‘नयाँ सरको नाम सबैले ओली, ओली भन्छन्। खास नाम के हो सर?’ हाजिरी रजिष्टर पल्टाउँदै उनले भने।
मैले उनको हातमा लोक सेवाको सिफारिसपत्र थमाउँदै भनेँ, ‘मेरो नाम पूर्ण ओली हो सर। बाँकी कुरा यसमै छ।’
पत्र उनले हेर्दै नहेरी मलाई नै फर्काइदिए र खिरिलो स्वरमा हाँस्दै भने, ‘मलाई त सर भनेर लाजमर्नु बनाइदिनु भयो हजुरले। म त यस अफिसको जाबो पिउँसो हुँ। अर्थात् पिउन्। उहीले पढ्ने बेलामा गुच्चा खेलेर बिताइयो। अक्षर चिनको भए पो सर भनिमाग्नु।’
‘घर कता रे सरको?’
‘रुकुम।’
२०५७ सालको साउनमा वाणिज्य विभागमा खुट्टा हालेको दिनमा त्यहाँका एक कर्मचारीसँग भएको वार्तालापको अंश हो यो। मेरो लागि सरकारी जागिरको पहिलो दिन भएकोले म धुकचुकाइरहेको थिएँ, आत्तिइरहेको थिएँ।
वाणिज्य विभागका तत्कालीन महानिर्देशक हुनुहुन्थ्यो कृष्णहरि बाँस्कोटा। उपनिर्देशकहरू मोतीशोभा श्रेष्ठ र हृषिकेश पौड्याल हुनुहुन्थ्यो भने शाखा अधिकृतहरूमा गोविन्दप्रसाद सुवेदी, गजबहादुर राना, भागवत खनाल, प्रेमप्रसाद घिमिरे, देवीप्रसाद थपलिया, आदि हुनुहुन्थ्यो।
कार्यालय सहयोगीहरूमा बिदुर चौलागाई, पूर्णबहादुर आले, गोपाल च्यामे, कृष्णबहादुर खडका, रामप्रसाद शर्मा, आदि थिए। मध्यपानले चौबीसै घण्टा रल्लिरहने हुँदा रामप्रसादले चौबीस 'घ' को उपनाम पाएका थिए। अधिकांश कार्यालय सहयोगीहरू स्थायी थिए।
पहिलो दिन परिचयमै बित्यो। महानिर्देशक कृष्णहरी बाँस्कोटाले इमान्दारिता, सदाचारिता, कर्तव्यपरायणता तथा नियमितताको बारेमा बताउनुभयो।
मसँग सुरु परिचय माग्ने वाणिज्य विभागका कार्यालय सहयोगी बिदुर चौलागाई रहेछन्।
झन्डै आफ्नै उमेरका, आफ्नै आकृतिका र आफ्नै स्वभावका भएको हुँदा बिदुरसँग झ्याम्मिन बेर लागेन। उनको बोली जति छरितो थियो, त्योभन्दा बढी छरितो उनको काम हुन्थ्यो। वाणिज्यका विभिन्न शाखाहरूमा अलगअलग कार्यालय सहयोगीहरूको व्यवस्था भए पनि केही काम परे बिदुरलाई नै बोलाइँदो रहेछ।
उनी घरी महानिर्देशकको कार्यकक्षमा, घरी प्रशासन शाखामा, घरी फर्म दर्ता र नवीकरण शाखामा गरेको दौडधुप हेर्नलायक हुन्थ्यो। कर्मचारीहरूलाई चिया खुवाउन उनी नै कुदिरहेका हुन्थे। फाइलहरू खोज्न र घुमाउन उनी नै कुदिरहेका हुन्थे, मानौँ यसरी नकुदे बस छुटिसक्नेछ, पहिरोले छोपिसक्नेछ।
दिउँसोतिर मेरो कार्यकक्षमा आएर उनले मलाई सोधे, ‘सरलाई के खाजा मन पर्छ कुन्नि? आज त खिर खुवाउने पालो छ।’
म खिर भन्नेबित्तिकै भुतुक्कै मर्ने मान्छे। पहिलो दिनकै खाजामा खिर पाइने भएपछि भनेँ, ‘मलाई खिर मन पर्छ। अरू के-के बन्छ?’
‘कर्मचारीहरूको लागि हप्ताको प्रत्येक दिन आइटम फेरी फेरी खाजा खुवाउने चलन छ सर। आज खिरको पालो, भोलि हलुवाको पालो, पर्सि सुख्खारोटी र चटनीको पालो, निपर्सि पुरीतरकारीको पालो। महिनाभर खाएको दिनको १० रुपैयाँको दरले प्रत्येक कर्मचारीले २५० रुपैया तिर्नुपर्छ। यसबाट मलाई एकसुको फाइदा छैन। यदि रुटिनअनुसारको खाजा खान मन नलागे गेटमै क्यान्टिन छ। त्यहाँको पनि मन नपरे बाहिर लहरै खाजा पसलहरू पनि छन्। सरलाई जे मन पर्छ भन्नुहोला, एक सेकेनमै सरको टेबुलमा आइपुग्छ।’
उधारोमा अफिसभित्रै पाक्ने खाजा छोडेर बाहिरको खाजा कसले खाओस्? मैले बिदुरलाई अफिसमा जे पाक्छ, त्यही खाने कुरा बताएँ।
भोलिपल्ट उनी फुर्सदको समयमा आएर मलाई भने, ‘सर अलि सोझो हुनुहुँदो रहेछ। अफिसहरूमा सोझोलाई नै सेकेन-सेकेनमा पेल्छन् सर। हदभन्दा बढी सोझो नहुनुहोला।’
अर्को दिन आएर भने, ‘सरको डेरा निकै टाढा रहेछ। अफिसमा थुप्रै साइकलहरू छन्, माग्नुहोला।’
‘तर मलाई त साइकल चलाउनै आउँदैन, बिदुरजी।’
‘साइकल त एक सेकेन्डमै सिकिन्छ नि! शुक्रबारको दिनमा बुझेर लैजानुहोस् शनिबार दिनभरि डेराको वरपर चलाउनुहोस्। आइतबारदेखि त सरले अफिसमै ल्याउन सक्नुहुन्छ।’
उनले नै साइकलको मागफाराम भरिदिएर बिहीबारको दिनमा हाकिमबाट स्वीकृति गराइदिएछन्। त्यसै दिन उनले मलाई साइकल बुझ्न लगाए। त्यस रात साइकल बिदुरकै हातमा रह्यो। उनी दुई बच्चाबच्ची र श्रीमतीसहित अफिसमै बस्दथे। आफ्नो जिम्मामा आइसकेको साइकल हराउने हो कि भन्ने चिन्ताले म त्यो रातभर सुत्न सकिनँ।
भोलिपल्ट शुक्रबार उनले नै भने, ‘सर आज सबेरै बिदा हुन्छ। हजुरको कोठासम्म मै साइकल पुर्याइदिउँला।’
त्यस बेलुका उनले नै मैले बुझेको साइकल मेरै डेरासम्म पुर्याइदिए। जागिरे जीवनमा साइकल पाइएको दिनजस्तो खुसी कहिल्यै मिलेन मलाई। साइकल देखेर देवकुमारी र केटाकेटीहरू पनि रमाए। भदाहा सुशील र साला बिनाराम झन् रमाए। सानोठिमीमा मेरो साइकल हेर्नेको भिड नै लाग्यो।
शनिबारको दिनमा सानोठिमी क्याम्पसको खुल्ला चौरमा पुगेर दिनभर साइकल सिकेँ। साइकल सिक्न र सिकाउन केटाकेटीहरू पनि मसँगै पुगेका थिए। सुशील र परिशीलनले त त्यसै दिनमा साइकल चलाउन सिकिहाले। छोरा परिशीलनले साइकल खुर्र चलाएको देखेर प्लेन नै उडाएको जस्तो गौरवानुभूति भयो।
त्यो हप्ताभर बिहान बेलुका गरेर साइकल सिक्ने प्रयास गरेँ।
अर्को आइतबार बिहानै बिदुर आफ्नो साइकल लिएर मेरो डेरामै आइपुगे र भने, ‘सर, अफिस टाइममा सडकमा साइकल चलाउन गाह्रो हुन्छ। बिहानै जाऊँ। खाना मेरैमा खानुहोला। तपाईँको पछिपछि म आउँछु।’
म डराउँदै साइकलमा बसेँ। बिदुर पछि लागे। फाट्टफुट्ट गाडीबाहेक बाटो खाली थियो। मैले लकपकिँदै साइकल चलाउँदै गएँ। दुई/तीन ठाउँमा साइकलबाट पछारिँदा बिदुरले नै आएर उठाउँथे र फेरि चढ्न उक्साउँथे। १५ मिनेटमा नै अफिस पुगियो। आफैले साइकल चलाएर ओली सर आउनुभयो भनेर बिदुरले नै प्रचारप्रसार गरिदिए। मलाई बधाईको ओइरो थामिनसक्नु भयो।
बेलुका ६ बजेतिर बाटो खाली भएपछि मात्र बिदुर र म आआफ्नो साइकलमा कोटेश्वरसम्म पुग्यौँ। कोटेश्वरबाट मलाई बिदाई गर्दै बिदुरले भने, ‘अब नडराएर सर ढुक्कले जानुहोस्। यसरी नै बिहान बेलुका अफिस आउनेजाने गर्नुहोला। केही हप्तापछि त सर साइकलको उस्ताज भइहाल्नुहुन्छ।’
म साइकलमा बिहान बिहान अफिस जान थालेँ। म आठ बज्नु पहिल्यै अफिस पुगिसकेको हुन्थेँ। बिदुर भने म पुग्दा आँगन सफा गरिरहेका भेटिन्थे। कहिले गमलामा पानी हालिरहेका, कहिले झ्यालढोका सफा गरिरहेका त कहिले भुइँ पुछिरहेका हुन्थे। उनलाई कसैले अह्राउनु पर्दैनथ्यो। खुरुखुरु आफै गर्थे।
एक दिन भनेँ, ‘बिदुरजी यो अफिसमा ७/८ जना कार्यालय सहयोगीहरू छन्। तपाईँ मात्र एक्लै चौबिसै घण्टा किन खटिनुहुन्छ?’
‘अरूलाई काम अह्राइसक्नु भए पो! मैले गरिनँ भने अफिस त भैँसीगोठजस्तै हुन्छ। हाकिमसाबले इफइमहरूमा वाणिज्यलाई सबैभन्दा सुन्दर र सफा अफिस बनाउने प्रतिबद्धता गर्नुभएको छ।
‘तपाईंले यसरी दिनरात मरेर काम गरेको एक्स्ट्रा भत्ता पनि पाउनुहुन्छ त?’
‘कसले दिनु सर मलाई भत्ता? मलाई भत्तासत्ता चाहिएको पनि छैन। मेरो परिवारलाई अफिसले क्वाटर दिएको छ। यही नै मेरो लागि ठुलो भत्ता हो। मैले यस अफिसलाई आफ्नै घर सम्झेको छु सर।’
म नाजवाफ भएँ। बाँस्कोटा सरको चकचकी त बिदुरको हातमा पो निर्भर रहेछ।
उनले दिउँसो पनि आफ्नो शाखाको कामको अतिरिक्त सबै शाखामा पुगेर जमेको मैलो तत्कालै सफा गर्थे। कतै एक टुक्रा कागज खसे पनि टिप्दै हिँड्थे। फोहोर गर्ने र फोहोर देखेर पनि सफा नगर्ने जोसुकै व्यक्ति भेट्टाए पनि झाँको नै झार्थे। अरू कार्यालय सहयोगीहरूलाई पनि बारम्बार अह्राइरहन्थे, ‘ए अल्छीतिघ्रे स्वादेजिब्रे हो, अफिसको लागि केही त गर। हात बाँधेर बसेर तिमीहरूको जीउ पलाउने होइन। कमसे कम वाणिज्य र हाकिमहरूको इज्जत त राखिदेऊ।’
उनीहरूले बिदुरको आदेशलाई हाँसेरै टारिदिन बानी परिसकेका थिए।
सरसफाइमा मात्र होइन वाणिज्य विभागको हरेक शाखाको काम के-के हो र कुन-कुन प्रक्रिया पूरा गर्नुपर्छ भन्ने उनलाई पूर्ण ज्ञान थियो। सामान्य साक्षर थिए तथापि हजारौँ फाइलहरूको चाङबाट चाहिएको फाइल फ्याट्ट झिकेर दिन्थे। हराइरहेका फाइलहरू उनी नै खोजतलास गरी भेटाउँथे।
कानुनी जटिलता उत्पन्न हुँदा हाकिमहरूले समेत बिदुरलाई सोध्ने गर्दथे। सेवाग्राहीहरूलाई समेत सेवा लिनमा कुनै तलबितल नपरोस् भनेर उनले नै समन्वय र सहयोग गरिदिन्थे। मिल्ने कुरा मिल्छ भनिदिन्थे, नमिल्ने भएमा यो-यो पुगेन, यो-यो प्रक्रिया पूरा गरेर आउनुहोस् भन्थे। सेवाग्राहीले गुनासो राख्न कुनै शाखाको प्रमुखलाई होइन बिदुरलाई भेटे पुग्थ्यो।
उनले वाणिज्यको जागिरी अवधिभर अक्करै नपरी कहिल्यै बिदा लिएनन्। उनको रामेछाप गाउँमा कोही व्यक्ति मरुभागु हुँदा वा नगईन हुने काम पर्दा राति नै उठेर अफिसको सरसफाइ सकेर मात्र गाउँ जान्थे र भोलिपल्ट समयमै अफिसमा हाजिर भइसक्थे। काठमाडौँमा पनि चिनजानका आफन्त तथा साथीभाइको खुसियाली वा शोक समारोह उनी छुटाउँदैनथे तर अफिस समयको अघिपछि पारेर।
उनले आफ्ना छोराछोरीले अपेक्षित रूपमा नपढिदिएकोमा गुनासो गर्थे, ‘के गर्नु सर? हजुरका केटाकेटीजस्तो यिनले पनि पढ्ने भइदिए म कति खुसी हुँदो हुँ। मेरा केटाकेटीले त जस्ट पास हुनेगरी नापेर पढ्छन्।’
अनि मलाई सुझाव दिन्थे, ‘अफिसका सुब्बासापहरू लोक सेवा जाँचको लागि टुप्पी कसेर लागेका छन्। सरले पनि जाँच दिनुहोस्। त्यस्ता शाखा अधिकृत जाँच त हजुरले एक सेकेन्ड पढेको भरमा पास गर्न सक्नुहुन्छ।’
‘अरूले त पढाइकै खेती गरेका छन् र पो पास हुन्छन् बिदुरजी। म त पढ्नै भ्याउँदिनँ,’ मैले असमर्थता व्यक्त गर्थेँ।
‘अरूले महिनौँ पढेको र सरले एक सेकेन्ड पढेको उस्तै-उस्तै हो सर,’ उनले आकाशमै पुर्याउँथे।
कृष्णहरि बाँस्कोटाले वाणिज्य विभागको उत्कृष्ट कर्मचारीको रूपमा पहिलो चोटि बिदुर र मलाई सम्मानित गर्नुभयो। हामी दुई जनाको फोटोसहितको परिचय मूल प्रवेशद्वारमा टाँगियो। यसले बिदुरलाई काम गर्ने हौसला अझै प्रदान गर्यो।
उनले हाम्रो फोटो टाँसिएको फ्लेक्सबोर्ड पुछ्दै भन्थे, ‘यही नै हाम्रो जीवनभरको मूल कमाइ हो सर। हामी त अरूभन्दा बढी भाग्यमानी रहेछौँ। बाँस्कोटा सरले हामीलाई कम्ती माया गर्नुहुन्न।’
यस्तैमा मैले अफिसबाट बुझेको त्यो साइकल डेराबाटै चोरी भयो। मलाई आफ्नो मुख्य बाहन नै हराएकोभन्दा पनि अफिसको सम्पत्ति हराएकोमा ठुलो चिन्ता भयो। बिदुरले नै साइकल खोजिदिन प्रहरी पोष्टहरूमा दौडधुप गरे। तर जाबो साइकल के पो भेटिन्थ्यो। म फेरि सार्वजनिक बसकै भर परेँ।
मैले सोलाबाङका धानखेतहरू बेचेर जग्गाका टुक्राहरू खोजेको थाहा पाएपछि उनले नै दुवाकोट मोडको जग्गा देखाइदिए। यो जग्गाको नजिकै उनले भर्खरै किनेको जग्गा रहेछ। उनले देखाएको जग्मा मलाई मन पर्यो र त्यसै दिन किनिहालेँ। मलाई जग्गा मन पर्नुको मूल कारण बिदुरजस्तो असल छिमेकीसँग बस्ने लोभ थियो।
मैले बिदुरले घर बनाउन अहिल्यै नआत्तिनुहोस् भन्दाभन्दै माटोइँटा जडान गरेको दुई कोठे घर बनाएर बस्न थालेँ। अर्को वर्ष उनले पनि आफ्नो जग्गामा पक्की घर बनाए।
उनले उति बेलाको राम्रै घर बनाएका थिए। नौलो गाईलाई नौपुला घाँस भनेझैँ अफिसबाट आएपछि घरको सरसफाइमा लागिरहन्थे। अफिसमा जस्तै घरका झ्यालढोका पुछ्ने, परिसर बढार्ने, बिहान उज्यालो नहुँदैदेखि बेलुका रात परुन्जेलसम्म। बिदुरको मिलनसार स्वभावले दुवाकोटमोडका बिदुर भनेपछि नचिन्ने कोही थिएन। लेखपढ नभए पनि सामाजिक संस्थाहरूमा उनलाई नै महत्त्वपूर्ण जिम्मेवारी दिइन्थ्यो।
उनले लोकसेवाको जुनसुकै तहको रिजल्ट हुँदा पनि चासो राख्दै सोध्थे, ‘त्यो लिस्टमा ओली सरको पनि नाम पक्कै हुनुपर्छ।’
उनले मेरो परिवारको निरन्तर चासो राखिरहन्थे। मेरो घरमा पसेर के अपुग छ भनेर सर्सर्ती हेर्थे। बेलुका त्यो खाँचो उनले नै टारिदिएका हुन्थे। म लामो समयपछि वाणिज्य विभागबाट पनिका लगायत अन्य अफिसहरूमा सरुवा हुँदै गएँ। तर हामी वल्तिर पल्तिरका छिमेकी भएकोले अफिस जाँदाआउँदा र स्थानीय बजारमा किनमेल गर्दा भेट भइरहन्थ्यो। उनको घरमा जाँदा कहिलेकाहीँ १ किलो स्याउ कोसेली लगिदिएँ भने अर्को दिन उनले ५ किलो फलफूल बोकेर मेरो घरमा आइपुग्थे।
६७ सालमा मैले लेखा अधिकृतमा नाम निकालेपछि सबैभन्दा खुसी उनी नै भए। सर अब १० वर्षभित्रै सचिव हुनुभएनछ भने मेरो नाम बिदुर नै होइन भन्थे। मेरा छोराछोरीहरूले इन्जिनियरिङ र मेडिकलतर्फ छात्रवृत्तिमा नाम निकालेपछि उनका भुइँखुट्टा भएनन्। सकुन्जेल प्रचारप्रसार गरे।
७२ सालमा मोटरसाइकल दुर्घटना परेर मैले छोरा गुमाउँदा उनी नै सबैभन्दा दुखी भए। मलाई यथास्थितिमा ल्याउन उनले मलाई चौबिसै घण्टा साथ दिन थाले। मैले सन्तान पीडाले गर्दा काठमाडौँ छोड्नु परेपछि उनी नै सबैभन्दा बढी दुखाए, ‘कठै मेरो हाकिमसाब! के गरी सचिवसम्म पुग्नुहोला अब?'
म उपत्यका बाहिरका जिल्लाहरूमा ५ वर्ष बिताउँदा बिदुरसँग सम्पर्क गर्न सकिनँ।
म फर्किनेबित्तिकै उनले सोधे, ‘सर त अहिलेसम्म सह-सचिव भइसक्नुभयो होला, हैन?’
‘होइन, बिदुरजी अकाल्पनिक दुर्घटनाले मैले पढ्नै छोडिदिएँ। आजपर्यन्त उही पदमा पो छु।’
‘हो र? कस्तो विडम्बना हो यस्तो? सर त उहिल्यै सचिव हुनुपर्ने मान्छे। मेरो कुरा मान्नुहुन्छ भने यसो गरौँ सर…।’
‘अब केही उपाय बाँकी छैन बिदुरजी! भन्नुस् त के गरौँ?’
‘सरलाई थाहा छ? वाणिज्य विभागमा बाँस्कोटा सरपछि महानिर्देशक हुनुहुन्थ्यो नि बिन्द्रा हाडा, उहाँ बाँस्कोटा सरसँग पढाइको बारेमा सोधपुछ गर्न आउँदा भनिदिएको थिएँ- लेखेर राख्नुस्, तपाईँ यसैपालि फ्याट्ट सहसचिव हुनुहुन्छ। नभन्दै उहाँले शाखा अधिकृतबाट सिधै सह-सचिवमा नाम निकाल्नुभयो।’
‘बिदुरको भविष्यवाणी अरूको हकमा मात्र मिल्नेरहेछ। बिन्द्रा हाडाको प्रसङ्ग कसरी आइपुग्यो त अहिले?’ मैले जिज्ञासा थपेँ।
‘उहाँले उप-सचिवको लोक सेवा रट्ने क्रममा एकजना नामुद ज्योतिषलाई पनि हेराउनु भएछ। त्यस ज्योतिषले यसो यसो गरेमा सहसचिवमै नाम निकाल्न सकिन्छ भनिदिएछन्। के जाति जडीबुटी घाँटीमा बाँधिदिएको रे, नभन्दै र्याङको ठ्याङ मिल्न गयो। हेर्नुस् त म्याडमको भाग्य!’
‘अनि?’
‘मैले बिन्द्रा म्याडमलाई सोधेर त्यो ज्योतिषको ठेगाना पत्ता लगाएँ सर। हजुरलाई म आफै ती ज्योतिषकहाँ पुर्याइदिन्छु।’
‘उहाँले मरीमेटी पढ्नुभयो र पो ज्योतिषको बुटीले पनि काम गर्यो। मेरो त न पढाइ छ न पालो। मेरो हकमा लाखौँ ज्योतिष देखाए पनि केही हुनेवाला छैन बिदुरजी।’
‘एकचोटि त्यहाँ पुग्दैमा केही बिग्रने होइन। बरु ज्योतिष हेराउने पैसा मै तिरिदिउँला।’
‘मलाई यस कुरामा पटक्कै विश्वास छैन। सरकारले एक अवधिका कर्मचारीहरूको हकमा मात्र चौबीस 'घ' को प्रावधान ल्याइदिएकोले मेरो बढुवा रोकिएको हो बिदुरजी, जसलाई संसारका जुनसुकै बुटी भिरे पनि काम गर्दैन।’
‘सरकै हितको लागि भनेको हुँ। सरलाई चौबीस 'घ' को मात्रै विश्वास छ भने त मेरो के लाग्यो र?’ उनले कुरा टुङ्ग्याए। मैले उनीप्रति गरेको यो अविश्वासले उनको मन बेसरी दुखेछ। त्यसपछि हाम्रो भेटघाट अनायास पातलो हुँदै गयो।
उनी केही समयपछि वाणिज्य छोडेर उद्योग मन्त्रालयमा सरुवा भएछन्। त्यहाँबाट अन्यत्रका अफिसहरूमा पनि सरुवा भए। केही समयपछि उनले अनिवार्य अवकाशको अवधि बाँकी छँदै स्थायी जागिर छोडिदिएको खबर पाएँ।
मैले उनलाई भेटेर जागिर किन छोड्नुभयो बिदुरजी भनी सोधेँ। उनले लामो सास फेर्दै भने, ‘के गर्नु सर? अफिसको वातावरण बिग्रिरहेको छ। कर्मचारीहरू झन्-झन् बिग्रिरहेका छन्। कार्यालय सहयोगीहरूलाई त छुनै सकिँदैन। आफैले जानेर कसैले काम गर्दैनन्। जता पुगे पनि आफै अचानो बनिरहेँ। काम गरेको जस कसैले दिएन। आऽऽ यस्ता जागिरमा को अल्झिराखोस् भन्ने भएपछि सेकेन्डमै राजिनामा ठोकिदिएँ।’
‘अनि?’
‘बाँस्कोटा सर भइदिएको भए मेरो राजिनामा मरिकाटे स्वीकृत गरिदिँदैनथे। अहिलेका हाकिमले त एक सेकेन्डमै राजिनामा स्वीकृत गरिदिए,’ यति भनिरहँदा उनको मुहारमा विषादका रेखाहरू उठेका देखिन्थे।
मलाई उनको कुरा भित्रभित्रै घोच्यो। वाणिज्यको त्यति बेलाको स्टाफ भइदिएको भए उनलाई फूलमालाले पुरेर बिदाइ गरिन्थ्यो होला। उनको बिदाइमा अफिसका सबै कर्मचारीहरू भक्कानिन्थे होला।
केही समयमा उनले छोरा र छोरीको पनि बिहे सम्पन्न गरे। छोरा अमेरिका बस्न थाले। छोरी अष्ट्रेलिया। बिदुर घरी अमेरिका त घरी अष्ट्रेलियातिर हराउन थाले।
पोहोर साल उनी घर फर्किएको बखतको कुरा हो, मलाई नगरपालिकाबाट परिशीलनको नाममा स्थापित संस्था नवीकरणको लागि सिफारिस प्राप्त गर्न केही झन्झट भयो। मैले बिदुरलाई भेटेर आफ्नो समस्या बताएँ।
उनले मेरो काम गरिदिन तुरुन्तै वडाध्यक्षलाई फोन गरिदिए। वडाध्यक्षले आफै मलाई फोन गरेर बोलाएर त्यसै दिनमा मेरो काम फत्ते भयो। उनको लागि मैले कहिल्यै भनसुन गर्न सकेको थिइनँ। तर उनले एक वचनमै मेरो काम निप्ट्याइदिएकोमा खुसी हुनुपर्नेमा म लाजले मरेतुल्य भएँ।
मेरो काम बनेपछि उनलाई भनेको थिएँ, ‘बधाई छ बिदुरजी, छोराछोरी राम्रो बाटोमा लागे। तपाईँको सपना साँच्चिकै पूरा भयो।’
‘कहाँको सपना पूरा हुनु सर? मेरो सपना त थियो, छोरा बाँस्कोटा सरजस्तै र छोरी बिन्द्रा म्यामजस्तै बनून्, अरूको अगाडि सानमानसहित हिँडून्, सबैले चिनून्। आजन्म झुकेको आफ्नो शिर सन्तानकै इज्जतले ठडियोस्। त्यो परदेशमा पसिना बगाएको त व्यर्थै छ नि! न आफ्नो देश बन्ने, न सानमान नै हुने। अनि सरको बढुवा त यसपालि पक्कै भइसक्यो होला?’
‘उही हो बिदुरजी, उस्तै हो। चौबीस 'घ' हरूले पालो दिएकै छैनन्।’
‘हो नि। त्यो थियो नि, हाम्रो चौबीस 'घ' वाला रामे। त्यसलाई चौबिस घण्टे नबन् भनी कति भनियो, केही लागेन। त्यो बिचरो त अकालमै गएछ नि!’
मैले भन्न खोजेको चौबीस 'घ' अर्कै थियो, उनले अर्कै चौबीस घण्टेको कुरा ल्याएर जोडे।
मैले दर्जनौँ विद्यालय र अफिसहरू चहारेँ तर यसरी अहोरात्र खटेर स्वस्फूर्त रूपमा आफ्नै घर सिँगारेझैँ आफ्नै शरीरलाई सुन्दर परिधानले सजाएझैँ आफ्नो अफिस सिँगार्नको लागि मरिमेट्ने अद्भूत कार्यालय सहयोगी आजपर्यन्त कतै भेटेको छैन।