महिला त्यति भाग्यशाली हुन्छन् कि जसले आमा बन्ने सौभाग्य पाएकी हुन्छिन्। यो भनाइ उसै भनिएको होइन। सन्तान जन्माउने आमाले जीवनमा खास अनुभव पक्कै गरेका हुन्छन्। एक जीवनबाट अर्को नयाँ जीवन दिन पाउनु एउटा अहोभाग्य पनि हो।
अहिले म पहिलो सन्तानको आमा बन्दै छु। गर्भ रहेको सात महिना पुग्दै गर्दा मैले पनि खास अनुभव गरिरहेकी छु। गर्भावस्था यस्तो अवस्था हो जुन समयमा महिलाहरू सामान्य रहँदाको समयभन्दा निकै परिवर्तन हुँदा रहेछन्। मानौँ आफू आफू नै होइन जस्तो। मानसिकसँगै भावनात्मक परिवर्तन, कहिले निराश, कहिले भावुक त कहिले एक्लोपनको अनुभव।
बितेका छ महिनामा शरीरमा धेरै उतारचढाव आए। थकान, आलस्यता, कमजोरी, अपाच्य अनि शरीरमा कुनै पनि जोस जाँगर नै नहुनु। कसैले राम्रै बोल्दा पनि झर्को लाग्ने। नराम्रो बोल्दा मन दुख्ने। न त काम गर्न जाँगर लाग्छ न शरीरले नै दिन्छ। यी सबै कुरा सबैमा लागु त हुँदैन तर अधिकांश महिलाहरूमा यो पीडा पक्कै हुन्छ।
एकातिर पीडा अनि अर्कातर्फ पेटभित्र हुर्किँदै गरेको बच्चाको माया पनि उत्तिकै लाग्ने रहेछ। गर्भावस्थामा यस्ता समस्या हुनुलाई सामान्य लिइन्छ तर जब पेटभित्र बच्चा हलचल गर्न थाल्छ अनि सबै पीडा एकाएक गायब भइहाल्छ।
सुरुवाती तीन महिनामा भएको पीडा सम्झिँदा अहिले पनि मन आत्तिएर आउँछ। झन् त्यस्तो बेलामा परिवारका सदस्यले ख्याल नगरिइदिँदाको पल त झनै पीडादायी। यस्तो अवस्थामा परिवारको सदस्यले खास ख्याल गर्नुपर्ने हुन्छ। किनकि यो बेला महिलाहरूको मानसिकता निकै नै कमजोर हुँदो रहेछ। मनमा अनेक कुरा खेल्ने, खान मन नलाग्ने, खाए पनि पेटमा नबस्ने लगायत यस्ता समस्या धेरै हुन्छ। शरीरमा अनेक कमजोरी आउँछ। यस्तो समयमा आत्मबल बढाउने मान्छे भएन भने महिलाहरू डिप्रेसनको सिकार समेत बन्दा रहेछन्। त्यस कारण यो समयमा घर परिवारको भूमिका निकै अहम् रहेछ।
अहिले त चिकित्सकहरूले पनि धेरै सल्लाह दिइरहेका हुन्छन्। गर्भवती भएको समयमा के गर्न हुने के गर्न नहुने, के नखाने अनि कस्ता खानेकुरा खाने लगायतका सबै जानकारी सहजै पाउन सकिन्छ। गर्भवती महिलाको ख्याल कसरी गर्ने भनेर परिवारलाई पनि सम्झाइरहेका हुन्छन्। यस्तो अवस्थामा डाक्टरको सल्लाहअनुसार नै चल्नुपर्ने हुन्छ आफ्नो र बच्चाको स्वास्थ्यका लागि।
तर यस्तो अवस्थामा डाक्टरले भनेको भन्दा पनि आफ्नो मनको सुन्न मन लाग्दो रहेछ। कुनै खानेकुरा हेर्नै मन नलाग्ने अनि कुनै चिजको भने अत्यधिक चाहाना हुने जसलाई खाइहाल्नु जस्तो हुने।
मैलो यी सबै कुरा भनिरहँदा अहिले पहिलो सन्तान जन्माउने तयारीमा रहनुभएका आमाहरूका लागि केही सहयोग पुग्न सक्छ जस्तो लाग्छ। यो अवस्थामा चिकित्सकहरूले सकारात्मक मात्र सोच्नु भनिरहेका हुन्छन्। मनभित्र कुनै किसिमको दबाब हुनुहुँदैन, नकारात्मक त सोच्नै हुँदैन। नकारात्मक सोचाइले मनभित्र अथाह पिर अनि आमाको नैराश्यले बच्चाको मानसपटलमा पनि धेरै असर पुर्याउँछ। त्यसैले आमा सधैँ खुसी रहनुपर्छ। भनिन्छ यस्तो अवस्थामा आमाले जस्तो हरकत देखायो बच्चाले पनि त्यस्तै व्यवहार देखाउँछ। त्यसैले यी सबै कुराहरू आमाले ख्याल गर्नुपर्दो रहेछ।
अहिले सात महिनाको दौडानमा छु, नौ महिनासम्मको पर्खाइसम्म थाह छैन के कति भोग्नुपर्ने हो। तर म विश्वस्त छु ती भोगाइका अनुभव पनि रोचक बन्नेछन्। आफू यस्तो अवस्थामा हुँदा कतिपय कुराहरू आफ्नो मन मिल्ने मान्छेलाई सुनाउन मन लाग्दो रहेछ। जसले सुनिदियोस् अनि खुलेर बुझिदियोस्। तर यो अवस्थाको पीडा उसलाई मात्र थाहा हुन्छ जो आमा बनिसक्नु भएको छ।
हुन त धेरै महिलाहरूले आफू पहिलो पटक आमा बन्न लाग्दाको तीता मिठा अनुभव सुनाइरहेका हुन्छन्। कतिपयले यो कुरालाई सामान्य मान्दै कसैले नपाएको बच्चा उसैले पाउन लागिछे भन्दै उडाउँछन् पनि। झन् पहिला-पहिला धेरै बच्चा जन्माउने आमाहरूका लागि त यो कुरा पटक्कै पाच्य हुँदैन। तर वास्तवमा आमा बन्नै लाग्दाको अनुभव निकै गहकिला र रोचक हुँदा रहेछन्। जुन कुरा बाहिरा निकाल्दा पनि मन शान्त हुने रहेछ।
मलाई लाग्छ, आमा बन्न लागेका महिलाहरू खुला हृदयको हुनुपर्छ। यस्तो अवस्थामा कसैप्रति नराम्रो सोच्नु हुँदैन। नचाहिँदो हरकत त गर्नै हुँदैन। त्यसैले नौ महिनाको अवधिमा सकेसम्म आफूलाई नकारात्मक चिजबाट टाढा बनाइराख्न जरुरी छ।
पहिलेका आमाहरूले सायदै यो कुराहरू सोच्नुभयो होला; यस्तो अवस्थामा पनि गाउँघरमा मेलापात, गाइवस्तुसँगै परिवार सम्हाल्नुपर्ने जिम्मेवारी ठुलो हुन्थ्यो। एउटालाई ढाडमा र अर्कोलाई गर्भमा बोकेर काम गर्नुपर्ने बाध्यता त्यसमाथि घरपरिवारले नबुझिदिँदाको पीडा। पोषणयुक्त खानेकुराको त कुरै नगरौँ। हामीले आफ्नै आमाहरूको कहानी सुन्दा पनि अहिले मनै सिरिङ्ग हुन्छ।
सन्तान धेरै जन्माउनु पर्ने। धेरै छोरीहरू जन्मिँदा पनि छोराको चाहनाले बच्चा जन्माउनु पर्ने बाध्यता धेरै थियो। तर अहिलेको समय परिवर्तनशील छ। गर्भवतीमा पीडाको भाव परिवारले बुझिरहेका हुन्छन्। तर अहिले पनि पहिलो सन्तानका रूपमा छोरा भए हुन्थ्यो भन्ने पुरातनवादी सोच भने अझै हाम्रो समाजमा छ। यद्यपि धेरै सन्तान जन्माउने लहर भने घट्दै गएको छ।
अहिलेको परिवर्तनशील समयसँगै धेरै आमाहरूले आफ्नो स्वास्थ्यको ख्याल गरिरहेका हुन्छन्। बच्चा जन्माउने अवधिभर आफूलाई कसरी सकारात्मक राख्ने जस्ता कुराहरू विभिन्न माध्यमबाट हेरेर भए पनि ज्ञान लिइरहेका हुन्छन्।
स्वस्थ बच्चा जन्माउने चाहना सबैको हुन्छ। त्यसका लागि आमा स्वस्थ हुनु जरुरी छ। गर्भावस्था तथा सुनौला हजार दिनको अवधिलाई सकेसम्म सुनौलो बनाउने प्रयास सबै आमाहरूले गर्नुपर्छ। बच्चा जन्माउनु आफैमा पनि कठिन छ तर पनि असम्भव केही छैन। आफूले हजार पीडा सहेर सन्तान जन्माउने सबै आमाहरूमा नमन अनि नयाँ बन्दै गरेका आमाहरूलाई सफलताको शुभकामना।