अथाह प्रतिभाशाली विद्यार्थीहरूको ठुलो भण्डार भएता पनि नेपालको उच्च शिक्षा चौबाटोमा उभिएको छ। नेपालले धेरैजसो विद्यार्थीहरूको लागि राम्रो अवसरहरू साथै विद्यार्थीहरूको जीवनशैली राम्रो बनाउन नसकेको कारण विद्यार्थीहरूले राम्रो अवसर साथै जीवनशैली राम्रो बनाउन देश त्याग्छन्।
जबसम्म हामीले हाम्रा विश्वविद्यालयहरूलाई बलियो बनाउँदैनौँ, स्तरोन्नति गर्दैनौँ र विद्यार्थीहरूलाई उज्ज्वल शैक्षिक भविष्य देखाउँदैनौँ, तबसम्म हामीले हाम्रा आफ्नै विद्यार्थीहरू साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पनि उच्च शिक्षाको लागि नेपाली विश्वविद्यालयहरूमा आकर्षित गर्न सक्दैनौँ।
अनुसन्धानका गतिविधिहरूमा विद्यार्थीहरूलाई स्थापना गर्दैनौँ र शिक्षक तथा विद्यार्थीहरूलाई देशमै बस्न योग्य वातावरण निर्माण गरेर प्रोत्साहन प्रदान गर्दैनौँ, तबसम्म नेपालले कहिल्यै पनि अन्तर्राष्ट्रिय क्षेत्रमा विकास र प्रतिस्पर्धा गर्न सक्दैन।
शिक्षा र उच्च शिक्षाको अधिकार नेपालको संविधानद्वारा ग्यारेन्टी गरिएको छ। त्रिभुवन विश्वविद्यालय ऐन २०४९ र अन्य समान ऐनहरूद्वारा शासित छ। विश्वविद्यालयहरू विश्वविद्यालय अनुदान आयोगको नियन्त्रणमा छन् जुनमा सुस्त प्रशासनिक प्रतिक्रियाहरू र अपर्याप्त पूर्वाधार सुविधाहरू भएको देख्न सकिन्छ।
अनुसन्धानका अवसरहरू, आधुनिक पूर्वाधार र स्थानीय विश्वविद्यालयहरूले प्रदान गर्ने आकर्षक तलबको अभावका कारण धेरै विद्वान र विद्यार्थीहरू नेपाल छोड्छन्। नेपालका प्रायः विश्वविद्यालयका पाठ्यक्रम सामग्री आधुनिक संसारमा आवश्यक क्षमताहरूसँग मेल खाँदैन। त्यसैले पुरानो पाठ्यक्रमले समस्यालाई अझ खराब बनाइरहेको महसुस गर्न सकिन्छ।
अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्नका निम्ति विश्वविद्यालयहरूमा नियमित परिमार्जनहरू आवश्यक पर्दछ। कम तलब, करियर विकासको लागि थोरै अवसर र राजनीतिक हस्तक्षेपले कलेजहरूलाई अनुभवी शैक्षिक सदस्यहरूलाई कायम राख्न गाह्रो बनाइरहेको छ।
विश्वविद्यालयहरूको कमजोर प्रशासनले नवप्रवर्तन र प्रगतिलाई बाधा पुर्याउने गर्दछ जुन कुरा प्रायः राजनीतिबाट प्रभावित हुन्छ। साथै नेपालमा संस्थाहरू र उद्योगहरूले विश्वविद्यालयसँग सहकार्य नगर्दा विद्यार्थीहरूलाई रोजगारी पाउन र अनुसन्धानको लागि वास्तविक विश्व समस्याहरूलाई सम्बोधन गर्न चुनौतीपूर्ण हुने गर्दछ जुन नेपालको विश्वविद्यालयहरूमा प्रायः देख्न सकिन्छ।
नेपालमा त्रिभुवन विश्वविद्यालयको शिक्षामा व्यापक पहुँच हुनुका साथै देशभर समृद्ध कलेजहरूको व्यापक सञ्जाल छ। त्रिभुवन विश्वविद्यालयले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई प्रमुख सहरहरूमा स्थानान्तरण नगरी उच्च शिक्षा हासिल गर्न सहज वातावरण निर्माण गर्दै आएको छ।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थीहरूको आवश्यकता र मागअनुसार पाठ्यक्रम, भौतिक पूर्वाधार, विद्यार्थीको सुविधा, प्राध्यापक र संकायको विकासजस्ता कुराहरूमा स्तरोन्नति गर्न र आवश्यक परिवर्तन गर्न सक्षम भयो भने नेपालको उच्च शिक्षाका स्तरलाई उकास्न र यसलाई छिटो प्रवर्द्धन गर्न सक्छौँ।
सरकारले प्रतिभाहरूलाई कायम राख्न छात्रवृत्ति, अनुसन्धान अनुदान र रोजगारीका अवसरहरू प्रदान गरेर विद्यार्थीहरूलाई नेपालमा बस्न प्रोत्साहित गर्न सक्छ। फर्कने विद्वानहरूलाई आर्थिक सहयोग वा कर सुविधा प्रदान गर्ने कानुन निर्माण गर्न सके शिक्षित जनशक्तिहरू देशमा फर्कने थिए र यो देश विकाशको लागि एकदमै फाइदाजनक हुने थियो।
विश्वविद्यालयहरूले प्रविधि, पुस्तकालय र अनुसन्धान प्रयोगशालाहरूमा पनि बढी लगानी गर्न आवश्यक छ। अनुसन्धानलाई प्रवर्द्धन गर्ने नीतिहरू साथै नवीन परियोजनाहरूको लागि अनुदान प्रदान गर्ने संयन्त्रको कमी महसुस गर्न सकिन्छ जसको निर्माण उच्च शिक्षा पुनर्जीवितको लागि महत्त्वपूर्ण छ।
उच्च शिक्षामा पूर्वाधारको लागि दिगो कोष सुनिश्चित गर्ने कानुन बनाएर शिक्षाको गुणस्तरमा ठुलो वृद्धि गर्न सकिन्छ। विदेशी विश्वविद्यालयहरूसँग अनुसन्धान साझेदारी र आदानप्रदान कार्यक्रमहरूमार्फत विश्वव्यापी गठबन्धन सिर्जना गर्न सके विद्यार्थीहरूलाई नेपालमा बस्न र सकारात्मक प्रभाव पार्न प्रेरित गर्नेछ।
संकायको मासिक तलबमा वृद्धि साथै संकायहरुलाई नेपालमै उनीहरूको करियर विकासका अवसरहरू प्रदान गर्न सके प्रतिभाशाली नवीन र शिक्षित संकायहरु नेपालमै बस्ने वातावरण निर्माण हुने थियो जसले गर्दा नेपाली विश्वविद्यालयहरू प्रति विद्यार्थी आकर्षित हुने थिए।
काठमाडौँ विश्वविद्यालय र क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसनले सूचना प्रविधिमा स्नातक तहमा सहकार्यात्मक कार्यक्रम जुन दोहोरो स्नातकमा डिग्री सञ्चालन गर्दै आइरहेको छ। जसमा पहिलो दुई वर्षको अध्ययनलाई काठमाडौँ विश्वविद्यालयले समेट्ने र बाँकी दुई वर्षको अध्ययन अस्ट्रेलियामा रहेको क्राउन इन्स्टिच्युट अफ हायर एजुकेसन (सिआईएचई) ले समेट्ने व्यवस्था गरिएको छ।
यस्तो किसिमको नयाँ पाठ्यक्रमहरूको सुरुवात जुनको उच्च माग, आधुनिक संसारमा आवश्यक क्षमताहरूसँग मेल खाने र विद्यार्थीहरू भर्ना हुन इच्छुक भएका सँगसँगै विश्वका अन्य विश्वविद्यालयहरूसँगको सहकार्यले सकारात्मक परिवर्तन ल्याउन सक्छ।
नेपाल विश्वविद्यालयहरूले कलेजलाई सम्बन्धन दिने कुरा सधैँ चर्चामा रहन्छ। हालै राजर्षि जनक विश्वविद्यालयले ६० कलेजलाई सम्बन्धन दिएको थियो र सो सम्बन्धन दिएको केही कलेजको सन्दर्भमा सम्बन्धन दिएको व्यवसायमुखी भएको भन्दै निन्दा गर्नुका साथ रिट निवेदन समेत दर्ता भएको थियो।
विश्वविद्यालयहरूले सम्बन्धन दिँदा गुणस्तर आश्वासन, पाठ्यक्रम अनुपालन, संकाय विकास, पूर्वाधार मर्मत सम्भार, वार्षिक प्रतिवेदन, विद्यार्थी कल्याण, वित्तीय पारदर्शिता आदि कुरालाई ध्यानमा राखी सम्बन्धन दिए पक्कै नै उच्च शिक्षामा सकारात्मक परिवर्तन आउने थियो।
नेपाली विद्यार्थीहरूलाई विश्वसँग जोड्न र विश्वका विद्यार्थीहरूलाई नेपाल पुरानो शिक्षा कानुनहरू परिमार्जन, विश्वविद्यालय स्वायत्तताको सम्मान, नवीनतालाई प्रोत्साहन र समकालीन अनुसन्धानलाई समर्थन गर्ने नयाँ कानुनहरू लागू भए नेपालका विश्वविद्यालयहरूमा प्रगति अवश्य सम्भव छ।
नेपालले उच्च शिक्षा प्रणालीमा विद्यार्थीहरू बस्न र सही सुधारमार्फत आफ्नो भविष्य निर्माण गर्न चाहने गन्तव्य बन्ने साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूसम्म आकर्षण गर्न सक्ने सम्भावना बोकेको छ। सरकारले विश्वविद्यालयहरूमा अझै लगानी वृद्धि गरेर, अनुसन्धानकर्ताहरूलाई सहयोग पुर्याएर र घरेलु सम्भावनाहरू विस्तार गरेर भावी पुस्ताका लागि नेपालको समृद्धि सुनिश्चित गर्न सक्दछ।