दसैँको समय थियो। फूलपातीको दिन। प्रायः साँझ गन्तव्य पुग्ने बसबाट ओर्लेर हामी चप्पल किन्न फेन्सी पसल छिर्थ्यौँ। गाउँभरि बसुन्जेल भिर्न अनि ओरालो बाटोपछि खोला तर्दै भीरको उकालो हिँड्न चप्पल आवश्यक पर्थ्यो। आमा ठुलीआमाहरूले तुनावाला किन्नुहुन्थ्यो। म चाहिँ म्याजिक किन्दिनु न भन्थेँ।
खोला तरेपछि चप्पलमै चिप्लिएर लड्ने सम्भावना हुँदैनथ्यो। साथमा किन्नुपर्थ्यो टुप्पोमा टर्चलाइट हुने दस रुपैयाँ खाले पेन। हात हातमा बत्ती बाल्न सबैसँग फोन थिएन। फेरेपछि जुत्ता र फलफूल बोकेका दुई तिरका झोला गाह्रो गरी उचालेर सिटी चाउचाउ खाँदै म दाइदिदीको पछि लाग्थेँ। खोलो कटेपछि उन्यू टिप्दै चर्को उकालोका ठुलठुला ढुङ्गा म बल्लबल्ल टेकिसक्थेँ।
गाउँको सिरानमा हाम्रो घर थियो। झमक्कै साँझ पर्दा घर पुगुन्जेल बाघको डर हुन्थ्यो। बुहारी नातिनातिना आउँदै छन् भन्ने खबर पाउनुभएकी हजुरआमा खाना पकाएर राखिसक्नु हुन्थ्यो। एकापसमा मजाले टाँसिएका गाउँको डल्लो चामलको भात खाएर हामी सुत्न बुइँगल चढ्थ्यौँ।
हजुरबाले बजाउनुभएको रेडियोले बिहानै उठाउँथ्यो। कहिलेकाहीँ असाध्यै झर्को लागेर निद्रा खलबल्याउने त्यो बन्द होस् भन्ठान्थेँ। दुई/चार दिनको बसाइँपछि हामीले छोडेर गइहाल्थ्यौँ। त्यसपछि उहाँहरूको साथी त्यही रेडियो त रहेछ।
भुइँतला पुग्दासम्म अगेनाबाट व्यापक रूपमा आएको धुवाले एकदमै रुवाउँथ्यो। भैँसीबाट उम्किएर ट्वाइलेट जान नसकेपछि म आँगन लिपिरहनुभएकी आमालाई बोलाउँथेँ।
‘आज त बुवा, ठुलोबाहरू आउने हैन र आमा?’
अष्टमीको दिनसम्म हजुरबाका पाँच भाइ छोराहरूदेखि पल्लो घरका दाइभाउजू सबै जम्मा भइसक्नुहुन्थ्यो। दाइदिदी तल डेरीनेर राखिएको पिङ खेल्न जानुहुन्थ्यो। म चाहिँ बा (हजुरबा)ले पिँडीमै काठमा डोरीसँग पिर्का अड्याएर बनाइदिएको पिङ चढ्थेँ। डेरीनेरको ठुलो घुम्तीमा गाउँभरिका मान्छे जम्मा हुन्थे।
विदेशदेखि दसैँ मनाउन गाउँ फर्किएका दाइहरूको सबैसँग भेट हुने स्थान त्यही घुम्ती थियो। त्यहाँ गाउँका हजुरबाहरू बाघचाल खेलिरहेको दृश्य अब देख्न पाइँदैन। आधा युवा बाबुआमासहित सहर गएका छन् भने अर्को आधा विदेशमा। भुइँचालो आएसँगै ठुलो खर्च लगाएर ऋण समेत गरी बनाइएका पक्की घर वर्षभरि सुनसान छन्।
सरसामान किन्न आमाले पसल पठाउँदा कति चोटि सिस्नोले पोलेर म रुँदै फर्किनुपरेको छ। गाउँको पसलमा पाइने शीतल गेडी चकलेट आजभोलि किन्न उत्पादन बन्द भयो होला भन्ने लागिरहन्छ। घर पुग्दा संयोगले अरू ठुलाबा पट्टीका दाइदिदी आइपुगेका थिए भने खुसीको सीमा रहँदैनथ्यो। तास खेल्नदेखि कापीमा चिट्ठा बनाएर अङ्क लेखिने राजा रानीको खेलसम्म अब टिम पुग्ने भयो भन्ने हुन्थ्यो।
सबै जना जम्मा भएपछि दिउँसो खोलातिर डुल्न जान्थ्यौँ।
गाउँमै हुर्किनुभएका दाइहरू माथिसम्मको ढुङ्गा चढेर खोलामा डुबुल्की मार्दा कत्ति साहसी होलान् भनेर गम खान्थेँ। आफू भने पौडी खेल्न नजानेर हरेक चोटि खोला पस्दा नाक पोलेको पीडासहित बाहिर आउँथेँ। फर्किँदा ऐँसेलुदेखि काफलसम्म टिप्न होडबाजी हुन्थ्यो।
साँझ परेपछि दाइहरू फिल्म हेर्न सिडी खोज्दै गाउँका दाजुभाइकहाँ जानुहुन्थ्यो। उतैको घरमा हेरेर नफर्किनुहोला भन्दै मलाई पनि लान म अनुनय गर्थेँ तर बाटो हिँड्न जान्दैन भनेर लान मान्नुहुन्न थ्यो।
सिडी लिएर आएपछि ठुलोबाको पल्लो घरमा एउटै कोठामा पन्ध्र बिस जनासम्म जम्मा हुन्थ्यौँ। दिदीहरू लभ स्टोरी फिल्म हेर्ने भन्नुहुन्थ्यो। आफूलाई भने फाइट भएको मात्रै मन पर्ने।
हेर्दाहेर्दै बिचमा गीत आएपछि फास्ट गर्दिए नि हुन्थ्यो जस्तो लाग्थ्यो। अन्तरङ्ग सिन आउँदा सबै लाजले भुतुक्क हुन्थे। कहिलेकाहीँ चक्का अड्कियो भने सिडी वालाले नरम कपडा खोजेर सासले फुक्दै पुछ्दै गर्थे।
बच्चाहरू हेर्दाहेर्दै निदाउँथे अनि निस्किने बेलामा चप्पल भेट्टाउन मुस्किल पर्थ्यो।
दसैँ लागेसँगै ठुलो आँगन भएकाले ठुलोबाको घरमा गाउँभरिबाट मान्छे तास खेल्न आउँथे। बुढा हजुरबाहरूको खेल कलब्रेक हुन्थ्यो भने युवाहरू म्यारिज खेल्न मकैको खोजी गर्थे। मकैका ससाना गेडा नै आवश्यक पर्ने उति जटिल हिसाब भने म्यारिजमा नहुने रहेछ। कहिलेकाहीँ खेल्नेका छेउ हात टेकेर बसेकाले मैले गाली खाएको छु। एक दिन चल्ली फराँसमा मलाई ठुलो दाउ लाग्दा भाइले खुसीले हाउभाउ बदल्यो अनि दाइहरू सबैले हापेपछि म रोएको थिएँ।
यसै बिचमा एक साल घरको हजुरआमा बित्नुभयो। ठुलो परिवारका तीस पैँतिस जना सबै जम्मा भयौँ। कहिलेकाहीँ मनमुटाब भए पनि शोकको घडीमा सबै एकै ठाउँ भएका थियौँ। एकापसमा सौता रहेका दुई ठुलीआमा किन यसरी मिल्नुभएको भनेर मैले आमालाई सोधेको थिएँ। गाउँभरिबाट धेरै आफन्त तथा छरछिमेक बिचारा लिएर आउनुभएको थियो।
हजुरआमाको मृत्यु एक दुःखद घडी त छँदै थियो। आज सम्झिँदा लाग्छ त्यो हामी सबै सँगै भएको एक सुखद अवसर समेत रहेछ। त्यसपछि संसारका विभिन्न महादेशमा छरिने गरी दस बाह्र जना विदेश पुग्नुभएको छ। यसबिचमा धेरैको बिहे र आफन्त जमघटको अवसर आएको छ। कोही नेपाल आउँदा अरू दाइदिदीको छुट्टी मिलेको हुँदैन। दसैँको अवसर पारेर धेरै जना आउँदा पनि आधा चाहिँ उतै रहन्छन्।
सामाजिक सञ्जालमा फोटो लाइक त गरिन्छ तर न मनमुटाब छ न आफ्नो व्यस्तता नै, फोनमा कुरा भने धेरैसँग महिनौँमा एक चोटि हुन पुग्छ। कहिलेकाहीँ नेपालजस्तो अल्पविकसित देशको नागरिक हुनुको मूल्य सम्झिन्छु। हजुरआमाको मृत्यु नै हामी सबै एक भएको अन्तिम अवसर रहेछ। अब यो जुनीमा हामी सपरिवार सबै एकै ठाउँ कहिल्यै पनि हुन पाउनेछैनौँ।