मेरो बाले जोड्नु भएको थुप्रै सम्पत्ति छ। कालिन्चोक लापिलाङ स्थित ढुंगामाटोको घर र बारी बुबाकै पहलमा जोडेको सम्पत्ति हो।
मलाई मेरा बाले सदरमुकाम चरिकोटमा घर जोडिदिनु भयो। एक असल अभिभावकले आफ्ना सन्तानप्रति गर्नुपर्ने दायित्व सबै पूरा गर्नुभएको जस्तो लाग्छ।
सन्तानले अभिभावकप्रति कति कर्तव्य पूरा गर्न सकियो सकिएन चाहिँ मेरो आत्मसमीक्षाको विषय हो। तर मेरा बाले जोडेको भौतिक सम्पत्ति धेरै छन्। गणना गर्न नमिल्नेमा एउटा काले कुकुर पनि हो।
मलाई जहिल्यै बाको यादले पिरोलिरहेको हुन्छ। मेरा बा काठमाडौँको वीर अस्पतालको बेडमा छटपटिँदै गर्दा पनि उहाँले आफूले पालेको काले कुकुरप्रति देखाएको प्रेमसँग यी भावना मुखरित गर्दै छु।
त्यो काले कुकुरले पुच्छर हल्लाउँदै मसँग जिस्किँदै गर्दा मेरा बाका थुप्रै खाले निर्देशित भनाइ र केही अत्यन्तै प्रेरणादायक वचनहरूले छटपटाई बाको यादगार सम्झना प्रतिबिम्बित गरिरहेको हुन्छ।
म दुःखमा हुर्केको हुँ। मेरो घर जंगलको छेउमा, पाखाभित्ता, भीरपाखामा गाईबस्तु चराएको, कुकुर, बिरालो पालेको एउटा किसानको छोरा हुँ। पहाडमा जन्मे, हुर्केको हुनाले गाउँघरका हरेक पाखाभित्ता, खोलानाला, वनजंगल, ढुंगामोटोसँग मेरो सम्बन्ध छ।
म लगभग २०/२२ वर्षदेखि नै सदरमुकाम चरिकोट बस्दै आएको थिएँ। तर बाआमा सँगै २०७५ साल तिरको कुरा हो। मेरो बाको बिग्रँदो स्वास्थ्य समस्याले (दम) मेरो जन्म गाउँ लापिलाङको थाङबारु छोडेर सदरमुकाम चरिकोट आएँ। रहरले होइन, बाको उपचार सहज बनाउन सदरमुकाम सरेको हो।
बालाई दमले थला पारेपछि अक्सिजन कन्सन्टेटरको सहायताले केही समय मात्रै बाँच्नु भयो। बालाई बचाउन अनेकौँ कसरत गर्यौँ तर सकेनौँ। उहाँ ६३ वर्षकै उमेरमा गुमाउँदा मलाई पनि एकान्तमा निकै आवेगको चित्कार पैदा हुन्छ।
बालाई सदरमुकामभन्दा गाउँघर निकै प्यारो थियो। बा तिनै गाउँघरमा जन्मिनु भयो, हुर्किनु भयो र हामीलाई पनि त्यही जन्माउनु हुर्काउनु भयो। तर स्वास्थ्यको समस्याले ती सबै चीजलाई भुल्दै चरिकोट आउनुपर्यो।
बाले घरमा पालेका बाख्रा, गाई, भैँसी, गोरु सबै बेचबिखन गरेर गाउँको घरमा ताल्चा मारेर आमासहित बुवा आउँदै गर्दा उहाँले एउटा काले कुकुर पनि सँगै लिएर आउनुभयो। बाले भन्नु भएको थियो- ‘वर्षौँदेखि हुर्काएको यो चाहिँ न बेच्न सकियो न कसैलाई दिन सक्यौँ! न यो छोड्न सक्यौँ न यसले हामीलाई नै छोड्यो! हामीसँगै गाडी चढ्यो, हामीसँगै आयो। यो पनि सम्पत्ति हो मैले जोडेको। यो काले कुकुरलाई राम्रोसँग ध्यान दिनू पालनपोषण गर्नू।
कालेलाई देख्ने बित्तिकै बाले बोलेका ती शब्दहरू हिजो झैँ लाग्छ। आज यो काले बिरामी छ, त्यसैले हामीले उसलाई बाले छोडेको सम्पत्तिकै रूपमा लिएर ध्यान दिइरहेका छौँ। यस अवस्थामा पुग्दै गर्दा मलाई मेरा बाले बोलेका वचनले त्यो कुकुर मेरो परिवारको सदस्यकै रूपमा लिएको छु।
गत आइतबार मात्रै छोरा समपर्ण र मैले बाइकमा हालेर कालेलाई उपचार गर्न भेटेरिनरी अस्पताल त लग्यौँ तर ऊ बाँच्ने सम्भावना निकै न्यून छ।
कालेको अवस्था हेर्दा हामी अत्यन्तै दुखी भयौँ। उसप्रति माया मात्रै जोडिएको छैन, हाम्रो परिवार र ममा बाको भावना अनि प्रेम पनि जोडिएकाले हामी चिन्तित छौँ। बाको सम्पत्ति अर्थात् यो काले कुकुरसँग मेरा बाका छोरीहरू, नातिनातिनाहरू, बुहारीहरू, छोरा हामी सबै दुखी छौँ।
काले बिरामी भएको छ, निको पार्नुपर्छ भनेर म दिनैपिच्छे भेटेरिनरी अस्पताल धाइरहेको छु। मेरो बाको एउटा भावना र प्रेम जोडिएको यो सजीव प्राणीसँग अत्यन्तै प्रेम छ। काले रोइरहन्छ, शरीर घिसार्छ र शरीर मुसार्दा ऊ आनन्दित महसुस गर्दै चुप बस्छ। हामीलाई निकै भावविह्वल बनाउँछ।
अहिले मेरी ठुली दिदी र म उसको उपचारमा लागेका छौँ। बाको चिनो जुन बिरामी अवस्थाले हामीलाई निकै दुखित पनि बनाइरहेको हुन्छ।
एक बेलुकीको कुरा हो, खाना खुवाउने क्रममा खाना नखाएपछि कुकुर मर्ने भयो भनेर मेरी दिदीले रुँदै मलाई फोन गर्नुभयो। मेरो मन पनि निकै मडारिएको थियो। म दिदीसँगै रुने कुरा पनि भएन। यो काले जस्तोसुकै बिरामी हुँदा पनि आफ्नो सबै परिवारका सदस्यलाई स्पर्श र बोलीबाटै चिन्छ। यो चिनाई र कालेले दिएको आफ्नोपनको आभासले नै हामीलाई झन् भावुक बनाउँछ।
बा बिना घरको बेसहारा महसुस गरिरहेका छौँ। मलाई मेरा बा जिउँदो भएको भए भन्ने आभास छिनछिनमा हुन्छ। बाको अभावले निकै सकस हुन्छ। झन् काले बचाउन पाए मेरा बाले भनेको एउटा जिम्मेवारी त पूरा हुने थियो कि भन्ने भान पनि हुन्छ।
मैले यहाँ के कुरा जोड्दै छु भने, बाले छोडेर गएको आज करिब पाँच वर्ष भएछ। बासँगै दौडिएर आएको एउटा काले कुकुर पनि बिरामी पर्दा झन् तनाव थपिरहेको छ। मेरा बाको एउटा सम्पत्ति या चिनो जुन कालेसँग जोडिएको भावनाले नै हो भन्ने लाग्छ।
हुन त कुकुरको औसत आयु नै १० वर्षदेखि १४ वर्षसम्म हो। हामीले आफ्नो बाको सम्पत्ति या चिनोलाई महत्त्व दिएका मात्रै हौँ त? आफैले आफैँतिर अनुत्तरित प्रश्न तेर्साइरहँदा काले बचोस् र मेरा बाको जस्तै अल्पायुमा नै कालेले छाडेर नजाओस् भन्ने लागिरहन्छ।
बालाई यही शब्दद्वारा श्रद्धाञ्जली।