चराहरूका धेरै अद्वितीय कुरा हुन्छन्। तीमध्ये उनीहरूले पार्ने अण्डा पनि एउटा रोचक कुरा नै हो।
अरू जनावरले पनि अण्डा नपार्ने होइन। चराकै पुर्खा सरीसृपहरूले पनि अण्डा नै पार्छन्। तर तिनको अण्डा नरम हुन्छ। चराहरूको भने कडा, वा फुट्न सक्ने खोल भएको हुन्छ। त्यही कारण चराको अण्डाको बढी नै रेखदेख गर्नुपर्ने हुन्छ।
योभन्दा पनि रमाइलो कुरा चाहिँ चराले आफ्ना अण्डा तातो राख्नुपर्ने हुन्छ।
आउनुस् आज चराको अण्डा, चल्ला र अभिभावकको रूपबारे केही कुरा गरौं।
मेरो अध्ययन क्रममा, पहिलो वर्ष भँगेराहरूको तथ्यांक लिन हिँड्दै गर्दा एउटा रमाइलो कुरा देखेँ। तर त्यो भँगेरासँग सम्बन्धित कुरा थिएन।
नजिकै खेतबाट हिँडेर भँगेराको गुँडतिर जाँदै थिएँ। भुइँमा 'किलडियर' नामको एउटा सानो चरा (एक प्रकारको राजपुत्रिका) आफ्नो पखेटा भाँचिएको जस्तो गरेर कुदिरहेको थियो। आत्तिएझैं देखिने त्यो चरा मबाट टाढा भाग्दै अलि पर गयो र भाँचिएको पखेटा देखाउन थाल्यो।
मलाई लाग्यो, त्यो चरा घाइते छ। त्यसको मद्दत गर्नुपर्छ भन्ने सोचेर मैले आफ्नो सुपरभाइजरलाई भनेँ।
उनले हाँस्दै भनिन् — त्यो चरा तिमीलाई झुक्क्याउन सफल भयो। उसको उद्देश्य नै त्यही थियो।
मलाई अचम्म लाग्यो।
राजपुत्रिका लगायत धेरै शोरबर्ड्सले आफ्नो गुँड अरूले नदेखून् भन्ने लुकाउन खोज्दा रहेछन्। तिनीहरूले अरूलाई झुक्क्याएर गुँडभन्दा टाढा डोहोर्याउने रहेछन्। त्यो चराले मलाई पनि झुक्क्यायो। मैले उसको गुँड पनि देखिनँ।
आफ्ना अण्डाबाट चल्ला निस्किनु अगाडि नै चराहरूमा 'अभिभावक' रूप आइसकेको हुन्छ। प्रजनन समयमा चराहरूको सबै ऊर्जा अण्डा तथा चल्लाको रेखदेखमै खर्च हुन्छ भन्दा फरक पर्दैन। प्रजननका बेला चराहरूले (प्रजाति हेरेर) आफ्नो शरीरको १०–२० प्रतिशत वजन गुमाउँछन्।
राजपुत्रिकाले जस्तै आफ्नो गुँड सिकारीबाट लुकाउन अझै एक कदम अगाडि हुन्छ बया तोप चरा। यसले त आफ्नो गुँडभित्र पस्ने ढोका नै दुइटा बनाउँछ। सर्प, छेपारो लगायत जनावर जसले अण्डा वा चल्ला खान सक्छन्, तिनबाट जोगाउन तोप चराले नक्कली ढोका बनाउँछ।
नेपालको तराई भेगमा पाइने राजधनेसको रोचक प्रकारको गुँड हुन्छ। पोथीले उपयुक्त गुँड भेटेर अण्डा पारेपछि भालेले माटो, पात र अन्य जैविक चिजले बाहिरबाट गुँडको ढोका थुनिदिन्छ। पोथी अण्डाबाट चल्लाहरू ननिस्केसम्म गुँडभित्रै हुन्छ। उसको खानाको जिम्मा भालेको हुन्छ।
सिकारीबाट जोगाउनेसँगै आफ्नो अण्डा तातो राख्न (ओथारो बस्ने) पनि चरालाई चुनौती हुन्छ।
सबै चराले भाले धनेसले जस्तो खाना ल्याउँछन् भन्ने हुँदैन। केही प्रजातिमा त भालेले संसर्गपछि पोथीलाई छाडेर आफ्नो बाटो लाग्छ। अण्डा पार्नेदेखि चल्लाको रेखदेख गर्ने सबै काम पोथीको हुन्छ।
त्यस्तै केही प्रजातिमा पोथीले अण्डा पारिसकेपछि रेखदेख भालेले गर्छ। तराईमा पाइने लामाऔंले चरामै यो गुण हुन्छ। पोथीले अण्डा पारेपछि ओथारो बस्ने (इन्क्युबेट) काम भालेको हुन्छ। यो काम भालेले मात्र गर्छ।
मैले काम गरेको घर भँगेरामा भने भाले र पोथी मिलेर ओथारो बस्छन्। तर मेरो अध्ययन क्रममा देखेअनुसार लगभग ७०–७५ प्रतिशत समय पोथी नै ओथारो बस्छ।
रमाइलो कुरा, ओथारो बस्ने समयमा पोथीको 'एब्डोमिनल' अर्थात पेटको भागमा प्वाँख नभएको एउटा थलो बन्छ जसलाई 'ब्रुड प्याच' भनिन्छ। र, प्रजननका बेला त्यहाँ रक्त सञ्चार व्यापक हुन्छ। यसले गर्दा त्यो क्षेत्रमा लगातार तातोपन रहन्छ र त्यसले अण्डालाई तातो राख्न मद्दत गर्छ। ती प्वाँख हर्मोनल परिवर्तनहरूले हराउने वा पोथी आफैले निकाल्न सक्छ। इम्पेरर पेनगुइनको त ब्रुड प्याच भालेमै हुन्छ र ओथारो बस्ने काम पूर्ण रूपमा भालेको हुन्छ।
अस्ट्रेलियामा पाइने म्यालिफल नामको चरामा भने ब्रुड प्याच नै हुँदैन। त्यसो भए यो चराको प्रजातिमा ओथारो को बस्छ?
दुवै बस्दैनन्।
यो प्रजातिमा भालेले धमिराको गुँडझैं देखिने विशेष प्रकारको गुँड बनाउँछ। अनि त्यहाँभित्र विघटन भएर तातो बनाउने जैविक सामग्रीहरू हाल्छ।
अब चराको अण्डाको संख्याको कुरा गरौं।
चराले कति अण्डा पार्छ भन्ने कुरा प्रजाति हेरेर हुन्छ।
उदाहरणका लागि ग्रे पार्ट्रिज चराले १५ देखि २० वटासम्म अण्डा पार्छ। चिल वा गिद्ध लगायतले एक पटकमा एक–दुइटा मात्र अन्डा पार्छन्।
यसमा एउटा रोचक तथ्य जोड्न जरूरी छ। भुइँमा अण्डा पार्ने धेरैजसो प्रजातिका चराको अण्डाको संख्या धेरै हुन्छ। भुइँमा गुँड हुने चराको अण्डा सिकार हुने सम्भावना धेरै भएकाले यस्तो भएको अनुमान छ।
त्यस्तै गरी अक्षांशमा जति माथि गयो, त्यति थोरै अण्डा हुन्छ। माथिल्लो अक्षांशमा उपयुक्त वातावरण र स्रोतको कमीले हुन सक्छ।
अमेरिकाको उत्तरी भेगमा भँगेराले वर्षमा दुई पटक (कहिलेकाहीँ तीन पटक) मात्र अण्डा पार्छ। तल्लो अक्षांश वा टेक्ससतिर तीन वटासम्म चल्ला निस्किएको पाइन्छ।
धेरैजसो साना प्रजातिका चराले दिनमा (२४ घण्टाको फरकमा) एउटा अण्डा पार्छन्। ठूला चराले भने दुईदेखि ६ दिनको अन्तरालमा पार्न सक्छन्।
थाहा पाइराख्नुहोस्, चराले अण्डा बनाउँदा र पार्दा धेरै नै ऊर्जा खर्च हुन्छ।
कति वटा अण्डा पार्ने भन्ने कुरा स्रोतमा पनि भर पर्छ। वातावरण राम्रो र खानेकुरा प्रशस्त छ भने धेरै अण्डा पार्ने र अभावमा थोरै अण्डा पार्ने अध्ययनहरूले देखाएका छन्।
मैले अध्ययन गरेका घरभँगेराको प्रजनन सिजनमा सुरूसुरूमा (अप्रिल–मे) दुई–तीन वटा अण्डा देखिन्थे। बिस्तारै तापक्रम बढ्दै जाँदा (जुन–जुलाई) अण्डाको संख्या बढेर पाँच–६ वटा पुग्थ्यो।
केही अध्ययनले जति धेरै अण्डा, त्यति धेरै समय ओथारा बस्नुपर्ने भन्ने देखाएका छन्। तर कति दिन भन्ने कुरा चराको प्रजातिमै भर पर्छ। भँगेरा जस्ता साना चराका प्रजाति ९ देखि ११ दिनसम्म ओथारो बस्छन्। ठूला चरा ३० देखि ४० दिनसम्म बस्न सक्छन्। अल्बाट्रसहरू त ८० दिनसम्म बस्ने रहेछन्।
त्यस्तै चिल, उल्लू जस्ता ठूला चरा पहिलो अण्डा पार्नेबित्तिकै ओथारो बस्छन्। धेरै प्रकारका गीत–चराहरू (सङ बर्ड्स) भने ३–४ वटा अण्डा पारिसकेपछि मात्र ओथारो बस्छन्। भँगेरा भने अन्तिमभन्दा अघिल्लो अण्डादेखि ओथारो बस्न थालेको मैले देखेको छु।
यसरी भिन्न समयमा ओथारो बस्दा चल्ला पनि भिन्न भिन्न समयमा निस्किन्छन् जसलाई 'एसिन्क्रोनस ह्याचिङ' भनिन्छ। एकैचोटि सबै चल्ला निस्किनेलाई चाहिँ 'सिन्क्रोनस ह्याचिङ' भनिन्छ। अधिकांश हाँसहरूको प्रजातिमा यस्तै हुन्छ।
ओथारो बस्ने समयका कारण चल्लाको आकारमा पनि भिन्नता आउँछ। एक–एक दिन गरेर अण्डा पारेर चौथो दिन ओथारो बस्यो र त्यसपछि पनि एक–दुइटा अण्डा पारेको खण्डमा यस्तो हुन्छ। धेरै ठूला चराका दुई चल्लाको आकारमा त झन् धेरै नै फरक हुन्छ।
अर्को कुरा, कुनै चराका चल्ला अण्डाबाट निस्किँदा आँखा खुलेका र अलिअलि प्वाँख भएका हुन्छन्। कुनैका भने आँखा बन्द र प्वाँख नभएका चिल्ला हुन्छन्।
हाँसहरू जस्ता चराका चल्ला निस्किन नपाई आँखा देख्ने, हिँड्न सक्ने, प्वाँख भएका हुन्छन्। यस्त प्रजातिलाई 'प्रिकोसियल' भनिन्छ। भँगेरा, परेवा जस्ता चराका चल्लाका प्वाँख हुँदैनन्, आँखा पनि बन्द हुन्छन्। यिनलाई 'अल्ट्रिसियल' प्रजाति भनिन्छ।
अल्ट्रिसियल एक प्रकारले असुरक्षित हुन्छन् जसलाई अण्डाबाट निस्किसकेपछि पनि ओथारो चाहिन्छ। चारदेखि सात दिनसम्म तिनीहरूले आफ्नो शरीरको तापमान नियन्त्रण गर्न सक्दैनन्। शरीर तातो राख्न अभिभावक चाहिन्छ। यो समयमा द्रुत वृद्धिका लागि भालेपोथी दुवैले मिलेर ती चल्लालाई प्रशस्त खुवाउनुपर्छ।
कुनै चराको प्रजाति वयस्क भएर शाकाहारी हुन सक्छ। तर त्यो चल्ला हुँदा उसको आहार मुख्य रूपमा कीरा–फट्यांग्रा नै हुन्छ। किनभने तिनीहरूलाई उच्च मात्रामा प्रोटिन चाहिन्छ। चल्लाको शरीरलाई चाहिने पानी पनि कीरा–फट्यांग्राबाटै लिन्छन्।
गुँडमा हुन्जेल वा केही प्रजातिमा गुँडबाट निस्केपछि पनि चल्लालाई अभिभावकले खुवाउँछन्। अर्कातिर प्रिकोसिअल चल्लाले निस्किने बित्तिकै खानेकुरा आफै खोज्नुपर्छ।
त्यस्तै चल्लाले गुँडमै दिसा गर्छन्। केही चराका भाले वा पोथीले चुच्चोले समातेर दिसा फालेको पाइन्छ। केही चल्लाले भने दिसा खान पनि सक्छन्। एकदेखि तीन दिनको चल्लाले धेरै कुरा पचाउन सक्दैन। उसको दिसामा अझै धेरै प्रोटिन हुन्छ। यसरी प्रोटिन भरिएको दिसाको पोकोलाई 'फिकल स्याक' भनिन्छ। बिस्तारै चल्ला ठूला हुँदै गएपछि अभिभावक चराले त्यसलाई बाहिर फालिदिन्छन्।
मैले देखेका घरभँगेरामा धेरैजसो भालेले चल्ला ७–८ दिनको भइसकेपछि त्यो गुँडमा धेरै समय खर्च गर्दैन। चल्लालाई खुवाउने काम पोथीकै हुन्छ। धेरै भाले त गुँडमै आउन छोड्छन् र अर्कोतिर गुँड बसाउन व्यस्त हुन्छन्।
भालेपोथी दुवैले खुवाइरहेकै छन् भने पनि १२ देखि १५ दिनका बीचमा चल्ला आफै गुँड छाडेर बाहिर गएनन् भने भालेपोथी दुवै गुँडमा जान छोड्छन्। ती चल्लालाई गुँडबाट निकाल्न बाध्य बनाएर फेरि त्यहाँ अरू अण्डा पार्न तयार हुन्छन्।
चराहरूको वसन्त ऋतु यसरी नै व्यस्त भएर बित्छ। बसाइँसराइ गर्ने प्रजाति त झन् चल्ला हुर्किन नपाइ आफ्नो गन्तव्यतिर लाग्न तयार हुन्छन्।

(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)