‘भोलि बिहानै सबेरै लाग्नु पर्छ है सर, नत्र च्याखुरे लेकको काखमा पुग्न सकिँदैन। ढिला होला। हिउँको बाटो छ, बिचमा बस्ने ठाउँ पनि त नहुन सक्छ, नापानी भन्ने ठाउँ धेरै टाढा छ है भोलि नै हामीले त्यहाँ पुग्नै पर्छ है सर। बिचार गरौँ, भोलि बिहान ८ बजेतिर नै लाग्नु पर्छ त्यतातिर। मेरा आफन्त छन् देपालगाउँमा। त्यहीँ गएर बिहानको खाना खाऔँला अनि बाटोमा पर्ने फिल्ड हेर्दे गन्तव्यतिर लागौँला। भोलि बिहान म ८ बजे नै तपाईं बस्ने ठाउँमा आइहाल्छु, कहिले फोनको टावर हुँदैन, कहिले चार्ज हुँदैन याद गर्नुहोला। जुम्लाको फोनको भर नपर्नु होला’ भन्दै एकोहोरो बोलिरहेकी थिइन् उनी। म भने टाउको हल्लाइरहेको थिएँ, हुन्छ हुन्छ भनेर।
यो कुरा केही वर्ष पहिले पुसको तेस्रो हप्ताको हो। मेरो कार्यालयको वार्षिक कार्यक्रमअनुसार विभिन्न बालीहरूको व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यले प्रस्ताव माग गरेको थियो र जुम्लाका थुप्रै व्यावसायिक कृषकहरूले स्याउ, ओखर, तेल, दाल, केशर र जडीबुटी जस्ता बालीहरूमा प्रस्ताव पेस गरेका थिए। ती प्रस्तावहरूको स्थलगत भेरिफिकेसन गरी मूल्यांकन गर्नुपर्ने र छनौट गर्न पर्ने काम हाम्रो थियो।
सोही कार्यका लागि मेरो नेतृत्वमा जुम्लाको गुठीचौर, देपालगाउँ, गरज्याँकोट, पटारमा डिल्लिचौर छुमचौर जस्ता स्थानमा गई स्थलगत सम्भाव्यता तथा प्राविधिक अध्ययन गर्नुपर्ने थियो। सोही क्रममा हामी जुम्ला सदरमुकामबाट देपालगाउँ, गर्ज्याकोट हुँदै गुठीचौरको नापानीसम्म पुग्ने कार्यक्रम तय भएको थियो। सोही क्रममा मेरो टोलीमा खटिएकी अधिकृत स्टाफ साथी कमला बिहान ८ बजे मेरो घरमा आइपुगेकी थिइन्।
आफ्नो जिम्मेवारी र नुनको सोझो गर्दे साथी कमलासँग फिल्डतिर हिँडेँ। हिजो भने जस्तै कमलाले देपालगाउँमा आफ्नो आफन्तकोमा खानाको बन्दोबस्त गरिसकेकी रहिछन्। देपालगाउँमा बिहानको खाना खाइसकेपछि गर्ज्याकोटतिर लाग्यौँ। त्यतिखेर करिब ११ बजिसकेको थियो। त्यही समयमा पौष कृष्ण पक्षको औँसीदेखि चतुर्थीसम्म ५ दिन जुम्लाको धेरै पहिलेदेखि चल्दै आएको लोक संस्कृति भित्रको पर्व ‘ठुली भैली’ (हाल लोपोन्मुख अवस्थामा रहेको) खेल्ने नाममा बाटोमा हिँड्ने जोसुकै बटुवाहरूबाट नगद माग्ने र नदिए जबरजस्ती तरिकाले टोपी, कलम, झोला, लुगा, कोट, पर्स जस्ता सामाग्री थुतेर लिने, बाटो थुन्ने, जबरजस्ती गर्ने एउटा समूह भेटियो।
बजार सदरमुकाममा त्यस्तो जबरजस्ती गर्ने चलन छैन। स्वेच्छाले दिएमा मात्र लिन्छन्। त्यस्तो जबरजस्ती गर्दैनन्। गज्याँकोटमा भने त्यस्तो थुप्रै हुल भेटिए। ती प्रत्येक हुललाई कहीँ ५०० कहीँ ४०० दिँदै गज्याँकोटको उकालो लाग्यौँ। यदि नदिए हामी त्यही अड्किनु पर्ने हुन्थ्यो।
देपालगाउँसम्म त्यस्तो हिउँ र हिलो थिएन। सहजै थियो। जब गर्ज्याकोटको उकालो लाग्यौँ, साह्रै असहज भयो। हिउँ, हिलो, ठाँडो काट्दै दोचलगार्ड, ओरीगुठीचौर, एक सल्ली, जुम्ला डोल्पा रोडकोरीडोर हुँदै गुठीचौरको लाग्ना देउरालीमा पुग्यौँ। लाग्नामा पुगिसकेपछि लाग्ना देउरालीमाईलाई नमस्ते गर्दै फूलपाती चढाउने आँट गर्यो तर हामी आफ्नो हातलाई मुठी पार्न सकेका थिएनौँ। यो लक्षण राम्रो होइन।
हिउँको लेकमा हात र खुट्टाले काम गर्ने छोड्छन् भने खतरा हुनसक्छ, मान्छे लेकमा मर्न पनि सक्छ। हाम्रा खुट्टा भने तातै थिए। वरिपरि फूलपाती हुने त कुरै भएन, पूरा पहाडै हिउँले ढाकेको छ। गुठीचौर नेपालकै एक सुन्दर पर्यटक क्षेत्रभित्र पर्छ। पुसदेखि चैतसम्म लटरम्म हिउँले ढाकेको हुन्छ भने वैशाखदेखि असोजसम्म जुम्लाका प्रायः सबै क्षेत्रका पशु बस्तु चराउने चरन क्षेत्र पनि यही हो।
यहाँ नेपाल सरकारको नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत भेडा बाख्रा अनुसन्धान फारामका कार्यालयहरू छन् यो फाराम २०२३ सालमा स्थापना भएको हो। पारिपट्टि ठुलो उपत्यका छ। जहाँ २०३५ सालतिर १ पङ्खे जहाज पनि अवतरण गर्थ्यो रे। यो समुद्र सतहदेखि करिब ३७०० मिटरको उचाइमा रहेको छ। भनिन्छ यो नेपालको स्विजरल्यान्ड हो। साँच्चै हो जस्तो लाग्छ। जुम्लादेखि डोल्पा र जाजरकोट मनाङ मुस्ताङसम्म जाने सडक मार्ग यही बाटो भएर जानेछ।
हिउँ र हिलोले गलेका हामी यस रमणीय दृश्यले हाम्रो थकानलाई केही हदसम्म मेटाइदियो। हामीले यस दृश्यलाई हाम्रो मोबाइलमा क्यापचर गर्न खोज्यौँ तर हामी दुवैका मोबाइलको चार्ज सकिसकेको रहेछ, स्विचअफ भइसकेछ। हाम्रो धोको पूरा भएन। जुम्लाको बत्तीले कहिले पो काम दिन्थ्यो र आज दियोस्!
करिब १० मिनेटको हिउँमाथिको बसाइपछि हामी ठाडो ओरालो लाग्यौँ। ‘तल एउटा होटेल छ केही खाजा खाएर जाऔँ’ मैले भनेँ तर उनले मानिनन्। किनभने हामी एकदमै ढिला भइसकेका थियौँ। त्यो दिनको हाम्रो बसाइ नापानी पुग्नु थियो। फेरि आकाशमा कालो बादलले घेरिसकेको थियो। त्यो दिन जसरी पनि नापानी पुग्नै थियो। भोलि हिउँ आयो भने हामी बिचल्ली र खतरामा पर्न सक्थ्यौँ।
अब त्यो गुठीचौरको ठाडो ओरालोमा एक अर्काको सहारा बिना हिँड्न सक्ने सम्भव नै थिएन। हाम्रो हातमा लिएका काठका लट्ठीले काम गर्न छाडिसकेका थिए। त्यसैले हामीले एक अर्काको हात समातेर ओरालोमा हिँड्यौँ। करिब १ घण्टाको ठाडो ओरालो हिँडिसकेपछि कुडीगाउँको पुलनजिक एउटा होटेल भेटायौँ अनि तातोपानी मागेर हाम्रा कठाङ्ग्रिएका हातहरू त्यही तातोपानीमा डुबायौँ। १/१ कप हर्बल चिया पियौँ। संयोगवश त्यहाँका साहुजी मेरा पूर्व परिचित र सँगै काम गरेका स्टाफ तिलबहादुर पो रहेछन्।
‘सर, आज यहीँ बस्नुहोस् २० वर्षपछि भेट भएको छ। साँझको बास बस्ने समय पनि त भइसक्यो। फेरि यस्तो हिउँको पहाडमा हिँड्दै हुनुहुन्छ। यहाँबाट नापानी पुग्न अझै कम्तीमा २ घण्टा लाग्छ। ५ बजिसक्यो, ७ बजेसम्म त झमक्कै भइहाल्छ, तपाईंहरूलाई एकदमै गाह्रो होला आज नजानुहोस्। रातिमा वन्यजन्तुको डर पनि हुन्छ, असजिलो बाटो छ,’ उनी हाम्रो भलाइ र मित्रताको लागि मिठो मायाका साथ भन्दै थिए। तर हामीले मान्दै मानेनौँ, हामी हाम्रो गन्तव्यतिर लागिहाल्यौँ।
करिब डेढ घण्टाको हिँडाइपछि मणिसाँघु पुग्यौँ। यहाँबाट बायाँ लागे डोल्पा र दायाँ लागे जाजरकोट जाने दोबाटो भेटिन्छ। त्यहाँ प्रहरी चौकी पनि छ। हामी दायाँ लाग्यौँ। कृष्ण पक्षको राति थियो तर हिउँको पहाडले शुक्ल पक्ष जस्तै उज्यालो भएको थियो। औँसीको कालो रातलाई खाइदिएको छ। पूरै पहाड जताततै सेताम्मे छ, यही सेताम्मे उज्यालो देखिएको छ।
त्यसैले त हामी यही उज्यालोको सहाराले त्यो रातलाई चिर्दै मणिसाँघु, गढीगाउँ, हुँदै खोलै खोल चाखुरेको पहाडतिर लम्किरहेका छौँ। बाटोमा भेटिने मान्छेहरूसँग नापानी हाम्रो त्यो दिनको गन्तव्य स्थान र कृषकको घर ठेगानामा पुग्न अझै कति समय लाग्छ भनी सोधिरहेका थियौँ। भेटिने मान्छेहरूले अँधेरी रातमा एउटा लोग्ने मान्छे एउटा महिला मान्छे किन यसरी हिँडिरहनु भएको छ भनी सोधिरहेका थिए। हामी भने एकनासले हिँडिरहेका थियौँ नापानी तिर।
केही समयपछि तल खोलाबाट माथि हेर्दा नापानी चौर देखियो। त्यो चौर नै जाजरकोट र जुम्लाको सिमाना पर्ने च्याखुरे लेकको काखमा पर्छ, हामी पुग्ने ठाउँ नापानी। ठाउँ देखिएकाले अब भने अलि सन्तोषको श्वास फेरियो। खोला सुसाइरहेको छ। अघिसम्म चराहरू बासेको सुनिन्थ्यो। अब भने चराहरू पनि त आफ्नो बासमा आराम साथ बसिसकेछन्। हामी भने नापानीको बायाँ तिरबाट बग्ने तिला नदीको सहायक नदी नापानीखोलाको किनारै किनार एकनासले हिँडिरहेका छौँ।
खोलामा भेटिएका एक जना पाको मानिससँग हामी जानुपर्ने नर्सरी धनीको घर सोध्यौँ। उनले ‘माथि त्यही हो, फाराम छ त्यही हो’ भनिदिए।
अब भने त्यो घर नजिक नर्सरी फाराम नजिक पुगेर करायौँ ‘घरमा को हुनुहुन्छ?’ भनेर। कुकुर भुकिरहेको थियो। भित्रबाट सानो बच्चा आयो। उसले ‘को हौ? कहाँबाट आयौ? हाम्मा बा घर नाइँ, आमा मात्र छन्’ भन्दै हामीलाई घर भित्र लग्यो।
भित्र जाँदा चुलोमा ठुलो आगो दन्किरहेको थियो। हामीले केही नभनी चिसोले कठाङ्ग्रिएका हाम्रा हात खुट्टालाई त्यही दन्किरहेको आगोमा सेकायौँ। अनि केही समयपछि हामी आउनुको वास्तविक कारण बतायौँ। यसरी हिउँमा यस्तो रातिमा आफ्नो घरमा आएको देख्दा अचम्म मान्दै हामीप्रति मिठो व्यवहार र सत्कार देखाइन् ती म्याडमले।
आगो ताप्दै मैले सोधेँ, ‘को-को हुनुहुन्छ यो घरमा?’
उनले भनिन्, ‘म, भाउ र भाउका बा। भाउका बा माथि गोठतिर गया छुन कतिखेर आउन्या हुन्, कहिले राति ११/१२ बजेतिर आउँछन्। फोन लाग्दैन, यो हाम्रो फारामको घर हो, हाम्रो खास घर तल गाउँमा छ।’
उनले सबै कुरा एकै चोटि बताइदिइन्। उनी नआएसम्म हाम्रो फिल्ड भेरिफिकेसनको काम पूरा हुँदैन थियो। उनको दस्तखत गराए मात्र हामी त्यति दुःख गरेर त्यहाँ पुगेको काम पूरा हुन्थ्यो।
केही समयपछि खाना तयार भयो। फलामको कराइमा पकाएको जुम्लाको कालो सिमीको दाल, भात र तरकारी प्राङ्गारिक खाना मिठो थियो।
यतिखेर रातको १० बजिसकेको थियो। छोटा दिनको राति १० बज्नु भनेको एकदमै राति हो। त्यो उनको फारामको घर हो। २ कोठा मात्र छन्। त्यो कुरा पहिले नै थाहा भइसकेको थियो। एउटा कोठामा स्टोर फाटाटुटा लत्ता कपडा राखिएको थियो। त्यहाँ सुत्ने कुरा सम्भव थिएन। हामी जुन ठाउँ बसेका छौँ या खाना खाएका छौँ, त्यही कोठामा सुत्नु पर्ने भयो। एउटा कोठामा दुइटा मैडा, त्यसैमा खटिया। हामी भने ३ किसिमका भयौँ। मेरो साथी कमला, म र उनको घर-परिवार। म खटियामा सुतेँ, कमला मैडामा र उनको परिवार अर्को मैडामा।
उनका श्रीमान् आएका छैनन्। बाहिर भोटे कुकुर एकनासले भुकिरहेको छ। हाम्रो सुरक्षाको लागि उसलाई खोलिएको छैन। हामी आएको उनका पतिलाई थाहा छैन। फोन लाग्दैन। बोलाएर सुनिँदैन। उनी राति कतिखेर आउने हुन् केही थाहा छैन।
बाहिर कुकुर एकनासले भुकिरहेको छ। उसले पनि त सोच्यो होला मलाई अहिलेसम्म किन बाँधिएको छ? कुकुर भुक्ने बित्तिकै म घरधनी आए कि भनेर नियालिरहेको छु। उज्यालोको लागि सानो सोलार टुकीमारा थियो, त्यो पनि निभ्यो। अन्धकार छ। हामी एउटै कोठाको ३ ठाउँमा ४ जना सुतेका छौँ। उनका पति आउनै बाँकी छ।
लामो रात छ। बाहिर पूरा पहाडै सेताम्मे छ। सेतो तन्नाले ढाके जस्तै भएको छ। एउटा कुकुर भुक्ने बित्तिकै वरपरका सबै कुकुर भुकिहाल्दा रहेछन् विभिन्न आवाजमा। उता कमला भने मज्जासँग सुतेको जस्तो लाग्छ। अर्को मैडाकी भाउ र भाउकी आमा भाउका बाको प्रतीक्षामा भए जस्तो लाग्छ।
मलाई डर लागिरहेको छ। डर लाग्दा बाहिर बढी जाने (पिसाब बढी लाग्ने) यो यथार्थ पनि त हो। त्यसैले आज यो रात मलाई बाहिर बढी जानु पर्ने बाध्यता आयो। धेरै पटक बाहिर गएँ। चर्पी रहेछ तर टाढा। रातको समय अर्काको घर भोटे कुकुर भुकिरहेको छ। म भने पटक-पटक बाहिर गइरहेको छु।
म डरले खुम्चिएको छु। एउटा पाखी मात्र ओडेको छु। उता कमला पनि पटक-पटक आवाज निकालेको सुनिन्छ। उता भाउ र भाउकी आमा पनि आफ्नो श्रीमानलाई पर्खिरहेको जस्तो लाग्छ। यता म डरले सोचिरहेको छु र मनमनै आफूले आफैलाई प्रश्न गरिरहेको छु- ‘म बाहिर निस्केको बेला भाउका बा र मेरो जम्काभेट भयो भने के होला? उनले के सोच्लान्? रातको समयमा एक अपरिचित पुरुष मानिस आफ्नो घरबाट बाहिर आउँछ भने के होला? मलाई बाँकी राख्लान्? के मलाई सबै यथार्थ कुरा बताउने मौका देलान्? आज मलाई किन यस्तो धर्मसंकट पर्यो?’ आदि।
म सुतेको अवस्थामा उनी आए त उनकी श्रीमतीले सबै कुरा बताउलिन्। होइन भने के होला? यस्तै यस्तै सोचेको केही समयपछि बाहिर कुकुरको आवाज अलि फरक किसिमको आयो। सायद आफ्नो ऋति मालिक आएको थाहा पाए छ। कुकुर फुकालिएको थाहा भयो। उनी भित्र आए। अब भने उनी आफ्नो बेडमा सुते।
अन्धकार छ। घडी हेरेँ रातको सवा एक बजेको रहेछ। बिहान हुन अझैँ ४ घण्टा बाँकी छ।
उतातिर केही समयपछि भाउकी आमाले हामी आएको सबै कुरा बताउँदै गइन्। ‘तिमीले किन ढिला गरेको?’ आफ्नो पतिलाई सोधिन्।
‘सरहरूले खाना खानु भयो त? आउने कुरा त थाहा थियो तर आजै आउने कुरा मलाई थाहा भएन। फोन लाग्दैन त के गर्ने?’ उनले उत्तर दिए।
म भने यता बिस्तारै सरल र सहज भएको महसुस गरेँ। तातो भएको महसुस भयो। निद्रा पनि लागेछ, पत्तै भएन।
बिहान ‘सर उठ्नुहोस्, भोटे चिया तयार भयो खानुहोस्‘ सुनेँ। ब्युँझेर घडी हेरेँ, बिहानको ७ बजिसकेको रहेछ। यसो हेरेँ, उनी किसान त पहिले नै हामी एक आपसमा चिरपरिचित भइसकेका रहेछौँ। उनले मलाई राम्रोसँग चिन्दा रहेछन्। नाम र ठाम थाहा नहुँदा अपरिचित भएको जस्तो लागेको रहेछ मलाई।
तातो भोटे चियाको स्वाद र आगोको रापसँगै हाम्रो मुख्य काम फिल्ड भेरिफिकेसनको काम पूरा गर्यौँ। बाटोमा खाने रोटी र नुनको पोको पार्दै हामी हाम्रो बाटो जुम्ला सदरमुकाम फिर्ता भयौँ।
आज यसै लेखमार्फत ती सानो बालक, म्याडम र कृषकलाई धन्यवाद दिन चाहन्छौँ। जसले त्यो चिसो रातमा हामीलाई स्वागत सत्कार गरी गाँसबासको व्यवस्था गरिदिए।
(भाउ- घरको सानो बालक)
(लेखक कृषि विकास कार्यालय जुम्लाका तत्कालीन कार्यालय प्रमुख हुन्।)