म दुई वर्षकी थिएँ, जब पुन्टु र मेरो पहिलो भेट भयो।
त्यो दिन मेरो स्कुल छुट्टी थियो। म सधैंझैं बिहान दिदीहरूसँग कौसीमा खेल्दै थिएँ। त्यही बेला हजुरबुबाले केही चिज कपडामा बेरेर ल्याउँदै गरेको मैले देखेँ। उहाँ अलि टाढा भएकाले त्यो चिज के हो भन्ने थाहा पाइनँ।
हामी हजुरबुबाले ल्याएको चिज हेर्न उत्सुक्तावश दौडिँदै गयौं।
त्यो मेरो दाइको बर्थडे गिफ्ट रहेछ — चार-पाँच महिनाको एउटा कुकुर।
कुकुर देखेर घरमा सबै जना रमाए, म भने रून थालेँ।
त्यो समय मलाई जे चिजसँग पनि डर लाग्थ्यो। त्यसैले होला, कुकुर घरमा ल्याएदेखि मलाई ज्वरो आउन थाल्यो। म डराएकीले बाबाले त्यसलाई घरमा नराख्ने भन्नुभयो। जहाँबाट ल्याएको हो, त्यहीँ छाडेर आऊँ भन्न थाल्नुभयो।
आज सोच्छु — के थाहा, मलाई रोएको देखेर त्यो कुकुरलाई पनि त्यस्तै डर लागेको थियो कि!
समय बित्दै गयो। समयसँगै म र त्यो कुकुर साथी भयौं।
मैले त्यसको नाम राखेँ — पुन्टु।
बाबा भने 'कुत्ते' भनेर बोलाउनुहुन्थ्यो। उहाँले पछिसम्मै त्यसलाई कुत्ते नै भन्नुभयो। ऊ कुत्ते भन्दा पनि पुलुक्क हेर्थ्यो, पुन्टु भन्दा पनि उसैगरी हेर्थ्यो। घरमा उसको दुइटा नाम रह्यो। म चाहिँ सधैं पुन्टु नै भन्थेँ।
म र पुन्टु असाध्यै मिल्थ्यौं। दिदी-दाइहरू घर सरेपछि मसँग खेल्ने एक मात्र साथी पुन्टु नै थियो। म उसको माथि चढ्थेँ, ऊसँग गफ गर्थेँ र ऊसँग खेल्थेँ। ऊ पनि मेरो मुख हेर्दै आफ्नो पुच्छर हल्लाउँथ्यो। म रमाउँदा झनै रमाउँथ्यो। उसलाई पनि मजस्तै आफ्नो मनको कुरा बुझ्ने साथी पाएको महसुस भयो कि!
बिस्तारै पुन्टु हाम्रो परिवारकै सदस्य बन्यो। उसलाई घरमा सबैको उपस्थिति चाहिन्थ्यो। एक्लै बस्नुपर्दा रून्थ्यो। पुन्टु रूँदा घर वरिपरिका छिमेकी भने हैरान हुन्थे। कहिलेकाहीँ हामीलाई कराउँथे पनि।
पुन्टुलाई मान्छेको हुलमुलमा बस्ने बानी भइसकेको थियो। घरमा कोही पाहुना आउँदा सुरूमा भुक्थ्यो। नयाँ मान्छेको बास्ना सुँघेपछि बल्ल पुच्छर हल्लाउँदै लुट्पुटिन जान्थ्यो। एकचोटि बास्ना सुँघिसकेको मान्छेलाई उसले प्राय: कहिल्यै भुकेन।
कहिलेकाहीँ घरबाहिर जाने मन नहुँदा म पुन्टु रून्छ भन्ने बहाना बनाएर घरमै बस्थेँ, पुन्टुको साथी भएर। मसँग एक्लै बस्न पाउँदा पुन्टु पनि रमाउँथ्यो। ऊ दिनभरि मेरै छेउ लुपुक्क टाँसिएर बस्थ्यो। म खाटमा छु भने भुइँमा सुतिरहन्थ्यो। म जुरूक्क उठेर कौसीतिर गएँ भने ऊ पनि लुरूलुरू पछि आउँथ्यो। मैले केही चिज मुखमा हालेँ भने ऊ टुलुटुलु मलाई हेरिरहन्थ्यो। उसलाई नदिएर एक्लै खाएँ भने हातमै खोस्न आउँथ्यो।
मलाई बाहिरबाट थाकेर घर फर्कँदा रमाइलो लाग्ने एक मात्र कारण पुन्टु नै थियो। स्कुलबाट फर्कँदा मेरो मुड जस्तोसुकै होस्, ऊ मलाई देख्नासाथ खुसी हुन्थ्यो र पुच्छर हल्लाउँदै मसँग खेल्न खोज्थ्यो। त्यसपछि ममा पनि उत्साह भरिएर आउँथ्यो।
कहिलेकाहीँ हामी सबै जना घरबाट बाहिर जानुपर्यो भने पुन्टुका लागि पाउरोटी राखेर जान्थ्यौं। उसको बानी कस्तो थियो भने, हामी घर नफर्केसम्म ऊ पाउरोटी छुँदै छुँदैन थियो। हामीलाई देखेपछि मात्र पाउरोटी खान थाल्थ्यो। अरू बेला पनि आफूलाई दिएको पाउरोटीमध्ये एउटा नखाई राख्थ्यो। राति मामु र बाबा घर फर्केपछि त्यही पाउरोटी रमाउँदै खान्थ्यो। पुन्टुको यो बानी मलाई अजीब लाग्थ्यो।
उसलाई खानेकुरामा धेरै रूचि थियो। फलफूलमा सुन्तला एकदमै मनपराउँथ्यो। हामीले कोठाभित्र सुन्तला छोडायौं भने पनि बाहिरैबाट बास्ना चाल पाउँथ्यो र भित्र आएर माग्न थाल्थ्यो। हामीले दिएनौं भने रून थाल्थ्यो।
ऊ मलाई धेरै कुरामा सहयोग गर्थ्यो। बिहान स्कुल जान ढिला हुँदा म मामुको आँखा छलेर आफ्नो दूध पुन्टुलाई खुवाइदिन्थेँ। कहिलेकाहीँ त आफ्नो खाना पनि पुन्टुलाई नै दिन्थेँ।
पुन्टु मेरो साथीभन्दा बढी भाइजस्तै थियो। चक्लेट खाँदा उसले थाहा पाउँछ भन्ने पिरले म आवाज नआउने गरी बिस्तारै खोल्थेँ। तैपनि कसरी कसरी थाहा पाइहाल्थ्यो र एक टुक्रा खान नपाएसम्म टुलुटुलु मलाई हेरेर बस्थ्यो।
जाडो बेला म पुन्टुसँग टाँस्सिएर टिभी हेर्थेँ। हामी हिटर ताप्दा ऊ पनि हाम्रो नजिक आएर बस्थ्यो।
पुन्टुलाई पानीसँग निकै डर लाग्थ्यो। पानी पर्दा गुटमुटिएर सोफामा बस्थ्यो। बिजुली चम्किँदा त डरले कोठाभित्रै आउँथ्यो। पानीकै डरले उसलाई नुहाइदिन एकदमै गाह्रो हुन्थ्यो।
पुन्टु घरमा सबभन्दा बढी मेरो अजी (हजुरआमा) सँग डराउँथ्यो। पुन्टु खाटमा चढ्यो भने म अजीलाई बोलाएझैं गर्थेँ। ऊ त्यसै डराएर भाग्थ्यो। पुन्टुलाई त्यसरी जिस्क्याउन मलाई खुब मजा आउँथ्यो।
ऊ सधैं घरबाट बाहिर निस्कने ताकमा हुन्थ्यो। कसैले मूलढोका खोल्यो भने भाग्न तम्तयार भइहाल्थ्यो। भागेर कहीँ टाढा जाने होइन। एकछिन यताउति दौडिन्थ्यो, अनि मूलढोका बाहिर बसिरहन्थ्यो। हामीले बोलायौं भने जिस्केर यताउता कुद्न थाल्थ्यो। हामीले ढोका लगाइदियौं भने रून थाल्थ्यो। वास्ता गर्न छाड्यौं भने आफै फर्केर आउँथ्यो।
मामु बिहान-बेलुका आफूले खाना खानुभन्दा अगाडि सधैं पुन्टुलाई खुवाउनु हुन्थ्यो। ऊ खानेकुराको धेरै लोभी थियो। आफ्नो खाना नखाएर हामीले खाएको हेर्न आउँथ्यो। त्यसबीच आफ्नो खाना परेवाले खाएको देख्यो भने दौडिँदै परेवा धपाउन जान्थ्यो।
उसको खाना माग्ने छुट्टै तरिका थियो। ऊ पछाडिका दुई खुट्टामा बसेर अगाडिका दुई खुट्टा जोडेर उफ्रिँदै माग्थ्यो। घरमा आएका पाहुनासँग पनि त्यसैगरी खाना माग्थ्यो।
मासु पाकेको छ भने त भान्छाको ढोकामा ढुकेरै बस्थ्यो। जति दिए पनि खाइरहन्थ्यो। अरू तरकारीसँग भने उसलाई खाना खुवाउन एकदमै गाह्रो हुन्थ्यो। त्यस्तो बेला ऊ आफ्नो भाँडा सुँघेर फर्किहाल्थ्यो। अनि 'पुन्टु आइज दूध राखिदिन्छु' भन्नासाथ दौडेर आइहाल्थ्यो।
एकदिन मामुले मासु किनेर भान्छामा राख्नुभएको रहेछ। पकाउन आउँदा झोला मात्र भुइँमा देख्नुभएछ। मासु त जम्मै पुन्टुले खाइदिएछ। म सानो हुँदाको त्यो घटना मामु बारम्बार सुनाइरहनुहुन्थ्यो।
पुन्टु धेरै ज्ञानी पनि थियो। जबाफ फर्काउन सक्थेन, तर हामीले बोलेको एकैछिनमा बुझिहाल्थ्यो। माया गरेको पनि थाहा पाउँथ्यो, गाली गरेको पनि थाहा पाउँथ्यो। कतिसम्म भने, कुनै काम बिगार्दा आफै डराएर बस्थ्यो।
दिन, महिना, साल यसैगरी बित्दै गए।
पुन्टुको निख्खर कालो कपाल सेतो हुँदै गयो। कपाल झर्न थाल्यो। जहिल्यै उफ्रिँदै ढोकामा आउने पुन्टु टाढैबाट पुच्छर हल्लाएर बिस्तारै हिँड्न थाल्यो। पुन्टु भनेर बोलाउँदा खुरर्रर आउने पुन्टु तीन-चारचोटि बोलाएपछि मात्र सुन्ने भयो। बिस्तारै उसको आँखा पनि कमजोर हुन थाल्यो। आफ्नो खाना परेवाले खाएको पनि देख्न छाड्यो। परेवाहरू झुम्मिँदा पनि लखेट्न छाड्यो।
एकदिन अचानक पुन्टुले खानै छाड्यो। उसलाई त्यस्तो मनपर्ने सुन्तला पनि खाएन। खाना खान्छ कि भनेर मासु ल्याउँदा पनि खाएन। एक सातासम्म केही नखाई बस्यो। हुँदा हुँदा ऊ हिँड्नै नसक्ने गरी लखतरान भयो। हजुरबुबाले घरमै डाक्टर बोलाउनुभयो। डाक्टरले पुन्टुलाई सलाइन दिए।
मैले पुन्टुबिना मेरो जिन्दगी कस्तो हुने होला भन्ने सोचेको पनि थिइनँ।
मेरो दिमागमा यो प्रश्न तब मात्र आयो, जब मैले पुन्टुलाई सलाइन दिइरहेको देखेँ। सलाइन दिँदा पुन्टुको जीउ कामिरहेको देखेँ। आँखाभरि फोहोर जमेको देखेँ। त्यही आँखाले मलाई टुलुटुलु हेरिरहेको देखेँ।
सलाइन दिएपछि ऊ एक दिनजति हिँड्न सक्यो। फेरि त्यस्तै भयो।
उसलाई धेरै गाह्रो भइसकेको थियो।
२०८० चैत १३ गतेको कुरा हो। घरमा म र पुन्टु मात्र थियौं।
दिदीको जन्मदिन भएकाले सबै जना दिदीको घरमा खाना खान गएका थिए। म पनि गएकी थिएँ, तर जाँच परेकाले छिट्टै फर्किएकी थिएँ।
दिउँसो करिब ३ बजे पुन्टु सोफाबाट झर्यो। म त्यो बेला पानी पिउँदै थिएँ। ऊ पनि आफ्नो पानी खाने भाँडातिर गयो। भाँडालाई सुँघ्यो। मैले उसको भाँडामा पानी हालिदिएँ। उसले त्यो पानी बिस्तारै खायो र भुइँमा पल्टियो।
करिब ४ बजेतिर ऊ बिस्तारै उठेर बार्दलीमा गयो। लड्खडाउँदै हिँडेको थियो, बार्दलीमा पुगेपछि हिँड्न नसकेर भुक्लुक्क लड्यो।
मैले आफ्नो कोठाबाट सबै देखिरहेकी थिएँ। म हत्तपत्त पुन्टु भएको ठाउँमा गएँ।
उसका आँखा मेरै आँखालाई हेरिरहेका थिए। त्यतिञ्जेल उसले सास फेरिरहेको थियो। जीउ थरथर काम्दै थियो। पेट तलमाथि गर्दै थियो।
मैले हेर्दाहेर्दै उसको सास गयो। जीउ काम्न बन्द भयो। पेट तलमाथि गर्न छाड्यो।
मलाई त पेट हुँडलिएजस्तो भयो। केही महसुसै गर्न सकिनँ। अगाडि गएर ठुल्ठूलो स्वरले पुन्टुलाई बोलाएँ। उसका आँखा अझै मलाई नै हेरिरहेका थिए। तर जीउ शान्त थियो। हलचल केही थिएन।
भुइँमा थोरै रगत पनि देखेँ। पुन्टुले सास जानुअघि रगत बान्ता गरेछ।
मैले आँखामा आँसु लिँदै घरका सबैलाई फोन गरेँ।
फोन गर्दा पनि ठूलो स्वरमा रूँदै 'पुन्टु ...' भन्दा बढी केही भन्न सकिनँ।
म रोएर होला, सबैले आफै कुरा बुझ्नुभयो।
मामु पसलबाट फर्केर आउनुभयो। बाबा अफिसबाट फर्केर आउनुभयो।
घरमा सबै जना भेला भएपछि हामीले पुन्टुको शव गाड्न लग्यौं। गाडेको ठाउँमा मैले फूलको थुँगा राखिदिएँ।
त्यसको ठिक १० दिनपछि मेरो जन्मदिन थियो। म पुन्टु गाडेको ठाउँ हेर्न गएँ। मेरो साथी पुन्टुलाई भेट्न गएँ।
मैले राखेको फूलको थुँगा सुकेर माटो भइसकेको थियो। म चुपचाप त्यहीँ उभिइरहेँ। त्यस दिन म १८ वर्ष लागेकी थिएँ। जिन्दगीको १६ वर्षभन्दा बढी म सँगसँगै बिताएको पुन्टु मेरो साथमा थिएन। किन होला, १० दिनअगाडिको घटना सम्झेर मलाई ठूलो हुनै मन थिएन!
म हरेक कुकुर तिहारमा पुन्टुलाई पूजा गर्थेँ। यो वर्ष अरू कुकुरलाई पूजा गर्नै मन मानेन।
आज पुन्टु हामीबीच छैन, तर उसको खाना खाने भाँडा अझै पनि कौसीमा सुरक्षित छ। त्यो भाँडाले अझै पनि पुन्टुलाई कुरिरहेझैं मलाई लाग्छ।
अझै पनि थाकेर घर फर्किँदा म पुन्टुलाई खोज्छु। कहिलेकाहीँ घरमा एक्लै हुँदा पुन्टुको तर्कना मनमा आउँछ। पर कुकुर भुक्दा पनि पुन्टुको झस्का मनमा पस्छ। म पुलुक्क कोठाबाहिर हेर्छु। त्यहाँ पुच्छर हल्लाउँदै मसँग लुट्पुटिन आउने मेरो पुन्टु हुँदैन।
पुन्टुसँगको पहिलो र आखिरी भेट दुवै समयमा मेरो आँखामा आँसु थियो। आज पुन्टु बितेको एक वर्ष भयो। उसको सम्झनाले मन झस्किरहेको छ।
पुन्टु, म तिमीलाई अलबिदा भन्दिनँ। किनभने, तिमी मेरो याद र मेरो मनमा सधैं सधैं सधैं रहिरहने छौ।
***