तालिम चलिरहेका बेला अपराह्न २ बजे साइरनको ध्वनिले टोकियोमा अवस्थित जाइका तालिम केन्द्रको भवन तरंगित हुन्छ। तालिम लिइरहेका हामी साइरनको ध्वनि सुनेर अत्तालिन्छौँ। मेक्सिको, चिली, युगान्डा, बंगलादेश र नेपाल गरी हामी सात जना तालिम लिइरहेका छौँ।
कुरा बुझ्दा आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यासका लागि हामी सहभागीहरूलाई प्राङ्गणमा भेला हुन पूर्व जानकारी दिइएको रहेछ। तालिम केन्द्रमा प्रत्येक हप्ता करिब एक घण्टाका लागि विपद्का विभिन्न कृत्रिम घटना अभ्यासहरू सञ्चालन भइरहेको रहेछ।
तालिकाअनुसार त्यस हप्ता आगलागीको घटना अभ्यास परेको रहेछ। विपद् र वातावरणको क्षेत्रमा लामो समयदेखि काम गरिरहेको भए पनि यस खालको अभ्यास मेरा लागि नौलो थियो। तालिम केन्द्रको प्रशिक्षण कोठाभित्र निर्धारित समयभन्दा पाँच मिनट अगाडि प्रवेश नगरेको खण्डमा सहभागीहरू ढिला भएको मानिन्थ्यो।
'विपद्को क्षेत्रमा एक मिनटको समयले पनि ठुलो महत्त्व राख्छ र एक मिनटमा कसैको ज्यान जोगाउन सकिन्छ,’ प्रशिक्षकहरूले भन्थे।
तालिम सकेर हामी होटेल फर्किन्थ्यौँ। जापानको मेटेरियोलोजिकल एजेन्सीअनुसार जापानमा प्रत्येक वर्ष दुई हजारभन्दा बढी सानाठुला भूकम्प गइरहेको हुन्छ। अनुभव स्वरूप, होटेलको हाम्रो कोठा दिनदिनै भूकम्पले हल्लिरहेको हुन्थ्यो। फोनमा राखिएको 'भूकम्प सतर्क एप'ले सामान्यतया पाँच/छ पल्टसम्म स-साना भूकम्प गएको सूचित गराउँथ्यो।
सुरुका दिनहरूमा हामीले आ-आफ्नो देशमा सिकेकोजस्तै अत्तालिएर प्रत्येक पटक होटेल बाहिर जाने कोसिस गर्थ्यौँ। हामी अत्तालिएको देखेर होटेल व्यवस्थापकले ६.५ म्यागनिच्युडसम्मको भूकम्पमा नअत्ताली कन भवनभित्रै बस्न भन्थे। ती व्यवस्थापकको कुरा सुन्दा हामीलाई अचम्म लाग्थ्यो।
यस किसिमको भनाइ तालिम केन्द्रमा पनि सुन्न पाइन्थ्यो। तालिमको बिच-बिचमा भूकम्प गइरहन्थ्यो। हामी भने कोठाभित्रै बेन्च समाएर बसिरहन्थ्यौँ र हल्लिरहेको झ्याल हेरिरहन्थ्यौँ। यसले भूकम्प जाँदा नेपालमा घरबाहिर सुरक्षित खुला ठाउँमा बस्न र जापानमा घरभित्रै बसिरहन सिकाइएको भिन्नता बिचको कारण सोच्न मलाई बाध्य बनायो।
कारण हाम्रो कमजोर र पुराना ढाँचाले बनेका संरचनाहरू हुन् कि! हामीले भूकम्प जाँदा सर्वसाधारणलाई घरभित्रै ढुक्कसाथ बस्न सक्ने अवस्था सिर्जना गर्न नसकेसम्म के हामी हाम्रो देशलाई विपद् उत्थानशील भन्न सक्छौँ त?
टोकियोमा हामी बसिरहेको इटाबासी भन्ने ठाउँदेखि तालिम केन्द्रसम्म चार वटा मेट्रो स्टेसनहरू पर्दथे र यसको लागि प्रतिदिन दुई वटा रेल बदली गर्नुपर्थ्यो। जापान रेलवेको प्लेटफर्मदेखि रेलसम्म सबैलाई पहुँच हुने गरी बनाइएको सुविधायुक्त संरचना र प्रविधिले त्यस राज्यले कुन स्तरसम्म नागरिकलाई समान दृष्टिकोण राखेको छ, स्पष्ट दर्साउँथ्यो।
अपाङ्गता भएका व्यक्तिहरूले दैनिक जीवनमा ती संरचना उपयोग गर्न पाउँदा उनीहरूलाई कस्तो आभास भइरहेको होला त! ह्विलचियर प्रयोगकर्ताहरूको सहजीकरणको लागि प्लेटफार्ममा क्रू स्टाफ खटिएको, बम्पी टायल, दृष्टिविहीन एवम् भिजुअल इम्पेयरको लागि ट्याकटाइल मार्बल, ब्रेलसहितको टिकट मसिन, ब्रेलमा सिट नम्बर र संकेतहरू, अडियो गाइड सहितको शौचालय र भर्याङ, रेलभित्र पनि अडियो र भिडियोको व्यवस्था, प्रत्येक किसिमका कद भएका व्यक्तिहरूका लागि सुलभ हुने शौचालयको बनोट, इत्यादि जस्ता सुविधाहरूलाई देखेर नेपालमा पनि त्यस्तै संरचनाहरू भएको भए अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर कस्तो हुँदो हो!
जापान बसाइभर म विचारमा रुमलिएँ र नेपाल फर्किएपछि पनि यी कुरा मेरो मथिंगलमा घुमिरहेका छन्। महिलाका लागि शौचालयमा स्यानिटरी प्याडको झोला झुन्डिरहेको र बच्चा बोक्ने आमाका लागि बच्चालाई बसाउने बेबी सिटरको पनि शौचालयभित्र व्यवस्था भएको देखेर त्यहाँमा निर्णयकर्ताहरू कतिसम्मको दूरदृष्टि र संवेदनशील रहेका होलान्! तालिममा सहभागी हामी आपसमा छलफल गरिरहन्थ्यौँ।
तालिमकै क्रममा हामीलाई होङ्जो जीवन सुरक्षा केन्द्र लगियो। जनमानसलाई विपद्को लागि पूर्वतयारी गराउने उद्देश्यले यो केन्द्रको स्थापना भएको रहेछ। शनिवारको दिन भएकोले विदेशी नागरिकहरू, बालबालिका तथा स्थानीयहरूको घुइँचो देख्न सकिन्थ्यो। जापानले विगतमा भोगेको भूकम्प र सुनामी सम्बन्धी २० मिनटको एनिमेटेड भिडिओ देखाएर केन्द्रभित्र यात्रा गराइयो।
त्यसपछि हामी भूकम्पको कृत्रिम घटना अभ्यास हुने कक्षतिर लाग्यौँ। हामीलाई त्यहाँको शयन कक्षजस्तो कोठामा राखेर ७ म्यागनिच्युडको भूकम्पको झट्का महसुस हुने गरी कृत्रिम अभ्यास गराइयो। भूकम्पको कम्पन अत्यासलाग्दो र ध्वनि डरलाग्दो थियो। प्रत्येक सहभागीका लागि भुईँमा गुन्द्री ओछ्याइएको थियो। कम्पन हुँदा हामी सबैले गुन्द्रीलाई दुई हातले समातेर टाउकोलाई दुई हातको बिचमा राखी घोप्टो परेर भुईँमै बस्ने निर्देशन दिइएको थियो। करिब एक मिनटसम्म ७ म्याग्निच्युडको कम्पनपछि बढाएर ७.५ म्याग्निच्युडसम्म पुर्याइयो। त्यो क्षण अति डरलाग्दो थियो। झट्ट सम्झिँदा नेपालमा विसं २०७२ साल वैशाख १२ मा गएको भूकम्प जस्तै अनुभव भयो।
त्यसपछि हामी आगलागी र धुवाँको कृत्रिम अभ्यास कक्षतिर लाग्यौँ। त्यहाँ हामीले आगलागी भएर धुवाँले भरिएको कोठाबाट बाहिर निस्किने अभ्यास गर्यौँ। निर्देशनअनुसार कुनै पनि भवनमा प्रवेश गर्दा आपत्कालीन अवस्थाको लागि कम्तीमा दुई वटा मार्ग पत्ता लगाउनु पर्छ। धुवाँले भरिएको अँध्यारो कोठाभित्र चोटपटक नलाग्न भित्तालाई छाम्दै हामी समूहमा हिँडिरहेका थियौँ। धुवाँको स्वभाव माथि उड्ने हुन्छ। त्यसैले, घुँडा टेकेर धुवाँभन्दा तल झुक्दै भित्ता छाम्दै बाहिर निस्किन निर्देशन दिइएको थियो।
त्यसपछिको कृत्रिम अभ्यास हुरी सम्बन्धी थियो जहाँ कक्षमा छिर्नुभन्दा अगाडि हामीलाई रेनकोट, बुट, मास्क र पन्जा लगाउन दिइयो। वर्षासहितको तीव्र हुरीलाई सामना गर्नुपर्दा बलियो वस्तुलाई बेस्सरी समाती पानीको चाप आँखामा नपर्ने गरी टाउको तल झुकाएर उभिँदा वर्षासहितको हुरीबाट जोगिन सकिने रहेछ।
बाढी सम्बन्धी अभ्यास अन्तिममा थियो। यसमा बाढीको समयमा घरको र गाडीको ढोका भित्रबाट खोल्न अभ्यास गराइयो। बाढीको सतह भुईँभन्दा १०-२० सेन्टिमिटरसम्म हुँदा ढोका सजिलै खोल्न सकियो भने पानी ३० सेमीसम्म पुग्दा एक जना व्यक्तिले मात्र ढोका खोल्न कठिन हुँदो रहेछ। बाढीको समयमा गाडीभित्र थुनियो भने पानीको चापले गर्दा ढोका खोल्न अति गाह्रो हुने रहेछ। सो केन्द्रमा स-साना स्कुले बालबालिकाका लागि विपद्बाट जोगिने उपायसम्बन्धी कार्टुन भएका पुस्तिकाहरू पनि उपलब्ध थियो।
सन् २०११ मार्च ११ मा ९ म्याग्निच्युडले गएको पूर्वी जापानमा भूकम्पले देशका नागरिकहरूको विपद् पूर्वतयारी तथा प्रतिकार्यको दृष्टिकोण नै परिवर्तन गरिदिएको देखिन्छ। सेण्डाइ सहरको बासिन्दाहरूमा एउटा भनाइ छ, 'यदि हामीले सामान्य दिनमा गर्न सक्दैनौँ भने विपद्को समयमा पनि गर्न सक्दैनौँ। पूर्वतयारी नहुँदा साधारण प्रकोपले पनि विपद्कै रूप लिन जान्छ।'
सिकाइका क्रममा हामी वृद्धा महिलाहरूबाट संचालित भएको समुदायमा आधारित हिरात्सुका पावर भन्ने संस्थामा पुग्यौँ जहाँ ८० वर्ष कटेका ३० जना वृद्ध महिलाहरूले आफ्ना परम्परागत ज्ञान र सीपको सदुपयोग गर्दै घरमा फालिएका र स्थानीय सामाग्रीहरूबाट विपद् प्रभावित व्यक्तिहरूका लागि तत्काल चाहिने सामग्रीहरू बनाइरहेको देख्यौँ।
उदाहरणमा रूपमा कार्डबोर्डको शौचालय, प्लास्टिकको रेनकोट, छोटो समयमा खाना पकाउने विधि, टावलले बनेको झटपट झोला, बालबालिकाहरूको लागि ओरिग्यामी, परम्परागत मिठाई आदि।
वृद्धावस्थामा पनि स्वयंसेवकको रूपमा खट्न सक्ने ती वृद्ध महिलाहरूको स्वयंसेवाको भावनालाई देखेर हामी आश्चर्यचकित भएका थियौँ। मेरो समुदायमा विपरीत संस्कार छ। ६० वर्ष कटेका व्यक्तिहरूले आफूलाई वृद्ध-वृद्धा ठान्छन् र नातिनातिनालाई खेलाएर बस्न मन पराउँछन्।
त्यस संस्थाका महिलाहरूको भनाइअनुसार विपद्मा कहिलेकाहीँ सरकारको सहयोग पुग्न ढिला हुन्छ। त्यस्तो बेलामा समुदाय नै सहयोगी हुन्छन्। विपद्ले समुदाय निर्माण गर्छ।
मेरो बुवाले भन्ने गर्नुहुन्छ, ‘प्राचीन कालमा मानिसहरू सामुदायिक जीवनलाई प्राथमिकता दिन्थे र संगठित समूहमा बस्थे। जस्तै घुमन्ते नेटुवा र आदिवासीहरू। सामूहिक बसाइको परस्पर सहयोग र सहकार्यमार्फत विपद् लगायत अन्य साझा समस्याहरू समाधान गर्न सक्षम बनाउँथ्यो। समुदायमा बसिरहेका मानिसहरूले एकअर्कासँग के छ भनेर थाहा पाएका हुन्छन्। त्यसैले, उनीहरूले विपद्बाट के गुमाउन सक्छन्, राम्ररी बुझ्छन्।’
तालिमकै क्रममा हामीलाई जापानको मियागी प्रदेशमा रहेको एउटा सामुदायिक विद्यालयमा लगियो। त्यस क्रममा त्यस विद्यालयका १० देखि १६ वर्षसम्म उमेर भएका विद्यार्थीसँग विपद्सम्बन्धी विभिन्न क्रियाकलापसहित एक दिने गोष्ठी तथा अन्तरक्रिया आयोजना गरियो। ती विद्यार्थीहरूमा विपद्प्रतिको सचेतनाको स्तर हेर्दा नेपालको विद्यालयहरूको पाठ्यक्रममा परिकथा र नाचगानका साथसाथै विपद्का लागि सिकाइ सम्बन्धी विषयवस्तु पर्याप्त मात्रामा राख्ने, विपद् कृत्रिम घटना अभ्यासलाई प्राथमिकता दिनुपर्ने रहेछ भन्ने भावना उठेको थियो।
भोलिपल्ट हाम्रो टोलीको यात्रा मिनामिसानरिकु स्मारक संग्रहालयतिर भयो। यो संग्रहालय प्रशान्त महासागरको किनारमा अवस्थित रहेछ। यो संग्रहालय सन् २०११ को ग्रेट इस्ट जापान भूकम्प र सुनामी स्मारकका रूपमा बनाइएको रहेछ। संग्रहालयको आन्तरिक यात्रा, प्रवेशद्वारमा राखिएको सुनामीको लहरले तहसनहस बनाएको ठुलो दमकलको वर्णनबाट भयो।
भित्तामा झुन्डिरहेको थिए फोटाहरू, चित्र, नक्सा, राहत सहयोग गर्ने राष्ट्रहरूको नाम। त्यहाँ जब मैले नेपालको पनि नाम देखेँ छाती गर्वले फुलेको जस्तो अनुभूति भयो। यी सबै हेर्दा जापानले सन् २०११ देखि २०२४ सम्मको १३ वर्षको अन्तरालमा पुनर्लाभका लागि निकै नै संघर्ष गरेको देखियो।
संग्रहालयको पछिल्लो भागमा सुनामी स्मारक पार्क बनाइएको छ। पार्कको एउटा कुनामा कृत्रिम सल्लाको रुख बनाइएको छ। महासागरको छेउमै यो पार्क रहेकोले सुनामी आउँदा वरिपरिको सबै घर तथा रुखहरू बगाएर लगेको तर एउटा सल्लाको रुख प्रभावित नभएकोले स्मारकको रूपमा रुखलाई संरक्षण गरिएको थियो। पछि यो रुख सुकेर गएपछि संग्रहालयले कृत्रिम रुख बनाई सुनामीको स्मृतिलाई जोगाउने प्रयास गरेको रहेछ।
जापानमा २४ दिनको तालिमका क्रममा राजधानी टोकियोदेखि त्यहाँको विकट मिनामिसानरिकु स्मारक संग्रहालयसम्म पुग्दा संरचनादेखि जीवनशैलीसम्म विपद्लाई सम्बोधन गरेको देखियो। यस्तो लाग्थ्यो, उनीहरूले विपद्लाई जीवनको हिस्सा बनाएका छन् र त्यसका अवरोधलाई कम गर्न मिहिनेत गरेका छन्। संग्रहालयमा रहेका संरचना र सामग्रीहरूले विपद्का कठिनाइहरूको झल्को दिन्छ र पूर्वतयारी गर्न झकझक्याइरहन्छ।
नेपाल पनि विपद्को उच्च जोखिममा रहेको छ र सुनामीबाहेक जापानले बेहोर्ने सबैजसो विपद् भोग्न हामी अभिसप्त छौँ। जापानबाट नेपालका लागि हवाईजहाजको यात्रा गरिरहँदा जापानका असल अभ्यासहरू हामीले कसरी अनुसरण गर्न सकौँला भन्ने लागिरह्यो।
(लेखक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत छिन्।)