औद्योगिक युग मानव विकासको एक प्रभावशाली युग हो जसले जीवन स्तर उठान गर्नेदेखि देशको अर्थतन्त्रमा आक्रामक वृद्धि गरेको छ। विश्वव्यापी रूपमा हेर्ने हो भने उद्योगधन्दामा राम्रो लगानी गरेका देश नै आजको अर्थतन्त्रमा विश्वको शक्तिशाली देशको सूचीमा समावेश छन्।
एकातर्फ गत वर्षको आयात हेर्ने हो भने सबैभन्दा पहिले कच्चा फलाम आउँछ र क्रमशः अन्य खनिजका स्रोतहरू आउँछन् भने अर्कातर्फ नेपालमा खनिजका स्रोतहरू प्रशस्त मात्रामा रहेको तथ्यांक छ। यसरी देशमा नै रहेका स्रोत साधनको सही ठाउँमा र सही तरिकाले उत्खनन र प्रशोधन नहुँदा देशको अर्थतन्त्रमा भारी नोक्सानी भइरहेको छ र बाह्य आयातमा भर पर्नुपर्ने अवस्था छ।
खनिज केवल एउटा उदाहरण मात्र हो, यसका अलावा पनि हाम्रा अन्य थुप्रै क्षेत्रहरू प्राथमिकतामा नपर्नाले आज हाम्रो स्रोतको सदुपयोग हुन सकिरहेको छैन र हामी आयातमुखी अर्थतन्त्रमा निर्भर रहनु पर्ने बाध्यात्मक अवस्थामा छौँ।
उद्योगहरूले हाम्रा स्थानीय स्रोत, साधनको अधिकतम प्रयोगमार्फत त्यसलाई उपयोगी बस्तुमा तयार गर्ने काम गर्छन् र ती उद्योगलाई व्यवस्थित र सभ्य रूपमा सञ्चालन गरी उत्पादन प्रक्रियालाई सहज बनाउन केमिकल इन्जिनियरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन्।
उद्योगलाई व्यवस्थित रूपमा सञ्चालन गर्न विश्वव्यापी रूपमा नै केमिकल इन्जिनियरहरूको प्रयोग भएको देखिन्छ। उदाहरणका लागि अमेरिकामा आजको समयमा ७ लाखभन्दा बढी उद्योगधन्दा सञ्चालनमा आएका छन् र वार्षिक ३.८% को दरमा बढ्दै गएका छन् भने ८० हजारभन्दा बढी केमिकल इन्जिनियरले त्यसको व्यवस्थापन गर्दै आएका छन्।
छिमेकी मुलुक भारतमा करिब ६४ हजार केमिकल इन्जिनियरहरू छन् भने औद्योगिक क्रान्तिमार्फत विश्व अर्थतन्त्रमा पहिलो हुन लम्किरहेको चीनमा करिब ३ लाख ५० हजार केमिकल इन्जिनियरहरू कार्यरत छन्।
यी तथ्यांकले औद्योगिक विकासका लागि केमिकल इन्जिनियरहरूको आवश्यकतालाई पुष्टि मात्र गर्दैनन्, यसको अपरिहार्यतालाई दर्साउँछ।
विश्व शैक्षिक जगतमा सन् १८८८ देखि अमेरिकाको म्यासउचुसिट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) मा केमिकल इन्जिनियरिङ कार्यक्रमको औपचारिक अध्ययन सुरु भएको भए पनि नेपालमा भने झन्डै २ शताब्दीपछि मात्र यो कार्यक्रम सञ्चालनमा आयो। सन् २०१५ देखि काठमाडौँ विश्वविद्यालयमा सुरु भए पनि सन् २०१९ देखि त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भएपछि यसले राष्ट्रिय स्तरमा महत्त्व पायो।
नेपालमा हेर्ने हो भने विसं २०८० सम्ममा उद्योग तथा वाणिज्य संघको प्रतिवेदनअनुसार कुल ८४५३ ओटा साना-ठुला उद्योग सञ्चालनमा छन् भने विडम्बना जम्मा २१२ केमिकल इन्जिनियर नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएका छन्, जसमध्ये धेरै बाहिरी देशमा रोजगारी र अवसर को खोजीमा बाहिरिएको छन् जुन राष्ट्रको लागि दुःखको कुरा हो।
एकातिर नेपालमै सञ्चालित गोरखकाली रबर उद्योग, भृकुटी कागज कारखाना, विराटनगर जुट मिल जस्ता थुप्रै उद्योग बन्द भएका छन् र उदयपुर सिमेन्ट, हेटौँडा सिमेन्ट जस्ता सरकार मातहतका उद्योगको उत्पादन आशातीत छैन भने अर्कातर्फ दक्ष जनशक्ति अवसरको खोजीमा बाहिरी रहेका छन्। हामीले यस्ता उद्योगहरू सञ्चालनमा दक्ष केमिकल इन्जिनियरको परिचालन गर्न आज अत्यन्त आवश्यक छ।
रासायनिक मल, औषधीजन्य सामग्री, निर्माणजन्य सामग्री, न्यानो टेक्नोलोजी, कागज, चिनी, रबर, पेन्ट, डाई, वाइन, एसिड, सिसा, कस्मेटिक, फाइबर, रिफाइनरी लगायतका क्षेत्रसँग सम्बन्धित दक्ष प्राविधिक जनशक्तिका रूपमा केमिकल इन्जिनियरहरूले काम गर्ने गर्दछन्। उद्योग, उत्पादन, प्रदूषण नियन्त्रण र स्रोत संरक्षणका लागि सुरक्षित विधिको खोज गर्दै दिगो विकासमा समेत केमिकल इन्जिनियरको भूमिका महत्त्वपूर्ण हुने गर्दछ।
आज औद्योगिकीकरणमार्फत आर्थिक सबलीकरणका निम्ति केमिकल इन्जिनियरिङको आवश्यकतालाई देशले समेत महसुस गरेको छ। स्थानीय उत्पादनको गुणस्तर तथा प्रवर्द्धनका निम्ति प्रत्येक पालिकामा एक जना केमिकल इन्जिनियरको आवश्यकतालाई सरकारी क्षेत्रले समेत महत्त्वपूर्ण रूपमा लिनु पर्नेमा विज्ञहरूले जोड दिँदै आएका छन्।
उद्योगका वर्तमानदेखि भविष्यसम्ममा आउन सक्ने खतरा र त्यसको समाधानका अध्ययन गरी सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न तथा केही दुर्घटना भइहाले पनि तत्काल रूपमा समाधान गर्न केमिकल इन्जिनियरिङको ठुलो भूमिका हुने गर्दछ। यसका अतिरिक्त अहिले जटिल मानिएका फोहोर व्यवस्थापनदेखि इको-फ्रेन्ड्ली वातावरण बनाउन र इको-सिस्टममा हानी नआउने गरी दिगो विकास गर्न केमिकल इन्जिनियरिङको आवश्यकता छ।
यी सम्भावनाका बिचमा रहेको केमिकल इन्जिनियरिङलाई थप व्यवस्थित रूपमा सञ्चालन गर्नु आजको आवश्यकता रहेको छ। उत्पादित जनशक्तिलाई देशमा नै रोजगारको अवसर सिर्जना गरेर राष्ट्र निर्माणमा योगदान दिन सरकार केन्द्रित हुन आवश्यक छ। सरकारी नीतिमा रहेका जटिलतालाई क्रमशः सुधार गर्दै, केमिकल इन्जिनियरको आवश्यक पर्ने ठाउँमा केमिकल इन्जिनियरलाई नै परिचालन गर्नु पर्दछ।
हिजो यस विषयका जनशक्ति नहुँदा अन्य विषयका जनशक्तिमार्फत यससँग सम्बन्धित कामहरू गरिए पनि अब यी विषयका जनशक्ति तयार भएर देशमै रहिरहँदा हामीले व्यापक परिचालन गर्न आवश्यक छ। विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई सरकारी क्षेत्रले लोक सेवामार्फत र निजी क्षेत्रले समेत आफ्ना उद्योगहरूमा खपत गर्न आवश्यक छ, साथै अनुसन्धान र विकासका लागि समेत आवश्यक प्रबन्ध गर्न सके एकातिर बिदेसिनु पर्ने बाध्यता कम हुँदै जान्थ्यो भने अर्कातर्फ मुलुकको आर्थिक समृद्धिमा समेत टेवा पुग्थ्यो।
तसर्थ सुखी नेपाली समृद्ध नेपालको हाम्रो राष्ट्रिय आकांक्षा पूरा गर्न अब औद्योगीकरणमार्फत अघि बढ्नु पर्ने छ र त्यसका लागि केमिकल इन्जिनियरहरूलाई परिचालन गर्न जरुरी छ।