सन् १६०९ को एक रात।
परिमार्जन गरी आफैले बनाएको टेलिस्कोपबाट आकाश नियाल्दै गर्दा ग्यालिली ग्यालिलियोले एउटा अनौठो कुरा देखे।
त्यो यस्तो कुरा थियो, जुन सत्य सावित भए मानव जगतमा त्यो बेला विद्यमान ज्ञान र मान्यता दुवै बदलिन्थ्यो।
आखिर त्यो रात के देखेका थिए ग्यालिलियोले?
यसबारे जान्नु अगाडि ग्यालिलियोकै बारेमा थोरै चर्चा गरौं।
ग्यालिलियो वैज्ञानिक संसार र विज्ञानभन्दा बाहिरको संसारमा पनि प्रचलित नाम हो। आजको दिनमा हामीमाझ रहेको आधुनिक विज्ञानलाई जन्म दिनेहरूमध्ये एक ग्यालिलियो पनि हुन्। उनलाई 'आधुनिक विज्ञानको पिता' भनेर पनि चिनिन्छ।
तर विज्ञान भनेको एउटा ठाउँ वा एउटा व्यक्तिको मात्र नभएर, धेरै जनाको सहकार्यमा थपिँदै जाने तथ्यहरूको उपज हो। 'वैज्ञानिक पद्धति' लाई मानकीकृत गर्ने भनेर ग्यालिलियोलाई चिनिए पनि, यो पद्धति धेरै वर्ष र धेरै वैज्ञानिक तथा दार्शनिकको सोच र अध्ययनबाट बनेको हो।
ग्यालिलियोको जन्म सन् १५६४ फेब्रुअरी १५ मा भएको थियो। शनिबार उनको जन्मदिन!
इटालीको पिसा भन्ने ठाउँमा जन्मेका हुन् उनी। उनका बुबा शिक्षित वर्गका संगीतकारका रूपमा चिनिन्थे।
केही वर्ष ग्यालिलियो घरमै पढे। त्यसपछि उनी कमलडोली विहारमा पढ्न गए। सन् १५८१ मा चिकित्सा शास्त्र अध्ययनका लागि उनलाई पिसा विश्वविद्यालय पठाइयो। तर, त्यहाँ उनको मन चिकित्सा शास्त्रबाट गणिततर्फ मोडियो। अस्टिलो रिची नामका एक गणितज्ञको प्रभावमा परेपछि उनले आफ्नो गन्तव्य बदले। त्यही मोडले उनलाई भविष्यमा संसारको रूप नै बदल्न सफल बनायो।
ग्यालिलियोले पत्ता लगाएका कुराको गहिराइ बुझ्न त्यो बेलाको सोच, विचार र परिस्थिति पनि बुझ्न जरूरी छ।
विज्ञानको धेरै विकास नभइसकेको त्यो बेलामा अधिकांश नीतिनियम, विश्वास र मान्यताहरू युरोप चर्च, अझ विशेष गरी क्याथलिक चर्चले भने अनुसार हुन्थ्यो। समाजले चर्चले भनेको मान्नुपर्थ्यो। चर्चको नियम विपरीत जानेलाई मृत्यु दण्डसम्म दिइन्थ्यो।
रमाइलो कुरा चाहिँ के भने, वैज्ञानिक र दार्शनिक विचारका लागि चर्चहरूले त्यति बेलाका प्रख्यात दार्शनिक एरिस्टोटलको विचार नै स्वीकार गरेका थिए। तर एरिस्टोटलको विचारको विपरीत जानु पनि दण्डनीय नै मानिन्थ्यो।
एरिस्टोटलसहित क्याथलिक चर्चको अनुसार ब्रह्माण्ड सीमित, सिद्ध र कुनै खोटबिनाको थियो। अर्थात्, कुनै उच्च शक्तिबाट बनाइएको कुरामा कुनै अपूर्णता हुन सक्दैन भन्ने मान्यता थियो।
सन् १६०० मा जोर्डियानो ब्रुनो नामका वैज्ञानिकलाई क्याथलिक चर्च विपरीत गएको आरोपमा जिउँदै जलाइएको थियो। त्यो बेला यही डरले धेरै वैज्ञानिकहरू चुप पो बसे कि!
ग्यालिलियो भने अलि बेग्लै थिए। उनले सन् १५८९ देखि १५९२ बीचको समयमा एरिस्टोटल र त्यति बेलासम्मका धेरै वैज्ञानिकले मान्दै आएको कुरा गलत ठहर्याइसकेका थिए। त्यस्तै एरिस्टोटलका विचारमध्ये एउटा थियो — गति सम्बन्धी नियम।
एरिस्टोटलका अनुसार, यदि भारी र हलुका वस्तुलाई समान ठाउँबाट खसालियो भने भारी वस्तु छिटो खस्छ र हलुका वस्तु ढिलो।
यहाँ रोचक कुरा के छ भने, एरिस्टोटलले ३०० ईसापूर्वतिर भनेको त्यो कुरा अर्को १९०० वर्षसम्म कसैले परीक्षण नै गरेनन्। वा, गरे तर डरका कारण बोलेनन्।
ग्यालिलियोले भने त्यो परीक्षण गरेर हेरे अनि गलत साबित गरे। ग्यालिलियो कुनै पनि कुरा तथ्य हुन परीक्षण गरिनुपर्छ भन्ने पक्षमा थिए। आजको दिनमा हामीसँग भएको विज्ञानको पहिलो पाइला पनि त्यही थियो!
विज्ञान कुनै एउटा आधिकारिक स्रोतबाट आएको कुरा मात्र होइन, बरू धेरैपटक ठोस परीक्षण र अन्य वैज्ञानिक सहकर्मीको समीक्षाबाट परिष्कृत भएको तथ्य हो। सही 'वैज्ञानिक विधि' को महत्त्वपूर्ण कुरा परीक्षण योग्य हुनु हो। ग्यालिलियोको कामको त्यो एउटा सानो सुरूआत मात्र थियो।
अब जाऔं, सन् १६०९ को त्यो राततर्फ।
धेरैले टेलिस्कोप आविष्कारको श्रेय ग्यालिलियोलाई दिन्छन्। तर खासमा यसको आधारको श्रेय डच नागरिक हंस लिपर्शेलाई जान्छ। उनले 'डच पर्सपेक्टिभ ग्लास' बनाएका थिए जसले टाढाको वस्तुलाई नजिक र ठूलो देखाउँथ्यो। यो खासगरी सैन्य जासुसहरूले प्रयोग गर्थे। ग्यालिलियोले यसकै आधारमा, परिमार्जन गरेर अझ राम्रो टेलिस्कोप बनाएका थिए।
उनको परिमार्जित टेलिस्कोपबाट वस्तुको आकार ३० गुणा ठूलो देख्न सकिन्थ्यो। त्यसकै सहायताले उनले त्यस रात चन्द्रमामा 'दाग' देखे। त्यो दाग थियो — चन्द्रमाको नमिलेको सतह र त्यहाँ रहेका पहाडहरू।
यो तथ्यबाट ग्यालिलियोले सानोतिनो हल्लाखल्ला नै मच्चाए। उनी त्यहीँ रोकिएनन्।
आफ्नो टेलिस्कोप निखार्दै जाँदा सन् १६१० मा उनले झन् रोचक कुरा पत्ता लगाए। उनले बृहस्पति ग्रहका पनि चन्द्रमाहरू देखे। अनि ब्रह्माण्ड सिद्ध छ र उच्च शक्तिले राखेका आकाशका तारा तथा अचल ग्रहहरू निश्चित छन् भन्ने सामाजिक मान्यता गलत सावित भयो।
ग्यालिलियोको यो खोज एकदमै धेरै महत्त्वपूर्ण थियो। किनभने, त्यसभन्दा अगाडि सबै आकासीय पिण्डहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने मान्यता थियो। बृहस्पतिको वरिपरि घुम्ने ती चन्द्रमाहरू (जसलाई आजकल ग्यालिलियन उपग्रह भनिन्छ) ले भने सबै आकासीय पिण्डहरू पृथ्वीको वरिपरि घुम्दैनन् भन्ने प्रमाणित गरे।
एरिस्टोटल, क्याथलिक चर्च, सम्पूर्ण पश्चिमी सभ्यता मात्र नभई पूर्वी सभ्यतामा समेत त्यति बेला ब्रह्माण्डको केन्द्रमा पृथ्वी रहेको र सूर्य लगायत सबै वस्तुहरू पृथ्वीको वरिपरि घुम्छन् भन्ने मान्यता थियो। चीन, फारसी, अरबी वैज्ञानिकहरूका अनुसार पनि त्यो बेला पृथ्वी नै केन्द्रमा रहेको मान्यता थियो।
कतैकतै पूर्वी सभ्यतामा ब्रह्माण्डको केन्द्रमा सूर्य भएको र पृथ्वीले सूर्यलाई परिक्रमा गर्छ भन्ने मान्यता थियो पनि भनिन्छ। आर्यभट्टले पृथ्वी आफ्नै अक्षमा घुम्छ भन्ने प्रस्ताव राखेका थिए। उनले सिधै सूर्यको वरिपरि सबै ग्रहहरू घुम्छन् भनेका थिएनन्, तर उनको विचारले 'हेलियोसेन्ट्रिजम' (सूर्य केन्द्रित सिद्धान्त) को झल्को दिन्थ्यो। त्यसै गरी, 'सूर्य सिद्धान्त' ले पनि ग्रहहरू सूर्यकै आधारमा घुम्न सक्ने संकेत गरेको देखिन्छ।
पश्चिमी सभ्यतामा फिलोलसले पनि पृथ्वी ब्रह्माण्डको केन्द्रमा छैन भन्ने प्रस्ताव गरेका थिए। ग्यालिलियोभन्दा डेढ-दुई सय वर्षअघि कोपर्निकसले गणितीय हिसाबले 'हेलियोसेन्ट्रिजम' को प्रस्ताव राखेका थिए। यसरी चाहे पूर्वी सभ्यता होस् वा पश्चिमी, ग्यालिलियो भन्दा धेरैअघि 'पृथ्वी सूर्यको वरिपरि घुम्छ' भन्ने विचार दार्शनिकहरू माझ घुमिरहेको थियो।
तर त्यो बेला समाजमा रहेको पृथ्वी केन्द्रित विचारलाई अस्वीकार गर्नु भनेको एक हिसाबले भगवानको विपरीत जानु थियो। यसको परिणाम जोर्डानो ब्रुनोजस्तै जिउँदै जलिनु पनि हुन सक्थ्यो।
तर ग्यालिलियो रोकिएनन्।
आफ्नो टेलिस्कोप प्रयोग गर्दै रातिको आकाश नियाल्दा उनले अझै रोचक तथ्यहरू पत्ता लगाए। त्यसबाट उनको खोज अझै मजबुत हुँदै गयो। उनले शुक्र ग्रहको पनि केही समय अध्ययन गरेर। त्यसका पनि चन्द्रमाजस्तै चरणहरू रहेको पत्ता लगाए। उनका अवलोकन अनुसार शुक्रका चार चरण थिए।
उनको यो खोज पनि धेरै महत्त्वपूर्ण थियो।
किनभने, यदि स्थिर पृथ्वी र घुमिरहने सूर्यको बीचमा शुक्र हुन्थ्यो भने, उसले दुई चरण (अर्धचन्द्राकार र औंसी चन्द्रमा) देखाउँथ्यो। सूर्यभन्दा बाहिरबाट घुमिरहेको हुन्थ्यो भने शुक्रका बाँकी दुई चरणहरू (गिब्बस र पूर्णिमा) मात्र देखिन्थे। शुक्रका सबै चरण देखिनु भनेको चाहिँ यसको स्थिति कहिले पृथ्वी र सूर्यको बीचमा त कहिले पृथ्वीभन्दा बाहिर हुनुपर्थ्यो। र, यो हुनका लागि पृथ्वी सूर्यको वरिपरि घुम्नुपर्थ्यो।
यो थियो सन् १६१० तिरको कुरा।
यति मात्र होइन, ग्यालिलियोले सूर्यमा देखिएका 'दाग' वा थोप्लाहरू पनि पत्ता लगाए। यसले 'सिद्ध ब्रह्माण्ड' को अवधारणामा फेरि आँच पुर्यायो। सन् १६१३ मा प्रकाशित आफ्नो किताब 'सूर्यका दागको वर्णनहरू' मा उनले यी निष्कर्षहरू प्रस्तुत गरे। त्यो बेला युरोप लगायत विश्वभर यो 'बिग ब्रेकिङ न्यूज' थियो।
आफ्ना सबै खोजहरू प्रकाशन गरेपछि ग्यालिलियोलाई क्याथलिक चर्चले चेतावनी दियो। उनलाई विशेषगरी 'हेलियोसेन्ट्रिजम' विचार प्रचार गर्न, पढाउन र फैलाउन रोक लगाइयो। ग्यालिलियोले भने चेतावनी मानेनन् र आफ्नो अनुसन्धान जारी राखे। सन् १६३२ मा प्रकाशित उनको किताब 'दुई प्रमुख विश्व प्रणाली सम्बन्धी संवाद' का कारण उनी घरमै नजरबन्दमा परे। यही नजरबन्दमा रहँदा सन् १६४२ मा उनको निधन भयो।
उनको मृत्युको झन्डै ३५० वर्षपछि, सन् १९९२ मा आएर बल्ल क्याथलिक चर्चले ग्यालिलियो सही रहेको स्वीकार गर्यो र हेलियोसेन्ट्रिजमलाई मान्यता दियो।
यी प्रमुख खोजबाहेक ग्यालिलियोका अरू पनि धेरै रोचक र महत्त्वपूर्ण आविष्कारहरू छन्। थर्मामिटर, ज्यामितीय र सैन्य कम्पास (जसलाई सेक्टर भनिन्छ), हाइड्रोस्टेटिक ब्यालेन्स, थर्मोस्कोप र पेन्डुलम घडीको अवधारणा (पेन्डुलम घडीको आविष्कार भने क्रिश्चियन ह्युजेन्सले गरेका हुन्) आदि उनका खोव हुन्।
उनको सबभन्दा महत्त्वपूर्ण योगदान भने विज्ञानको मानकीकरण नै हो।
यी महान वैज्ञानिकको ४६१ औं जन्मदिनको अवसरमा यो लेख उनैमा समर्पित!
![anuj ghimire1683396880.jpg](https://www.setopati.com/uploads/posts/anuj ghimire1683396880.jpg)
(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
ट्विटरः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)