२०११ मा इपिएस भाषा पास गरेको म दुई वर्ष कुरेर दुई पटक नै मेडिकल भएपछि बल्ल कोरिया छिर्न पाएँ। अहिले त कोरिया छिर्न नि फलामको चिउरा चपाउनु जस्तै हो। धेरै गाह्रो छ कोरिया आउन। म २०१३ मा कोरिया त आएँ तर भाषा नबुझ्दा धेरै दुःख नि पाएँ।
हामी सबै नेपालीको चाहना हुन्छ विदेश जाने र घर परिवार पाल्ने। हो, मेरो सपना नि त्यही थियो। म विदेश त आए तर न भाषा आउँछ राम्रोसँग न काम राम्रोसँग आउँछ। कति दुख पाएँ, त्यो म आफैलाई थाहा छ। विदेश हो के गर्नु दुःख त हुन्छ नै।
कोरिया आएको दुई वर्ष मात्र के भएको थियो अचानक नेपाली साथीको मेशिनले पेलेर ज्यान गुम्यो। कोरिया स्थित नेपाली राजदूतावासबाट मलाई फोन आयो र भन्नुभयो- ‘हजुरको साथी बित्नु भएछ, लास नेपाल पठाउन पर्छ। हजुरको समाज छ कि नाइँ?’
म अचम्ममा परेँ।
‘छैन नि सर,’ मैले यति भन्दा दूतावासका सर नै अलमलमा पर्नु भयो। कस्तो समाज नि नबनेको जिल्ला पो रहेछ भनेर!
अन्तिममा साथीको लास साहु र बिमा कम्पनीले नेपाल पुर्याउने कुरा भयो। साथी बाकसमा चढेर नेपाल पुग्यो। मलाई कता-कता डर लाग्यो, ज्यान नै सिरिङ्ग भयो अनि आँट गरेँ मैलै। त्यो नि केको लागि भन्दा समाज निर्माणको लागि र बनाएँ मैले ‘पर्वत समाज दक्षिण कोरिया’।
हाल समाजले राम्रो काम गरिरहेको छ। विदेश आएपछि थाहा हुने रहेछ यस्ता कुराहरू! प्रदेशमा पीडा कति हुन्छ, दुःख कति हुन्छ, त्यो भोग्नेलाई मात्र थाहा हुने रहेछ।
सम्पूर्ण विदेशमा छरिएर बस्नु भएका मेरा नेपाली दाजुभाइ दिदीबहिनीलाई मेरो सानो सुझाव; मिलेर बस्नुस्, कोही विदेशमा भएको नेपाली बिरामी छ भने हातेमालो गरेर सहयोग गर्नुस्।
हुन त सबैले आफ्नो सपना बोकेर विदेश छिरेको हुन्छ। तर सोचे झैँ नहुने रहेछ विदेश! हो, हामी विदेश आउँछौँ दुःख गर्न। तर कतिपय साथीहरू यस्तो नि हुनुहुन्छ कि नेपालको दुःख आफ्नो आमा, बाबा, छोराछोरी बिर्सेर सबै कमाएको यतै उडाउने। त्यो नि क्यासिनोदेखि लिएर अनैतिक कामहरू गरेर। हामी दुःख गर्न आएको हो, परिवार पाल्न आएको हो भन्ने बिर्सेर जाड-रक्सीको तालमा कति पैसा फाल्नु हुन्छ यहाँ साथीहरू! तर नेपालीलाई केही पर्यो, कोही बिरामी भयो भने म्यासेज नि हेर्नु हुन्न। विडम्बना यहाँ नेर छ।
विदेश बस्न कसलाई पो रहर हुन्छ र! आफ्नो घरमा आमाले दिएको ढिँडो र आँटोको स्वाद यहाँको पिज्जाले नदिने रहेछ! घरमा हुँदा यस्तो खाना नि कसले खान्छ भनेर आमासँग झर्कने गरेको अहिले झलझली याद आउने रहेछ।
नेपाल हुँदा क्यारम बोर्ड खेल्दै हिँड्ने म अहिले साहुले जे भन्यो त्यही गरी बस्नु परेको छ। हो, हामी नेपाली गरिब छौँ तर पनि अर्काको देशमा आएपछि तेरो देशमा भात छ भनेर विदेशीले सोध्यो भने मन अमिलो हुने रहेछ। कति पीडा कति दुःख सहेर काम गर्नु पर्छ त्यो त परदेशीलाई मात्र थाहा होला।
कतिपय कुराहरू यादमै सीमित गर्नु पर्ने रहेछ। लाग्छ कहिलेकाहीँ त ‘ह्या! नेपाल जाऊँ कि के हो, कति किचकिच सहनु साहुको’ जस्तो लाग्ने रहेछ।
अनि मन भन्छ- दुःखपछि सुख आउँछ, नेपाली छोरा हो हिम्मत नहार्, केटा तैँले अझै केही गर्नु छ, अघि अघि जा दुनियाँ नसोच्!
हो, त्यही कारण मैले नि कोरिया १४ वर्ष बसिसकेँ। अझै कति बस्ने हो? नेपाल जाऊँ रोजगार छैन, कोरिया बसौँ कहिलेसम्म बस्ने?
यसो हेर्छु साथीहरू कति अगाडि गए, म किन जान सकिनँ? तर त्यो मेरो भ्रम रहेछ। अब छिट्टै आउने छु नेपाल आमा। तिमी जस्तो मायालु भूमि कतै भेटिएन। मेरी नेपाल आमा आउँछु, म आउँछु। पर्खिबस्नु ल। तिम्रो माटो छुन मलाई धेरै रहर छ। आखिर मेरी आमा नेपाली माटो नै हौ। नेपालमै जन्मेँ, नेपालमै मर्छु मेरी आमाको काखको सिरानी बनाई।
आफू जन्मेको ठाउँ, पाखा-पखेरा सपनामा नआएको रात छैन होला। त्यसैले त मलाई मेरो देश प्यारो लाग्छ। म आउँछु, एक दिन आउँछु आमा। तिम्रो सपना पूरा गरेर आउँछु।