडो पनि देखेका हुँदैनन्’ भन्ने सुनेपछि मेरो पारो तातेको थियो। जबकि हाम्रो खेतमा 'लङ ग्रेन' चामल जस्तो देखिने तर निकै मिठो खालको जडन र रैथाने जातको मार्सी चामल पनि उत्पादन हुन्थ्यो। त्यसै गरी वासनादार गौरी र श्यामजिरा धानको खेती पनि हुन्थ्यो। गौरी र श्यामजिराको भात पकाउँदा एक सय मिटर परसम्म वासना थाहा हुन्थ्यो।
रोल्पामा कार्यालय प्रमुख भएर बस्दा सदरमुकामकै एक जनाले भन्नुभयो- ‘खुंग्रीका मान्छे पनि हाकिम हुन्छन् र?’ हुन त उहाँले ठट्टाको पारामा बोल्नुभएको थियो र मैले ठट्टाकै रूपमा बुझेको थिएँ। मेरो जन्मथलो खुंग्रीलाई अरू रोल्पाका केही भेगकाले अशिक्षित भन्ठान्दथे। खुंग्रीमा जन्मिएका अहिलेसम्म चार जनाले विद्यावारिधि गरिसकेका छन् भने मेरो छोराको पोस्ट-पिएचडी सकिने क्रममा छ।
एक अर्कालाई हेप्ने काम पनि अज्ञानताकै श्रेणीमा त पर्दछ।