फागुन महिना, विवाहको लगनको महिना। दुलही भित्र्याउनको सजिएको त्यो घरमा सबै मानिसहरू सजिसजाउ बनेर त्यो रमाइलो माहौलमा आ-आफ्ना खुसीहरू साटिरहेका थिए। म पनि सबै गरगहनाले सजिएर बिहेको निम्तो मान्न पुगेको थिएँ।
आफ्ना आफन्त इष्टमित्रहरूसँग भेटघाटकै क्रममा अकस्मात् एउटा वाक्यले त्यो खुसीयाली माहौल मेरो लागि फिक्का फिक्का बन्दै गयो।
‘बिहे भएको पाँच वर्षसम्म पनि अझै बच्चा भएको छैन’ त्यो बोली सुन्नासाथ बिहेमा बजेको बाजाले मलाई नै त्यही प्रश्न गर्दै गिज्याए जस्तो महसुस भयो।
सबै मानिसहरू मेरो नै यही कुरा काटिरहेको आभास भयो। मनमा अनेकौँ पीडाहरू भए तापनि बिस्तारै होला नि भनी त्यो रमाइलो माहौलबाट आफू एक्लिन चाहेँ।
विवाह भएको तीन/चार वर्षसम्म आफ्नो शैक्षिक यात्रा र जागिरको अवस्था राम्रो नभएको हुँदा खासै सन्तान प्राप्तिप्रति ध्यान गएकै थिएन। विवाह भएको चार वर्ष कट्न लागे पछाडि भने अब त बेला भएछ कि भनेर योजना नगरेको पनि होइन।
मेरो श्रीमान् परिवारको एक्लो छोरो हुनु भएको हुँदा सन्तान नभए त वंश नै सकिन्छ भन्ने डर बाबाआमालाई पनि थियो। जति सक्दो छिटो खुसीको समाचारको पर्खाइमा हुनुहुन्थ्यो उहाँहरू पनि। जुन स्वाभाविक नै थियो।
आफ्नो शारीरिक स्वास्थ्यमा देखिएको सुगर, प्रेसर तथा थाइराइडको कारणले योजना सोचेअनुसार हुन सकेन। अनि त्यहाँबाट सुरु भयो घरपरिवारबाटको मानसिक यातना। आफ्नो शारीरिक पीडा त छँदै थियो। आफ्नो स्वास्थ्यको समस्या त्यहीमाथि घर-परिवारको मानसिक पीडाबाट दिनप्रतिदिन ग्रसित हुँदै गए। कतै डिप्रेसनको सिकार हुन पुग्छ कि भन्ने डर बढ्दै गयो।
कुन चाहिँ विवाहित महिलालाई हुँदैन होला र सन्तान प्राप्तिको चाहना!
विवाह भएको १०, १२, १५ ,२० वर्षसम्म पनि सन्तान नभएर पछि भएका कैयौँ उदाहरणहरू छन् भने घर-परिवारले जे जस्तो वचन लगाए पनि आफ्नो मनलाई दह्रो बनाएर अघि बढिरहेँ।
त्यस समय मैले घरबाट २० किलोमिटर टाढाको विद्यालयमा शिक्षण गर्दथेँ। स-साना बालबालिकालाई पढाउँदा उनीहरूलाई नै आफ्नै सन्तान जस्तै लाग्दथ्यो। उनीहरू पनि आफूलाई आफ्नो आमा बराबरको माया प्रेम दर्साउँथे। तर त्यही बेला आफ्ना कोखबाट हुर्किएका सन्तानहरू कहिले यसरी सँगै खेलाउने पढाउने भन्ने जस्ता भावनाहरू मनमा गुन्जिरहन्थे।
जागिरको धपडीले गर्दा असर गर्यो कि भनेर जागिर छोड्ने दबाब आउन सुरु भयो। घर-परिवारकै सल्लाहअनुसार जागिर पनि छाडिदिएँ।
दिनभर घरमा बस्दा अनेक किसिमका चाहिँदा नचाहिँदा कुराहरू मनमा खेल्न लागे। शिक्षित समृद्ध वर्गीय परिवार भए तापनि बाहिर समाजले देख्ने जस्तो सभ्य सदस्य कोही पनि हुनुहुन्न थियो। बाझी महिलाले पकाएर दिएको पनि खान हुँदैन भन्ने जस्ता कुरा सुन्दा मेरो जन्म नै किन भएछ भन्ने जस्तो लाग्दथ्यो।
सासू, ससुरा, नन्द-आमाजू आदि लगायतका घर पक्षका सदस्यहरूले अनेक मानसिक यातना दिएर यसले घर नै छाडोस् र छोराले अर्की बिहे गरी अर्कोबाट सन्तान हुन्थ्यो भन्ने जस्तो उहाँहरूको चाहना थियो। तर जबसम्म श्रीमानको साथ हुन्छ नि तबसम्म महिलाहरू जति नै कठिन परिस्थिति आए पनि आफ्नो जीवनबाट हरेस खाँदा रहेनछन्।
आफ्नै छोरालाई अनेक कुरा लगाएर सम्बन्ध बिगार्दिन खोज्ने बाबाआमाहरू पनि संसारमा भेटिँदा रहेछन्। पीडितको मर्म नबुझिदिँदा छोराहरू पनि भित्रभित्रै पिल्सिनु पुगेको अवस्था मैले पनि महसुस गरेकी छु। न आमाबाबाको मन दुखाउन सक्नु, न त श्रीमतीको नै।
समस्या समाधान गर्न अनेकौँ नाम चलेका हस्पिटल, डाक्टरहरूलाई भेटेनौँ कि धामी झाँक्री लगाएर फुकेनौँ! नाम चलेका ज्योतिषीलाई भेटेनौँ कि लाखौँ रुपैयाँ खर्च गरेनौँ! विभिन्न व्रतदेखि पूजाआजा, मन्दिर धाएनौँ कि जानेका सुनाएका कुनै कसुर बाँकी राखेनौँ!
खै कुन जुनीमा के पाप गरेको रहेछु र भन्ने लाग्दो रहेछ।
हुन त मानिसहरू सबैका आफ्ना पीडाहरू छन्। एक न एक प्रकारको पीडा नभएको मानिस को होला र संसारमा?
भनिन्छ नि- नभए एकै दुःख भए सयौँ दुःख। जति नै धेरै सन्तान भएका बाबाआमाहरू पनि छोराछोरीबाट अपहेलित भएर वृद्धाश्रममा गएर बस्नु परेको साथै एउटै घरमा बसेता पनि तिरस्कृत व्यवहार गर्दै आएको नसुनेको नदेखेको होइन। दीर्घकालसम्म सन्तान नभए टुहुरा बालबालिकालाई धर्मपुत्र धर्मपुत्री बनाएर हुर्काएर पाले झन् धर्म हुन्छ भनी चित्त बुझाइरहेको थिएँ। तर पनि जति दुःख कष्ट परे पनि एउटी महिलालाई आफ्नो कोखबाट सन्तान प्राप्त नै सबैभन्दा ठुलो इच्छा हुँदो रहेछ।
कहिलेकाहीँ घर छिमेकमा कसैले सन्तान जन्माएको खबर सुनाउँदा पनि आफैलाई गिज्याएर भन्न खोजेको हो कि भन्ने महसुस हुँदो रहेछ।
विभिन्न हस्पिटलमा गएर चेकजाँच गर्दा श्रीमान्-श्रीमतीबिच कुनै पनि प्रकारको समस्या नदेखेको हुँदा हाम्रो पनि बेला आउला भने आशा बाँकी राखी आफ्ना दैनिकी गुजारा गरिरहेँ। हस्पिटलमा ‘आइभिएफ’ पद्धतिबाट सन्तान जन्माउन विभिन्न नाम चलेका हस्पिटलहरू चहार्न बाँकी कुनै पनि छैनन् होला।
कम आर्थिक अवस्था भएका व्यक्तिको लागि त्यो खर्चिलो प्रक्रिया आफ्नो सामर्थ्य बाहिरको कुरा रहेछ। जन्मअघि नै लाखौँ लाख खर्च गरी ऋणमा डुबेर जन्मपछि पनि पर्याप्त आहार विहार स्वास्थ्य, शिक्षा दिन नसके सधैँभरि अनेकौँ पीडाको सिकार भएर बस्नुपर्ने अवस्था पक्कै आउनेछ।
म मात्र होइन, विवाह भएको धेरै वर्षसम्म सन्तान नभएका महिला दिदीबहिनीहरू धेरै हुनुहुन्छ। भनिन्छ नि ‘अचानाको पिर खुकुरीलाई के थाहा!’ अरूले केही सान्त्वना दिए पनि वास्तविक पीडा भोग्नेलाई मात्र थाहा हुँदो रहेछ। सभ्य शिक्षित व्यक्तिहरूको घरमा पनि बाहिर देख्दा सभ्य देखिए पनि घरभित्र यस्तै सानातिना कुराहरूले मानसिक यातनाबाट ग्रसित महिलाहरू प्रशस्तै देख्न सकिन्छ।
त्यसैले वर्तमान सरकार, स्वास्थ्य मन्त्रालय, विभिन्न स्वास्थ्यसँग सम्बन्धित व्यक्तिहरूलाई के अनुरोध गर्न चाहन्छु भने प्राकृतिक तरिकाले गर्भाधान हुन नसक्ने महिला तथा दम्पतीहरूलाई उनीहरूको समस्याअनुसार आइभिएफ प्रक्रिया, टेस्टट्युब बेबी निःशुल्क रूपमा हुन सकोस् ताकि आर्थिक अभाव भए पनि उक्त प्रक्रियाबाट उनीहरूको सन्तान प्राप्तिको अधिकार पूरा होस्। साथै बाँझो कोख रहेको भनी घर-परिवार तथा समाजले कुनै पनि नचाहिँदा कुरा काट्ने, होच्याउने साथै दमन गर्ने प्रवृत्तिले कुनै पनि महिलाहरू पीडित हुन नपरोस्।