लामो समयदेखि हामीले ईश्वरसँग गरेको बिन्ती र प्रार्थनाको सुनुवाइ भएको छ। माघ १० गते धैर्यताको फलस्वरूप परिवारमा मैले नजन्माएको मेरो दोस्रो छोरा बत्ती निभेको घरको उज्यालो बनेर आएको छ। ‘मैले नजन्माएको छोरा’ को यो दोस्रो भाग लेखिरहँदा म अझै पनि उहीँ ठाउँमा छु; सप्तरी जिल्लाको राजविराज, छिन्नमस्ता गाउँपालिका भित्रको एउटा घरको चार कुने कोठा, जहाँ पहिलो भाग लेखेको थिएँ।
२०८१ साल माघ महिनाको ९ गते साँझ राजविराजबाट म रात्रि यात्राका लागि बस चढिसकेको थिएँ। यात्रा गर्दै गर्दा ‘के म यो यात्रामा सुरक्षित छु?’ भन्ने लेखको पुनः सम्झनाले बितेको बखत ताजा गराइदियो। उक्त लेख लेखिसकेपछि मैले यस्ता रात्रि यात्रा करिब ५/६ पल्ट जति गरिसकेको हुनुपर्छ।
फेरि थप अर्को रात्रि यात्राका लागि म पहिलो सिटको कुनामा बसेर यात्रा गर्दै छु। यति बेला फेरि त्यही प्रश्न मेरो मनमा आइरहेको छ, ‘के म यो यात्रामा सुरक्षित छु?’ हरेक पल्टको यात्राको क्रममा मेरो मनमा उजागर हुने यो प्रश्नको अन्त्य सायद सजिलै हुने छैन।
म बसेको सिटको छेउमा एक पुरुषले पहिले नै आफ्नो सिट सुरक्षित गरिसकेका थिए। म अलिकति पछि गाडी चढ्न आइपुगेँ। टिकट लिँदै गर्दा मेरो सहकर्मी जो मलाई गाडीसम्म छोड्न आएका थिए, उनले प्रश्न भावमा सोधेका थिए, ‘सँगै यात्रा गर्ने सहयात्री महिला कि पुरुष?’
टिकट काटिदिने दाइले उत्तरमा, ‘महिला छैनन्, छेउको सिटमा सायद पुरुष नै हुनुपर्छ।’
उनले यति भनी नसक्दै मैले थपेँ, ‘महिला नै भए जाति हुन्थ्यो। कोही छन् भने मिलाइदिनुस्।’
काउन्टरमा भएका अर्का कर्मचारीले थपे ‘बिचतिर चढ्ने कोही महिला हुन सक्छन्, त्यतै मिलाउँला।’
अझ काउन्टरमा टिकट काटिदिने दाइले हौस्याउँदै भन्नुभएको म सम्झन्छु, ‘कराँते आउँछ हैन? कसैले नचाहिँदो केही भन्यो, केही गर्यो भने मुख बजारिने गरी मुक्का दिने।’
यो सुन्दै गर्दा मलाई बढो हौसला मिलेको थियो। यति बात गरिसकेर म आफ्नो सिट सुरक्षित गर्न तर्फ लागेँ।
यो पल्ट कार्यस्थलबाट घर फर्किँदै गर्दा यात्रामा हुन सक्ने अनेकन् जोखिम र घटनाको कता-कता डर र त्यसलाई सामना गर्ने साहस त थियो नै, सँगै अनेकन् प्रश्नहरूले मेरो मनलाई घच्चा नदिएका भने होइनन्। अर्कातिर यात्राभरि एउटा बडो आनन्दको खुल्दुली मेटाइने समयको व्यग्र प्रतीक्षामा थिएँ म।
माघ १० गते गर्भवती भाउजूको शल्यक्रिया र घरमा उज्यालो लिएर आउन लागेको मैले नजन्माएको मेरो दोस्रो सन्तानको आगमन। यति भन्दै गर्दा म करिब एक वर्ष अघि बितेर गएको समय सम्झन्छु। करिब एक वर्ष अघि मैले नजन्माएको मेरो पहिलो छोरा संसारमा आएको करिब ३२ दिन मात्रै हामी माझ रहेर प्रभुको घरमा गएको थियो। त्यो बखत सम्झँदा अझै पनि मेरो मन आत्तिन्छ, दुखित हुन्छ र भक्कानो फुटेर आउँछ। त्यति बेलादेखि मैले माघ महिना मन पराउन छाडेको थिए।
परिवारमा भित्रिन लागेको मैले नजन्माएको मेरो दोस्रो सन्तान हेर्न म खुब आतुर थिएँ। हामीले गरेको प्रार्थनाको सुनुवाइको स्वरूप परिवारमा थपिन लागेको नयाँ सदस्यलाई स्वागत गर्न परिवार तयार थियौँ। पहिलो पल्ट उसलाई आफ्नै हातले समाएर उसलाई स्पर्श गर्ने चाहनाले माघ १० गते बिहान म सिधै थापाथली अस्पतालतिर लम्किएँ।
व्यग्र पर्खाइपछि मध्याह्न १:०५ मिनेट बज्दा हामीले बाबु जन्मेको खबर पायौँ। हर्ष र खुसीका आँसुले मेरो मन निथ्रुक्कै रुझेको थियो। पहिलो पल्ट मेरो बाबुलाई काखमा लिँदा म खुबै आनन्दित भएको थिएँ। साथै उसको स्पर्शले मेरो मन निकै आह्लादित भएको थियो। यसै पनि उज्यालो रूप भएकी मेरी प्यारी भाउजू भर्खरै शल्यक्रिया गरेर अस्पतालको शय्यामा पल्टिएकै अवस्थामा पनि रूपको चमक बिघ्न थियो, म यी कुराहरूलाई शब्दमा बयान गर्न सकिरहेको छैन।
भाउजूको स्याहारमा व्यस्त हुनुभएको मेरो दाइ एकपल्ट फेरि बुबा बन्नुभएको खुसीमा आफ्ना आँखा टिलपिलाइराख्नु भएको मैले चाल पाएकी थिएँ। उता मेरा आमा र बुबा फेरि हँसिलो रूप लिएर जन्मिएको नाति पाएर दंग पर्नुभएको थियो। करिब दुई दिनको अस्पताल बसाइपछि हामी घर फर्कियौँ। हाम्रो सानो बाबुलाई साथै लिएर। मलाई माघ १० सँग फेरि प्रेम भयो। करिब १० दिन जति परिवारको साथमा बसेर पुनः आफ्नो कार्यथलोतिर लागेँ।
गह्रौँ झोला भिरेर शरीर त मधेसतिर हानियो तर आफूसँग भएको एउटा मन भने त्यही सानो मान्छेसँग नै छुटेको थियो। उता मेरी भाउजू हरेक फोन कलमा ‘तपाईं नभएर घर शून्य-शून्य भएको छ’ भन्नुहुन्थ्यो। यो सुनिरहँदा म घर छाडेर हिँडेको वर्षौँ भएछ भन्ने कुराले झल्याँस्स बनाइदिन्थ्यो।
फागुन ११ गते म कार्यथलोबाट घर जाने निधो गरेर यता दिन गन्दै बसिरहेँ। घर जाने र परिवारको साथमा समय बिताउने दिन आउन वर्षौँ कुर्नुपरे जस्तो भइसकेको छ। दिनमा कम्तीमा दुई पल्ट डिजिटल माध्यमबाट मैले बाबुलाई हेरिरहन्छु तर आफूसँगै भए जस्तो, काखैमा समाए जस्तो, हात समाएर उसको स्पर्शमा रमाए जस्तो पटक्कै नहुने। म जति पल्ट भिडिओ कलमा मेरो बाबुलाई हेर्छु त्यति धेरै उ उज्यालिएको देखेर उसलाई भेट्ने मेरो चाहना बढेर आउँछ।
विशेष गरेर यो एक महिना मैले निकै न्यास्रोपनमा गुजारेको छु। बिहान र साँझ खाना खान बसिरहँदा परिवारको खुब याद आउँछ। साँझको हरेक भिडिओ कलमा सधैँ झैँ सबै जना एउटै टेबल वरपर बसेर खाना खाँदै गरेको देख्दा मन खुब न्यास्रिएर आउँछ र एकै निमेषमा घर पुगौँ कि भन्ने लाग्छ। तर व्यवहारिक रूपमा यो सम्भव भएन।
दिनभरि आफ्नो आफ्नो काममा व्यस्त भए पनि हरेक साँझ परिवारका सबै सदस्य सँगै हुन्छन्, सिवाय म।
यो लेख प्रकाशित हुँदासम्ममा त म पनि त्यही टेबलको वरपर आफ्नो हिस्सा ओगटिसकेको हुनेछु, कम्तीमा केही दिनका लागि सही। तिमी सानो मान्छेलाई भेट गर्ने हुटहुटी लिएर व्यग्र पर्खाइमा थिइन् तिम्री फुपू, छिटै भेट्ने आशामा।