हामी प्रायः नेपालीको घरमा कहिल्यै नछुट्ने पेय पदार्थमा पर्दछन् विभिन्न किसिमका कार्बोनेटेड सफ्ट ड्रिंक्स तथा प्याकिङ गरेर ‘फलफूलका जुसहरू’ भनी लेभलिङ गरिएका पेय पदार्थहरू। अझै विशेष गर्मी याममा त यी पेय पदार्थबिना जिन्दगी नै सम्भव छैन हामीहरूको।
घरमा पाहुना आउँदा होस् अथवा कुनै सभा सम्मेलन तथा खुसी साटासाटको अवसरमा किन नहोस्, यी पेय पदार्थहरू हाम्रो जिन्दगीको अभिन्न हिस्सा बनिसकेका छन्। अझै ‘फलफूलको जुस’ भनेर बेचिने पेय पदार्थहरू त घरमा मात्र सीमित नभएर कोही आफन्त बिरामी भएको बेला भेट्न जाँदा कोसेलीको रूपमा अस्पतालको बेडसम्म समेत पुग्ने गरेका छन्।
आफ्नो स्वास्थ्यको ख्याल गरेर कार्बोनेटेड सफ्ट ड्रिंक्स (यस्ता पेय पदार्थहरू जसमा कार्बन-डाइअक्साइड ग्यास घोलिएको हुन्छ, जसले ती पेय पदार्थलाई खोल्दा छुस्स फिँज आउने र आवाज आउने बनाउँछ) को सट्टा ‘फलफूलको जुस’ भनेर प्रचार गरिएका पेय पदार्थहरू पिउने मानिसहरूको संख्या पनि उल्लेख्य पाइन्छ।
के पिउने अथवा के खाने त्यो व्यक्तिको रोजाइको विषय हो तर भ्रममा परेर अथवा गलत जानकारीको सिकार भएर कसैले पनि अनजानमा आफ्नो स्वास्थ्य बिगार्नु हुँदैन भन्ने उद्देश्यले यी ‘फलफूलको जुस’ को गुदी कुरा छर्लङ्ग बुझौँ।
वास्तवमा मानव शरीरको लागि फलफूल अत्यावश्यक छ। विभिन्न भिटामिन तथा खनिजहरू हामीले फलफूलबाट प्रशस्तै पाउन सक्छौँ। यसको लागि हामीले प्याकेटमा प्याकिङ गरेर विभिन्न नाम दिई बजारमा ल्याइएका जुसहरू पिएर हुँदैन तर पनि हामी बारम्बार जानेर अथवा अनजानमा त्यो पेय पदार्थ पिउँछौँ।
सबैभन्दा पहिले यस्ता प्याकेटमा आउने फ्रुट जुसमा के हुन्छ त्यो बुझौँ।
विभिन्न नाम दिएर बजारमा आउने फ्रुट जुस (फलफूलको रस) भनिएका पेय पदार्थहरू वास्तवमा केबाट बनेका हुन्छन् त? यो बुझ्न अन्त कतै जाने पर्दैन। सोझो तरिकाले बजारबाट कुनै पनि जुसको प्याकेट उठाएर हेरे मात्र पुग्छ किनभने हरेक प्याकेटमा उक्त पदार्थ के-के मिलेर बनेको छ भने उल्लेख गर्नु अनिवार्य छ।
बजारमा पाइने प्रायः सबै जुस तथा इनर्जी ड्रिंक्सहरूमा मिसाइएका विभिन्न पदार्थहरू मध्ये सबैभन्दा पहिले देख्न सकिन्छ पानी। त्यसपछि देख्न सकिन्छ ‘कन्सन्ट्रेटेड फ्रुट जुस’ (ताजा फलफूललाई पेलेर अथवा निचोरेर जुस निकालिन्छ। त्यसपछि, जुसलाई छानेर त्यसमा भएका ठोस पदार्थहरू हटाइन्छ। त्यसपछि जुसलाई तताइन्छ। जुसलाई तताएर पानी हटाइन्छ, जसको कारण जुस बाक्लो सिरप जस्तो कन्सन्ट्रेट बन्छ)।
जति पनि उपलब्ध जुसको प्याकेटमा हेर्ने हो भने कन्सन्ट्रेटेड जुसको मात्रा ७/८ देखि १०/११ प्रतिशत मात्र पाउन सकिन्छ। यसको मतलब के भयो भने यदि १ लिटर जुसको प्याकेट छ भने यसमा जम्मा एक सय एमएलको हाराहारीमा मात्र फलफूलको जुस हुन्छ जुन अत्यधिक प्रशोधनमा गएको कारण त्यसमा भएका अधिकतम पौष्टिक तत्त्वहरू नाश भइसकेका हुन्छन्। जम्मा एक हजार एमएलको प्याकेटमा सय एमएल मात्र जुस छ भने बाँकी ९०० एमएलमा मुख्यतः पानीलगायत अन्य विभिन्न तत्त्वहरू आउँछन् जसलाई एडडिटिभ भन्ने चलन छ।
यस्ता प्याकेट जुसहरूमा एसिडिटी रेगुलेटर, स्ट्याबलाइजर तथा आकर्षक रङ दिनको लागि कलरिङ एजेन्टहरू पनि मिसाइन्छ।
विशेष ध्यान दिनुपर्ने कुरा अब आउँछ, यसमा मिसाइएको चिनीको मात्रा। बजारमा उपलब्ध लगभग सबै प्याकेट जुसहरू चाहे ‘इनर्जी ड्रिंक्स’ होस् अथवा ‘फ्रुट जुस’ जुनसुकै नाम दिएर बेचे पनि सबैमा अत्यधिक चिनीको प्रयोग गरिएको हुन्छ। जुन मात्रा १०० एमएलको प्याकेटमा ८ देखि १० ग्रामको बिचमा पाउन सकिन्छ। यो हिसाबले एक लिटर जुसको प्याकेटमा लगभग १०० ग्राम चिनी हुन्छ जुन लगभग २५ चियाचम्चा हुन आउँछ।
यदि तपाईं एक पटकमा आधा बट्टा मात्र पिउनुहुन्छ भने पनि १२ चम्चा चिनी चपाउनु सरह नै हुन्छ। त्यसो भए के तपाईं १२ चम्चा चिनी खान सक्नुहुन्छ? पक्कै पनि चिनीका असरहरू बारेमा धेरै कुराहरू मनमा आउँछन्। ध्यान दिनुहोस् यो चिनीको मात्रा कार्बोनेटेड सफ्ट ड्रिंक्स (कोकाकोला, पेप्सी, स्प्राइट, फेन्टा आदि) मा भएको चिनीको मात्रा जत्तिकै हो (कुनै-कुनैमा १/२ प्रतिशतको अन्तर पाउन सकिन्छ )।
अब सोच्नु पर्ने कुरा के भने, यी प्याकेटमा आउने जुसहरू कसरी स्वास्थ्यकर छन् त?
यो कुरामा गहन चिन्तनको आवश्यकता किन पनि छ भने अमेरिकन हार्ट एसोसिएसनका अनुसार हाम्रो शरीरलाई कुनै पनि मात्रामा अप्राकृतिक चिनी जुन बाहिरबाट थपिएको हुन्छ, यसको आवश्यकता पर्दैन। यो अत्यन्त हानिकारक छ।
यसले हामीलाई नोक्सान नै गर्छ भने किन हामी बारम्बार यस्ता पेय पदार्थको सेवन गर्छौँ त? यसको बारेमा तल चर्चा गर्ने नै छौँ। पहिले यसरी तयार गरिएका जुसहरूको सेवनबाट हुन सक्ने जोखिमबारे छोटकरी कुरा गरौँ।
यस्ता पेय पदार्थको सेवनबाट हुने नोक्सानीको फेहरिस्त निकै लामो हुन जान्छ जसको लागि पहिले हामीले चिनीको खतरनाक असरको बारेमा जान्नुपर्ने हुन्छ। चार फरक फरक अध्ययनहरू जुन लगभग २ लाख मानिसहरूमा गरिएको थियो, त्यसमा के भनिएको छ भने- यसरी बाहिरबाट थपिएको चिनी (याडेड सुगर) को सेवनबाट मधुमेह रोगको जोखिम अत्यधिक बढ्दछ।
चिनीको विषयमा विश्वभरि भएका अध्ययनहरूले भन्छन् चिनीको सेवनबाट मधुमेह, क्यान्सर, मुटु रोग तथा कलेजोमा हुने विभिन्न गम्भीर समस्याहरू हुन सक्छन्। त्यसैले चिनीबाट हुने हरेक हानी यी पेय पदार्थको सेवनबाट पनि अवश्य हुन्छ नै जसमा चिनी मिसाइएको हुन्छ।
मानिसहरू किन पिउने गर्छन् यस्ता हानिकारक पेय पदार्थहरू?
यो विषयमा भएका विभिन्न अनुसन्धानहरूलाई केलाएर हेर्दा निकै अनौठो कारणहरू देख्न सकिन्छ। अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एक अध्ययनले यस्ता विविध कारणहरूमा उक्त जुसको प्याकेटमा गरिएको भ्रमात्मक प्रचार तथा लेबलिङलाई देखाएको छ। बजारमा पाइने जुसको प्याकेटमा उक्त पेय पदार्थ स्वास्थ्यको लागि ‘अत्यन्तै लाभदायक हुने’ अथवा ‘पिउँदा कुनै पनि नोक्सानी नगर्ने’ भन्ने किसिमका भ्रमयुक्त सन्देश तथा लेखहरूको कारण आम मानिसहरूले यस्ता किसिमका पेय पदार्थको सेवन गर्ने भनी उक्त अध्ययनले बताउँछ।
यसरी उपभोक्ताको मानसिकतामा नै प्रभाव पार्ने गरी लेखिएका वाक्यहरूमा प्रायः ‘नो आर्टिफिसियल स्विटनर अर्थात् कुनै कृत्रिम चिनी नमिसाइएको, शतप्रतिशत भिटामिन सी, भिटामिन सी को प्रमुख स्रोत, शत प्रतिशत प्राकृतिक आदि पर्दछन् भनी उक्त अध्ययनमा भनिएको छ।
यो अध्ययनको निष्कर्ष के छ भने ‘माथि उल्लेखित भ्रमात्मक कुराहरू तथा विभिन्न भिटामिन तथा मिनिरल सम्बन्धित झुटो दाबीहरूको कारण प्रायजसो अभिभावकहरू आफ्नो बालबालिकालाई यस्ता खाले पेय पदार्थहरू पिउन प्रोत्साहन गर्नुहुन्छ र आफूले पनि पिउनुहुन्छ।
यसरी जुसका प्याकेटमा ठुला-ठुला अक्षरमा लेखिएका यस्ता जानकारीहरूमा कति सत्यता छ त?
यो एउटा उपभोक्ताको मानसिकतामा खेलेर वस्तुको मार्केटिङ गर्ने तरिका हो। लेखिएको कुरा सही र सत्य छ वा छैन भन्दा पनि उपभोक्ताले यी कुराहरूलाई लिने तारिकामा भने फरक छ। उदाहरणको लागि- कुनै पनि जुसको प्याकेटमा हेर्न सकिन्छ त्यहाँ अगाडिको भागमा ठुला-ठुला अक्षरमा ‘पोषणयुक्त’ भनी लेखिएको हुन्छ भने पछाडिपट्टि अत्यन्त सानो अक्षरमा कुनै कुनामा लेखिएको हुन्छ- उल्लेखित पोषणको मात्रा कति छ भनी।
आइरन, क्याल्सियम जस्ता खनिज पदार्थहरू पाइने भनी लेखिएका यी बट्टामा ध्यान दिएर हेर्नुस् कति मात्रामा पाइने रहेछ। यो नगण्य हुन्छ। यति नगण्य हुन्छ कि हाम्रो दैनिक आवश्यकताको ०.५ देखि २ अथवा ३ प्रतिशत मात्र त्यो पनि मुस्किलले पूरा हुन्छ। यत्तिको लागि जुस पिउनु तर्कसंगत छँदै छैन।
अर्को सबैभन्दा ठुलो दाबी हो- भिटामिन सी को ठुलो श्रोत। तर यहाँ दाबी गरिएको जति भिटामिन-सी को लागि सयौँ रुपैयाँ खर्चेर अनेकौँ हानीको सम्भावना भएका यस्ता जुसहरू खानुपर्ने आवश्यकता पटक्कै छैन। एउटा सानो डल्लो कागती, अमला, सुन्तला जस्ता सजिलोसँग पाइने फलहरूको चार टुक्रा पारेर त्यसको एउटा मात्र टुक्रा दैनिक खाए पनि हामीलाई चाहिने भिटामिन सी हामीले सजिलोसँग प्राप्त गर्न सक्छौँ। समग्रमा भन्नु पर्दा यसरी प्याकिङ गरेर बजारमा ल्याइएका जसबाट हामीले पाउने भनेको चिनी नै हो।
के ‘इनर्जी ड्रिंक्स’ बाट साँच्चै इनर्जी आउँछ त?
प्रोफेसर डा. जोन यडकिनले आफ्नो विश्व प्रसिद्ध किताब ‘पियोर, ह्वाइट एन्ड डेड्ली’ मा यो कुरालाई यसरी प्रस्ट्याउनु भएको छ-
‘प्रायजसो हामीले खाने खानाहरू ढिलो चाँडो ग्लुकोजमा नै परिवर्तन हुन्छन्। यही ग्लुकोजले हाम्रो शरीरलाई दैनिक जीवनमा इनर्जी (शक्ति) दिने काम गर्दछन्। जब जब यो ‘चिनी’ भन्ने शब्दको प्रयोग हुन्छ यसले एकातिर खानेकुरामा भएको अथवा थपिएको चिनीलाई जनाउन खोजेको हुन्छ भने अर्कोतिर हाम्रो रगतमा भएको चिनीको मात्रा (ब्लड ग्लुकोज) लाई जनाइएको हुन सक्छ। तर यी दुई चिनीमा ठुलो अन्तर छ जुन उपभोक्ताले बुझ्दैनन्।
बुझ्नु पर्ने कुरा के भने हाम्रो शरीरलाई शक्ति दिने बाहिरी खानामा भएको चिनीले होइन रगतमा भएको चिनीले हो। यसको मतलब इनर्जीको लागि इनर्जी ड्रिंक्स चाहिन्छ अथवा यसले इनर्जी दिन्छ भन्नु गलत हो। हामीले खाने हरेक स्वस्थ खानेकुरामा शक्तिको श्रोत रहेको हुन्छ। त्यसैबाट शरीरले आफूलाई चाहिने ‘इनर्जी’ लिने गर्दछ। यसरी लिएको केही इनर्जीलाई शरीरले भण्डारण गरेर राख्ने समेत गर्दछ ताकि पछि आवश्यक पर्दा (खाना नपाएको अथवा भोकमरी भएको बेला) प्रयोगमा ल्याउन सकियोस्।
यदि हाम्रो शरीरको बनावट यस्तो नहुँदो हो त तुरुन्त इनर्जी चाहिएको बेला अधिकतम मात्रामा चिनी मिसाइएका यस्ता पदार्थहरू पिउनु उचित हुने थियो किनभने चिनी हाम्रो पेटबाट रगतमा पुग्न अन्य खानेकुराको तुलनामा अत्यधिक छोटो समय लिन्छ। यही समयको अन्तरलाई भ्रमात्मक तरिकाले ‘तुरुन्तै इनर्जीको लागि यो खानुहोस्/ पिउनुहोस्’ भनी प्रचार गरिन्छ। तर सत्यता के भने छोटो समयमै रगतमा घुल्ने भएको कारण हाम्रो लागि चिनीको खतरा अझै बढ्न जान्छ।
के जुस खाँदै नखाने त?
कुरा जुसको मात्र हो भने त अवश्य खाने। तर आँप, स्याउ, अनार जस्ता अनेकौँ फलफूलको नाम राखेर प्याकिङ गरेर आएका जुसदेखि जति टाढा बस्न सक्यो त्यति नै उचित हुन्छ।
तपाईंलाई जुस मन पर्छ भने ताजा फलफूललाई पेलेर बनाइएको जुस अथवा घरमै जुस निकालेर पनि जुसको आनन्द लिन सक्नुहुन्छ। यसमा हानी छैन। तर यसरी जुस निकालेर पिउनुभन्दा सम्भव छ भने सिंगो फल नै खाँदा यसबाट भरपुर फाइदा लिन सकिन्छ।
कुनै पनि कुरा खाँदा जब हामी चपाएर खान्छौँ, चपाउने प्रक्रियाबाट दिमागमा सन्तुष्टिको संकेतहरू पुग्ने गर्दछन् तर जुस पिउँदा यस्तो हुँदैन। त्यस कारण हामीले बढी मात्रामा क्यालोरी लिने सम्भावना बढ्छ। अर्कोतिर जुस निकालेर खाँदा उक्त फलमा भएको फाइबर हामीले खान सक्दैनौँ। फाइबर हाम्रो शरीरको लागि अत्यन्तै आवश्यक कुरा हो जसले हामीले खाएको चिनी छोटो समयमै रगतमा पुग्नबाट जोगाउँछ।
समग्रमा फलफूलको नाम दिएर बजारमा प्याकिङ गरेर ल्याइएका कुनै पनि पेय पदार्थ फाइदा गर्लान् भन्ने सोचेर पिउने बानी छ भने आजैदेखि बन्द गरिदिनुस्। सकेसम्म कुनै पनि फललाई त्यसको वास्तविक अथवा पूर्ण रूपमा नै खानुहोस्। जुस खान नै पर्ने अवस्था हो भने ताजा फलफूलको जुस बनाएर तुरुन्त पिउनुहोस्। स्वस्थ जीवन जिउनुहोस्। चिनीको खतराबाट आफू जोगिनुहोस्, आफ्नालाई जोगाउनुहोस्।