जागिरले भोकै बस्न पनि दिँदैन, अघाउन्जेल खान पनि दिँदैन। यो भनाइ घतलाग्दो छ। अरूको तथा लेख्न अनुमति चाहिने भएकाले आफ्नै कथा पस्कँदै छु।
जीवनमा केही गर्न चाहन्छौ भने अवरोध गर्ने अरू कोही हुँदैन, स्वयम आफै नै हो; जसमा लाज नामको भूत हो, जो कमजोरी हो जसले अगाडि बढ्न तगारो लगाइराख्छ। जीवनमा काम कि पढाइ भन्ने सोध्दा सबैले पढाइ रोज्छन् तर सबै पढे काम कसले गर्ने? यक्ष प्रश्न यो पनि हो।
कुल मिलाएर चौबिस वर्ष काम गर्दा खासमा शरीर क्षीण र ध्वस्त बाहेक उपलब्धि हात लागेन। यस कारण टेबुल रुँग्ने कुरामा असहमति राख्छु।
आफ्ना विद्यार्थीहरूलाई विभिन्न कम्पनीको मार्केटिङको जब अफर गर्यो, सबैको उत्तर उही छ- फिल्डमा त काम नगर्ने अफिसमा भए हुन्छ सर भन्छन्।
सबैलाई टेबल रुँग्ने जस्तै लत लागेको छ सायद। शिक्षामा नै खोट हो या धुवाँ धुलोदेखि डर हो बुझ्न गाह्रो छ। शिक्षाविद् नै जानुन्, आफू विद् परिएन। हामी हाम्रा जनशक्तिलाई किन टेबल रुँग्न उत्प्रेरित गर्दै छौ? मैले नबुझेको कुरा हो।
सेसनको सुरुआती दिनमा उद्यमशीलताको स्नातक तहका विद्यार्थीलाई मैले सदा गर्ने प्रश्न एउटै छ- किन यो उद्यमशीलता पढ्ने?
३० विद्यार्थी मध्ये ३ जनाले आफ्नै व्यवसाय गर्ने रे। बाँकीले बैंक, विदेश र लोक सेवा दिने उत्तर आयो।
अहिले धेरैको जवाफ बैंकको जागिर भन्ने हुन्छ। बैंकमा नोटको टाउको पुच्छर दायाँ-बायाँ मिलाउने, खातावालाको हस्ताक्षर जाँच गर्ने, नोट गणना गर्ने, खाता खोल्ने आदि काम हो। ठुलो जागिर त विद्यार्थीलाई कसले दिन्छ र? बिहान साढे नौ बजेदेखि एउटै कुर्चीमा बसेर टेबुल रुँगेर साँझ छ बजे घर फर्कने काममा सबै लालायित छन्।
यो बैंकको काम सबैलाई सानदार इज्जतिलो छ। हुन त त्यो बैंकमाथि नियामक निकाय भएर होला। साथै नानाथरी शीर्षकमा ऋण लिन पाउने। अस्ति ताका अदालतले अजीव फैसला गर्यो कि बैंक तथा वित्तीय संस्थामा श्रम ऐन नलाग्ने रे! यो पनि युएनको जागिरेलाई कर नलाग्ने जस्तो पो लाग्यो।
संसद विधायकले बनाएको ऐन र कानुन पनि फलानोलाई लाग्ने, तिलानोलाई नलाग्ने हुन्छ र? खेर ठिकै छ। म न जागिर खाने, न म फैसला गर्ने, न म मुद्दा हाल्ने परेँ, जेसुकै होस्।
एउटा जागिर चौध वर्ष खाइयो। जति पटक अफिसमा विदेशीहरू आउँछन् भेट्छन्, ‘तिमी अझै छौ?’ भन्छन्।
विदेशमा धेरै लामो समय एउटै अफिसमा काम गर्ने चलन राम्रो मान्दा रहेनछन्। हुन त तिनै विदेशी हुन् कर्मचारी टर्न ओभर रेसियो अर्थात् कर्मचारी कति समय जागिरमा टिक्छ भन्नेहरू पनि। यस्तै टेबल रुँग्ने जागिरको क्रममा जुगौँ बित्यो। टेबल रुँग्दा आत्मबल खस्केर जागिर नभए बाँचिन्न भन्ने सोच आउँदो रहेछ। सबैमा यस्तो नहोला पनि, मात्र मेरो भोगाइ हो।
आजको भोलि नै रङ बदल्छन् विदेशीहरू। हामी नेपाली चाहिँ छेपारोले खाँभो समाएझैँ गरी समाएर बस्छौँ अनि धिक्कार्छौँ आफैलाई। भगवान् कृष्णले भनेझैँ- जो भयो ठिक भयो, जे हुँदै छ ठिक हुँदै छ, जे हुने वाला छ ठिक हुनेवाला छ भन्ने दर्शनमा चलेका छौँ।
एउटै टेबल रुँगिरहँदा पनि अरूले नटेर्ने र आफै पनि मोनोटनस अर्थात् झर्को लाग्ने रहेछ तर बजारमा जागिर फालाफाल भए पो यो कुरा गर्नु! जागिर शिला खोजे जस्तो छ अवस्था बजारमा। आज त्यहीँ भोलि त्यहीँ, टेबुल कुर्ची वर्षौँसम्म झर्को पनि लाग्ने।
एक जना दाइले छँदा खाँदाको मलेपको जागिर राजीनामा दिनुभयो। अर्को एक जना जाने मानेको दाइले पनि निर्देशकको जागिर राजीनामा दिनु भयो। आँट त मान्नै पर्छ। आखिर जीवन त ठेगाना छैन भने जागिर त्यति विधि अगाध प्रेम गर्ने कुरा हो र? तर जागिर नभए दाल रोटी चल्दैन पनि।
एउटा भनाइ छ नि- ‘डन्ट लभ योर कम्पनी, लभ योर जब।’ अर्थात् कम्पनी होइन कामलाई माया गर भन्ने ठिकै हो क्यारे। वर्षौँसम्म एउटै टेबल रुँग्दा केही फाइदा होला, काम कण्ठस्थ तर एक विभागबाट अर्को विभागमा सारिरह्यो भने चाहिँ फरक पर्ला कि?
एक ताका गृहका प्रवक्ता थिए जो वर्षौँसम्म एउटै काममा रहे। कोही कोही भाग्यमानी पनि हुन्छन्। कोहीले यही कार्यालयको परिसरमा एउटा बिल्डिङबाट अर्को बिल्डिङ गरेर पेन्सन पकाए। युनियनकाले यस्तै गर्छन्। काम पनि गर्न पर्दैन, निमुखा जागिरेलाई त फुटबल बनाउँछन्।
टेबुल रुँग्ने कुरा कतिलाई मन पर्छ कतिलाई पर्दैन। तथापि कार्यालयलाई फाइदा हो कि सायद तर कामदारलाई चाहिँ बेफाइदा नै हो। किनभने सिक्ने कुरा छ महिना वर्ष दिनमा सिकिन्छ अनि नयाँ कुरा सिक्ने अवसर गुम्छ। जीवन वास्तवमा सिकाइ र भोगाइ नै हो। जीवन छोटो छ। फेरि एउटै काममा एउटै मानिस वर्षौँसम्म रहँदा सेवाग्राहीलाई त सहज होला तर मालिक अर्थात् रोजगारदातालाई भने कर्मचारीलाई हेप्न, दबाउन, पेल्न सहज पनि त्यतिकै हुन्छ।
कर्मचारी पुरानो भएपछि मालिक र हाकिम नटेर्ने पक्ष पनि त्यतिकै छ। अटेरीपना पनि हुन्छ। साथै कहिलेकाहीँ बढी जान्ने सुन्ने बनेर काम बिगार्ने पनि हुनसक्छ। पुरानो भएपछि बढी हिमचिम हुने नै भयो। यस अर्थमा आत्मीयता त हुन्छ नै।
एक भनाइ छ- सक्छौ जागिर नखाऊ, खानै परे दरबारमा नपस, झन्डामुनि बस। यो भनाइ पनि थियो। अहिले न दरबार न झन्डा कसैले कसैलाई बाल दिँदैन। यस कारण त्यो भनाइको तुक रहेन।
खैर मेरो भनाइको तात्पर्य के भने, जीवनमा एउटै काम गरे पनि मालिक रोजगारदाता कार्यालय अवश्य परिवर्तन गर्न हिम्मत गर्नुपर्छ। हामी सबैले युवा भाइबहिनीले अवश्य पनि हिम्मत आँट लिनुपर्छ। किनकि परिवर्तन एक शाश्वत सत्य हो, अन्य सबै मिथ्या हो।