कुनै मान्छे बाँच्नलाई कला चाहिन्छ, कुनै मान्छे बाँच्नलाई गला। तर, विक्रम तामाङको जीवनमा यी दुवै मिसिएर आएका छन्। उनका रङहरू बोलेका छन्, उनका ब्रसहरूले समय कोरेका छन्। अहिले उनका जिन्दगी नै रङ्गीन बनेका छन्।
दोलखाको वैतेश्वर गाउँपालिका–६, नाम्दुका विक्रम अहिले काठमाडौंको बौद्धमा बस्छन्। बिहान आठ बज्नासाथ उनको हातमा ब्रस छुट्दैन, रङको भाँडो टुट्दैन। साँझसम्मै भित्तामा रङहरू घोटिइरहन्छन्। चोकचोकमा उनको नाम लिइन्छ, सामाजिक सञ्जाल, सञ्चार माध्यममा उनका चित्रहरू भाइरल हुन्छन्। उनको कला जब काठमाडौं महानगरपालिका र चरिकोटको सातदोबाटोको भित्तामा छरियो, तब सडकलाई नै आर्ट ग्यालरी बनाइदियो। उनले कोरेका ती भित्ताहरूमा पैदलयात्री, पर्यटक, विद्यार्थी, शिक्षक, युवाहरू उभिएर तस्बिर खिच्न थाले। भिडिओ बनाउन थाले। काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलका खाली भित्ताहरूमा सांस्कृतिक तथा विश्व सम्पदाका चित्र कोर्ने अवसर खुलाएपछि उनले काठमाडौंका सडकका भित्ताहरू रङले सजाउन थाले। अहिले उनको कृतित्व ठूला होटल, रेस्टुरेन्ट, एनजिओ, आइएनजीओका कार्यालयदेखि बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयसम्म फैलिएको छ।
![kala-(13)-1739528562.jpg](https://www.setopati.com/uploads/posts/kala-(13)-1739528562.jpg)
रङसँगको पहिलो चिनजान
कक्षा तीनमा पढ्दादेखि नै विक्रमलाई चित्रकलाले पछ्याइरहेको थियो। गाउँका खोलानाला, ढुंगामाटो, खेतबारी, वनजंगल, चराचुरूङ्गी सबै उनको रङका स्रोत थिए। दसैं–तिहारमा कमेरो माटोले पोतेका घरका भित्तामा चराचुरूङ्गी, सर्प, फूल कोर्थे। रातोमाटो, रेडियो र टर्चलाइटका ब्याट्रीबाट निकालिएको मसला, वनमाराका रस यी सबै उनका प्राकृतिक रङहरू थिए। तिनै प्राकृतिक रङबाट कमेरो माटोले पोतेका घरका भित्ताहरू रंगीन बनाउँथे। मनमोहक बनाउँथे उनी।
वैतेश्वर मावि नाम्दुमा कक्षा ३ मा पढ्दा उनले नेपाल रेडक्रस सोसाइटी र मित्सुबिसी संस्थाले आयोजना गरेको राष्ट्रिय चित्रकला प्रतियोगितामा तेस्रो स्थान हासिल गरे। तेस्रो स्थान हासिल गरेबापत उनले प्रमाणपत्र र नगद तीन हजार रुपैयाँ प्राप्त गरे। पुरस्कारस्वरूप पाएको तीन हजार रुपैयाँ घरमा ल्याएर बाबुलाई दिए। त्यही तीन हजार पैसाले बुबाले भैंसी र बंगुर किन्नुभयो। त्यही क्षण उनले बुझे, कला केवल रंगीन मात्रै हुँदैन, जीवन चलाउने आधार पनि बन्दोरहेछ। मध्यम वर्गको लागि जीविकोपार्जनको एउटा स्रोत पनि रहेछ।
![kala-(2)-1739528557.jpg](https://www.setopati.com/uploads/posts/kala-(2)-1739528557.jpg)
काठमाडौंतिर मोडिएको यात्रा
२०६५ सालमा एसएलसी परीक्षा उत्तीर्ण भएपछि विक्रमको यात्रा काठमाडौं मोडियो। काठमाडौं गएलगत्तै ललितकला क्याम्पसमा भर्ना भए तर क्याम्पस शुल्क, कोठाभाडा, खानपानका लागि संघर्ष गर्नुपर्यो। जीविकोपार्जन गर्न उनले केही समय सहकारी संस्थामा जागिर खाए, केही समय होटलमा समेत काम गरे। तर, हातमा ब्रस नलिएसम्म आत्मा अधुरो लाग्थ्यो। मनले मान्दै मानेन। होटलको मीठो खाना र बास्नाले उनको मन अघाएन। होटलको जागिरले मन तान्दै तानेन। ड्युटीमा उभिएर बस्नेभन्दा पनि भित्तामा चित्र कोर्ने सपना देख्थे। अन्ततः उनले जागिर छोडे। महिनौंसम्म नि:शुल्क अर्काको आदेशमा आर्ट गरे। उनलाई सिक्नु थियो। काम देखाउनु थियो। काठमाडौंमा बाँच्नु थियो। चित्रकलाको मोह मेटाउनु थियो। त्यसैले बिना पारिश्रमिकनै काम गर्न तयार भए उनी।
काममा उब्रिएको रङ, ब्रस बेलुकी कोठामा बोकेर फर्किन्थे। कोठामा थकित शरीर लिएर फर्किंदा पनि क्यानभाससँग संवाद गर्न छोड्दैनथे। कोठामा एक्लै घण्टौंसम्म क्यानभासमा बुद्ध, हिमाल, पहाड, विश्वसम्पदा, मठमन्दिर कोर्थे। केही चित्र बिक्री हुन्थे, केही संकलन हुन्थे।
![kala-(1)-1739528557.jpg](https://www.setopati.com/uploads/posts/kala-(1)-1739528557.jpg)
विश्व मञ्चसम्मको यात्रा
सन् २०१४ मा बौद्धमा केही साथीहरूसँग मिलेर आर्ट ग्यालरी खोले। तर, २०७२ सालको भूकम्पपछि बन्द गर्नुपर्यो। भूकम्प र नाकाबन्दीको कारण कोही गाउँ फर्किन थाले। कोही गाउँमा फर्केर पुनर्निर्माणमा लागे। यसै क्रममा विभिन्न आर्ट प्रदर्शनीहरूमा भाग लिने अवसर पाए। २०८० सालमा फिनल्यान्डमा तीन दिने कार्यशालामा सहभागी भए, जहाँ उनले नेपालको पुरानो इतिहास झल्काउने भीमफेदी खोलामा तामाङहरूले गाडी बोक्दै गरेको चित्र क्यानभासमा उतारे। त्यो चित्रले धेरैलाई भावुक बनायो। धेरैले रूचाए। विक्रमले स्याबास पाए।
हालसम्म उनका चित्र रोमानिया, टर्की, जापान लगायतका देशहरूमा प्रदर्शनीमा प्रदर्शनी र छनोट भइसकेका छन्। कतिपटक त ‘स्पेशल अवार्ड’ पनि जिते। २०७६ सालमा बागमती प्रदेश सरकारले आयोजना गरेको आर्ट प्रदर्शनीमा ‘सुशील श्रीकला पुरस्कार’ पाएका थिए। अहिले भीमेश्वर नगरपालिकाले उनको कलालाई सम्मान गर्दै चरिकोटको चोक, मठमन्दिर, सडकका भित्ताहरूमा पेन्टिङ गर्न लगाएका छन्। पशुपति डाँडामा नवनिर्मित मन्दिरमा भित्ताहरू चिटिक्क सजाएका छन्। उनलाई आधा दर्जन टिमले सघाएका छन्।
![kala-(6)-1739528558.jpg](https://www.setopati.com/uploads/posts/kala-(6)-1739528558.jpg)
रङको यात्राले पाएको उचाइ
भर्खरै मात्र उनले तिलिचो ताल र से–फोक्सुन्डो तालमा पुगेर लाइभ पेन्टिङ गरे। प्रकृतिको काखमा बसेर साक्षात्कार अनि ताल र हिमालसँग संवाद गरे। अब उनी भित्ताहरूमा मात्र सीमित छैनन्, न त केवल सामाजिक सञ्जालमै। उनी एक रंगीन सपना पूरा गरिरहेका कलाकार हुन्, जसको रङले समयलाई कोर्दैछ। बाँचुन्जेलसम्मलाई हातमुख जोर्ने आर्थिक पाटो पनि यही रङले कोर्दैछ। 'कुनै बेला भित्ताहरू रंगाउन रातो माटो खोज्थे, अब ती भित्ताहरूले उनलाई खोज्छन्।'
![kala-(12)-1739528561.jpg](https://www.setopati.com/uploads/posts/kala-(12)-1739528561.jpg)
![kala-(11)-1739528560.jpg](https://www.setopati.com/uploads/posts/kala-(11)-1739528560.jpg)
![kala-(3)-1739528558.jpg](https://www.setopati.com/uploads/posts/kala-(3)-1739528558.jpg)
![kala-(10)-1739528560.jpg](https://www.setopati.com/uploads/posts/kala-(10)-1739528560.jpg)
![kala-(8)-1739528559.jpg](https://www.setopati.com/uploads/posts/kala-(8)-1739528559.jpg)
![kala-(7)-1739528559.jpg](https://www.setopati.com/uploads/posts/kala-(7)-1739528559.jpg)
![kala-(4)-1739528558.jpg](https://www.setopati.com/uploads/posts/kala-(4)-1739528558.jpg)
![kala-(5)-1739528558.jpg](https://www.setopati.com/uploads/posts/kala-(5)-1739528558.jpg)