त्रिभुवन विमानस्थलसम्म पुग्दाको खुसी हवाईजहाजमा बसेपछि रहेन। मैले देश छोड्दै छु भन्ने पीडाले मन भारी बनायो। खुट्टा कम्ता कापेको थिएन त्यस बखत। आजभन्दा १० वर्ष पहिलाका दिनहरू सम्झिन समेत मन लाग्दैन।
अल्लि अघि ‘सोचेझैँ जिन्दगी रैनछ’ भन्ने गीत सबैले सुने। म त अझै प्रदेशमा भन्ने शब्द राखेको भए हुने भन्ने सोचमा छु। जीवन सोच झैँ नहुने प्रदेशमा हो। आफ्नो देशमा सोचे झैँ जीवन बनाउन नचाहेर प्रदेशमा आएको म र हामीलाई साँच्चिकै प्रदेशमा जीवन सोचे झैँ हुँदै हुँदैन।
बालापनले छाडेपछि खर्च बढ्दै गयो, आफ्नो खर्च धान्ने रोजगारी थिएन, गाउँघरमा हल्लेर खाएको छ भन्नेले वाक्क पारे, परिस्थितिले धुरुक्कै रुवायो अनि मनमा विचार पलायो कि यो देश छोडौँ, ढुक्कले बसौँ, मज्जाले पैसा कमाऊँ अनि भविष्य उज्ज्वल बनाऔँ। हो, एक दशक पहिला यही भावनाको जन्म भएपछि म तल्लाघरे रामे र पल्लाघरे घनश्यामले ८ कक्षा नै नपढी बिदेसिएर लाखौँ कमाएको हिसाब गर्न थालेँ।
एकाएक आफ्नो मनमा पनि ठुला-ठुला सपनाहरू बुन्न थालेँ। सपनाका महल खडा भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्दा मन बहकिएको थिएन। मन खुसी नै थियो। जिन्दगी सोचेझैँ बनाउँछु भन्ने नै लागेको थियो।
जीवनको भोगाइले सबै कुरा व्यर्थ देखायो। सँगैका आमा-बुबा, परिवार र दौँतरीदेखि टाढा हुनुको पीडा थाहा भयो। नयाँ देश, नयाँ परिवेश अनि नयाँ रहर र सपनाको कुनै मेल भएन। आज १० औँ वर्ष पार गर्दा पनि आमाबुबाको काख छोड्नुको पीडाले छोडेको छैन। परिवार र दौँतरीको यादहरू पैसाले मेट्ने रहेनछ।
त्रिभुवन विमानस्थलको कोलाहल, रुवाबासी कानमा अझै गुन्जिरहेको छ। आफूले पैसा दिएर आफैलाई बेचेको रहेछु भन्ने अनुभूति अहिले भइरहेको छ। के दिन के रात सबै एउटै लाग्छ। दिन र रातको परिभाषा सूर्यको उदय र सूर्यास्त मात्र रहेनछ। मन भित्रको सूर्यको पनि उदय हुनु पर्ने रहेछ।
आमाबाबुको काख छोड्नुको पीडा एकातिर छँदै छ, देशको सीमा नाघ्दै गर्दा पैताला कम्ता काँपेन। त्यो दिन सम्झनै मान्दैन मन। आफै बेचिएको अनुभूति भएका बेला खुब धिक्कार लाग्छ, देशको हालत र सरकारवालाहरूको चाल सम्झेर अझै मन खिन्न हुन्छ।
गएकै २ घण्टापछि सुरु भएको काममा आफू यसरी खटिनु पर्थ्यो की बारबार आफूलाई प्रश्न गर्थेँ- म पनि मान्छे नै हुँ हैन र? होइन होला! मान्छे त म देशमा थिएँ, अहिले त प्रदेशमा छु। फेरि चित्त बुझाउँथेँ। दिनभरिको थकानले लखतरान भएको शरीरसँग थोरै श्वास चाहिँ कोठासम्म ल्याउन पाउँथेँ।
कोठामा आउने बित्तिकै 'आमा आज म खाना खान्नँ, ओछ्यानबाट उठ्दै उठ्दिनँ' भनी घुर्की लगाऊँ झैँ लाग्थ्यो। तर कोठाका भित्ता मलाई देखेर हाँसिरहेको हुन्थ्यो, ढोकाले त कैयौँ पटक गिज्याएको पनि छ, बन्द गर् मलाई अनि चिच्या भन्दै। फेरि श्वास थाम्नै पर्ने गाँसकै लागि शरीर घिसार्नु बाहेक विकल्प नै हुन्थेन।
१२/१५ घण्टासम्म गधाले झैँ खटिएको शरीर राति सुतेपछि लास जस्तो अचेत भइदिने। नेपालबाट भित्र्याउँदा पढेलेखेको छस् भन्दै आफन्तले देखाएको प्रलोभनको बयान गर्न तिर लागिनँ। न बिरामी भन्न पाइयो न गाह्रो भो भन्न पाइयो, न जाडो गर्मी, अझ देशमा चाडबाड आउँदा र आफूलाई उही १२ घण्टे ड्युटीमा दान गर्नुपर्दा आँखाले पलपल घर, गाउँघर सम्झेर परेलीले बाँध फुटाउँथे, परदेशमा सम्झना मनैमा भन्ने न हो। अनि आफ्नै मनले भन्ने गर्छ ‘सोचेझैँ रैन छ परदेशीको जिन्दगी।’
दिनभरिको थकानले लखतरान परेको शरीरलाई सम्झाउँदै मनले भन्छ, तैँले पाएको दुःख तेरो सन्ततिले नपाओस्। अनि कल्पना गर्न मन लाग्छ कास मेरो देशले मजस्ता लाखौँ युवा लखेट्न नपरेको भए, देशमा रोजगारीको सृजना गरिदिएको भए, यति पसिना आफ्नै देशमा बगाउन पाएको भए मन त बुझ्थ्यो।
विदेश गयो, टन्न पैसा कमाएर ठुलो मान्छे बन्यो, हामीलाई अब किन सम्झन्थ्यो!- आफन्त र साथीभाइले बारबार घोचिरहेका हुन्छन्।
नेपालबाट आउने बेला म टन्न पैसा कमाउँछु भनेर आएको हुँ। उनीहरूले त्यो शब्द सुनेका छन्। नघोचुन् पनि कसरी? मेरो फुर्सद हुँदैन, मैले पैसा पनि कमाएको छैन भन्ने कुरा उनीहरूलाई म कसरी सुनाऊँ। र त उनीहरूले घोचेको कुरालाई अन्यथा लिएकी छैन।
गाउँ घरको हालखबर सोध्नु पहिला २/४ लाख पठाइदिने प्रस्ताव आउँछ। आफूले गर्न लागेको कामको बेलिबिस्तार लगाउँछन्। गाउँको हालखबर सोध्नुपूर्व नै पैसा नदिने बहाना बनाएको आरोपसहित फोन डिसकनेक्टेड हुन्छ। मेरो हालत सोध्ने मेरी आमाबाहेक बा पनि कहिल्यै भएनन्।
न साथीभाइ आफ्ना भए, न आफन्त आफ्ना रहे, न परिवारलाई रङ्गिन बनाउन सकियो न आफ्नो भविष्य अडिग बनाउन सकियो। अब गाउँघर पनि गाउँघर जस्तो लाग्नै छोड्यो। जसोतसो आफूलाई सम्हालेर विदेशमा नै रमाउने बानी पारे भनौँ या बाध्यता। यही नै हो परदेशीको पीडा।