केही समय पहिला एक जना दिदीको छोरोलाई केटी खोजिदिनु पर्यो भनेर मसम्म कुरा आइपुग्यो। केटो बिबिएस पूरा नगरेको थियो। यसो विचार गरेँ, मेरै नाता पर्ने एक जना बहिनी जो बिबिए पढ्दै थिई उसैलाई मिलाइदिऊ कि भन्ने सोच आयो र कुरा अघि बढाए। केटीको तिर कुरा चलाएँ अनि केटाको परिवारमा पनि जानकारी गराएँ।
बहिनीलाई यस बारेमा सामान्य जानकारी गराउँदासम्म बहिनी केटासँग कुरा गर्न राजी भई। उनीहरू करिब तीन/चार महिना फोन, म्यासेन्जर सम्पर्कमा रहे र अन्तमा बहिनीको घरमा केटो जाने र घर-परिवारमा सल्लाह गर्ने भन्नेसम्म निधो भयो। मेरी बहिनीले बिबिएसको अन्तिम परीक्षा दिएपछि ऊ घरमा जाने र त्यही समयमा केटो पक्षका पनि बहिनीको घरमा गएर सल्लाह गर्ने कुरा भएको भन्ने मैले पनि जानकारी पाएकी थिएँ।
जब केटा पक्षका मेरी बहिनीको घरमा जाने भन्ने तय भएको समय आयो अचानक मेरी बहिनीले केटा पक्षलाई अहिले नआउनु भन्ने खबर पठाइछन्। यो के भयो लौ बहिनीलाई सोधिदिनु पर्यो भनेर मलाई केटाकी आमाले भनेपछि मैले बहिनीसँग किन केटालाई घरमा बोलाएर फेरि नआउनु भनेको त भनेर प्रश्न गरेँ।
बहिनीले केही बेर मसँग कुरा गरे पनि विवाहको कुरा टुङ्ग्याउन खोजेको मैले सहजै बुझेँ। बहिनी र मेरा बिचमा कुरा भएअनुसार आजकालका पढेलेखेका केटीलाई घर वा अन्य सम्पत्तिभन्दा पनि केटाले आफ्नो भविष्यप्रति राख्ने दृष्टिकोण, उसमा भएको आत्मविश्वास आदिले महत्त्व राख्ने रहेछ भन्ने मैले बुझेँ।
केटाको आमासँग बहिनी विवाहको लागि राजी नभएको भनेर मैले कुरा गर्दा उहाँले भन्नुभयो- ‘अब छोरालाई अमेरिका पठाउने तयारी गर्ने हो। अमेरिकाको भिसा लागेपछि केटीको त लाइन लागिहाल्छ नि।’ यति भनेर फोन राख्नु भयो।
हाम्रो देशको अहिलेको अवस्थाले भिसावाला केटा भए अरू केही चाहिँदैन जनाउँछ। यो समाजको तितो यथार्थ हो तर अहिले पनि यही समाजमा केटो इमानदार, साहसी, दृढ संकल्प भएको र आत्मविश्वासी भएमा श्रीमान् श्रीमतीले मेहनत गरेर नेपालमै केही गर्न सकिन्छ भनी त्यस्तै केटा खोज्ने केटी पनि त होलान् र रहेछन् यो पनि यथार्थ हो।
अहिले नेपालीलाई सजिलो छ भिसा पाएपछि जस्ता केटी पनि पाइन्छन् बस भिसा लगाउने हो। हामीले भिसा पाएर हिँडेकाहरूलाई मात्र देख्ने गरेका छौँ, भिसा नपाउनेहरूको पनि कमी छैन सायद।
मेरा एक जना छिमेकी भाइ जसले भारतबाट सीए पास गरेका छन्। केही समय नेपालमा जागिर पनि गरे अनि लोक सेवाको तयारीमा अर्का एक दुई वर्ष समय बिताए। लोक सेवामा नाम निकाल्न सकेनन् र फेरि नेपालमै पाउने अन्य प्राइभेट जागिरमा पनि मन लगाएनन्। उनले अन्तिम विकल्पको रूपमा अब क्यानडा, अमेरिका वा अस्ट्रेलियाको भिसा पर्खेर बसेका छन्। अमेरिकाको भिसाका लागि अन्य प्रक्रिया सबै पूरा गरिसकेपछि भिसाका लागि अन्तिम प्रक्रिया इन्टरभ्युमा दुई/तीन पटक नै छनौट भएनन्।
इन्टरभ्युमा दुई तीन पटक प्रयास गर्दा पनि छनौट नभएपछि मैले ती भाइलाई ‘अब सधैँभरि भिसा पाउने मात्र एक विकल्प राखेर किन बस्छौ भाइ? उमेरले ३० को हाराहारी पुगेका छौ, अब विवाह गर, दुवै जना श्रीमान्-श्रीमतीले नेपालमै केही काम पनि गर अनि त्यही सिलसिलामा भिसा लागे तिमीहरूको सपना र भरोसाको देश अमेरिका, क्यानडा वा अस्ट्रेलिया पनि जाऊँ तर भिसा मात्र एक विकल्प राखेर बस्दा भिसा लागे त ठिक छ यदि कदमकदाचित भिसा लागेन भने त तिमीमा विचलन आउँछ’ भनी सम्झाएँ।
ती भाइ जस्ता कैयौँ युवाहरू भए विदेश नत्र नेपालमा बिचरा बनेर बस्न रुचाउँछन् तर यहाँ भविष्य देख्दैनन् र पनि दिदीको मन राखिदिन मेरो कुरामा ती भाइ विल्कुल सहमत पनि भए जस्तो गरे र भने, ‘दिदीले भनेको कुरा ठिकै हो तर अहिले केटी के भनेर कसले मलाई देलान्? कम्तीमा भिसा लाग्यो भने त विवाह गर्न पनि त सजिलो हुन्छ नि, भने जस्तो केटी पाइन्छ।’
सीए पास गरेको केटो जसको अहिले एउटी केटी माग्नको लागि वा ऊसँग विवाह गर्ने केटीका लागि केही आधार भएन तर एउटा भिसा झर्दा बित्तिकै जस्तो भन्यो त्यस्ती केटी पाइने कस्तो बलियो रहिछ त्यो भिसा? ती भाइलाई लागेको होला सायद अहिले विवाह गर्दा जस्तो भन्यो त्यस्ती केटी पाउने आधार छैन, कम्परमाइज गर्नु पर्छ। तर यदि भिसा लागेपछि केटातिरबाट कुनै पनि कम्परमाइज गर्न पर्दैन जति कम्परमाइज गर्नुपर्ने हो केटी पक्षले गर्नेछन्।
त्यसपछि मैले ती भाइको आशय बुझेर विवाहको कुरा फेरि दोहोराइनँ। उनी अर्का इन्टरभ्युको लागि समय मिलाउनमै व्यस्त होलान्। सायद छिट्टै भिसा लाग्ला र विदेश पलायन होलान्। यति सास्ती खेपेर भिसा पाएपछि नेपाल फर्कने भन्ने त कुरै भएन।
‘नेपाल गए कपालसँगै बर्मा गए कर्मसँगै’ भन्ने नेपाली उखान पनि छ। राम्रो देशको भिसा लाग्ने सबैको भविष्य हामीले नेपालमा बसेर कल्पना गरेको जस्तो राम्रो नहुन पनि सक्छ। खाडी मुलुकमा काम गर्ने सबैको भविष्य हामीले सोचेजस्तो नराम्रो नहुन पनि सक्छ।
म केटाकेटी छँदा एक जना छिमेकी अंकलले मलेसियामा यस्तो राम्रो कमाइ गरे कि तिनको देखासिकीमा कैयौँ अंकलहरू अप्ठ्यारामा परेको पनि सुनिएको हो। जसलाई विदेश अनुकूल भयो तिनीहरूले खाडी मुलुकमै पनि पैसा कमाए तर जसलाई त्यहाँ पनि अनुकूल भएन उनीहरू बिचल्लीमा परेका थुप्रै उदाहरणहरू पाइन्छन् नै।
अहिले चोर बाटोबाट अमेरिका जानेहरूमा मेरा आफन्तका दुई/चार जना भाइहरू पर्दछन्। उनीहरूसँगै गएका मध्ये अन्यले कमाइ गरेर लागेको ऋण तिरिसक्ने समय भइसक्दा एक जना भाइ बाटोमै कता अलपत्र छन् खबर समेत छैन। घरमा भएको ६०/७० लाख खर्च भइसक्यो। उनलाई घरतिर फर्कने छुट पनि अब रहेन न गन्तव्यमा पुग्न सके।
त्यसैले विदेशलाई अन्तिम विकल्प होइन। अर्का एक विकल्पका रूपमा लिने अनि त्यसमार्फत आफ्नो भविष्य निर्माण गर्ने विषय नराम्रो पनि होइन। तर विदेश नै अन्तिम विकल्प ठान्ने, नेपालमा पाएका सानातिना अवसरहरूलाई बेवास्ता गर्ने सोच नेपाली युवामा तड्कारो रूपमा देखिएको छ।
नेपाली युवाहरू जसोतसो बिदेसिने अवस्था आउनुमा उनीहरूको मात्र कमजोरी भने पक्कै होइन। ती कलिला युवाहरूले विदेशको यात्रामा आफ्नो मात्र भविष्य देखेका छैनन् बरु आफू जसरी त्यसरी त्यहाँ जान पाउने र व्यवस्थापन हुने हो भने आफ्ना सन्ततिहरूलाई आफूले भोगेको कठिनाइहरू भोग्न नपर्ने सम्मका सपनाहरूले बिदेसिनेको लामो लाइन लागेको छ।
नेपालको नेतृत्वले यी विषयहरूमा एकदमै अनदेखा गर्ने गरेका छन्। यहाँ आफ्नो जीवन जेनतेन बिताउन सक्ने नेपाली नागरिक पनि आफ्ना सन्तानको लागि नेपाली भूमि त्याग्न तयार भएका बाध्यात्मक परिस्थितिको सृजना भएको छ। आखिर शासकले पुस्तौँ पुस्ताको समेत भविष्य नदेखिने गरी कस्तो शासन गरेका छन् नेपालमा आम जनतालाई सोच्दा पनि चकित लाग्छ तर नेतृत्वलाई यही कुरा अर्कै लाग्छ। ती बिदेसिनेहरू अल्छी, कामचोर, क्षमता नभएका हुन भनी सजिलै पन्छिने गर्दछन् शासकहरू।
देश विकासको बलियो खम्बा हो जनशक्ति। अन्य देशहरूले यिनै अल्छी, क्षमता नभएका र कामचोर भनिएका नागरिकलाई काम गराएर आफ्नो देशको विकास गरेका छन् तर हाम्रा नेतृत्वले आफ्नै देशमा भएको जनशक्तिलाई काम दिन नसकेर, देशमा ऊ स्वयं र उसका सन्तान दर सन्तानको समेत भविष्य नेपालमै छ भन्ने आभास दिलाउन नसकेका कारण बिदेसिने नेपाली नागरिकको रेमिट्यान्समा लुछाचुँडी गरेर आफूलाई शासक भनी स्व–घोषणा गर्नमै समय व्यतीत गरेका छन्।
नेपालको अहिलेको अवस्था र अबका दशकौँ सम्मको अवस्था हेर्दा लाग्छ म जस्ता कैयौँ नेपालीहरू जनतन नेपालमा आफ्नो जीवन धकेलिगुजारा गरी चलाउनेहरू पनि पछुताउने अवस्थामा छन्। हिजो मेरा अभिभावकहरू विदेश गएको भए आज मेरो जीवन सुखमय हुन्थ्यो, हिजो म बिदेसिएको भए भोली मेरा सन्तानहरूले बिदेसिने नाममा झेल्नुपर्ने दुःख झेल्नु पर्ने थिएन।
आखिर मैले र म जस्ता नेपाली नागरिकले नेपाल नेपाल भनेर यहाँको रुखासुखामा जीवन गुजारेर उपलब्धि के पायौँ? समयअनुसार बढेको महँगीमा पिल्सिएका हामीहरूले हाम्रा सन्तानहरूलाई नेपालमै अडाउन सकेको भए पो हामीले नत्यागेको नेपालको लागि न्याय हुन्थ्यो। अब हामीले नेपाल नत्यागेको सजाय भोग्दै छन् हाम्रा सन्तानहरूले। बाजेले देश नछाडे, छोरोले छाड्नुपर्ने, छोरोले देश नछाडे नातिले छाड्नु पर्ने र नातिले पनि नछाडे पनातिले छाड्नुपर्ने आखिर अन्तिम गन्तव्य विदेश नै हो भने कुन नेपाली बस्छ नेपालमा? यो गम्भीर प्रश्नलाई अनदेखा गरेर अगाडि बढ्ने छुट शासकलाई अब छैन कि जस्तो पनि लाग्दछ।
देशको गन्तव्य जबसम्म सही दिशामा छ भन्ने आभास नेतृत्वले लिएका नीति, भएका विकास निर्माणबाट दिलाउन सकिँदैन तबसम्म यो देश आम नेपालीहरूको भरोसायोग्य छैन र अझै कैयौँ वर्षसम्म पनि देशमा भविष्य छ भनेर हामीले हाम्रा सन्तानहरूलाई सान्त्वना दिलाउन सक्ने उनीहरूलाई नेपालमा बसाउन सक्ने हामी अभिभावकको अवस्था रहने छैन।
त्यसैले देश बनाउने युवा जमातलाई विदेशमा बेचेर आएको रेमिट्यान्सबाट देश चलाउने सपना देख्नुभन्दा ती युवा शक्तिको क्षमता र दक्षतालाई देश विकासमा लगाउने सपना, नीति, योजना, कार्ययोजना निर्माण गरी दीर्घकालीन देश विकासको खाका कोर्न तर्फ शासकको ध्यान जान जरुरी छ नत्र अबको केही दशकमा नेपाल युवाशक्ति विहीन राष्ट्रको रूपमा परिचित हुनेछ र यहाँका शासकले तीनै वृद्धवृद्धामाथि शासन गर्नेछन्।
देशमा भएको सम्भावनालाई नजरअन्दाज गरी देशको बरबर अवस्थाको जिम्मेवार कहिलेसम्म बन्ने? विषय जटिल छ तर चाहे गर्न सकिन्छ। नेतृत्वले यसप्रति जबाफदेही भएर देश चलाउन समयमै विचार गर्ने हो कि। देशमा अलिकति पनि सम्भावना छ भन्ने आभास मात्र दिलाउन सकेको खण्डमा देशमै बसेर जीवन चलाउनेको युवा जमात पनि छ।
समयमै त्यसतर्फ ध्यान दिई कम्तीमा देश सही गतिमा हिँड्दै छ भन्ने गरी सत्ता सञ्चालनतर्फ जिम्मेवार निकायको ध्यान जान जरुरी छ नभए नेपालीले आफ्ना सन्तानलाई साथमा राखेर बाँच्ने आधार यसरी नै गुमाइरहने छन्।