समयमा यसरी बदलाव आएको छ कि आजको पुस्ताका लागि इन्टरनेट आवश्यकता मात्रै नभएर अत्यावश्यकता भएको छ।
अझ जेन जी पुस्ताका लागि इन्टरनेट अक्सिजन बराबर नै मानिएको छ। यो पुस्ताका हरेक गतिविधि र अवयवहरू इन्टरनेटसँगै जोडिएका छन्।
पढ्ने, लेख्ने, घुम्ने, मनपरेको कुरा किन्ने सबैथोकका लागि इन्टरनेट नै मूल निवारणकर्ता भएको छ। डिपार्टमेन्टल स्टोरदेखि लर्निङ्ग सेन्टरको काम अहिले प्रविधिले गरिरहेको छ। आधारभूत आवश्यकताको सूचीमा इन्टरनेट दर्ज भइसकेको छ।
विद्यार्थीले होमवर्क गर्नेदेखि गृहिणीले मिठामिठा परिकार पकाउनेसम्मको प्रशिक्षण इन्टरनेटबाट नै हुने गर्दछ। मनका विरह पोख्ने काम समेत इन्टरनेटले गरेको छ। सियोदेखि हेलिकप्टरसम्ममा समस्या समाधानका इन्टरनेटको भूमिका अहम् छ।
एक महिनासम्म खबरको अत्तोपत्तो नहुँदा पनि सहजै चलेको जीवनशैली सेकेन्डमा झरेको छ। रातरातभर नाटक हेरेर पनि नथाक्ने आँखाहरूलाई एक मिनेटको भिडिओमा अचल राख्न गाह्रो भएको छ।
मान्छेले प्रविधिलाई जवान बनाउँदै इन्टरनेट बनायो अनि यही इन्टरनेटले अहिले मान्छे समेत बनाउन थालेको छ।
एक घण्टासम्म पनि फेसबुक या अन्य सामाजिक सञ्जाल स्क्रोल नगर्नेहरूको संख्या विरक्त लाग्दो छ। यही लेख पनि तपाईंले सरसर्ती एउटै लयमा पढ्नुभयो भने, ‘तपाईं धैर्यवान मान्छे हो भन्ने स्वतः पुष्टि हुन्छ। कुनै पनि प्रयोगशालामा यसको परीक्षण गर्नुपर्ने आवश्यकता रहँदैन। स्थिर मान्छेलाई चञ्चल बनाएको छ इन्टरनेटले।’
हिजो प्रश्न नै प्रश्न बोकेर हिँड्ने बालबालिकाका अनुहारबाट आज प्रश्नवाचक चिन्ह हराएको छ।
जिज्ञासाका मुहान मानिने बालबालिकाहरूबाट जिज्ञासा हराउनु बालापन हराउनु हो, एउटा लोभलाग्दो समय हराउनु हो।
हामी पुस्तालाई बा, आमा अनि दाइदिदी सबभन्दा जान्ने लाग्थ्यो। साना साना कुरा पनि हामीले सोध्थ्यौं र आत्मीयता सहितको जबाफ पनि पाउथ्यौं। तर आजको बालकलाई इन्टरनेट नै सर्वज्ञानी जस्तो लाग्छ। नजानेका कुरा मात्रै होइन आफ्नो जीवनमा आउने समस्या समाधानका लागि पनि आजका बालबालिकाले इन्टरनेटलाई मूल साधनका रूपमा महत्व दिँदै आएका छन्। के तपाईंले ख्याल गर्नुभएको छ तपाईंको घरमा रहेको बच्चाले नजानेको कुरा तपाईंलाई सोध्न छाडेको कति भयो? होमवर्क गर्दा तपाईंलाई नखोज्नुको कारण उसले सबै जानेको भन्ने हो त?
मेरो आफ्नै घरको अनुभव यहाँ सुनाउन चाहन्छु। एकदिन छोराले विद्यालय जाने बेलामा मोबाइल हतार हतार माग्यो। कुनै आपतकालीन काम परे होला भनेर मैले उसलाई मोबाइल दिएँ। उसले के के गर्यो दुई मिनेट मै मोबाइल मलाई फिर्ता दियो।
मैले के गरेको रहेछ भनेर छोरा गइसकेपछि मोबाइल चेक गरेँ। उसले च्याटजिपिटीलाई विद्यालयको होमवर्क गर्न बिर्सियो भने के बहाना गर्दा सर म्यामले पत्याउनुहुन्छ भनेर सर्च गरेको रहेछ।
सोचेँ, ‘अब बाबुआमाको आवश्यकता त केवल भौतिक कुरा पूरा गर्नका लागि मात्रै रहेछ क्या हो’।
हिजो आफ्ना सन्तानले गलत संगत गरेको थाहा हुन्थ्यो र अभिभावकहरू सन्तानलाई गलत संगत गर्नबाट छुटाउँथे। आज बालबालिकाको संगत इन्टरनेटसँग मात्रै छ त्यहाँ उनीहरूले कस्तो कुराहरू हेरिरहेका छन्? या इन्टरनेटमा उनीहरूको कस्तो कुरामा संगत छ भन्ने कुरा थाहा नहुँदा पनि अभिभावकहरू रणभुल्लमा परेको देखिन्छ। हिजो समस्या आउँदा हामी बाबुआमासँग रून्थ्यौं, कराउँथ्यो र बाआमाले वात्सल्यपूर्ण तरिकाले हामीलाई समस्याबाट दुर बनाउनुहुन्थ्यो तर आज समस्या समाधानका लागि बाआमा भन्दा पनि इन्टनरनेट नै मूल आधार भएको छ। इन्टरनेटले बौद्धिकताको अभाव पूर्ति गर्ला तर मान्छेसँग आत्मीयताको आवश्यकता पनि पर्दछ।
आजको समयमा प्रविधिको प्रयोग अनिवार्य नै भएको छ। तर प्रविधिको क्षेत्रमा एआईको प्रवेशसँगै हामीमा धैर्यता भन्ने तत्व हराउँदै गएको छ। कुनै पनि कुरालाई केही समयसम्म प्रतीक्षा गरेर त्यसका बारेमा जीवन्त जानकारी लिनेभन्दा पनि इन्टरनेटकै माध्यमबाट सबै जानकारी लिने र छिटोछिटो लिने भन्ने कुरामा बालबालिका अभ्यस्त हुँदै गएका छन्।
हामी हाम्रा बाबु आमासँग जीवनका उकाली ओराली र भोगाइका कुराहरू निकै सोध्ने गथ्र्यो। उहाँका सुखदुखका कुराहरूले उत्प्रेरित पनि बनाउँथे। उहाँप्रतिको प्रेम र श्रद्धा अझै बढेर जान्थ्यो। साँझ खाना खाइसकेपछि सबैसँगै बसेर कुराकानी गर्ने परम्परा जस्तै थियो। एकअर्काका अनुभवले सबैलाई परिपक्व बनाउँदै लैजान्थ्यो। तर आजका बालबालिकाहरूलाई यस्ता कुनै पनि कुराको चासो छैन। उनीहरूलाई आफ्ना अग्रजहरूबाट जान्ने चाहना पनि छैन। आफ्ना बाबुआमाका संघर्ष र जीवन भोगाइ सुन्ने रहर पनि आजका बालबालिकाहरूलाई छैन। हरेक समस्याको समाधान उनीहरूका लागि इन्टरनेट नै बनेको छ।
कुरो बालबालिकाको मात्रै होइन गृहिणीको चुलोमा पनि इन्टरनेटले नै प्रवेश पाएको छ। आज खानाको परिकार बनाउनका लागि आफूभन्दा जान्नेसँग सोध्नेभन्दा पनि युट्युबमा सर्च गरेर सोही निर्देशन अनुसार पकाउने गरेको देखिन्छ।
के कुरा खाने, कसरी खाने, के कुरा लगाउने कसरी लगाउने लगायतका यावत कुराहरू सबै इन्टरनेट मै आधारित रहेका छन्। यसले खाना बनाउने, लुगा लगाउने हाम्रो परम्परागत शैली हराउँदै गएको पाइन्छ।
आफूले नजानेको कुरा सिक्नका लागि अग्रजलाई सोध्न नपरेपछि घरमा संवादहरू हराउँदै गएका छन्। इन्टरनेटले घरमा सबैलाई मौन व्रत बस्न बाध्य पारेको छ। आजभोलि घरमा सबै एकै ठाउँमा बसेर कुराकानी गरेको दृश्यहरू दुर्लभ हुँदै गएका छन्। इन्टरनेटको दुर्व्यवसनबाट पूरै परिवार आक्रान्त बनेको छ। आवश्यकता अनुसार इन्टरनेट चलाउनु राम्रो कुरा भए पनि हरेकपट इन्टरनेटमै केन्द्रित हुनु दुर्व्यसन नै मानिन्छ।
परिवारमा एउटाका कुरा अर्कोले नसुन्दा अहिले सानो सानो कुरामा पनि डिप्रेसनमा जाने, तनाव लिने समस्या देखिएको छ।
प्रविधिले जतिसुकै कुरा सिकाए पनि यसलाई अब अलि फरक तरिकाले सोच्ने कि! हामी हाम्रो स्वास्थ्यका लागि, आस्थाका लागि अनि आफ्नै मनको शान्तिका लागि व्रत बसेजस्तै सातामा एकदिन इन्टरनेट व्रत बस्ने कि? कुनै बार तोकेर घरमा कसैले पनि इन्टरनेट प्रयोग नगर्ने कि ? यसो गर्न सकियो भने के हुन्छ त?
केटाकेटी घरको आँगन र बार्दलीमा देखिन थाल्नेछन्, बाबु आमासँग कुराकानीमा मस्त हुनेछन्। बालबालिकाले नजानेका कुरा आफ्ना बाबुआमालाई सोध्नेछन्। घरको लाइब्रेरीमा धुलो लागेको किताब टक्टक्याइनेछ। छिमेकीको घरमा को डेरामा बस्न आएको छ भनेर परिचय हुनेछ। खानामा के तरकारी पकाउने घरमा छलफल हुनेछ। साँच्चै हामी फुर्सदिला हुनेछौं।
इन्टरनेटले हाम्रा फुर्सदिला पलहरू खोसेको छ। आफैबाट हामीलाई खोसेको छ।
वास्तवमा हामीले हाम्रो जीवनलाई गहिरो ढंगले नहेरेको कति भयो होला? एकान्तमा सुसाएर आफैलाई आफैले प्रश्न नगरेको कति भयो होला? हामी एकसुरे नभएको कति भयो होला? जब मान्छेले आफैलाई चिन्न सक्दैन। आफैलाई हेर्न सक्दैन। त्यसले बाहिरी दुनियाँ हेरेर मात्रै जीवनको अर्थबोध गर्न सक्दैन। आज जीवनको परिभाषा खोज्दा एआईमा सर्च गर्नुपर्ने किन भयो? जीवनमा सबैभन्दा खुसी भएको पल कुन हो ? किन हामी एकैसासमा भन्न सक्दैनौं?
आजको दुनियाँमा इन्टरनेटको प्रयोगलाई रोक्छु भन्नु सूर्यलाई हत्केलाले रोक्न खोजे जस्तै हो। तर इन्टरनेटको दुरूपयोगलाई भने रोक्नैपर्दछ। इन्टरनेटको प्रयोग आवश्यकतामा मात्रै गर्नुपर्दछ। सधैंभरि यसको प्रयोग गर्ने लतबाट हामी जोगिनै पर्दछ। हामीले आवश्यकताभन्दा बढी कति इन्टरनेटको प्रयोग गर्दछौ त? एकपटक सोच्नुपर्ने देखिन्छ। इन्टरनेटभन्दा पनि बाहिर दुनियाँ छ भन्ने कुरा आजको पुस्तालाई बुझाउनका लागि पनि सातामा एकपटक म इन्टरनेटबाट अलग रहन्छु भन्ने प्रण गर्नुपर्ने देखिन्छ। तपाईंले पनि यसको सुरूआत गर्ने कि? मैले चाहिँ सुरूआत गरिसकेको छु है।