ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल नजिकै एक रोपनीको आठ हजारमा किनिएको जग्गामा निर्मित एक घरमा एक हप्ताअघि पुगेँ- आफ्ना केही साहित्यिक कृतिहरू लिएर। त्यो घर हाम्रा पिताजीका घनिष्ठ मित्र तथा राजनीतिज्ञ बालाराम घर्तिमगरको हो।
घर्तिमगरसँगको भेटमा उहाँले सो घर बनेको जग्गाको मूल्य बताएपछि म र सँगै जानुभएका एक सर्जक छक्क परेका थियौँ। उहाँले २०४० सालमा रोपनीको आठ हजारमा घडेरी किनेको बताउनुभयो। उहाँ नेपालको सबैभन्दा बढी समय मन्त्री पदमा रहने व्यक्ति हुनुहुन्छ। मैले उहाँका सात वटी छोरीहरूमध्ये अन्तिम तीन छोरीहरूलाई २०४० सालमा केही समय उहाँको घरमै पढाउने काम गरेको थिएँ।
२०४० सालमा किशोरावस्थामा म भर्खरै काठमाडौँ छिरेको थिएँ र जग्गाको मूल्य कसैलाई सोधेर हिँड्ने अवस्था थिएन। म त्यहीँ नजिकै अर्थात् सातदोबाटोमै महिनाको १२७ रुपैयाँ भाडा तिरेर कोठा लिएको थिएँ। अहिले भाडामा बस्ने कोठालाई कोठा भनिन्छ भने त्यति बेला डेरा नै भनिन्थ्यो। केही वर्ष अघिसम्म पनि भाडामा लिएर बस्ने कोठालाई डेरा नै भनिन्थ्यो। पछिल्लो समय एक/दुई वटा कोठा भए कोठा र एक तला पूरै भए फ्ल्याट भनिन्छ।
२०३६ सालमा बित्नुभएका हाम्रा बाजे गजाधर तत्कालीन प्युठान र हालको रोल्पास्थित खुंग्रीबाट सोह्रदेखि अठार दिन पैदल यात्रा गरेर काठमाडौँ आउने र जाने गर्नुहुन्थ्यो। हामी सानो छँदा पनि उहाँ बेलाबेलामा काठमाडौँ आइरहनुहुन्थ्यो। बाजेले ‘खर्च न पर्च नेपाल जानुपर्छ’ भनेर भन्नुहुन्थ्यो।
त्यति बेला काठमाडौँलाई ‘नेपाल’ नै भनिन्थ्यो। बाजेले उहाँको शब्दमा ‘नेपाल’ अर्थात् काठमाडौँबाट फर्किने क्रममा खस्यौली र बटौली भएर फर्किनुहुन्थ्यो र तामामा गाग्रा अनि खड्कुँलो भरियालाई बोकाएर ल्याउनुहुन्थ्यो। बाजेले २०३० सालदेखि आँखा देख्न छोड्नुभयो भने कान पनि सुन्न छोड्नुभयो।
मेरो जन्म भएको घर भत्काएपछि बाजेले ढुंगेघर (स्लेट ढुंगाले छाएको) बनाउनुभएको रहेछ। घर नजिकको बारी खन्दा पुरानो घरको अवशेषहरू पनि भेटिन्थे। अँगार भएका आगोको दाग लागेका माटोको गारोका केही टुक्रा वा अंश भेटिएपछि माइली आमाले भन्नुभएको थियो- ‘तँ जन्मेको घर थियो यहीँनिर, त्यहीँ घर भत्काएपछि यहाँ बारी बन्यो।’
म शिशु अवस्था हुँदै पिताजीले अंश लिएर हामीहरू छुट्टै बसेकाले त्यो म जन्मेको घर थाहा पाउने कुरै भएन। हामी छुट्टी भिन्न भइसकेको केही वर्षपछि पिताजीले २०२४ सालमा बनाउनुभएको घरमा सरेका थियौँ। बाजेबज्यै बस्नुहुने ढुंगेघर बाहिर पाल्हीमुनि बसेर ‘हरिका नाम भजना काम! जयजय राजा राम! गंगा तुलसा शालिग्राम जयजय राजा राम!’ जप्दै बसेर दिन कटाउनु हुन्थ्यो।
बोन अर्थात् हजुरआमा बाजेभन्दा अठार वर्ष कान्छी हुनुहुन्थ्यो। हजुरआमा बाजेकी दोस्री पत्नी हुनुहुन्थ्यो। पहिलो पत्नी बितेपछि दोस्रो बिहे भएको कुरा हामीले पछि मात्र थाहा पायौँ। आँखा र कान ठप्प भएपछि भजन र श्लोक उच्चारण गर्दै दिन कटाउनुहुन्थ्यो बाजेले। पाल्हीको खाँबोमा डोरीको एक टुप्पो बाँधेर अर्को टुप्पो चिनीआँपको तल्लो हाँगामा बाँधेपछि आँपको बोटमुनि रहेको अस्थायी शौचालयमा जान आउन अलि सजिलो भयो। त्यहीँ डोरीको सहायताले बाजे पिँडीबाट उठेर छामछुम गर्दै चिनीआँपको रुखसम्म गएर शौच गर्नुहुन्थ्यो।
बाजेले छ वर्षको कष्टकर जीवन बिताएर २०३६ सालमा ८३ वर्षको उमेरमा बित्नुभयो। चौरासी पूजा गर्न एक वर्ष बाँकी थियो। अशक्त र कष्टकर अवस्थामा उहाँको चौरासी पूजा गर्नुको खासै औचित्य पनि थिएन। बाजे बित्नुअघि काठमाडौँमा जग्गाको भाउ सायद रोपनीको चार पाँच हजार थियो होला। गाउँघरका बुढापाकाहरूका लागि जन्मे हुर्केको ठाउँ छोडेर काठमाडौँ आएर बस्न रुचाउने कुरा थिएन। प्राकृतिक रूपमा सहरमा भन्दा गाउँमा रमाइलो हुन्छ र गाउँले समाज सहरको भन्दा संगठित पनि हुन्छ भन्ने मान्यता थियो।
पिताजीले त्यो पैसाले काठमाडौँमा जग्गा किन्नुभएको भए अहिले अरबपति हुने थियौँ
२०२४ सालमा पिताजीले बनाउनुभएको स्लेट ढुंगाले छाएको तीन तले घरले हामीलाई पुगेकै थियो। २०३२ सालमा उहाँले अर्को घर बनाउनुभयो। पहिले भुइँतलाको बनाउँदा ३० हजारको लागतमा बनेको थियो र केही वर्षपछि त्यसमा दुई तला थपेपछि तेब्बर खर्च भयो। घरले पूरा रूप लिँदा एक लाख पनि खर्च भएको थिएन। घर त अहिले पनि पुराना घरहरूमध्ये गाउँभरिको सबैभन्दा ठुलो देखिन्छ। तर त्यो घर खासै प्रयोगमा आएको छैन।
त्यो घर बनाउने पैसाले त्यतिखेर काठमाडौँमा दश रोपनी जग्गा आउँदो रहेछ। २०४० सालमा प्रतिरोपनी दश हजारमा पाउने अवस्थाको हिसाबले असी करोड अर्थात् पुग नपुग एक अरबको धनी भइने अवस्था रहेछ। दाङमै किन्दा पनि आठ बिघा जग्गा आउँथ्यो। तर पिताजीलाई के थाहा काठमाडौँको जग्गाको भाउ आकासिँदै जाने रहेछ भन्ने कुरा। यो पिताजीप्रतिको नकारात्मक कुरा नभएर एउटा रोचक कुरा हो।
लाखमा किनेको जग्गाको मूल्य १७ वर्षपछि करोड परेपछि
हामीले २०६२ सालमा आनाको आधा लाख रुपैयाँमा किनेको जग्गा १७ वर्षपछि आनाको आधा करोड चल्यो। तर दुई वर्षअघि चलेको प्रतिआना ५० लाखबाट झरेर अहिले ३५ लाखमा पनि कारोबार भएको देखिँदैन। कतिपयले काठमाडौँको बसाइलाई त्यति उपयुक्त मानेका छैनन्। काठमाडौँमा महँगीदेखि लिएर अनेक धेरै समस्याहरू देखिन्छन्। गाउँबाट काठमाडौँ छिरेका र केही व्यवसाय गरेकाहरू घाटामा गएपछि गाउँ फर्किने मनस्थितिमा रहेका छन्।
बङ्गुर पालनमा घाटा, गाई पालनमा घाटा, कुखुरा र हाँस पालनमा घाटा हुन थालेपछि गाउँबाट सहर पस्नेहरू चिन्तामा देखिन्छन्। यस लेखकको घरछेउमै रहेको गाई गोठमा आधा दर्जन गाईहरू मरेपछि घाटा भयो भन्ने सुनिन्छ। अहिले काठमाडौँको चक्रपथबाहिर रहेका खाली जग्गाहरू भाडामा लिएर यस्तै खाले व्यवसाय गर्ने गरेको पाइन्छ। टनेल खेती भने सन्तोषजनक रूपमा चलेको बताइन्छ। नर्सरी फार्म पनि राम्रै आम्दानी हुने व्यवसायमा पर्दछ।
पहिले पहिले सरकारी निकायले नै ठाउँ ठाउँमा आवास योजना भनेर जग्गा प्लटिङ गरी बिक्री पनि गरेको थियो। उदाहरणका लागि कुलेश्वर आवास योजना र गोल्फुटार आवास योजना पनि थियो। गोल्फुटारमा पाँच आनाको घडेरीको ४५ हजारमा पनि खरिद बिक्री भए। त्यति बेला हामीलाई पैँतालिस हजार जुटाउन गाह्रो थियो।
२०६२ साल अघिसम्म काठमाडौँमा घडेरी किनिएला र घर बनाइएला भन्ने सोचेका थिएनौँ। २०६२ सालतिर मूलपानी, धर्मस्थली, गोदावरी पनि गइयो। त्यसै सालमा विशंखुनारायणमा रोपनीको दुई लाखमा पनि पाइएको थियो। गोलढुंगामा पाँच आनाको ३५ हजारमा पनि पाइयो, तर त्यो घडेरीको मुनितिर भिरालो जमिन थियो। माथिबाट डल्लो आकारका केही भाँडाकुँडा पल्टिएमा तल मूलबाटोमा पुग्ने जस्तो लाग्थ्यो, घडेरीका लागि जग्गाधनीलाई झन्डै बैना दिइएको थियो।
द्वन्द्व कालमा लाख रुपैयाँ बोकेर काठमाडौँ छिरेका गाउँका धनीमानी अर्थात् मुखिया, काजीहरू कालान्तरमा करोडपति हुँदै कोही कोही अरबपति भइसकेका छन्। द्वन्द्वले उनीहरूलाई नै आर्थिक प्रगति हुन पुगेको छ। धेरै पहिले एक रियल स्टेटको विज्ञापन निकै आउँथ्यो गोरखापत्रको वर्गीकृत विज्ञापनमा। घरजग्गा खरिद बिक्रीको मध्यस्थता गर्ने सायद कुमार लामा रियल स्टेट नै काठमाडौँको पहिलो मध्यस्थकर्ता थियो जस्तो लाग्छ।
काठमाडौँ बाहिरका मान्छे काठमाडौँ पसेपछि सकेसम्म चक्रपथभित्रै घडेरीहरू खोज्थे सजिलो र पायकका लागि। तर अहिले प्रदूषणका कारण कतिपय रैथाने मान्छेहरू समेत चक्रपथबाहिर त्यसमा पनि कुना-कुना तिरका हरियाली बस्तीतिर बसाइ सर्ने गरेको पाइएको छ। सहरमा भएको घरलाई व्यापारिक प्रयोजनका लागि भाडामा दिएर आफू स्वच्छ हावा रहने ठाउँमा आवासीय भवन बनाएर बस्नु बुद्धिमानी नै ठहर्छ।
काठमाडौँ सहर बेलाबेलामा विश्वमै प्रदूषित सहरको सूचीमा अग्रस्थानमा रहेको पाइन्छ, यो ज्यादै दुःखको कुरा हो। थोत्रा सवारी साधनहरूलाई विस्थापन गर्नेतिर सम्बन्धित निकायले चासो देखाएको पाइँदैन। सही हालतमा नरहेका कतिपय सवारी साधनहरू कालो धुवाँ उडाउँदै जनस्वास्थ्यमा नकारात्मक असर पार्दै गुडिरहेका हुन्छन्।
पेट्रोलियम पदार्थमा मिसावटका कारण पनि सवारी साधनहरूले विषाक्त धुवाँ फ्याँक्ने र सो धुवाँ सिधै श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा पुग्ने गर्दछ। काठमाडौँ र अन्य ठुला सहरमा रहेका अस्पताल धाउनेहरूमा वायु प्रदूषणका बिरामी पुग्ने गरेको तथ्याङ्क पनि बेलाबेलामा आउँछ।
सहरमा ध्वनि प्रदूषण, जल प्रदूषण र वायु प्रदूषण विकराल रूपमा बढ्दै गएको छ। बागमती, विष्णुमती, इच्छुमति अर्थात् टुकुचा ज्यादै प्रदूषित छन्। भक्तपुरको मनोहरा पनि अछुतो रहेन। मनोहरामा भक्तपुरका किसानहरूले कुनै बखतसम्म मुला, गाजर, गान्टेमुला, लसुन, प्याज पखालिरहेको दृश्य देखेकै थिएँ। अहिले काठमाडौँका खोलानालाहरूमा ढल मिसाइनाले जल प्रदूषण बढ्न गएर खोलानालाका जलचरहरू नष्ट भैसकेका छन्। ढलमार्फत विषालु रसायन पनि बग्ने हुँदा जलचर बाँचिरहने कुरा आउँदैन।
अनामनगर पछाडिको धोबिखोलामा स्थानीयले लुगा धोएर सुकाउने गरेको दृश्य पनि मलाई सम्झना छ भने कोही कोही माछा पनि मार्दथे। काठमाडौँ मात्र होइन जिल्ला जिल्लामा विस्तार भएका बजारबाट बग्ने प्रदूषित र दुर्गन्धित नालीको पानी मिसिनाले पवित्र खोलानालामा पौडी खेल्ने अवस्था समेत छैन। पहिले ती खोला-नदीको पानी अँजुलिबाट झिकेर सिधै पिइन्थ्यो भने हालका दिनहरूमा शुद्ध पानी भन्न मिल्दैन।