बल्लबल्ल पार्किङ पाइयो। पार्किङ पाउनु कुनै म्याराथन जितेको भन्दा कम हुँदैन। विशेषगरी विकेन्डमा पार्किङ पाउनु अजंगको पहाड चढ्नु जस्तै हो।
शनिबार थियो। हडल (सबै एकत्रित हुनु) थियो। प्रत्येक दुई हप्ताको शनिबार हडल हुन्छ। त्यो दिन १५ मिनेट अगाडि क्लक-इन गर्नुपर्छ।
शनिबार क्यासिनोमा ठूलो कन्सर्ट भएकाले पार्किङ पूरै भरिएको थियो। पार्किङकै लागि भनेर मान्छेहरू घण्टौं अगाडि काममा पुग्छन्। समयमै 'क्लक-इन' गरिएन भने पोइन्ट पाइन्छ। १६ पोइन्ट पाइयो भने जागिर जान्छ। जागिर जोगाउनै पर्यो। त्यसैले निद्रामै भए पनि झस्केर उठ्नुपर्छ। अलार्म लगाएर सुत्नुपर्छ। कामको पैसा घण्टाको आधारमा आउँछ। मान्छेलाई धेरै घण्टा काम गर्न मन पर्छ। हामीलाई घण्टीले उठाउँछ। घण्टाले व्यस्त बनाउँछ।
त्यो दिन भाग्य बलियो रहेछ। मैले पार्किङ पाएँ। एकपटक झन्डै आधा घण्टा पार्किङमा गाडी घुमाउँदा पनि ठाउँ भेटिएन। ९:४२ भित्र क्लक-इन गर्नुपर्ने थियो। ९:२० भइसकेको थियो। केही उपाय नलागेपछि क्यासिनोबाहिर वालमार्ट सपिङ सेन्टरमा लगेर पार्किङ गरेँ। पाँच मिनेट दौडेर क्यासिनो पुगेँ। क्यासिनो पुग्दा ९:४१ भएको थियो। लामो सास लिँदै क्लक-इन गरेँ।
हडल सकियो। भित्ताको डिस्प्लेमा मेरो नाम देखिनँ। पेन्सिल (कर्मचारीलाई खटाउने कोठा) गएँ। कर्मचारी खटाउने नाम डिपार्टमेन्ट अनुसार फरक हुन्छ। कुनै डिपार्टमेन्टले डिस्प्याच भन्छन्। पेन्सिलले मलाई टेबल 'स्वीच ३२०' मा पठायो। यो सधैं व्यस्त हुने टेबल हो। दिमागमा पहिले नै टेबलका नियमहरू सेट अप गरेँ।
सरासर टेबलमा गएँ। १० बजेको डिलरलाई टेकओभर गरेँ। पाँच वटा स्पटमा दस ह्यान्ड खेलेर मस्ती गर्दै थिए जुवाडेहरू (क्यासिनोको भाषामा अतिथि)।
'न्यु डिलर केम। ह्वाट्स योर नेम? गिभ अस गुड कार्ड, ओके!' एउटा जुवाडे बीचबाट बोल्यो।
'ओके, ओके आई विल,' मैले यति भनेर डिलरको धर्म निभाएँ, 'माई नेम इज खिम।'
'कइम,' छेउमा बसेको अर्को जुवाडेले भन्यो। अर्कोले ‘किम’ भन्यो। खिम कसैले उच्चारण गर्न सकेन। अमेरिकामा ‘एच’ साइलेन्ट हुन्छ। त्यसैले पनि मेरो नाम राम्रोसँग उच्चारण गर्न उनीहरूलाई सकस पर्छ। मैले ब्याच तानेर उनीहरूको आँखै अगाडि लगिदिएँ।
'डिड यु सी क्लियरली? नो एच साइलेन्ट। जस्ट खिम,' फेरि नाम दोहोर्याएर भनेँ।
'ओके, गट इट,' पालैपालो उनीहरूले भने, 'ओके खिम, गो अहेड। गिभ अस ब्ल्याक ज्याक वन्ली।'
बिस्तारै खेल तातिँदै गयो। टेबल रन्किँदै गयो। जुवाडेहरूले लगातार दुई/तीन हात जिते। उनीहरूले खुसी भएर तारिफ गरे, 'लभ्ली डिलर। स्वीट डिलर। लभ यु खिम। किप गोइङ। गिफ अस मोर ब्युटिफुल कार्ड।'
यति भनेर उनीहरूले पाँच/दस डलर टिप्स पनि टेबलमा फाले। त्यहीबीच अचानक गेममा ट्विस्ट आयो। उनीहरू लगालग हार्न थाले। बिस्तारै उनीहरूको मुखबाट छाडा शब्द निस्कन थाले। केही समयअघिको राम्रो म अहिले झुर भएँ। उनीहरू रिसले चुर भए। अनेक प्रकारका चुरोट र भेप तान्न थाले। टेबल पूरै धुवाँले छोप्यो। गालीका झटारो हान्न थाले। शब्द सुन्न र पचाउन गाह्रो थियो तर लाचार भएर सुनेँ। मीठो मानेर पचाउनुको विकल्प हुँदैन हामीसँग। क्यासिनोले उनीहरूलाई भगवान् झैं मान्न सिकाएको छ। धुपबत्ती उनीहरू आफैले बाल्छन्। हामीले स्वाहा गर्दै पूजा गर्नुपर्छ। हाम्रो लागि क्यासिनो दुहुनो गाई जस्तै हो। रोजीरोटी उसैले दिएको छ। उसको लात पनि सहनुपर्छ। जुवाडेबिना क्यासिनो चल्दैन। त्यसैले गालीलाई वाणी सम्झनुपर्छ। चुरोटको धुवाँलाई अक्सिजन सम्झनुपर्छ।
अक्सर जुवाडेलाई लाग्छ-
- तास हामीले नै मिलाएर दिन्छौं।
- हामीले नै उनीहरूलाई विजेता बनाउने हो।
- डिलरको हातमा जादु छ। हामीले जादु गरेर उनीहरूलाई विजेता बनाउँछौं।
एक जना जुवाडेले प्याच्चै भनिदियो, 'तैंले क्यासिनोको रोटी खाएको छस्। हामीलाई कहाँबाट राम्रो तास दिन्छस्? सबै सेटिङ छ मेसिनमा। हामीले कहाँबाट जित्छौं? हाम्रो डलर त चन्दा हो क्यासिनोलाई।'
अर्को करायो, 'चेन्ज द डिलर।'
यति भनेर उसले टेबल नै भाँचिएलाझैं गरी हात बजार्यो। टेबलभरि रिस छताछुल्ल भयो। धुवाँको कुहिरीमण्डलमा बियरका बोतल थपिए। म उनीहरूको व्यवहारले भित्रभित्रै मुर्मुरिएको थिएँ। तर, लाचार भएर सुनिरहेँ। दुहुनो गाई सम्झिएँ, लात्ती त सहनै पर्यो। सहेँ। बनावटी पारामा खिस्स हाँसेँ र भनेँ, 'प्लिज, प्लेस योर बेट।' मेसिनबाट तास निकालेर सबैलाई दिएँ।
टेबलमा अर्को जुवाडे आयो।
'हेलो, वेलकम टु द टेबल' भन्दै उसलाई स्वागत गरेँ। उसले अल्छी पारामा 'हेलो' फर्कायो। टेबलमाथि हजार डलर फ्याँक्यो। मैले उसको प्लेयर कार्ड मागेँ। सायद अरू कुनै टेबलमा हारेर आएको होला— उसको मुहारमा चमक थिएन।
जिहोङ थियो उसको नाम। उसले सय डलर पर्ने १० वटा ब्ल्याक चिप्स माग्यो। मैले ड्युल रेटलाई बोलाएँ। सय डलरभन्दा माथिको कारोबार डिलर एक्लैले गर्न पाउँदैन। ड्युल रेटको अनुमति चाहिन्छ।
ड्युल रेट भनेको आधा डिलर, आधा सुपरभाइजर हुन्। ड्युल रेट भएको दिनमा सर्टमाथि कोट हुन्छ। डिलर भएको दिन सर्ट मात्र हुन्छ। कम्पनीले आवश्यकता अनुसार फरक-फरक भूमिका दिइरहन्छ। खासगरी दुई दिन ड्युल रेट र तीन दिन डिलर हुन्छन् उनीहरू। उनीहरूको काम टेबलमा डिलरको सुपरीवेक्षण गर्ने र काममा सहजीकरण गर्ने हो।
मैले जिहोङको अगाडि हजार डलरको चिप्स राखिदिएँ। उसले टेबल म्याक्स बेट (एक हजार डलरको म्यासिमम बेट) राख्यो। तास स्वीच गरेर १८ बनायो। मेरो तास २० आयो, उसले हार्यो।
हारेपछि ऊ अचानक गोमन सर्प जस्तो फुलियो। मलाई डस्लाझैं गर्यो। 'डोनेसन फर क्यासिनो' भन्दै जोडले टेबलमा हात बजार्यो। उसको अनुहार औंसीको कालो रातझैं भयो। भेपको धुवाँ उडायो। टेबल पूरै धुवाँले भरियो। जुरूक्क उठ्यो र सरासर बाहिर गयो। मैले ऊ गएको हेरिरहेँ। कानुन, नियम हुँदैनथ्यो भने सायद उसले मलाई त्यही टेबलमा पछारेर भकुर्थ्यो।
खेलको अर्को हात सुरू भयो। अजंगको शरीर लिएर आएको जुवाडेले हकारे झैं भन्यो, 'क्यान यु कल द सर्भर?'
मैले सुपरभाइजरलाई जानकारी गराएँ। सर्भर आउन ढिला गर्यो।
'ह्वेयर इज योर सर्भर?' उसले फेरि झर्केर सोध्यो।
'दे आर अन द वे,' मैले थम्थमाउन प्रयास गरेँ। डिलर र सर्भरबीच सम्बन्ध नै हुँदैन। तै पनि उसको चित्त बुझाउन मैले भनिदिएँ।
त्यो ह्यान्ड पनि डिलरले जित्यो। रिसले चुर भएर डिलरलाई गाली गर्यो।
'आज ब्याड डे रहेछ' भन्दै भुन्भुनियो र मलाई खाउँलाझैं गरी हेर्यो। सर्भिस ढिलो भएको भन्दै दाह्रा किट्यो। अनेक गनगन गर्दै उसले पनि टेबल छोड्यो।
म हरेक दिन यस्तै जुवाडेहरूको फन्दामा पर्छु। हार र जितले मप्रति जुवाडेको धारणा फेरिइरहन्छन्। हुन त यो म आफैले रोजेको बाटो हो। आफ्नै इच्छाले हिँडेपछि बाटो जस्तोसुकै भए पनि गुनासोको अधिकार रहन्न। तर, हु केयर्स!
० ० ०
क्यासिनोमा ड्युल रेट दुईथरी छन्। एकथरी कोट धारण गरेको दिन बेग्लै ऊर्जाले मातिन्छन्। त्यो दिन चमक नै फरक हुन्छ। हिँडाइ र बोलाइ फरक हुन्छ। उनीहरू कोट नलगाउँदा आफू पनि डिलर भएको बिर्सिन्छन्। उनीहरू खाना खाने समयमा मुस्किलले डिलरसँग बस्छन्। डिलर भएको दिन डिलर खोजीखोजी बस्छन्। कोटमा त्यति धेरै फरक देख्छन् उनीहरू। डिलरलाई सहजीकरण गर्ने नाउँमा सताउन आए जस्तो गर्छन् बेलाबेला। युनिभर्सिटीबाट ग्य्राजुएट भएर कोट पाएझैं गर्छन्।
अर्कोथरी ड्युल रेट सदाबहार उस्तै हुन्छन्। उनीहरूलाई कामबाहेक कुनै मतलब हुँदैन। उनीहरूलाई थाहा हुन्छ- तालिम सबैको उस्तै र उही हो। कामको अलिकति अनुभव बढी भएर मात्रै कोट लगाउने अवसर पाएको हो। कुनै युनिभर्सिटीबाट ग्रयाजुएट गरेर सर्टिफिकेट पाएको होइन। त्यसैले, उनीहरू कोट लगाउँदा बिजुली चम्के जस्तो चम्किँदैनन्। उनीहरूले डिलरलाई मोटिभेट गर्छन्। सल्लाह दिन्छन्। आफ्ना अनुभव सुनाउँछन्।
कम्पनीमा कोटको भर हुँदैन। जति बेला जसको पनि फुत्किन सक्छ। यो कुरा उनीहरू सबैलाई थाहा छ। चम्किनेवाला कोटधारीले यो कुराको मेसो पाउँदैनन्। त्यसैले डिलरलाई उनीहरूले अलि सानो दर्जा झैं व्यवहार गर्छन्। उनीहरूलाई लाग्छ- यो कोट त आजीवन लगाइरहने हो। तर, कति बेला कम्पनीले कोट फिर्ता लिन्छ र कतिबेला कोट फुकालेर मुटुभरिको चोट दिन्छ- थाहै हुँदैन।
हुन त, पूर्णतया फुल कोट लगाउने सुपरभाइजर पनि दुईथरीका ड्युल रेट जस्तै हुन्छन्। एकथरीको चुरिफुरी फेरि पिट बोस र म्यानेजर नै हुँ भन्ने खालको हुन्छ। उनीहरूले डिलरलाई झारपात ठान्छन्। बोल्न पनि डलर पर्लाझैं गर्छन्। अर्काथरी निकै डिसेन्ट र हम्बल हुन्छन्। साँच्चैको सुपरभाइजरमा हुनुपर्ने गुणले पूर्ण हुन्छन्। उनीहरूले काम र डिलरको सम्मान गर्छन्। उनीहरू जस्ता टिम मेम्बर देख्दा श्रद्धा जाग्छ। काममा ऊर्जा थपिन्छ। केही गरौं भन्ने भावना जाग्छ। चुरिफुरी गर्नेले पदको दुरूपयोग गर्छन्। डिलरलाई दम्भ देखाउँछन्। यसो गर्दा उनीहरूलाई चरम आनन्द आउँछ होला, भयंकर गर्व लाग्छ होला। मलाई भने उनीहरू देखेर दया लाग्छ। सहानुभूति जाग्छ।
स्वीच ३२० खेलमा जुवाडेले पहिले दुई तासको पत्ती पाउँछन्। डिलरले एउटा पाउँछ। अर्कोपटक पनि जुवाडेले दुई र डिलरले एउटा पत्ती पाउँछन्। यो खेलमा जुवाडेले पछिल्लो पटक पाएका दुइटा पत्तीलाई स्वीच गर्न सक्छ। स्वीच गरेर डिलरको भन्दा राम्रो ह्यान्ड भयो भने जितिन्छ। यो खेलको विशेषता यही हो। त्यसैले, यो स्वीच ३२० टेबल सधैं व्यस्त हुन्छ। कहिलेकाहीँ मात्र टेबल खाली हुन्छ। तर, खाली भएको समयमा पनि बस्न पाइँदैन। सिक्युरिटी गार्ड जस्तै खडा भएर टेबलको सुरक्षा गर्नुपर्छ। त्यो खाली समयमा म धेरै कुरा सोच्छु। कैयन् गजलका शेरहरू त्यही उभिएको बेला फुर्छन्। ब्रेक हुँदा नोटमा उतार्छु। फुर्सदमा पूरै गजल लेख्छु।
कहिलेकाहीँ सोच्छु— दम्भ देखाउने कोटधारीहरूले पनि आफ्ना दुई खराब बानीको ठाउँमा दुई राम्रा बानी स्वीच गरे हुँदो हो। उनीहरूले पनि जिन्दगीको स्वीच गेम जित्ने थिए।
पौने ६ हुँदै थियो। मेरो सिफ्ट सकिनै लागेको थियो। मेरो अन्तिम ह्यान्डमा सबैलाई ब्ल्याक ज्याक पर्यो। सबैले तरर ताली पिटेर ‘थ्याङ्क् यु खिम’ भन्दै थपे, 'कम अन। किप गोइङ। किप डोइङ दि सेम। यु लभ्ली खिम। किप गोइङ लाइक वाइज।'
म फेरि जुवाडेहरूको प्यारो भएँ। एकैछिनमा मलाई स्वीच गर्न नयाँ डिलर आइन्। नेपाली दिदी नै रहिछन्।
'नो, नो खिम, डोन्ट गो। वी निड यू। वी डोन्ट लेट यू गो,' सबै जुवाडेले एकै स्वरमा भने।
उनीहरूले पनि जितेपछि आफ्नो धर्म निभाएँ। जुवाडेलाई गुड लक भन्दै म क्यासिनोबाट बाहिरिएँ।
जिन्दगी यसैगरी स्वीच ३२० झैं चलिरहेछ परदेशमा।