मेरो विचार बाल्यकालदेखि नै क्रान्तिकारी थियो तर आफ्ना विचार कार्यान्वयन गर्न प्रायः चुक्थेँ। मलाई घर समाजमा हुने निकै कुरा असान्दर्भिक लाग्थे। धेरै चलन, रीतिथिति गलत लाग्थे र सुधार गर्नुपर्छ भन्ने लाग्थ्यो। त्यस्ता विकृति, असंगति र खराब चलनहरूबारे म असहमति त जनाउँथेँ तर विद्रोह गर्न सक्दिन थिएँ। सायद कान्छो छोरो भएर होला, निर्णय लिने र विद्रोह गर्ने क्षमता ममा कमै थियो।
घर-परिवार तथा समाजमा हुने निकै अभ्यासहरू असान्दर्भिक लागे पनि कतिपय सवालहरूमा म आफ्नो विचार शिष्ट रूपमा राख्थेँ, अन्य धेरै सवालहरूमा सुनुवाइ नहुने विश्वाससहित चुप लाग्थेँ। मलाई लाग्थ्यो हाम्रो समाजमा यथास्थितिमा रहने र परिवर्तनको चाहना भए पनि, यथास्थितिका पीडा भए पनि परिवर्तनको जोखिम लिन चाहँदैन थिएँ, खास गरी समाजले के भन्ला भन्ने पिरले। पुरुषभन्दा महिला अझ बढी प्रताडित थिए।
सानैबाट म दुई कुरामा सजग थिएँ। पहिलो– मेरा कारणले कसैले दुःख नपाउन्। कसैलाई सुख दिन सकिन्छ भन्ने मलाई लाग्दैनथ्यो, किनकि सुख भनेको शारीरिकभन्दा पनि मानसिक बढी हुन्छ। कुनै एकै कुराले वा कामले कसैलाई सुख होला, अरू कसैलाई नहोला।
दोस्रो– मैले समाज सुधार्न केही न केही कुरामा नमुना हुनै पर्छ। म मितव्ययी, शान्त र सरल प्रवृत्तिको मान्छे, तडकभडक नचाहिने। सोचेँ, म सरल र नमुना हुने गरी आफ्नै बिहे गर्छु।
अल्लारे उमेर सकिएपछि, स्नातकोत्तरसम्मको पढाइ सकेर, केही वर्ष जागिर खाएर जेनतेन ऋणपान गरेरै भए पनि काठमाडौँमा एउटा घर बनाएर एकतीस वर्षमा मैले मागी बिहे गर्ने भएँ।
बिहे गर्दा मेरो आर्थिक, सामाजिक, बौद्धिक, पेसागत लगायत समग्र अवस्था सन्तोषजनक अझ भनौँ राम्रै थियो। बिहेको सन्दर्भ चल्दै गर्दा मैले आफ्नो परिवारमा आफूले नमुना विवाह गर्न चाहेको र आफ्नो रीतिरिवाज अनुसारको सामान्य विवाह गर्ने प्रस्ताव राखेँ।
मेरो प्रस्ताव पुरै नसुनी तुरुन्तै प्रायः सबैबाट अस्वीकृत भयो। हामी अरू नातागोता, छरछिमेक, इष्टमित्र, कुलकुटुम्ब आदिको विवाहमा गएकोले उनीहरूलाई पनि हाम्रो कार्यमा सहभागी गराउनुपर्ने र विवाह समारोह ठुलै गर्नुपर्ने उर्दी जारी भयो। अझ सामान्य विवाह गरे समाजमा गरिने मापन घट्ने र दुनियाँले कुरा काट्ने आशय र विचारहरू आए। सामान्यतया विवाहमा बेहुला बेहुलीले ठुलो समारोह खोज्छन् तर यहाँ उल्टो थियो।
मलाई समाजले के भन्ला र कस्तो मापन गर्ला भन्ने कुरासँग खासै मतलब थिएन। किनकि म समाजमा छुट्टै मापक बनाउन चाहन्थेँ, समाज सुधारका लागि आफै नमुना बन्न चाहन्थेँ। अझ, म सक्षम थिएँ र अरूले भन्ने कुराको परवाह थिएन।
म मध्यम वर्गीय परिवारमा गाउँमा जन्मे हुर्केको मान्छे, गरिबी नजिकबाट देखेको थिएँ। विवाह समारोहको आयोजना र खर्चको तनावले कति विवाहबाट तर्केको देखेको थिएँ। कति बाउआमाले छोराछोरीको विवाह गर्दा सर्वस्व खर्चेर चरम गरिबीको अवस्थाबाट गुज्रेको मलाई थाहा थियो। तिनै दृश्यहरूले मलाई भावुक बनाएका थिए र केही परिवर्तन गर्न उत्प्रेरित गर्दै थिएँ।
आफ्नै परिवारमा मेरो आफ्नै बिहेको प्रस्ताव ठाडै अस्वीकृत भएपछि म हच्किएँ। मागी बिहे गर्न लागेको म, आफ्नै परिवारलाई सामान्य बिहेको लागि सहमत गराउन सकिनँ भने केटी पक्षलाई कसरी मनाउन सकुँला? अनि सामान्य बिहेमा मनाउन सकस हुने देखेर सानो बिहे गर्नेमा मनाएँ।
सानो बिहे गर्ने भनेर परिवारको प्रारम्भिक अपेक्षाभन्दा करिब आधा आकारको कार्यक्रमसहित बिहे भयो। बिहेको चौध वर्षपछि पनि यदाकदा बिहेमा नबोलाएको वा यो वा त्यो नभएको गुनासो सुन्दै छु।
हाम्रो समाज आसे छ। कसैले बिहे, व्रतबन्ध, भोजमा बोलाओस्, त्यो पनि चुल्है निम्तो भन्ने चाहन्छ। अझ कतिले निम्ता पाउनुलाई मर्यादा पाएको अनि निम्ता नपाउनुलाई मर्यादा नपाएको रूपमा पनि चित्रित गरेको देखिन्छ।
मेरो बिहेको बेलामा विवाह उत्सवहरू अहिलेको तुलनामा निकै सामान्य हुन्थे। हिन्दी सिनेमाको प्रभाव र सामाजिक सञ्जालको बढ्दो प्रयोगले विवाह कार्यक्रमहरू भव्य समारोह जस्ता हुँदै छन्। अझ भरखरै सम्पन्न भारतीय अरबपति अम्बानीको विवाहले कतिलाई दिग्भ्रमित पनि गरेको छ, विवाह समारोहको भव्यताको सीमा हुँदैन।
हुने र सक्नेले त गर्लान्, नहुने र नसक्नेका लागि कुण्ठा, कलह, नैराश्य, अझ हत्या र आत्महत्याको कारण पनि बन्न सक्लान्। विवाह आफ्नो परम्परा, रीतिरिवाज, इच्छा र कानुनसम्मत महिला र पुरुष मिलेर सँगै जीवन व्यतीत गर्ने चलन वा प्रक्रिया हो। विश्वका अधिकांश मुलुकहरूमा सामान्यतया विवाह कार्यक्रम दुई परिवार बिच सानो औपचारिक कार्यक्रम गरेर सकिन्छ। भारतीय उपमहादेशमा विवाह भव्य हुँदै छन्, पहिलेभन्दा अहिले बढी।
भव्य बिहे हुँदैमा दाम्पत्य जीवन सफल र चिरस्थायी हुने पनि होइन। हामीले कतिपय भव्य बिहे केही महिनामै टुटेका पनि देखेका छौँ। सामान्य बिहे सफल र चिरस्थायी भएका पनि छन्। त्यसैले विवाह समारोह परम्परा र आवश्यकताअनुसार आयोजना गरिनुपर्छ। विवाहमा प्रदर्शनी र देखासिकीको प्रभाव कम परेकै राम्रो हुन्छ। अझ विवाह समारोह सामाजिक, मानसिक र आर्थिक कलहका कारक नबनुन्।