आफ्नो हजुरबुबा र हजुरआमा प्यारो नलाग्ने सायद नै कोही होलान्। म पनि त्यसै मध्ये एक पर्छु। हामी मानव जातिको बानी, हुँदासम्म कुनै कुराको त्यति महत्त्व हुँदैन जति गुमाएपछि हुन्छ। महत्त्व नभएको त पक्कै पनि होइन तर सधैँ आफूसँग भएको र देखिरहेको हजुरबुबा हजुरआमा गुमाएपछि कस्तो हुने रहेछ थाहै थिएन। सायद हामीले जीवनमा पहिलो चोटि आफ्नो परिवार, आफ्नो मान्छे गुमाएका थियौँ, त्यसैले होला अनुभव नै थिएन।
हामी सबै नातिनातिना भाग्यमानी थियौँ, आमा-बाको काखमा हुर्किन पायौँ। कति प्यारो कति न्यानो माया थियो मेरो बाआमाको। हामी सबै नातिनातिनालाई पहिलो अक्षर बाले नै सिकाउनु भएको थियो। कखरा बाले नै चिनाउनु भएको हो हामी सबैलाई। अहिले पनि अलिअलि झझल्को आउँछ बाको काखमा बसेर कालोपाटीमा लेखेको।
कालो पाटीमा बाले लेख्न सिकाउने क्रम नाति-नातिनीलाई मात्र नभएर पनाति-पनातिनीलाई पनि निरन्तर सिकाउनु भयो। मेरी भदैनीलाई लेख्न सिकाउँदै गरेको एउटा तस्बिर छ बाको जुन मलाई आफ्नो बाल्यकालको याद दिलाउँछ। अनमोल छ त्यो तस्बिर। मलाई असाध्य मन पर्छ त्यो तस्बिर।
लेख्न र पढ्न असाध्यै मन गर्नु हुन्थ्यो बा। जुनै बेला फुर्सदमा एउटा पुस्तक हुन्थ्यो हातमा। हातमा लौरो, आँखामा चस्मा र अर्को हातमा पुस्तक अनि खैरो दौरा-सुरुवाल, अहिले पनि झलझली याद आउँछ मेरो बाको। नातिनातिनालाई देख्न साथ आँखा चम्किन्थ्यो बाको, २\३ वर्षदेखि बाले हामीलाई भेट्दा दुवै गालामा माया गर्ने र अनुहार सुमसुम्याउने गर्नु हुन्थ्यो। सायद बालाई थाहा थियो होला अब धेरै बाँच्नु हुन्न भनेर। त्यसैले होला अलि धेरै नै माया गर्ने गर्नु हुन्थ्यो।
गाउँमा बालाई सबैले साहिँला मुखिया भनेर सम्बोधन गर्थे। त्यो बेलाको जमिन् दार हाम्रो बा। गाउँमा धेरैलाई मद्दत गर्नु भएको थियो र सबैले उहाँलाई सम्मान गर्थे। त्यो जमानाको भए पनि सोच प्रगतिशील थियो बाको। छोराहरूलाई कमाउन विदेश पठाउने लहर आएको थियो रे त्यो बेला। तर बा भने शिक्षामा विश्वास गर्नु हुन्थ्यो। आफ्ना सबै छोराहरूलाई सहर पठाएर शिक्षा हासिल गराउनु भएको रे उहाँले। मेरो काकालाई काठमाडौँ राखेर पढाउनु भएको रे।
यी सबै कुराहरू सुनेर त म चकित पर्छु। अहिले पो हामीले पढेर लेखेर धेरै कुरा जान्यौँ बुझ्यौँ। आज पनि मेरो परिवारमा शिक्षाको महत्त्व धेरै नै छ। सायद बाले आफ्नो छोराछोरीलाई, वहाँहरूले हामीलाई र हामीले आफ्नो सन्तानलाई शिक्षाकै महत्त्व बुझिरहेका छौँ।
इमानदारिताको प्रतीक हुनुन्थ्यो बा। बा र आमाबिच प्रगाढ प्रेम थियो। त्यही भएर होला बा बित्नु भएको एक महिनामै आमा पनि बित्नु भयो। एकछिन आमालाई नदेख्दा बाले घरभरि सबैलाई आमा खोइ, आमा कता गई भनेर सोध्नु हुन्थ्यो। आमा र बा आफ्नो जीवनमा खुसी हुनुहुन्थ्यो, सबै छोराहरूसँग आफ्नो इच्छाअनुसार बस्नु भएको थ्यो। उमेर पुगेर नै बित्नु पनि भएको हो।
तर एउटा पश्चात्ताप भने अझै पनि छ यो मनमा। बा बित्नु भएको बेला कोरोनाको महामारी चलिरहेको थियो, जाने विचार पनि गरियो तर जान सकिएन। कोरोना के हो? कस्तो हो? राम्ररी थाहा थिएन। धेरै मान्छेहरूले ज्यान पनि गुमाएका थिए। आफ्नो सानो बच्चा अनि घर र परिवार, यी सबै कारण जान सकिनँ। यो कुराले अझै पनि मेरो मन पोल्छ। जे जसरी भए पनि म जानु पर्थ्यो जस्तो लाग्छ अहिले।
महिलाहरूलाई सबै कुरा त्यति सहज पनि त छैन। जान्छु भन्ने बित्तिकै जान मिली पनि नहाल्ने। अहिले आएर लाग्छ, समय मिलाएर आमा-बालाई भेट्न वर्षमा १\२ पल्ट त जानु पर्ने रहेछ। हामी नाति-नातिनीहरूले आमा-बालाई कतै तीर्थ यात्रा लानु पर्ने रहेछ अथवा वहाँहरूलाई मन लागेको ठाउँ देखाउनु पर्ने रहेछ जस्तो लाग्छ। तर के गर्नु? अब ढिलो भयो।
हाम्री आमा कति रमाइली हुनुहुन्थ्यो। आफ्नो जीवनकालको कति कुराहरू सुनाउनु हुन्थ्यो। आमालाई मिठाई साह्रै मन पर्थ्यो। राम्रा-राम्रा सारी लगाउन, सुनचाँदीको पनि साह्रै सौखिन हुनुहुन्थ्यो।
आमा-बाको वार्षिक काममा गयौँ। मेरो आदरणीय भिनाजुले गाली गर्नुभयो। उहाँले ‘तिमीहरू आमा-बा बितेको बेला किन नआएको? मलाई यो कुरा साह्रै मन परेन,’ भन्नु भयो। म तिमीहरूसँग रिसाए पनि भन्नुभयो। वहाँले ठिक भन्नु भएको थियो। यो कुरा सुनेर झनै आफ्नो गल्ती महसुस भयो।
मेरा अत्यन्त मिल्ने साथीहरूबाट म प्रेरित भएको छु। जसरी उनीहरूले आफ्ना हजुरबा र आमालाई माया र स्नेह गरेको देख्छु, म रुन बाहेक अरू केही गर्न सक्दिनँ। किनकि अब आमा-बा मात्र सम्झनामा हुनुहुन्छ।
मेरी अत्यन्त मिल्ने साथी निजु, हाल उनी अमेरिकामा छिन्। उनले सबैभन्दा पहिले अमेरिका घुमाउन आफ्नो हजुरबुबालाई लागिन् किनकि ममी-बाबालाई लान त पूरै जिन्दगी बाँकी छ रे, पहिला हजुरबुबालाई लान्छु, अमेरिका देखाउँछु रे। कति राम्रो सोच हो यो! उनले लगिन् पनि। गाह्रो भयो होला ९० वर्षको हजुरबुबालाई लैजान, घुमाउन तर कति काबिल नातिनी रहिछन् उनी! उनको संस्कार र उनको सोच कति राम्रो। आज उनको पनि हजुरबुबा हुनुहुन्न।
मेरी अर्की असाध्यै मिल्ने साथी प्रजिना हाल अस्ट्रेलियामा छिन्। गत वर्ष नेपाल आउँदा आफ्नी बुढी हजुरआमालाई लिएर वहाँको पहाड घरमा परिवारसहित पुगिन्। हजुरआमाका बाँकी सबै आफन्तको घर-घरमा कोसेली लिएर वहाँको सबै जीवित आफन्तसँग भेट गराइन्। यो बुद्धि मलाई चाहिँ किन आएन? मैले नजाने पनि मेरा साथीहरूलाई यो ज्ञान रहेछ है।
गत वर्ष देउरानीसँग झापा गएको थिएँ। उनको हजुरबुबालाई भेट्न गएको। वहाँ आफ्नी नातिनीलाई देखेर यति खुसी र हर्षित हुनुभयो, म त आफूलाई सम्हाल्नै सकिनँ। आँखाबाट आँसुका धारा बग्न थाले। लाज पनि लाग्यो। ‘म पनि तिम्रो हजुरबुबा जस्तै हो’ भन्नुभयो।
मेरो हजुरबुबा पनि मलाई देखेर यसरी नै दङ्ग हुनुहुन्थ्यो भनेर सम्झेँ। अझै पनि म आमा-बालाई सम्झी सधैँ माफी माग्छु, मैले गर्न नसकेका सबै भुल माफ गर्दिनुस् भनेर। सधैँ पूजा अथवा ध्यान गर्दा वहाँहरूलाई सम्झन्छु। मलाई थाहा छ वहाँहरू मसँग रिसाउनु भएको छैन, मलाई आशीर्वाद नै दिइरहनु भएको छ तर पनि यो मनमा यी कुराहरू खेलिरहन्छन्।