यस पटक एक महिनामा ३ पटक लुम्बिनी परिसर पुगेँ। ५० वर्षअघि देखेको तर त्यसपछि नभेटेको मूर्ति नभेटेर मन छट्पटाइरहेको थियो।
वि.सं. २०३१ सालमा तौलिहवाको वन कार्यालयबाट एक जना रेन्जरको सरूवा भएछ। कपिलवस्तुको सदरमुकाम तौलिहवा त्यो समयमा निकै चहलपहल हुने बजार थियो। पूर्वपश्चिम राजमार्ग बनेकै थिएन।
उनीहरूलाई भैरहवा एयरपोर्टमा छाड्न जाँदा म पहिलो पटक लुम्बिनीको मायादेवी मन्दिर पुगेको थिएँ। त्यो कच्ची सडक। गोरू गाडाका हाल (फलाम) ले डोब पारेको कच्ची बाटो थियो। खोलामा पुल थिएनन्। ट्याक्टरमा त्यही बाटोमा धुलो उडाउँदै हामी उनका सामान माथि ट्रेलरमा बसेर गएका थियौं।
त्यसैबेला देखेको थिएँ त्यो मूर्ति। बुद्धको बारेमा पाठ्यक्रममा पनि धेरै पढेका थियौं। धेरैका मुखबाट धेरै प्रसङ्ग पनि सुनेका थियौं। तर, बुद्ध जन्मनासाथ सात पाइला हिँडेका थिए भन्ने त्यसदिनसम्म सुनेको-पढेको थिइनँ। तर, मायादेवी मन्दिरमा बुद्ध जन्मनासाथ सात पाइला हिँडेको देखिने मूर्ति राखिएको रहेछ।
पिपलका रूखका जराले त्यो मन्दिर जीर्ण पारेको थियो। नाग बेरिएझैं जरा बेरिएका थिए। इँटा खक्रक्क देखिन्थे। त्यो पिपलका रूखमुनिको मन्दिरमा होचो ढोकाभित्र पसेपछि केही खुड्किला तल झर्दा त्यो मूर्ति देखेको थिएँ। त्यसैको छेउमा हल्का गुलाफी रङको खस्रो मायादेवीको मूर्ति थियो। मार्बलमा कुदिएको मूर्तिमा बुद्ध सात पाइला हिँडेको बिम्ब कुदिएको थियो। जन्मनासाथ बच्चा सात पाइला हिँडेको विषय मलाई पत्याउँ कि नपत्याउँ जस्तो लागेको थियो। सामान्य मानव जन्मेको भन्दा फरक भएरै बुद्ध भगवान भएका होलान् भन्ने पनि लाग्यो। विज्ञान गुरूले पढाएको डार्विनको विकासवादसँग विरोधाभास भएकोले मेरो दिमागमा ट्याप्पै टाँसिएको थियो।
त्यो मूर्तिमा त्यो सात पाइलाको प्रसङ्गभन्दा अरू के के थियो भन्ने पनि बिर्सिएँ। त्यो विषय भने दिमाग भित्रको न्यूरोनको जालोमा गुथ्थी परेर बसेको हुनाले बिर्सिएको छैन।
त्यसपछि लुम्बिनी पटकपटक जाँदा त्यो मूर्ति देखिनँ। यसैबीचमा मायादेवी मन्दिर जीर्णोद्धार भयो। जीर्णोद्धार गर्दा कतै राखेका होलान् भन्दै मन बुझाएको थिएँ। तर, कतै त्यो मूर्ति नै चोरी भएको पो हो कि! हराएको हो कि! भन्ने लागेर पटक पटक मन चिसो हुने गर्थ्यो। जीर्णोद्धार हुँदा त्यहाँका सामान भनेर राखिएको अस्थायी म्युजियममा अरू सामान देखे पनि त्यो मूर्ति देखेकै थिइनँ। ५० वर्षसम्म पनि मूर्तिको खुलदुली भैरह्यो।
धेरै वर्ष बित्दा कतै मेरो दिमागमा भएको मूर्तिको संझना कतै भ्रममात्र त हैन भन्ने पनि सोच्थेँ। उमेर बढ्दै गएपछि सानोमा देखेको भूत दिमागको भ्रम मात्र थियो भन्ने बुझें। तर पनि त्यो मूर्ति भ्रम मात्र थिएन भन्ने लाग्थ्यो।
ती रेञ्जरका छोरा र भान्जा हाम्रा अति मिल्ने साथी थिए। स्कुल जानुअघि र फर्किएपछि दिनदिनै खेल्ने साथी थिए ती दुबै साथी। पढ्न भने उनीहरू बुद्धपद्म स्कुलमा पढ्थे। मैले रत्नराज्य स्कुलमा पढ्थेँ। त्यसैले दिनभरि बिछोड हुने गर्थ्यो। उनीहरूका बुवा तथा मामाको सरूवा भएपछि उनीहरू हामीसँग छुट्टिने भए। हाम्रो बिछोड हुने भयो। जिन्दगीमा पहिलो पटक त्यो बिछोडले बढी नै मन दुखेको थियो। त्यसपछि भने जीवनमा कति साथी बने फेरि बिछोड भयो तर त्यति पीडा बोध भएन। त्यसपछि उनीहरूसँग भेट भएकै छैन। त्योभन्दा बढी नै पीडा चाहिँ जीवनसाथीसँग बिछोड हुँदा भने भयो।
मनमा त्यो मूर्तिको विषय पटकपटक बल्झिन्थ्यो। अजन्ताका गुफाको विषय सुनेपछि म त्यहाँ पुगेँ। त्यहाँ बुद्ध शिक्षाकै प्रसङ्गका चित्र छन्। दुई वर्ष अघिको कुरा हो। फर्किएपछि ती गुफा र त्यहाँका चित्रकलाको विषयमा इन्जिनियर घनश्याम पौडेलसँग छलफल भयो। इ.स सुरू हुनुभन्दा पनि दुई शताब्दी पहिलाका ती गुफाका चित्र र कलाकारिताको छलफल भयो। त्यहाँ २२ सय वर्ष पुराना चित्र भेटें।
लुम्बिनीका कतिपय स्तुपहरू पनि त्यही कालखण्डका हुन् भन्ने प्रसङ्ग उठ्यो। मैले अजन्ताका गुफामा भएको बुद्ध जातक कथा र लुम्बिनीका प्रसङ्ग बीचमा तालमेल हुन सक्ने समय खण्डको चाँजोको प्रसङ्ग उठाएँ। त्यसै बीच ०३१ सालमा देखेको मूर्ति त्यसपछि नभेटेको प्रसङ्ग र मेरो चासो उहाँलाई बताएँ। हुन त बुद्ध जन्मेको बेलाको मार्कर स्टोनपछि उत्खननबाट त्यहाँ भेटिएको छ। लुम्बिनीको सबभन्दा महत्वपूर्ण वस्तु नै त्यही मार्कर स्टोन हो। त्यो ढुंगो जहाँ छ बुद्ध त्यहीँ जन्मिएका हुन्।
सञ्जोग कस्तो परेछ भने लुम्बिनीको मायादेवी मन्दिरको जीर्णोद्धार गर्दा उहाँले त्यहाँ काम गर्नु भएको रहेछ। उहाँको कम्पनीले कसरी त्यो ठेक्का पायो भन्ने रोचक प्रसङ्ग पनि सुनाउनु भयो।
उक्त जीर्णोद्धारका क्रममा पुरातत्वविद बसन्त बिडारीको भूमिका बताउँदै उक्त मूर्तिको बारेमा उहाँबाट थाहा हुने सुत्र जोडियो। तर, धेरै वर्षदेखि उहाँहरू दुईजना बीचमा सम्पर्क भएको भने रहेनछ।
यसै वर्ष फेब्रुअरी महिनामा बुटवलका थेरवादी भात्नेसँग सम्पर्क भयो। उहाँबाट बसन्त बिडारीको फोन नम्बर पाएँ। अन्ततः लुम्बीनीमै भेट गर्ने अनुमति दिनुभयो।
उहाँको ब्यस्त समयबाट शनिबारको दिन दिउँसो भेट हुँदा उक्त मूर्ति म्युजियममा रहेको बताउनुभयो। त्यो मूर्ति हराएको रहेनछ भनेर आनन्द मानेँ। मार्कर स्टोनलाई जहाँको त्यहीँ नचलाइ राखिएको उहाँले बताउनु भयो। मायादेवी माइत जान लाग्दा बुद्ध बाटोमै जन्मिएको भनाइप्रति उहाँले शङ्का जनाउनुभयो। उहाँको भनाइप्रति म सहमत पनि भएँ।
उहाँको विचारमा लुम्बिनीमा तत्कालीन कुनै धार्मिक आस्था जोडिएको हुनाले मायादेवी त्यहाँ पुगेको हुनुपर्छ। त्यसै अवस्थामा बुद्ध जन्मिएको हुन भन्ने पुष्टि गर्ने शुद्धोधनको राजधानी तिलौराकोट (कपिल्बस्तु) र मायादेवीको माइतीको दुरीले अर्थ राख्छ। दुरी धेरै नभएकोले बीचमा बास बसेको भनाइ अमिल्दो देखिन्छ। एकै दिनमा यात्रा हुन सक्ने दुरी छ।
गाउँलेले राजालाई तपाईंको छोरा जन्मिएको यो ठाउँ हो भनेर चिनाउन त्यो मार्कर स्टोन राखेका हुन्। किनकि त्यस समयमा बुद्ध त चर्चित व्यक्तित्व थिएनन्। राजा शुद्धोधन नै प्रजाका लागि आदर्श व्यक्तित्व थिए। त्यो ढुंगो पनि त्यहीँ वरिपरि पाइने खालकै ढुंगो छ। टाढाबाट ल्याएको होइन।
पछि बुद्धका धेरै चेला बने। ती चेलाहरूले बुद्ध जन्मिएको ठाउँ खोज्दै लुम्बिनी पुगेर मन्दिर बनाए। केही वर्षमा त्यो मन्दिर थोत्रो भएपछि मर्मत गर्ने गर्दै त्यो ढुङ्गामाथि सात पटक संरचना थपिएको रहेछ भनेर बिडारीले बताउनुभयो। तर, मैले खोजेको मूर्ति अझै भेटिएको थिएन। सम्राट अशोक पनि बुद्ध जन्मिएको ठाउँ खोज्दै त्यहाँ पुगे। त्यहाँ स्तम्भ खडा गरे। गाउँलेले कर तिर्न नपर्ने सहुलियत दिएको स्तम्भमा लेखिएको छ।
बिडारीसँग भेट भएको दिन शनिबार भएकोले म्युजियम बन्द होला भन्ने लाग्यो। म्युजियम सर्वसाधारणको लागि तीन महिना जति अघिबाट मात्र खुलेको रहेछ। पोहोर साल लुम्बिनी पुग्दा पनि म्युजियममा त्यो मूर्ति खोज्न जाने इच्छा थियो। तर, मायादेवी मन्दिर जीर्णोद्धार हुन थालेदेखि नै अहिले बल्ल त्यो म्युजिम खुलेको रहेछ।
अर्को दिन बिहानै पुग्दा लुम्बिनी प्रदेश स्थापना दिवस परेकोले छुट्टी रहेछ। म्युजियमभित्र पस्न नपाएपछि बाहिरबाटै भवन मात्र हेरेर फर्किएँ।
फेरि समय मिलाएर एक महिनाभित्रै तेस्रो पटक म्युजियममा त्यो मूर्ति खोज्न पुगेँ। म्युजियमभित्र पस्न पैसा पनि लाग्ने रहेनछ। मौर्य कालमा मुद्रा समेत लुम्बिनीमा भेटिएको भनेर राखिएको रहेछ। तर, मनमा खुल्दुली भैरहेको मूर्ति भेटिएन। म्युजियममा तल माथि सबैतिर खोज्दा पनि त्यो मूर्ति भेटिनँ।
कर्मचारीलाई सोधेँ उनले त्यो मूर्तिको विषयमा केही पनि बताउन सकेनन्। उप्रेती थरका म्युजियमका हाकिम रहेछन्। बिडारी लुम्बिनी विकास कोषबाट सेवानिवृत्त भएर लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्यापन गराउन थाल्नु भयो। त्यसपछि उप्रेती त्यहाँका आधिकारिक पुरातत्वविद् नियुक्त हुनुभएको रहेछ।
मिलनसार उप्रेतीसँग भेटेर एकछिन विविध कुराकानी भए। चिया पनि खुवाउनु भयो। त्यसपछि मैले मेरो मनमा रहेको उक्त मूर्तिको खुल्दुलीको विषय उठाएँ। उहाँले पनि उक्त मूर्ति म्युजियममा नरहेको जानकारी गराउनु भयो। तर, उहाँले उक्त मूर्ति कहाँ छ भन्ने जानकारी भने दिनु भयो।
भएछ के भने म जहिले लुम्बिनी गएँ, मैले मायादेवीको मन्दिर र पुराना भग्नावशेषहरू तथा अशोक स्तम्भलाई मात्र महत्वपूर्ण माने। त्यसैलाई मात्र नियालेँ। पछि बनेका आधुनिक विहारहरूलाई मैले महत्वपूण मानिनँ।
पहिलो पटक लुम्बिनी पुग्दा मायादेवी मन्दिर भन्दा करिब आधा किलोमिटर पर बाटोको दुईतर्फ खरको छानो भएका छाप्राहरूमा केही चिया पसलहरू मात्र थिए। अरू संरचना मयादेवी मन्दिर वरिपरि थिएनन्। अहिले ती छाप्रा पसलहरू त्यहाँ छैनन्। उतिखेरका मायादेवी मन्दिरलाई घेरेका सालका रूख पनि अर्कै भएछन्। आधुनिक संरचना र पोखरीहरूले नक्कली रमझम थप्न प्रयास गरेको देख्छु।
सात पाइला।मार्कर स्टोन माथिको मायादेवी मन्दिरको त्यो पुरानो अवशेष हटाइएको छ। त्यसैको तल रहेछ त्यो मार्कर स्टोन। त्यो मार्कर स्टोन भने अहिले देख्न सकिन्छ। पुरानो देखिने तर सेतो रङ्गले रङ्गाइएको मायादेवी मन्दिरभित्र बीच भागमा उक्त मार्कर स्टोन छ। भित्र फोटो खिच्न पाइँदो रहेनछ। काठका फ्लेकमा त्यो मार्कर स्टोन वरिपरि परिक्रमा गर्न मिल्ने गरी मन्दिरभित्र नै अग्लो पारिएको छ। मार्कर स्टोन तल देखिन्छ। धेरैले मार्कर स्टोनको दायाँपट्टि सिल्क कपडाले ढाकेको संरचनामा पैसा चढाउँदा रहेछन्। सायद धार्मिक आस्थावानहरूले पैसा चढाउँदा गरेका पाप काटिने र धर्म कमाइने सोचेर नै पैसा चढाउँछन् होला।
बुद्धले भने धार्मिक आस्था पैसाले किन्न पाइने वस्तु होइन भनेर सिकाउन खोजेका थिए। रोमन क्याथोलिक पादरीहरूले पाप कटाइदिन असुल गर्ने धनको विरोधमा मार्टिन लुथरले ९५ थेसिस लेखेर जागरण फैलाए। त्यस्तै गरी बुद्धले पनि आस्थालाई ठगी धन्दा बनाउने प्रचलनको विरूद्ध जागरण फैलाउन खोजेका थिए। तर, भिक्षु र बौद्धसंघको सञ्चालनका लागि चाहिने दान भने स्वीकार्य नै मान्नु पर्छ भन्ने ठान्छु।
मायादेवीको मन्दिरको पूर्वपट्टि करिब २०४१ सालतिर बनेको आधुनिक विहार छ। लुम्बिनी परिसरमा बनेका आधुनिक विहारहरूमध्ये त्यो सबभन्दा पुरानो हो। त्यही विहारभित्र मैले खोजिरहेको मूर्ति रहेछ। पुरातत्वविद् उप्रेतीले त्यहाँ छ भनेपछि बल्ल म त्यो विहारभित्र पसेँ। उक्त विहारको दायाँपट्टि भित्तामा उक्त मूर्ति टाँसिएको रहेछ। विहारको ढोकानिर भित्र फोटो खिच्न नपाइने लेखेको रहेछ। तर मैले त्यो सूचना देखिनँ। यतिका वर्षदेखि मनमा छट्पटि बोकेर खोज्दै गरेको मूर्ति भेट्नासाथ फोटो खिचेँ।
बौद्ध आस्थावान भनेर चिनिने पहेंलो नसिलाएको कपडा र कपाल मुडुलो पारेका बच्चाले 'फोटो खिच्न पाइन्न' भनेर आपत्ति जनाइहाले। म पहिलो पटक लुम्बिनी पुग्दा त्यत्रै थिए। करिब ११ वर्ष जति। कहाँ लेखेको छ भनेर मैले सोध्दा बाहिर लगेर मलाई त्यो सूचना देखाए। तर, मैले फोटो खिचिसकेको छु भनेर उनलाई भनिनँ। त्यो विहारभित्र मैले खोजेको मूर्ति भेटिसकेको थिएँ।