ऋति फाउण्डेसनले २०७६ सालदेखि हरेक फागुनमा विचारको उत्सव ‘कर्णाली उत्सव।। कुडा कर्नालीका’ मनाउँदै आएको छ। पाँचवटा संस्करण सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालको किनारमा सम्पन्न भयो भने छैटौं संस्करण यही फागुन ५, ६ र ७ गते सिटी हलको आँगनमा आयोजना भयो।
पाँच वर्षसम्म निरन्तर आयोजना गरिएपछि धेरैलाई यस उत्सवले सार्थकता पाउँदै गएको महसुस भएको छ। उत्सवको माध्यमबाट कर्णालीलाई चिन्ने र चिनाउने अभियानमा धेरै नै सहयोग पुगेको छ। उत्सवले कर्णालीको पहिचान केलाउँदै यहाँका मानिसहरूको आत्मबल बढाउने काम गरेको छ।
कुनै पनि मुलुकको समृद्धिका लागि त्यहाँको राजनीतिमात्र महत्वपूर्ण हुँदैन। समाजका विविध आयामहरूको विकास हुन सकेमात्र देश विकास हुने हो। कुनै पनि देश समृद्ध हुन त्यहाँको संस्कृति सबल हुनुपर्छ। त्यहाँको सद्भावना मजबुद हुनुपर्छ। राजनीतिक रूपमा विभाजित समाजलाई जोड्ने भनेकै संस्कृतिले हो। किनभने संस्कृतिले समाजमा गहिरो गरी जरा गाडेको हुन्छ। सबल संस्कृति नै सभ्यताको आधार हो। र, सभ्य समाज यसै पनि सद्भावयुक्त हुन्छ र हुनुपर्छ।
हामीलाई थाहा छ— समाजले नै हो हामीलाई निखार्ने। विभिन्न समय र सन्दर्भमा अवलम्बन गरिएका सामाजिक अभ्यासले नै हामीलाई परिष्कृत बनाउँदै लैजाने हो। यद्यपि समाजमा ‘हुन्छ’ र ‘हुँदैन’ को रस्साकस्सी सधैं चलिरहन्छ। ‘भयो’ र ‘भएन’ को संघर्ष भइरहन्छ। त्यसैले हो हामीलाई अघि बढाउने। अडिग बनाउने।
कतिलाई लागेको होला कुरा गरेर केही हुँदैन। तर हाम्रो विश्वास छ कि कुरा नगरी केही हुँदैन। एकैनासे पद्धतिमा हुर्केको मानिसलाई अर्कोथरी कुरा पनि हुन्छ भन्ने कुरा पत्याउनै कठिन भएजस्तै हामीले २०७६ सालमा यस्तो विचार उत्सव आयोजना गर्दा धेरैलाई कुरा गर्ने पनि उत्सव हुन्छ भन्ने लागेको थियो।
भनिन्छ- बेथितिबीच हुर्केकालाई बेथिति नै रीत हो जस्तो लाग्छ। अरूका कुरा त्यति प्रभावकारी लाग्दैनन्। यद्यपि अरूसँगको अन्तर्क्रिया नहुँदा समाज गतिशील बन्न सक्दैन। विचारको मन्थनले मात्रै राम्रो र नराम्रो पत्ता लाग्ने हो। अतः अन्तर्क्रिया नै समाज विकासको वैज्ञानिक विधि हो। आज हामीले जे जति उपलब्धि हासिल गरेका छौं, ती सबै सामाजिक संवादका प्रतिफल हुन्।
हामीले मानव विकासलाई केलाउने हो भने कुराकानीको सर्वथा महत्व छ। भाषाको विकास भनेकै कुराकानी गर्ने माध्यमको विकास हो। भाषाबाहेक अन्य विषयको विकासमा पनि कुराकानीकै योगदान छ। तर्कशास्त्र, दर्शन, विधिशास्त्र वा अन्य जुनसुकै विधाको विकास हेर्ने हो भने त्यसको आधार कुराकानी भएको पाइन्छ। विज्ञानसम्मत सामाजिक शास्त्रको विकासमा कुराको धेरै महत्व छ।
कसैले केही कुरा व्यक्त गर्छ, त्यसमा अर्कोले खण्डन वा समर्थन गर्छ। धेरैले विचार प्रकट गरेपछि त्यो परिष्कृत हुन्छ। र, सिद्धान्त बन्छ। त्यसले समाजलाई दिशानिर्देश गर्छ। सिद्धान्त बदलिन्छ पनि।
मेरा एक जना मित्रले उत्सवबारे असन्तुष्टि जाहेर गर्दै झन्डै १५ मिनेट बोले। त्यसपछि मैले भनें- यो पनि त कुरै हो। मानिसले कुरै गरेर हो ‘सन्तुष्टि’ वा ‘असन्तुष्टि’ प्रकट गर्ने। कुरा नै ‘सहमति’ वा ‘असमहति’ प्रकट गर्ने माध्यम हो।
हामी जान्दछौं- प्रभावशाली दर्शन वा सिद्धान्त पनि कुरै हुन्। देश बनाउने योजना पनि कुराका ठेली हुन्। संविधानका धारा वा कानुनका दफा नै किन नहुन्, ती सबै कुरा हुन्। यतिसम्म कि मानिस सपनामा पनि कुरा गर्छ। अझै चराचर जगतका कुराबारे हामी धेरै नै बेखबर छौं।
राजनीति र समाजमा कुराको प्रभाव अचम्मको छ। ‘कुरा गरेर केही हुँदैन’ भन्नु पनि कुरै हो। के राजनीतिक दलका घोषणा पत्र कुराका ठेली होइनन्? मैले चुनाव जितेँ भने- ‘यस्तो गर्छु, उस्तो गर्छु’ भन्ने नेताका भाषण र प्रतिबद्धता कुरा होइनन्? अतः कुराभन्दा पर मैले केही देखेको छैन। हामीलाई दृढ विश्वास छ कुरा नै समाज विकासको सूत्रधार हो। त्यसैले हामी अविचलित यो कुराकानीको श्रृङ्खला आयोजना गरेका छौं। कुराकै उत्सव मनाएका छौं।
कुराकै वरपर कुरा गर्दा पनि कुरै गर्नुपर्छ। हामीले जानेका छौं- एक जना शिक्षकले कक्षाकोठामा ‘कुरा’ पढाउँछ। र, आफूले जानेको अरूलाई सिकाउँछ। एक जना वकिलले अदालतमा ‘कुरा’ नै बहस गर्छ। र, आफूलाई प्रमाणित गर्न खोज्छ। अखबारका पानाभरी कुरैकुरा छापिएको हामीले पढेकै छौं। सामाजिक सञ्जालका भित्तामा लेखिने लाइन कुरै हुन्। कसैलाई कोही किन मनपर्छ? कसैलाई कोही सुन्न वा पढ्न किन रूचाउँछ? के कुराको कुनै स्थान छैन?
एक जना नेताले जनतासामु कुरै गरेर माग्ने हो- ‘भोट’।
कुरा राजनीति मात्र पनि होइन कुरा अर्थशास्त्र पनि हो। नेपालमा बर्सेनि सबभन्दा धेरै नाफा गर्ने संस्था ‘कुरा गर्ने कम्पनी’ हुन्। नेपाल टेलिकम वा एनसेल। नेपालमात्र होइन संसारभर कुरा गर्ने वा गराउने संस्था सबभन्दा धनी छन्। अतः कुरा अर्थतन्त्रको आधार पनि हो। यदि कुरै हुँदैनथ्यो भने सोचौं त- के हुन्थ्यो!
एउटा कुखुरीले कसरी भाले वा चल्लासँग सम्वाद गर्छे। भालेलाई कसरी समागमका लागि आह्वान गर्छे। वा चल्लालाई कसरी खाना भेटिएको संकेत गर्छे। मृग मृगिणी कसरी प्रेम वा सुरक्षाका कुरा गर्दा हुन्? ढुकुरका जोडीको प्रेमालापमा के कुरा हुन्छ होला? के कुरा बिनाको जीवन र जगत हुनसक्छ?
कुरामा धेरै तागत छ। हामीले ‘तरबारभन्दा कलम ठूलो’ भनेर त्यसै वादविवाद गरेका होइनौं। कलमले लेख्ने पनि कुरा नै हो। मानिस कुरैले खुसी हुन्छ, कुरैले निराश पनि हुन्छ। हामी कुरैले हाँस्छौं, कुराले नै हामीलाई रूवाउँछ। के कुरामा तागत छैन? के कुरामा मानवीयता छैन? मानव हुनुको भाव छैन? तब हामी किन भनिरहेछौं कि कुरा गरेर कामै छैन? अतः कुरा मनोविज्ञान हो। मानिस मस्तिष्कको सर्वोच्च अभ्यास हो।
कुरा समाजशास्त्र हो, मानवशास्त्र हो। गीत संगीतमा पनि कुराकै कुरा गरिएको हुन्छ। केही मिठो बात गर। यो कुराकै आह्वान हो। कुराकानी वा गफगाफ समाजका विशेषता हुन्। डिग्री लिँदाका थेसिस के कुराकै सिलसिलेवार फेहरिस्त होइनन्? अतः मानव समाज कुरै कुराको समुच्चय हो। कुरा बिनाको समाजको परिकल्पना पनि सम्भव छैन।
कुराको लय वा भाव हुन्छ। कुरामा मिठास र खल्लोपना हुन्छ। कुरैमा हुन्छ स्वीकार्ने र नकार्ने तागत। कुरैले कसैको नङ्ग नाडी गलाउँछ। कुराले नै हो कसैको मनमा ‘गुलाब फुल्ने’। कुरैले हामीलाई घोर राष्ट्रवादी वा आस्तिक बनाउन सक्छ। कुरैले कसैलाई अघोरी वा नास्तिक पनि। कुरा नै ‘म’ लाई ‘म’ बनाउने साँचो हो। कुरैले हो कोही कठोर हुने वा पग्लिने। प्रेमपत्र र घोषणापत्र दुबै कुराका कुटुरा हुन्। र, यो भन्दा पर समाज छ भन्ने लाग्दैन। अतः कुरा साहित्य हो। इतिहास हो।
‘भेटेर कुरा गरौं’ वा ‘भो कुरै नगरौं’ भन्न पनि कुरै गर्नुपर्छ। कुरा बोलेर वा नबोलेर पनि हुन सक्छ। तर कुरा चाहिँ हुन्छ, हुन्छ। भनिन्छ नि मौनतामा पनि सम्वाद हुन्छ। मैले किताबमा पढेको हरफ हो- ‘उसले लाजले खुट्टाको चोर औंलोलाई बुढी औंलोले छोपी’। के पुस्तकका पानामा लेखिएका निर्जीव अक्षर र पाठकबीच सम्वाद नहोला? उसले खुट्टा बजार्यो, अनि पिँठ फर्काएर हिँड्यो। के यसबाट बुझ्न सकिन्न र- उ रिसायो! भाषाको विकास मानव विकासको सर्वोच्च उपलब्धि हो। त्यही भाषाले नै हो हामी सबैलाई जोड्ने। र, कुरा भाषाको अभिव्यक्ति हो। भाषाशास्त्र हो।
यदि बोली र भाषा हुँदैनथ्यो र हामीबीच सम्वाद हुँदैनथ्यो तब मात्र भन्न सकिँदो हो- कुडा गरिकन क्या हुँदो हो?
मैले यहाँ प्रस्तुत गरेका विचार पनि कुरै हो। यहाँहरू मेरा कुरा ध्यान दिएर पढ्नुभएको छ, सुन्नुभएको छ। परख गर्नुभएको छ। र, मनन गर्नुभएको छ कि म कुराको पक्षमा छु। कुरा गर्नु र हुनुको पक्षमा छु। कुरा नै लोकतन्त्रको सार हो। कुरै नहुने समाजमा लोकतन्त्र हुँदैन। लय हुँदैन।
(मध्यपश्चिम विश्वविद्यालयमा द्वन्द्व र शान्ति अध्ययन विषयका उपप्राध्यापक लम्साल ऋति फाउण्डेसनका संस्थापक अध्यक्ष तथा ‘कर्णाली उत्सव।।कुडा कर्नालीका’का संयोजक हुन्।)