चुरचुर गर्छ भँगेरो
चिरचिर गर्छे भँगेरी।
चारो चर्न हुन्न है
यताउति नहेरी
एउटा आँखो तँ हेरी
अर्को आँखो म हेरी।
– माधवप्रसाद घिमिरे
नेपालमा पाइने चराका प्रजातिहरूमा डाँफेपछिको सबभन्दा प्रख्यात भँगेरा नै होला। घरआँगनमा प्रशस्त पाइने भँगेरा नदेखेको मान्छे पनि विरलै भेटिएला।
कहीँकतै चराको कुरा निस्किँदा मान्छेले देखेको चरा दाँज्ने प्रजाति पनि भँगेरा नै हुन्छ— भँगेराजस्तै थियो भन्दै।
यति भन्दै गर्दा फेरि धेरै मान्छेले भँगेरातिर धेरै ध्यान नदिएको पनि पाएको छु। मेरो पिएचडी (विद्यावारिधि) अध्ययनको विषय भँगेरा नहुँदासम्म त मैले पनि त्यति धेरै ध्यान दिएको थिइनँ।
बितेको करिब आठ वर्ष भँगेराको आनीबानी, दिनचर्या सबै याद गर्दै जाँदा अहिले भँगेरा मेरा लागि साह्रै प्यारा छन्। मेरा प्यारा भँगेराका बारेमा नेपाली भाषामा प्रशस्त सूचना देखिँदैन।
आउनुहोस् चुरचुर र चिरचिर गर्ने सानो भँगेराको जीवनगाथातिर लागौं।
सुरू गरौं भँगेराको चिनारीबाट।
भँगेरा एक प्रजातिको चरा हो जसलाई वैज्ञानिकहरूले गीत गाउने चरा मानेका छन्। अंग्रेजीमा सङबर्ड्स भनिने भँगेराको वैज्ञानिक नाम प्यासेराइन्स हो।
संसारमा ४३ भन्दा धेरै प्रजातिका भँगेरा पाइएका छन्। प्रजातिको कुरा गर्दा 'पुरानो विश्व–भँगेरा' र 'नयाँ विश्व–भँगेरा' भन्न जरूरी हुन्छ।
घरभँगेराको उत्पत्ति
विश्वको पूर्वीक्षेत्रमा पाइने भँगेरा 'पुरानो विश्व–भँगेरा' मानिएको छ। प्यासर जिनसमा पर्ने यो भँगेराका २८ वटा प्रजाति छन्। यहाँ पूर्वीक्षेत्र भनेर अफ्रिका, युरोप र एसिया बुझ्नुपर्ने हुन्छ।
अंग्रेजी भाषामा हाउस–स्प्यारो भनिने घरभँगेरा सुपर प्रजाति भनेर पनि चिनिन्छ। यसमा स्पेनिस, इटालियन र सोमालियन भँगेरा पर्छन्। यी सबै प्रजाति झट्ट हेर्दा उस्तै देखिने भएकाले यिनको वर्गीकरणमा धेरै विवाद पनि छ।
उत्पत्तिको हिसाबमा दुइटा सिद्धान्तले भिन्न प्रकारको उत्पत्ति भएको अनुमान हुन्छ। धेरै समयसम्म घरभँगेरा तोप चरासँग सम्बन्धित हुन् भने बुझाइ रहेको अध्ययनले देखाउँछ। हेर्दा उस्तै र चुच्चोभित्र हुने एउटा तीखो हड्डीको समानताका आधारमा पनि त्यसरी तुलना गरिएको रहेछ।
चराहरूले हरेक वर्ष आफ्नो प्वाँख फेर्छन् तर घरभँगेरा र तोप चरा दुवैका चल्ला हुर्केकै साल प्वाँख फेर्ने भएकाले समानता देखिएको रहेछ। कचौरा जस्तो गुँड हुनु अर्को समानता हो।
तोप चरा प्लोसिएडेयी परिवारमा पर्छ, घरभँगेरा प्यासेरिडे परिवारमा पर्छ।
जिसवाइलर लगायतका वैज्ञानिकहरूले प्यासेराइन चराहरूमा बिउको खोल निकाल्ने दुइटा उपाय व्याख्या गरेको पाइन्छ — थिच्ने र टुक्रा पार्ने। फ्रिन्जिलिन तितुभँगेराले बिउको खोल टुक्रा पार्छ। बगेडीका प्रकार र भँगेराले थिच्ने गर्छ।
अर्का अध्येता पोककले आँखाको छेउतिरका ससाना पाँचवटा हड्डीको अध्ययन गरेर भँगेरा र तोपचरा नजिकका प्रजाति होइनन् भन्ने व्याख्या गरेका छन्।
भँगेराको उत्पत्तिबारे जन्स्टन र किल्ट्ज (१९७७) तथा समर्स–स्मिथ (१९८८) ले धेरै कुरा गरेका भए पनि ती दुईको अध्ययनमा भँगेराको उत्पत्ति समयबारे भिन्नभिन्न कुरा छ।
समर्स–स्मिथले प्यासर जिनसमा पर्ने भँगेरा प्लाइस्टोसिन युग (२६ लाख ११ हजार वर्षअघिसम्मको समय) तिर विकास भएका र अफ्रिकाको नाइल वा रिफ्ट उपत्यका हुँदै पूर्वीभूमध्य क्षेत्रतिर पुगेको बताएका छन्। उनीहरूका अनुसार यी चराहरूका पूर्वज प्रजातिको भालेमा पनि छातीमा कालो राले (बिब) हुन्थ्यो र अहिलेकै प्यासरहरू झैं विशेषता थियो।
प्लाइस्टोसिन युग बरफको थियो। हिउँको वृद्धि र मन्दीअनुसार सिर्जना भएको आइसोलेसनले गर्दा यी प्रजातिहरू छुट्टिएको उनीहरूको अध्ययनले देखाउँछ। जन्स्टन र किल्ट्ज (१९७७) ले घरभँगेरा आसिन (सेडेन्टरी) मानवजातिसँग जोडिएको र कृषियुगको विकाससँगै यो प्रजातिको विकास पनि करिब १० हजार वर्षअघि सुरू भएको हुन सक्ने अनुमान गरेका छन्।
अन्य अनुसन्धानले भने कृषि युगसँग सम्बन्ध नभई घरभँगेराको विकास भएको देखाउँछन्। घरभँगेराको जीवाश्म अनुसार कम्तीमा पनि आजभन्दा चार लाख वर्षअघि नै प्रजातिका रूपमा रहेको देखाउँछ।
'प्यासर डोमेस्टिकस' अर्थात् घरभँगेराको सबभन्दा पुरानो जीवाश्म प्यालेस्टाइनको बेथल्म नजिकै उम–काफ्टा गुफामा भेटिएको थियो। त्यो जीवाश्म कम्तीमा पनि चार लाख वर्ष पुरानो रहेको अध्ययनले देखाएको छ।
त्यही गुफामा प्यासर डोमेस्टिकससँग 'प्यासर मोआबिटिकस (डेड सी स्प्यारो) र 'प्यासर प्रिडोमेस्टिकस' को पनि जीवाश्म भेटिएको थियो। प्यासर प्रिडोमेस्टिकस हाल विलुप्त प्रजाति हो।
प्यासर प्रिडोमेस्टिकस अहिले पाइने घरभँगेरा र स्प्यानिस भँगेरासँग धेरै हदसम्म मिल्थ्यो। यी दुई प्रजातिमा चुच्चोको माथिपट्टिको हड्डी (प्रि–म्याक्जिला) भने फरक थियो।
त्यसपछिको जीवाश्म करिब ६५ हजार वर्षअघिको देखिन्छ। यो जीवाश्म भेटिएको ठाउँ हेर्दा पनि घरभँगेरा मानवजातिको वरपर नै रमाउने चरा हो भनेर बुझ्न सकिने उनीहरूको अध्ययनले देखाउँछ।
आणविक अध्ययनको प्रगतिसँगै आएका अध्ययनहरूले भने घरभँगेरा र स्पेनिस भँगेराबीचको स्पिसिएसन (नयाँ प्रजाति बन्ने प्रक्रिया) मिओसिन (दुई करोड तीन लख वर्षदेखि ५३ लाख वर्षसम्म) वा प्लिओसिन युग (५३ लाख वर्षदेखि २६ लाख वर्षसम्म) तिर भएको देखाउँछन्।
पुराना अध्ययनहरूले झैं आइस एज (हिमयुग) मा बनेका आइसोलेसनले गर्दा मध्यपूर्वी क्षेत्र र भारतीय उपमहाद्वीपमा दुई फरक प्रकारले भँगेराको विकास हुँदै गएको देखाउँछ।
वितरण
घरभँगेरा सम्भवतः संसारमै सबैभन्दा धेरै पाइने चरा हो। अन्टार्टिकामा बाहेक भँगेराका यी प्रजाति सबैतिर पाइन्छन्। नेपालमा भँगेरा ७२ मिटरदेखि २२ सय मिटरसम्मको उचाइमा पाइन्छ।
मूल रूपमा एसिया र युरोपको प्रजाति भए पनि यो चरा बेलायत हुँदै सन् १८५१ ताका अमेरिका ल्याइएको थियो। अहिले घरभँगेरा अमेरिकाको पनि प्रवासी चरा बनेको छ।
रूपरङ
भाले घरभँगेराको टाउको खरानी रङको हुन्छ। टाउकाको पछाडिको भाग कैलो/हलुका रातो रङको हुन्छ। भालेको घाँटीदेखि लगभग पेट सुरू हुने ठाउँसम्म एउटा कालो राले हुन्छ।
भाले र पोथी छुट्ट्याउने महत्त्वपूर्ण भिन्नता यही हो। पोथीमा राले हुँदैन। भालेको तुलनामा पोथी अलिक फुस्रो हुन्छ। भाले र पोथी दुबैको तल्लो भाग (पेटतिर) सेतो हुन्छ।
भाले घरभँगेरा। नेपालमा प्रशस्त पाइने रूखभँगेरा पनि घरभँगेराजस्तै हुन्छ। तर रूखभँगेराको गालामा सानो कोठी हुन्छ। रूखभँगेराका भाले र पोथी आँखाले झट्ट हेरेर मात्र छुट्ट्याउन सकिँदैन। यी भँगेराले वर्षमा एकपटक प्वाँख फेर्छन्। यो प्रक्रिया प्रजनन् प्रक्रिया सकिएपछि हुन्छ।
आनीबानी
घरभँगेरा सामाजिक र सामूहिक चरा हो। सामान्यतया ठूलै समूहमा देखिन्छन्। कृषि–क्रान्तिदेखि मान्छेका वरपर रहेका हुन सक्ने यी चराहरू अहिले पनि जंगलभन्दा धेरै मान्छेकै वरपर देखिन्छन्।
प्रजनन्
वसन्त ऋतुको आगमन जनाउने पात्रो त चराहरूको गीत नै हो भने पनि हुन्छ। बोटबिरूवामा नयाँ कोपिला र हरिया पातहरू पलाउन थालेपछि प्रकृति संगीतमय हुन्छिन्। त्यही प्रकृतिका धेरै गायकमध्ये एक हो घरभँगेरा।
भँगेरामा गुँड भालेले बनाउँछ र गुँडमाथि वा नजिकै बसेर गीत गाउन थाल्छ – चिरिप्प चिरिप्प चिरिप।
वरपर कुनै पोथी आएको देख्दा झन् ठूलो स्वरमा गाउन थाल्छ। यसरी गाउनु पोथीलाई एक प्रकारको निमन्त्रणा हो। पोथीले गीत गाउने र गुँड बनाउने क्षमताका आधारमा भालेको परीक्षा लिन्छे।
गुँड
घरभँगेराले पहिलेदेखि रहेको प्वालमा गुँड बनाउँछ। अरू चराले झैं पातपतिंगर जम्मा गरेर रूखको हाँगामा गुँड बनाउँदैन। यस कारण पनि पहिलेपहिले माटोका घरमा भँगेरा धेरै हुन्थे। भित्तामा रहेको प्वालमा गुँड बनाउन सजिलो हुन्थ्यो।
आजकाल सिमेन्टको घर धेरै हुने बस्तीमा भँगेरा कम देखिने गरेको छ।
आफूलाई मनपर्ने प्वाल भेटेपछि भालेले सुकेको पराल र पात लगायतका जैविक सामग्री जम्मा गर्छ र कचौरा जस्तो गुँड बनाउँछ। कुनैले चिटिक्क परेको गुँड बनाउँछ त कुनैले कामचलाउ खालको मात्र बनाउँछ।
पिएचडी अध्ययनका क्रममा म भँगेराका लागि गुँड बनाइदिन्थेँ। करिब १४० वटा गुँड रहेको मेरो फिल्ड साइटमा सबै गुँड प्रयोग भएका हुन्थे। मार्चको अन्त्यतिर तापक्रम बढ्न थालेपछि म भर्याङ बोकेर गुँड सफा गर्न निस्किन्थेँ। खासमा गुँड प्रजननको समय नसकिँदै सफा गर्दा हुन्थ्यो तर म बस्ने ठाउँ धेरै चिसो भएकाले जाडो महिनामा ती भँगेरा गुँडको न्यानोमा बस्न पाऊन् भन्ने हिसाबले वसन्त ऋतुमा सफा गर्थेँ।
सफा गर्नु भनेको पुरानो गुँड फालिदिनु हो।
तपाईंलाई अचम्म लाग्यो होला किन त्यसो गरेको भनेर। मान्छेमा जस्तै चराका शरीरमा पनि परजीवी हुन्छन्। साना चल्लाको त ढाडभरि परजीवी बसेका हुन्छन्। नयाँ सालमा अर्को भँगेराले बनाउने गुँडमा परजीवी नसरोस् भनेर पुरानो गुँड झिकिएको हो। परजीवीको यो पक्ष मान्छेले सोचेको हो।
भँगेरा आफैले पनि नयाँ सामग्री जोडेर मात्र नयाँ साल सुरू गर्छ। प्रजननको समयमा पुरानै गुँड प्रयोग गर्नुपरेको खण्डमा माथिबाट अरू जैविक सामग्री थप्छ। मैले गुँडबाट पुरानो सामग्री झिकेको केही दिनमा नयाँ पराल र जैविक सामग्री भेटिन्थ्यो।
गुँड हेर्दै र सफा गर्दैहरेक गुँडमा जैविक सामग्रीको अकार र लम्बाइ फरक हुन्छ। गुँड बनाउने धेरैजसो काम भालेले गरे पनि थोरै मात्रामा पोथीले पनि सामग्री थप्छ। मेरो अध्ययनका क्रममा केही गुँडमा क्यामरा राख्नुपर्ने भएको थियो। एक दिन बिहान छाडेका क्यामरा जम्मा गरेर अफिसमा भिडिओ हेर्दै गर्दा एउटा रोचक दृश्य देखियो।
धेरैजसो चराहरू आफ्नो गुँडमा भित्र छिर्नुअघि गुँडमाथि वा नजिकै बसेर वरपर हेर्छन्।
एउटा भाले भँगेरा मुखमा काठको सानो टुक्रो लिएर आउँछ। गुँडमाथि बस्छ र केही बेरपछि चुच्चोमा रहेको काठ लिएर भित्र पस्छ। त्यसको केही सेकेन्डमै पोथी काठको त्यही टुक्रो लिएर बाहिर निस्किन्छ।
त्यो पोथीलाई भालेले ल्याएको काठको टुक्रो मन परेन, भालेको काममा सन्तुष्ट भएन। घरभँगेरामा यो प्रक्रिया मध्य फागुनमा सुरू हुन्छ र लगभग असोजसम्म चल्छ। यो अवधिमा दुईदेखि तीन पटकसम्म अण्डा पार्न सक्छन्।
गुँडमा हुने जैविक सामग्रीको भिन्नताअण्डा
गुँड बनेपछि कीरा–फट्यांग्राको उपलब्धता र तापक्रम हेरेर पोथीले अण्डा पार्छ। एकपटकमा पार्ने अण्डाको संख्यालाई वैज्ञानिक भाषामा 'क्लच' भन्छन्। एक सिजनमा दुईदेखि तीन क्लच हुन सक्छ।
भँगेराको अण्डा औसत २.१ सेन्टिमिटर लामो र २.८ ग्राम तौलको हुन्छ। यो पक्ष प्रजनन स्थानमा निर्भर हुन्छ।
क्लच संख्या ल्याटिचुड (अक्षांश) अनुसार बढ्ने पाइएको छ। अक्षांशमा माथितिर जाँदा अण्डाको संख्या बढ्दै जान्छ। माथिल्लो अक्षांशमा वसन्त ऋतु र गर्मी मौसममा प्रशस्त आहार पाइने गरेको अध्ययनले देखाएको छ।
भँगेराको अण्डामा सेतो पृष्ठभूमिमा हलुका खैरो थोप्ला हुन्छ। मैले लगातार सात वर्ष अध्ययन गर्दा भँगेराले पारेको पहिलो अण्डा र अन्तिम अण्डाको रङ केही फरक पाइयो।
प्रिन्टरको मसी सकिँदै जाँदा अन्तिमतिर प्रिन्ट भएको कागजमा फिक्का अक्षर देखिएझैं घरभँगेराको पहिलो अण्डाभन्दा अन्तिम अण्डा निकै फिक्का हुन्छ। अन्तिम अण्डा करिब सेतो हुन्छ।

घर भँगेराले ६ वटासम्म अण्डा पार्छ। सिजनको सुरूमा धेरै न्यानो नभएको अवस्थामा अण्डाको संख्या थोरै हुन्छ। न्यानो बढ्दै जाँदा चार–पाँच वटा अण्डा पार्छ, कुनै गुँडमा त मैले सात–आठ वटा पनि भेटेँ। औसतमा पाँच वटा मान्न सकिन्छ।
घरभँगेराले दिनमा एउटा अण्डा पार्छ। ओथारो बस्न सुरू गर्ने दिन सधैं एउटै हुँदैन। पाँच वा ६ वटा अण्डा पार्ने रहेछ भने चौथो अण्डा पारेपछि ओथारो बस्न सुरू हुन सक्छ।
सामान्यतया अन्तिम एउटा अण्डा पार्नुभन्दा ठीकअघि ओथोरो बस्न सुरू भएको मैले देखेको छु।
ओथारो बस्ने काम भाले र पोथी दुवैले गर्छन्। बराबर समय बस्ने त हुँदैन तर मिलेर पालैपालो बस्छन्। केही अध्ययन अनुसार सुरूआती दिनमा भाले बढी समय (६० प्रतिशतसम्म) र पछिल्ला दिनमा पोथी ओथारो बस्ने गरेको देखिन्छ।
ओथारो बस्दा पोथी घरभँगेराको पेटतिरको भागका प्वाँखहरू खस्छन्। हर्मोनका कारणले पनि प्वाँख खसेको हुन सक्छ। धेरै चराको पोथीले ओथारो बस्दा चुच्चोले तानेर पनि प्वाँख निकाल्छ।
घरभँगेरामा सामान्यतया ओथारो बस्ने अवधि १० देखि १४ दिनसम्म हुन्छ। कुनै गुँडमा त नौ दिनमै पनि पहिलो अण्डाबाट चल्ला निस्केको भेटेको छु। सायद ती गुँडमा पोथी अलिक अगाडिबाटै ओथारो बसेको हुनुपर्छ।
मेरो अध्ययनमा अण्डाबाट कुन दिन चल्लाहरू निस्किन्छन् भनेर जान्न जरूरी थियो। अण्डा पार्ने प्रक्रिया सकिएको नौ दिनमा गुँडमा चल्ला छन् कि भनेर हेर्न थाल्थेँ।
चल्ला
धेरैसो गुँडमा औसत ११ दिनमा सबै चल्ला निस्किसक्थे। पाँच वटा अण्डा भएको गुँडमा पहिलो दिन एउटा वा दुइटा चल्ला निस्किन्थे। बाँकी चल्ला दोस्रो दिनमा निस्किन्थे, कुनै गुँडमा तेस्रो दिनमा पनि।
भँगेराको चल्लाले अण्डाबाट निस्किसक्दा टन्न खान खोज्छ। पहिलो दिन निस्केको चल्ला र अर्को दिनको चल्लाको आकार पनि फरक हुन्छ। पहिलो दिनको चल्ला दोस्रो भन्दा ठूलो हुन्छ।
भिन्न समयमा चल्लाहरू निस्किने प्रक्रियालाई एसिन्क्रोनस ह्याचिङ भनिन्छ। घरभँगेराहरू अल्ट्रिसियल प्रजातिका चरा हुन्। यसको अर्थ अण्डाबाट निस्किँदा आँखा नदेख्ने र प्वाँख नभएको चल्ला भन्ने हो।
अण्डाबाट निस्केको दिन चल्लाको रङ रातो हुन्छ। बिहानीपख निस्केका चल्ला १०–११ घण्टासम्म राता र साना देखिन्छन्। छालामा प्वाँख नहुने भएर पेटतिरको भागबाट भित्रका अंगहरू देखिन्छन्। अण्डाबाट निस्कँदा चल्लाको औसत तौल २.०२ ग्राम हुन्छ। दुईदेखि तीन दिनमा आँखा खुल्न थाल्छ। सात दिनपछि मात्र प्वाँख निस्किन थाल्छ।
प्वाँख नहुँदासम्म चल्लाले शरीरको तापक्रम स्थिर राख्न सक्दैन। यस कारण माउले निकै स्याहार गर्छ। भँगेराको चल्ला गुँड छोडेर जाने बेलासम्म माउमा निर्भर निर्भर हुन्छ।
चल्लालाई आहारा
चल्लालाई खुवाउने काम भाले र पोथी दुवैले गर्छन्। यो काम चल्लाको उमेर अनुसार फरक पर्छ। सुरूका तीन दिन चल्लालाई खुवाउनमा भाले निकै सक्रिय हुन्छ। त्यसपछि घट्दै जान्छ र ८–१० दिनपछिको जिम्मा पोथीले लिन्छ।
हामीले बनाइदिएका गुँडमा सात–आठ दिनपछि भाले देख्न नै गाह्रो परेको थियो। त्यस बेला भाले अर्को गुँडतिर लागिसकेको पनि पाइएको थियो।
रोचक कुरा, एउटा भाले वल्लो र पल्लो दुइटा गुँड ओगटेर बसेको थियो। एकै पटक दुवै गुँडका चल्लाको हेरचाह गर्थ्यो। यस्तो गतिविधि 'एक्स्ट्रा पेयर बन्डिङ' हो। सङबर्ड्स यस्तो घटना सामान्य हुन्छ।


चल्लाको आहार पनि समय अनुसार फरक पर्छ। धेरैजसो आहार ससाना कीरा–फट्यांग्रा हुन्छ। धेरैजसो चरामा चल्लाले खाने मुख्य आहार कीरा–फट्यांग्रा नै हुन्छ। छोटो समयमा हुर्किनुपर्ने भएकोले उच्च प्रोटिन चाहिने हुन्छ।
भाले र पोथी सक्रियरूपमा कीरा–फट्यांग्रा खोज्दै गुँडमा ओहोरदोहोर गरिरहेका देखिन्छन्। अध्ययनहरूले देखाए अनुसार प्रजननको समय सकिँदासम्ममा पोथीको तौल केही घटेको हुन्छ।
अण्डाबाट निस्केको दिन प्वाँख नहुने चल्ला ठूलो हुँदै गर्दा १० दिन जतिमा चराजस्तै देखिन्छ। त्यसपछि १३–१४ दिनसम्ममा गुँडबाट छोटो दुरीको उडान गर्न सक्ने हुन्छ। मजाले उड्न १६–१७ दिन लाग्छ।
गुँड छोडेर छोटो दुरी उड्न सक्ने अवस्था चरा अध्ययनको संसारमा 'फ्लेज्लिङ' भनिन्छ।

चल्ला अवस्थाको भँगेरा भाले हो कि पोथी भनेर चिन्न सकिँदैन। यो विशेषता एक वर्ष हाराहारीमा देखिन थाल्छ। चैतदेखि भदौ सम्ममा निस्केका चल्लाले मंसिरतिर प्वाँख फेर्छन्। यो प्रक्रिया 'प्रि–बेसिक मोल्ट' भनिन्छ। त्यही समयमा वयस्कले चरा पनि आफ्नो प्वाँख फेर्छ। मानिसको लुगाझैं चराको प्वाँख पनि पुरानो हुन्छ। चराका धेरैजसो प्रजातिले वर्षमा एक वा दुई पटक प्वाँख फेर्छन्।
भँगेरामा पहिलो वर्षका चल्लाहरू पोथीजस्तै देखिन्छन्। भालेको वजन, पखेटा र खुट्टाको आकार अलिक ठूलो हुन्छ। भालेको औसत वजन २७ देखि ३० ग्रामसम्म हुन्छ।
मेरो जिन्दगीमा चराप्रतिको मोह धेरै पछि आएको हो। त्यो मोह हुने अवस्था पुग्नुअघि घरभँगेरा र गौंथली धेरै देख्थेँ। हाम्रो घरको भित्तामा इँटा निस्केर बनेको प्वालमा र छतमा भएका प्वालमा भँगेराको गुँड हुन्थ्यो।
म भँगेराको अध्येता हुँ भन्दा धेरैजसो व्यक्तिले मलाई आजकाल भँगेरा हरायो भन्नुहुन्छ। ठ्याक्कै हराएको भन्दा पनि गहन कुरा वासस्थान मासिँदै जानु हो। यसै कारणले हराउँदै गएको होला।
मानवसँगको लामो सम्बन्ध रहेका चराका प्रजातिहरू मानिसकै वरिपरि बस्न रुचाउँछन्। सहरीकरण बढ्दै जाँदा गुँड बनाउने र चल्ला हुर्काउने ठाउँ कम हुँदै गएको छ। चल्लालाई चाहिने आहारा पनि कम हुँदै गएको छ। यस कारण भँगेरा देखिन कम हुँदै गएको हुन सक्छ।
धेरैले सोध्ने एउटा प्रश्न हो — फोनका टावर वा फोरजी र फाइभजी नेटवर्कले पनि भँगेरा हराएका हुन्?
यसबारे हल्ला चलेपछि केही समयअघि थोरै खोजी गर्दा भारतबाट निस्केका केही शोधपत्र भेटेँ। ती शोधपत्रमा फोनको टावर वरपर भँगेरा कम भेटिएको भनिएको रहेछ। फोनका धेरैजसो टावर सहरी क्षेत्रमा हुन्छन्। सहरी क्षेत्रमा कंक्रिटका ठूल्ठूला घर पनि हुन्छन्। भित्तामा प्वाल हुँदैन। प्वाल नभएपछि भँगेराले गुँड बनाउन पाउँदैन।
फोनको टावरका कारणले भँगेरा कम भएको भन्ने कुरामा मैले वैज्ञानिक तर्क देखेको छैन। खासमा गुँड बनाउने ठाउँको कमीले भँगेरा कम भएको हुन सक्छ। दुई वर्षअघि नेपालमा हुँदा म कुनै नयाँ ठाउँमा पुग्नासाथ भँगेरा खोजी गर्थेँ। मैले धेरै ठाउँमा भँगेरा देखेँ।
चराको वासस्थान मासिने क्रम भने बढेको छ। वासस्थानकै अभावले कतिपय चरा मासिने खतरामा छन्। भँगेरा साँच्चै घटेको हो कि होइन भन्ने थाहा पाउन भने वैज्ञानिक अध्ययन आवश्यक पर्छ।
संसारभर पाइने, मानवबस्तीमा भेटिने र मान्छेले बनाइदिएको गुँडमा पनि बस्ने भँगेराका प्रजातिहरू प्रकृतिमा वरदानसरह छन्। सम्भवतः सबभन्दा धेरै अध्ययन भएका चराका प्रजातिमध्ये भँगेरा शीर्ष १० वटामा पर्छ। सजिलै भेटिने र धेरै ठाउँमा फैलिएको हुनाले पनि एउटा मोडल प्रजातिका रूपमा भँगेराको अध्ययन धेरै भएको हुन सक्छ।
हरेक वर्ष मार्च २० मा यी सुन्दर प्रजातिको दिवसका रूपमा मनाइन्छ। भँगेरा दिवसका अवसरमा सबैमा शुभकामना!

(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)