तत्कालीन प्युठान र हालको रोल्पाको खुंग्रीस्थित इस्माली अधिकारी परिवारमा हाम्रा हजुरबा गजाधर उपाध्याय र हजुरआमा बेलादेवीको कोखबाट जन्मिनुभएकी हाम्री एक मात्र फुपू चन्द्रा अधिकारीको किशोरावस्था सुरु हुँदा बित्तिकै विवाह भएको थियो। रोल्पाकै जसपुरका चोपनिधि सुवेदीसँग २०१८ सालमा उहाँको बिहे भएको थियो।
त्यति बेला सानैमा छोराछोरीको विवाह गरिदिने चलन थियो। विवाह भएपछि फुपूको थर सुवेदीमा परिवर्तन भयो। हाम्रा पिताजी तेजप्रसादको जन्म विसं १९९४ सालमा र माहिला बा गिरिराजको जन्म विसं २००० सालमा भएको थियो। माहिला बापछि फुपू चन्द्राको जन्म विसं २००५ सालमा भएको थियो र फुपूपछि कान्छा बा केशवराजको जन्म भने धेरैपछि अर्थात् २०१६ सालमा भएको थियो।
हजुरबाले हजुरआमालाई बिहे गर्नुअघि पहिलो बिहे गर्नुभएको थियो। पहिलो हजुरआमाबाट कुनै पनि सन्तान नजन्मिएको साथै कुनै बेथाले उहाँको अल्पायुमै निधन भएपछि हाम्री हजुरआमासँग बिहे भएको थियो, तत्कालीन प्युठानको नम्जास्थित पोखरेल खानदानबाट।
फुपू चन्द्रा सबैसँग मिठो वचन र असल व्यवहार गर्ने एक हँसिली तथा फरासिली नारीमा गनिँदै आउनुभएको थियो। गाउँका सबैले वहाँलाई सम्मान पनि गर्दै आएका थिए। २०२७ सालमा वहाँले सौता खेप्नुपरे पनि वहाँले असजिलो महसुस भने गर्नुभएन, बरु सौतालाई मुख्य सहयोगीको रूपमा आफ्नै बहिनीजस्तै सम्झेर सद्व्यवहार गर्न थाल्नुभयो, स्नेह गर्न थाल्नुभयो। फलतः लामो समयसम्म सौता-सौता अर्थात् दिदी-बहिनीबिच दोहोरो माया प्रगाढ हुँदै गयो। साथै उहाँ दुई फुपूबिचमा कहिल्यै पनि विवाद उत्पन्न भएन।
पहिलो सन्तानको रूपमा फुपूकी छोरी कमला जन्मिँदा भारतको लखनउमा शल्यक्रिया भएपछि फुपूको एउटा गोडा टेक्न गाह्रो भयो अर्थात् गोडा राम्रोसँग चलाउन सक्ने अवस्था भएन। धेरै पछिसम्म अर्थात् जीवनको अन्तिम अवस्थासम्म पनि वहाँ लट्ठीको भरमा भित्र र बाहिर गर्नुहुन्थ्यो। गाडीको सुविधा नहुँदाका बखत टाढाको दूरीमा आउन जानका लागि वहाँलाई भरियाद्वारा डोकोमा बोकेर ल्याउने र लैजाने गर्नुपर्थ्यो। पछि गाडीहरू चल्न थालेपश्चात् फुपूलाई गाडीमा बसेर यात्रा गर्न सजिलो भयो।
हाम्री आमाले भने ‘फुपूको गोडा पधेरामा पानी भरेर गाग्रो बोक्ने क्रममा गोडा सड्केको’ भन्नुहुन्थ्यो। वास्तवमा समाजमा एउटा कुरा फैलिँदै गएर अर्कै भइदिन्छ। उखानै छ- ‘कुलो र कुरो उस्तै हो।’ कुलोले रूप बदल्दै जान्छ र कुरो पनि फरक हुँदै जान्छ। यो सत्य हो कि अभिलिखित तथा लिखत कुराहरू बदलिँदैनन्, तर मौखिक कुराहरू बदलिन्छन्।
कुनै बखत रोल्पाको लिबाङ र अन्य स्थानमा शिक्षण पेसा गरेको अनुभव बटुल्नु भएका फुपाजु चोपनिधि सुवेदी हाम्रो भेगको पहिलो क्यामेराम्यान पनि हुनुहुन्छ। उहाँले फोटोग्राफीको काम थालेपछि शिक्षण पेसा छोड्नुभयो भने रेडियो, घडी मर्मत गर्ने काम पनि थाल्नुभयो। २०३० सालतिर फुपाजुले क्यामेरा घाँटीमा झुन्ड्याएर हाम्रो घरमुनिको बारीको आँठोनिरबाट हाम्रो घरको तस्बिर खिच्नुभएको मलाई राम्री सम्झना छ।
साथै हाम्रो परिवार सबैको फोटो पनि खिच्नुभएको थियो। जुन श्यामस्वेत फोटो अहिले पनि मसँग सुरक्षित छ। फुपाजु भारतीय सिने कलाकार झैँ सुन्दर देखिनुहुन्थ्यो। उहाँले दाङको तुलसीपुरमा बसेर पछिसम्म पनि रेडियो, टेलिभिजन सेट र घडी मर्मतको काम गरिआउनुभयो।
कुनै बखत हाम्रा बाजेका पनि बाजे षदानन्द हालको गुल्मी जिल्लामा पर्ने तत्कालीन इस्मा राज्यबाट तत्कालीन प्युठानको र हालको रोल्पाको त्यति बेलाको खुंग्री राज्यमा ल्याइनुभएको रहेछ। त्यति बेलाका राजाहरूले आफू अनुकूलका पण्डित अन्यत्रबाट मगाउने सिलसिलामा हाम्रा बाजेका बाजे षदानन्दलाई पनि त्यसरी ल्याएको सुनियो।
षदानन्द अविवाहित अवस्थामै खुंग्रीराज्यको धारापानीमा रहनुभयो र तत्कालीन मैरी तथा हालको महेन्द्रीबाट विवाह गर्नुभयो। षदानन्दका एक मात्र छोरा विष्णु प्रसादको बिहे धारापानीका साहु भनेर चिनिने विसाधरकी बहिनीसँग भयो। त्यस्तै विष्णु प्रसादका एक मात्र छोरा गजाधरको बिहे नम्जाका साहु भनेर चिनिने जीवलाल पोखरेलकी बहिनीसँग भयो। गजाधर र बेलादेवीबाट तीन छोरा र एक छोरी गरी चार जना सन्तानको जन्म भयो।
गुल्मीको इस्माबाट बसाइ सरेर रोल्पाको खुंग्रीमा आउनुभएका एक जना षदानन्दबाट सुरुमा सन्तान नफैलिए पनि पछि फैलिँदै गएर सन्तानहरू अहिले कोही दाङको घोराही र नारायणपुरमा छन् भने मेरो परिवार काठमाडौँमा छन्। स्वदेशमा रोजगारीको अवसर नपाएपछि मेरा छोरा-भतिजा अमेरिका र अस्ट्रेलियामा पनि छन्।
पहिले पहिले दसैँको टीका लगाइदिने क्रममा बाजे-बज्यै तथा बा-आमाबाट छोरा तथा नातिहरूलाई ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भनेर आशीर्वाद दिइन्थ्यो। डाँडाकाँडा ढाकुन् भनिनुको अर्थ डाँडाकाँडा ढाकुन् नै होइन, तर सन्तानको सङ्ख्या धेरै होउन् भन्न खोजिएको हो।
त्यति बेला जग्गा जमिन प्रशस्त हुन्थे। छोरा नातिको सङ्ख्या बढ्दै गएपछि अंशबन्डा गर्ने क्रममा खेतबारीहरू कित्ताकाट गर्दै जाँदा आयस्ता वा अनाज आम्दानी कम हुँदै जान थालेपछि सन्तानको सङ्ख्या नबढाउने मनस्थिति बनाउनुपर्यो। सरकारले पनि केही दशक अघिदेखि परिवार नियोजनका कार्यक्रमहरू थालनी गर्यो। रेडियोबाट परिवार नियोजन सम्बन्धी जनचेतनाका कार्यक्रमहरू बज्न थाले। सो सम्बन्धमा गाउँ गाउँसम्म प्रचार प्रसार पनि हुँदै आयो।
प्युठानको हालको स्वर्गद्वारी नगरपालिका अन्तर्गत पर्ने भिंग्रीमा चिराबारी भन्ने ठाउँ छ। त्यहाँका बारी हेर्यो भने बाहिरका मान्छे छक्क पर्दछन्। बारीका चिरा धेरै देखिन्छन्। एउटा बारीलाई कति चिरा पारिएको छ भन्ने कुरा रहस्यमै छ। कुनै बखत एक जनाका सन्तान फैलिँदै गएपछि बारीहरू चिराचिरा पार्दै जाँदा यस्तो हुन गएको हो भन्ने कुरा स्थानीय बुद्धिजीवी धनीराम खनालले बताउनुभएको थियो।
चिराबारीलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिने अवस्था पनि छ। ती चिराबारीहरू अवलोकन गर्दा जो कोही पनि अचम्ममा पर्दछन्। स्थानीयलाई त खासै चासो हुँदैन तर बाहिरबाट आउनेहरूले चाहिँ चिराबारी दुर्लभ दृश्यको रूपमा लिन सकिन्छ। पहिले पहिले धेरै सन्तान भए पनि हैजा, बिफर लगायतका महामारीका कारण मान्छेहरू मर्दथे। त्यति बेला घरेलु जडीबुटी बाहेक अरू आधुनिक औषधिको उपलब्धता थिएन।
पुग नपुग क्विन्टल ज्यान भएकी फुपूलाई भारी जीउ भएका कारण थप पीडा भने थियो। गोडाको कमजोरीका कारण शारीरिक परिश्रमबाट वञ्चित हुनु परेपछि उहाँको ज्यान छरितो हुने कुरा पनि थिएन। उहाँ स्वअध्ययन गरेर कतिपय धर्मशास्त्रहरू पाठ गर्न सक्नुहुन्थ्यो। हरेक बिहानको नित्य पूजा गरी नै रहनु हुन्थ्यो, श्लोक र मन्त्रहरू सबै कण्ठस्थ नै थियो। फुपू माइतमा आउँदा फुपाजु र उहाँका साथमा उहाँकी छोरी र छोरा पनि आउँथे। उनीहरूले सुकिला लुगा लगाएको देख्दा हामी लोभिन्थ्यौँ।
दाङको हालको तुलसीपुर उपमहानगरपालिका वडा नं ४ घोरानेटीमा बस्नुभएकी फुपूको घरमा म २०४४ सालमा पहिलो पटक पुगेको थिएँ। घोराही-तुलसीपुर सडकको पश्चिममा पर्ने एक दोबाटोदेखि उत्तरतिर लागेपछि र धेरै बेर हिँडेपछि फुपूको घर आउँछ।
म एकजना नातेदारसँग फुपूको घरमा जाँदै थिएँ। त्यति बेला बाटो पिच थिएन। हिँड्दा मैले छालाका हिलवाला जुत्ता लगाएको थिएँ। त्यति बेला स्पोर्ट जुत्ता लगाउने चलन भर्खरै मात्र आएको थियो। नत्र चाइनिज र भारतीय कपडाका जुत्ताको चलन थियो। घोरनेटीतर्फ हिँड्दै गर्दा मेरो एउटा जुत्ताको हिल फुक्लिहाल्यो। जुत्ता बनाउने मान्छेको घर सोधेर जुत्ता बनाउन गएँ।
त्यसपछि करिब दुई घण्टाको हिँडाइपछि हामी घोरनेटी पुग्यौँ। फुपूले धारामा गाग्री ठड्याएर पानी थापिरहनु भएको थियो। एकछिनपछि फुपूले हामीलाई घरमा लगेर खाना पकाएर खान दिनुभयो। खाना खाइसकेर एकछिन आराम गरेपछि हामी फेरि हिँडेर तुलसीपुरतर्फ लाग्यौँ जहाँ फुपाजुकी दोस्रो पत्नी अर्थात् कान्छी फुपूसँग जीवन बिताउनुहुन्थ्यो।
फुपूको परिवार रोल्पाको जसपुरबाट २०२८ सालमा दाङको तुलसीपुरमा बसाइ सरेपछि एक मात्र छोरी कमलाको अल्पायुमै निधन भएको थियो भने छोरा मधुका परिवारसँगै फुपूले आफ्ना दिनहरू बिताउँदै हुनुहुन्थ्यो। सौतेना छोराछोरीहरूलाई पनि आफ्नै छोराछोरी ठान्नुहुने फुपू लौरोको सहायताले दिनहरू गुजारिरहनु भएको थियो।
तुलसीपुरको घोरनेटीमा जमानामा बनेको अंग्रेजी अक्षरको सि आकारको घर अहिले पनि सुन्दर देखिन्छ। यो घरलाई ‘बाँके घर’ नाम दिइएको छ। फराकिलो आँगन। छेउछाउमा वरपर विभिन्न किसिमका फलफूल र फूलहरूले सजिइरहने सो घरको रौनक भने फुपूको देहान्तपछि फिक्का भएको मैले महसुस गरेको छु।
पहिले जस्तो जसरी घरीघरी फुपूको घरमा गइन्थ्यो अब भने त्यसरी घरीघरी जान पाइँदैन जस्तो लाग्छ। किन कि फुपूको आकर्षण नै बेग्लै थियो।
२०८० फागुन २१ गतेका दिन ७६ वर्षको उमेरमा आफ्नै निवास तुलसीपुरको घोरानेटीमा वहाँको अकल्पनीय निधन भएपछि सारा नाता, कुटुम्ब र छरछिमेक शोकाकुल भएका थिए। मर्नुभन्दा पहिले एक मात्र नातिको विवाह भइदिए हुन्थ्यो भन्ने वहाँको चाहना २०८० मंसिरमा पूरा भयो। नातिको विवाह गरेको चार महिनापछि वहाँले यो संसार छोड्नुभयो। फुपाजु अर्की फुपूसँगै बसेर जीवन बिताए तापनि चाडपर्वमा दुवै फुपूतर्फका सन्तानहरू नजिकिने गर्दछन्।
अन्त्यमा,
व्यक्ति राम्रो भएमा मात्र परिवार आदर्श बन्छ, परिवार आदर्श भएमा समाज बलियो हुन्छ र समाज बलियो भएमा मात्र मुलुक सुदृढ हुन्छ। त्यसैले अधैर्यता, मूर्खता, असंयमता भनेको मनुष्यका लागि घातक तत्त्व हुन्। आफ्नो जीवनलाई सहज र सरल तरिकाले अगाडि बढाउनेतिर लाग्दा मुलुककै लागि उत्तम ठहर्छ।
असल मानिस सधैँ असल रहिरहनु पर्दछ। त्यस्तै असल मानिसमा गनिनु हुने हाम्री फुपूको सम्झना हामीहरूले मात्र होइन, फुपू बाँचुन्जेल उहाँबाट प्रभावित समाजका मानिसहरूले पनि सम्झिनेछन्। समाजका असल मान्छेलाई ‘आँखामा राख्दा पनि नबिझाउने’ भनेर भन्ने चलन अद्यापि छँदै छ। त्यसैले असल सोच र व्यवहारयुक्त सदस्यहरू भएको परिवार संस्कारयुक्त हुनेमा कुनै सन्देह छैन।