धेरै दिनपछि मेसेन्जरमा एक मेसेज आयो- ‘ओए! जिउँदै छस् कि मरिस्?’
म्यासेजको भावले नै बुझ्नु भयो होला, यो त्यो मित्र हो जसको बोलीमा म आदर खोज्दिनँ। हैन, उसले दिँदा नि दिँदैन! यो बुझ्दा नि हुन्छ।
भोजपुरी कलाकार रवि किसनले एक चोटि ठट्यौली पारामा एक अन्तरवार्तामा भनेका थिए- ‘दोस्ती ऊ सबसे पुरान जेकर सुरुवात गालीसे होला।’ अर्थात् पुरानो साथी त्यो हो जसले गालीबाट कुराको सुरुवात गर्छ।
हुँदा पनि हो! केटा मानिसको मित्रता जहाँ शब्दमा औपचारिकता हजुर, तिमी, तपाईंको हुन्छ त्यसको तुलनामा नेपाली शब्दमालाका विशेष पिरा, राता शब्दहरूको गालीको प्रयोग हुन्छ। त्यो मित्रता कम्तीमा नि बालापनको हुन्छ। यसो आफै विचार गर्नुस् त।
ऊ फेरि म्यासेज गर्छ- म नेपाल आएको छु, तेरो नम्बर दे।
हामीबिच भेटघाट नभएको करिब ८ वर्ष भइसकेको रहेछ! उमेरको उचाइ सँगसँगै हामी बेग्लाबेग्लै सफलताको खोजीमा बेग्लै देशमा थियौँ। ऊ आफ्नो ड्रिम कन्ट्री युएस र म मेरो मदर कन्ट्री नेपाल आमासँग!
एकदेखि बाह्रसम्म एकै बेन्चमा बसेर एकै प्रकारको शिक्षा लिएका हामी ऊ बाध्यतावश या रहरमा झिनो सफलताको तत्त्वले उसलाई विदेश लोभ्यायो र उतै रमायो। म मेरै वास्तविकता खोज्ने प्रयासमा यतै।
हाम्रो भेटघाट भयो। मेरो मिठा केही तिता कुरा!
ऊ मलाई सोध्छ, ‘अनि के छ तेरो? के हुँदै छ?’
प्रश्नको भावना सोध्छ ऊ!
म ‘के हुनु यही हो, काम घर’ खल्लो स्वरमा मेरो सुस्त उत्तर दिँदै उसलाई प्रश्न गर्छु, ‘तेरो सुना।’
ऊ हर्षोल्लासका साथमा भन्छ, ‘हेर् यार, बल्लतल्ल सिटिजनसिप पाएँ। कलेजबाटै प्लेसमेन्ट पाएको छु! अब केही हुन्छ, आफ्नै फिल्डतिर जब लाग्नु राम्रो हो यार!’
‘कति छ प्याकेज?’
त्यही एक छुन्छ।
‘लाख! नेपाली कि?’
नाइँ, डलर!
म थोरै ईर्ष्या र त्योभन्दा बढी साथीको सफलताको खुसी मिश्रित बधाई दिँदै भन्छु, ‘यार, लाइफमा तँ चाहिँ सफल भइस् यार!’
‘हैन यार!’ कुनै एक कम्पनीको नाम लिँदै भन्छ, ‘यसमा भएको भए यार पूर्ण रूपमा सफल हुन्थेँ होला!’
मानव व्यवहार स्वरूप उत्तर उसले दिन्छ! म त्यस्तै हो को भावना टाउको हलाउँछु।
केही दुख सुखको कुरा त केही पूर्ति हुन नसकेका सपनाका कुरा लामो हुन्छ हामीबिच। त्यतिमै ऊ भन्छ, ‘तैँले विदेश नगएर गल्ती गरिस् यार!’
उसले उसको तुलनामा म स्वदेश बसेरै सफल भइनँ भन्न खोज्या हो।
म ‘हैन! यता नि ठिक छ यार’ भन्छु।
ऊ मैले गलत बोलेँ भन्छ।
पुँजीवादको सफल देशमा रमेको मन, विश्वकै सर्व शक्तिशाली राष्ट्रको सफलताको भौतिक शिखरमा सुख भोगिरहेको ऊ, विकासोन्मुख राष्ट्रको सुख तुलनात्मक रूपमा कम नै हुन्छ उसको लागि!
ऊ अर्काको सफल राष्ट्रमा निथ्रुक्क भिजेर आफू सफल हुन खोज्दै थ्यो, म मेरो असफल राष्ट्रलाई सफल बनाउनमा असफलतामा रम्दै थिएँ। सायद हामीबिच यति नै फरक थ्यो! अन्ततः सफलताको वास्तविक भौतिक स्वरूपमा खोज्दै रुमल्लिएको मात्र न हो।
हामीबिच डलर र रुपैयाँको मात्र फरक थिएन। कार र स्कुटरको सफलता मात्र पनि हैन। स्टारबक्सको कफी र अदुवासहितको चिया फरक थ्यो। ए! एप्पलको महँगो फोनमा कोही आफन्तको फोन नआउनुमा र स्क्रिन फुटेको मेरो एन्ड्रोइडमा फोनको घण्टी बज्या बजै गर्ने जतिको फरक थ्यो! ऊ समर भ्याकेसनमा कुनै नयाँ स्टेटमा एक्लै रम्थ्यो! म बिदामा युट्युबबाट सिकेर बनाएको परिकारले सबैसँग बसेर खान पाउनुको फरक थ्यो! म मेरा बा/आमाको बुढेसकालको बालापनमा रमाउन पाउँदा खुसी थिएँ त ऊ? थाहा छैन!
सफलता जसको कुनै वास्तविक आकार हुँदैन न अर्थ नै हुन्छ! प्रत्येक मानिसको नजरमा फरक-फरक हुन्छ। प्रत्येक मानिसपिच्छे यसको व्याख्या फरक-फरक हुन्छ र अपर्याप्त हुन्छ।
हामीले भूतमा देखेको वर्तमानको सफलता भोगचलन गरिरहँदा पनि हामी साह्रै खुसी छैनौँ र हामीले भविष्यमा देख्ने सफलता त्यो वर्तमान हुन्जेलसम्म फेरि सफल देखिन्न आफ्नै नजरमा! उमेरको कालान्तरमा वर्तमानले फेरि एक नयाँ सफलताको भ्रूण निर्माण गर्छ।
एक सफलताको एक खुड्किलो चढेको खुट्टाहरूले एक नयाँ गन्तव्य चढ्न खोज्छ र दृश्यहरूले एक नयाँ दृश्य हेर्न खोज्छ!
एक खरदारले सुब्बा बन्न खोज्ने सपना, सुब्बा भएपछि अधिकृत, सहसचिव, उप-सचिव, सचिव र महासचिवसम्मको सपना! एक नेताले सांसद, मन्त्री हुँदै प्रधानमन्त्री र राज्यका विशिष्ट श्रेणीमा पुग्ने सपना! उसको लागि त्यही सफलता हो।
सफलतालाई हामी कहिलेकाहीँ अक्षरमा खोज्छौँ त केहीले शब्दमा अनि कहिले अंकमा, पहिरनमा पनि। आजभोलि त मोबाइलमा पनि! तपाईंको हातमा देखिने मोबाइल कति महँगो छ, त्यसको तुलनामा सिङ्गो व्यक्ति सफल या असफल छ भन्ने गलत व्याख्या गर्ने गरिन्छ।
कसै कसैलाई वैराग्य मन पर्छ होला विलासिता हैन! त्यसको मतलब त्यो हैन कि ऊ सफल छैन! जे देखिन्छ त्यो सत्य होइन, जे देखाइन्छ त्यो चाहिँ सही मापनमा सफलता हो। यो मेरो बुझाइ हो। उसले भौतिक विकासमा खर्चेको देखिन्छ तर स्वयम आध्यात्मिक र बौद्धिक रूपमा खर्चेको देखिन्न! आध्यात्मिक रूपमा सफलता भए नभएको देख्ने सामर्थ्य जो कोहीलाई हुँदैन। त्यो त उसको व्यवहारमा देखिन्छ। विचारमा देखिन्छ। जुन आजको समाजले वास्ता गर्दैन।
सफलता एक यस्तो तिर्खा हो जुन केही बेरको लागि धित त मर्ला तर पूर्णतया तृष्णा मेटिँदैन। हामी मानवहरू सफलताको लागि ती जङ्गलमा सुन्दर सुगन्धित वस्तु खोज्नमा हिँडेको कस्तुरी जस्तै जीवनभरि भौँतारिन्छौँ र अन्त्यमा ज्ञान बोध हुन्छ जसको कुनै अर्थ हुँदैन।
संस्कृतमा एक सिलोक छ-
॥मन एव मनुष्याणां कारणं बन्धमोक्षयोः॥
अर्थात्, मन नै पुरुषको बन्धन र मुक्तिको कारण हो।
त्यसैले अब आफूलाई विचार गर्नुस् त, के तपाईं सफल हुनुहुन्छ कि नाइँ?