कुनैबेला व्यापार, बजार, राजनीति र प्रशासनको केन्द्र मानिने जिल्ला सदरमुकाम अहिले सुनसान बन्दै गएको छ।
सदरमुकामको अधिकार हिजोआज पालिका केन्द्र र ग्रामीण तहमा पुगेको छ। संघीय शासन प्रणाली, यातायात सञ्जाल र निजी क्षेत्रको विस्तारले स्थानीय तहलाई बढी सबल बनाउँदै लगेको छ। यस सँगै बसाइँसराइले पनि पहाडी सदरमुकाममा चहलपहल कम छ।
एक समय यस्तो थियो जिल्ला सदरमुकामलाई जिल्लाभरिको प्रशासनिक र व्यापारिक केन्द्र मानिन्थ्यो। गाउँ विकास समिति र वडा कार्यालयमा बजेट तथा विकास योजनाका माग लिएर आउने जनप्रतिनिधि र उनीहरूसँगै आउने कार्यकर्ता र जिल्लामा काम विशेषले आउने स्थानीय जनताको जिल्ला सदरमुकाम आउने बाटोमा लर्को हुन्थ्यो। सदरमुकामको बजार भरिभराउ हुथ्यो। कार्यालय आसपासका चिया पसलदेखि लिएर होटलहरूको व्यापार भ्याइनभ्याइ हुन्थ्यो।
एक पूर्वजनिप्रतिनिध भन्छन्- 'पहिले गाविस उपाध्यक्ष थिएँ। त्यो बेला गाउँदेखि जिल्ला आउँदा मेरो साथमा स्थानीय कार्यकर्ता र सर्वसाधारण गरी एकपटकमा साठी जना जति हुन्थ्यौं। त्यही बेला जिल्लामा आएर प्रशासनिक कामदेखि लिएर किनमेलको काम हुन्थ्यो। त्यतिबेला गाउँमा दैनिक उपभोग्य सामग्रीको पसल कम थियो। लत्ता कपडाको त पसलहरू नै थिएन। अझ नुन तेल जस्ता अत्यावश्यक उपभोग्य सामग्री सदरमुकाममा मात्र पर्याप्त थियो। त्यसैले पनि मान्छे सदरमुकाम आउनै पर्ने बाध्यता थियो।
गाउँदेखि आएर सदरमुकाममै होटल व्यवसाय गर्दै आएकी एक जना महिला उद्यमी भन्छिन्, 'पहिले गाउँमा बजार नहुँदा र यसो राम्रो लुगा लगाएर कतै जाउँ भन्दा पनि सदरमुकाम नै हुन्थ्यो। उ बेला सदरमुकाममा हाट लाग्थ्यो। हाटको बेला टाढाटाढा माइती हुने हामी छोरी मान्छेलाई माइती भेट्ने मौका पनि हुन्थ्यो। हाटमा घरमा फलाएको सब्जी तरकारी वा घिउ पनि बेच्न हुने अनि आफन्त पनि भेट्न पाइने। त्यसबेला गाउँबाट हाट भर्न सदरमुकाम आउने मान्छेको लर्को हुन्थ्यो। टाढाटाढाबाट आउनुपर्ने भएकोले एकअर्का साथी बनेर बजार आउने चलन थियो। तर अहिले मोटर बाटो पुगेकोले छोरी मान्छे माइती भेट्न सदरमुकाम आउनु पर्दैन सिधै माइती गए भैहाल्यो।'
उनले भने जस्तै स्थानीय जनताले सदरमुकामलाई आफन्तजन भेटघाटको संयोग पनि बनाउने गर्थे। यसरी सामाजिक र पारिवारिक रूपमा पनि कुनैबेला स्थानीय नागरिकहरूको लागि विभिन्न अवसरको माध्यम बनेको थियो सदरमुकाम तर समयक्रमसँगै भएको विकासले संभावना र अवसरको पनि स्थानीयकरण र स्थानान्तरण भएको छ।
प्रशासन र सेवा प्रवाहको दृष्टिकोणले पनि पहिले जस्तो छैन जिल्ला सदरमुकाम। संघीयता आउनुअघि जिल्लाको सिडिओ कार्यालय, एलडिओ कार्यालय भनेपछि निकै आकर्षक र शक्तिको केन्द्र मानिन्थ्यो।
जिल्लामा यी पदमा रहनेको निकै दबदबा थियो। अहिले सिडिओको भूमिका र आकर्षण पहिले जस्तो छैन। धेरै सार्वजनिक सेवा स्थानीय तहबाटै प्रवाह हुन थालेपछि जिल्ला प्रशासनमा पनि नागरिकता लिन आउने बाहेक उति धेरै चहलपहल छैन। अर्कोतर्फ मर्यादाक्रममा पनि सिडिओभन्दा जनप्रतिनिधिलाई माथि राखिएको र नागरिकमा आएको जागरणले सिडिओको भूमिका पहिलेजस्तो एकतर्फी हाइदुहाइ देखिँदैन। अझ उबेलाको एलडिओ भनेपछि विकास आयोजनाको दाता नै मानिथ्य्यो तर हिजोआज तत्कालीन जिल्ला विकास समिति जिल्ला समन्वय समिति र तत्कालीन एलडिओ पद जिल्ला समन्वय अधिकारीमा परिवर्तन भएको छ।
अहिले जिल्ला समन्वय समितिको कार्यालय प्राय: सुनसान जस्तै छ। यो कार्यालयमा न त प्रत्यक्ष सेवाग्राहीको आगमन हुन्छ त पदाधिकारी र कर्मचारीको सक्रियता नै देखिन्छ। जिल्लास्थिति स्थानीय तह, प्रदेश र संघीय कार्यालय लगायत गैरसरकरी संस्थाहरूबीच समन्वय गर्ने र स्थानीय तहबाट सञ्चालित विकास आयोजनाहरूको अनुगमन गर्ने मुख्य जिम्मेवारी पाएको यस समितिमा स्रोत साधनको पर्याप्तता र कार्यकारी अधिकारको सुनिश्चित नहुँदा जिल्लामा यसको प्रभाव निष्क्रिय छ।
मुलुक संघीयतामा गएपछि विगतको यस कार्यालयको रजगजको तुलना गर्दा देश साँच्चै संघीयतामा गएको हो कि भन्ने आभास हुन्छ। शासकीय प्रणालीलाई छरितो बनाउन सार्वजनिक निकायहरूको संख्याका विषयमा समीक्षा भइरहेको सन्दर्भमा जिल्ला समन्वय समितिलाई कार्यकारी अधिकार र पर्याप्त स्रोत साधनको व्यवस्था गरेर सशक्त बनाउने वा पुनर्संरचना गर्ने भन्ने विषयमा समेत बहस हुनुपर्ने देखिन्छ।
सदरमुकामको सुस्ततामा सामाजिक जीवनमा आएको परिवर्तन र यातायातको पहुँचले पनि प्रभाव पारेको महसुस गर्न सकिन्छ। अहिले गाउँगाउँमा यतायात पुगेको छ। जिल्लाका पहिले सदरमुकामबाट दुर्गम मानिएका गाउँहरूबाट जिल्ला सदरमुकाम आउनुभन्दा अन्य ठूला सहरतिरै जान सहज हुने भएर मान्छेलाई हिजोआज सदरमुकाम आउनैपर्ने बाध्यता छैन।
उक्त क्षेत्रका नागरिकहरूलाई प्रशासनिक कामले आउनै पर्ने बाध्यता बाहेक घुम्न, मनोरञ्जन गर्न र किनमेल गर्न सदरमुकामभन्दा ठूला सहरतर्फ नै सहज हुन्छ। यसका साथै, हिजोआज मान्छेको आनिबानी पनि फेरिएको छ। मान्छे ठूला सहरी सौन्दर्यताका साथै प्राकृतिक दृष्यमा पनि उत्तिकै रमाउन थालेको छ। यही अवस्थालाई मध्यनजर गरी जिल्लाभित्रका पर्यटकीय स्थलहरूको सौन्दर्यकरण र पूर्वाधार विस्तारको काम भएसँगै युवाहरूको आकर्षण पर्यटकीयस्थलहरूमा रहेको छ। उनीहरू सदरमुकाम आउनुभन्दा जिल्लामा विस्तार भएका पर्यटकीय स्थलहरूमा गएर रमाउने गर्छन्, रमाउनकै लागि जिल्ला सदरमुकामको सहर आउनु पर्दैन।
सदरमुकामको चहलपहल सुस्ताएसँगै व्यापार व्यवसाय पनि खस्किएको छ। पहिले दिनमै लाखौंको कारोबार गरेका व्यापारीहरू अहिले जेनतेन व्यवसाय धान्नुपर्ने बाध्यता रहेको बताउँछन्।
एकजना तत्कालीन गाविसका उपाध्यक्ष भन्छन्,'पहिले यहाँका किराना पसलमा मान्छेको घुइँचोले गाउँबाट आउनेले लाइनमा बसेर परैबाट चाहिएको सामानको चिट लेखेर/लेख्न लगाएर फालिदिन्थे तब पसलवालाले सामान पोको पारेर हिसाब दिन्थे। पसलवालाले जति भनेको छ त्यति पैसा ग्राहकले दिन्थे। त्यहाँ भिडभाडले मोलमोलाइ गर्ने अवस्था नै हुँदैन्थ्यो, सामान पाउनु नै ठूलो कुरा हुन्थ्यो।'
यसरी व्यापार गरेका व्यापारीहरू हिजोआज कोही अन्तै सरेका छन्, सदरमुकाममै रहेकाहरूमा पनि उति धेरै उत्साह देखिँदैन।
व्यापार, व्यवसाय र सेवा प्रवाहको दृष्टिले सदरमुकामको चाप स्थानीय तह र ग्रामीण क्षेत्रतर्फ बाँडिएको भएता पनि राजनीति, महत्वपूर्ण प्रशासनिक काम र विभिन्न गैरसरकारी संघसंस्थाकf गतिविधि भने जारी छ।
विकास र प्राशासनिक पहुँचका हिसाबले जिल्ला कार्यालयहरूभन्दा सदरमुकामस्थित नगरपालिकाको भूमिका र सक्रियतामा बढोत्तरी भएको छ। यसले गर्दा सदरमुकामलाई चलायमान बनाउन मद्दत गरेको छ। तर जे भए पनि पहिलेको तुलनामा जिल्ला सदरमुकाम सुस्ताएको छ।