कुरा उन ताकाको हो जुन ताका मेरो गाउँ कन्धनीडाँडामा म कक्षा सातमा पढ्थेँ। चकचके र बदमास स्वभावको म हाम्रो बाको बिसिघरमा गएको थिएँ। घारीको पाटन स्कुल पढ्ने भएकाले बिदामा म बिसिघर बाकोमा जान्थेँ।
म र मेरो दौँतरी सहपाठी काका बाको बिसिघर गएका थियौँ। घरनजिकै नहर कुलो थियो डरलाग्दो, जहाँतहीँ तर्ने फटके थिएन। बाको घर पिच बाटोमा थियो, हाम्रो घर गाउँमा थियो।
बिसिघर आएपछि हरिया मकै खान पाइन्थ्यो। त्यसैले पनि हामी त्यहाँ जान्थ्यौँ। मेरो दौँतरी र म बाको घर घमन्ड्यमा गएको बेला हजुरआमाले हामीलाई नेवारको ज्वाइँको पसलबाट पाँच रुपैयाँको ‘सोमत र मोमत’ लिएर आओ भनेर पठाउनु भयो। हामी दुई किन्न गयौँ।
रामजी दाइको पसललाई त्यो बेला नेवारको ज्वाइँको पसल भनिन्थ्यो। त्यहाँ सियोदेखि फालीसम्म, सेतो पलादीदेखि चेवनप्रास, मट्टितेलसम्म सबै कुरा पाइन्थ्यो। हजुरमाले सोमत मोमत किन्न पठाएपछि कुलाको काँध काँधै हामी सोमत मोमत किन्न पुग्यौँ।
रामजी दाइ (हाल उहाँ परलोक भइसक्नु भयो) ले तिमीहरूले केही बिठ्याइँ गरेका थियौ र भनेर सोध्नुभयो। हामी भने अकमक्क पर्यौँ।
रामजी दाइले छैन सोमत मोमत भनेर फिर्ता पठाउनुभयो। पाँच रुपैयाँ फिर्ता दियौँ। हजुरमाले के भन्यो रामजीले भनेर सोध्नुभयो। हामीले छैन भने भनेर भन्यौँ।
यत्तिकैमा दिन बित्यो। घर गएपछि आमालाई सोधेँ। हजुरमाले हामीलाई सोमत मोमत किन्न पठाउनु भएको सुनाएँ। उहाँले तिमीहरूले बदमास भएर त्यो सोमत मोमत किन्न पठाएको हो भन्नुभयो।
सोमत मोमत भनेको बानी, ब्यहोरा र अनुशासन हो रहेछ बल्ल थाहा भयो।
बुवा तल्लाबारीमा उकालो लागेपछि किताब हेर्न थाल्ने मलाई साँच्चै सोमत मोमत थिएन नै। तैपनि ठुलाबडालाई मान गर्न सिकेको थिएँ। धेरै कुरा बुबाको डरले गरिन्थ्यो। बुवाले नहर कुलो र बौसी रहमा पौडी नखेल्नु भनेकाले जिन्दगीभर पौडी खेल्न जानिएन। साथै पिच बाटामा नजानु गाडीले हान्छ भन्ने पनि थियो। सबै साथीहरू साइकल चलाउने आफूलाई आउँदैन किनभने बुवाले सिकाएको पिचमा नजानु, पौडी नखेल्नु आदेश काट्ने मेरो तागत थिएन।
अहिले छोराछोरीले न मेरो सुन्छन् न श्रीमतीको; केबल सुन्छन् त गुगल र फेसबुकको।
हामीले पढाउने, पाल्ने, पोस्ने, खुवाउने र हुर्काउने तर सन्तानले आदेश, सल्लाह र अर्ति चाहिँ बाहिरकाको अर्थात् गुगल र फेसबुकको मान्ने के जमाना आयो! बिलखबन्दमा छु। मास्टरले पनि स्कुलमा गुगल हेर्न भन्दा रहेछन्। बच्चाहरू घरभित्र पसेदेखि त्यही ल्यापटपमा झुन्डिन्छन्। होमवर्क एआई कि के जातिमा गर्दा रहेछन्। के सिक्नु, के जान्नु! ‘बोल बोल माछा मुखभरि पानी’ भएको छ।
जुग जमानाले गर्दा बालखा बिग्रिए। हुन त आफू कूल मिलाउँदा गोडा सत्र वर्ष तिनै केटाकेटीको अफिसमा काम गरियो। जे जानियो, त्यही सिकाइयो। अहिले आएर पछुतो भएको छ।
हुन त त्यो बेला पनि साथीहरूले भन्ने गर्थे- आफू सडक बालबालिकाहरू भन्दाभन्दै गर्दा आफ्ना बच्चा सडकमा आउनी हुन्।
खै के खै के, आज आएर त्यो हो जस्तो लाग्न थाल्यो।
‘सन्तान साना भइन्जेल मर्छन् कि भन्ने डर, ठुला भएपछि मार्छन् कि भन्ने डर’ कस्तो काल जमाना आयो। बेलैमा चेतौँ है। मोबाइलले बिगारेका छोराछोरी र मिठाईले बिगारेका दाँत सपार्न सकिन्न भन्थे हो रहेछ। न्याउरी मारी पछुतो।
गाउँमा कोही कोहीले त्यो बेला भन्थे- ‘मैले त छोराछोरीलाई एसएलसी नदिई घडी किन्दिन्नँ भनेको छु।’ यस्तो भनेको सुन्दा त्यो बेला अचम्म लाग्थ्यो। अहिले आएर बुझ्दै छु किन त्यो भनेका रहेछन् भनेर।
समाजमा मिल्ती छैन। एकले अर्कोलाई हेर्दैन। यसले पनि घर समाज एक्लिएको छ। त्यसैले होला सबै संस्कार सकिएको छ; मात्र संस्कार छ फेसबुक गुगलमा।