प्रधानमन्त्रीज्यू,
तपाईँ सामाजिक सञ्जाल र सञ्चार माध्यममा आएका प्रतिक्रियाहरूप्रति चासो लिनुहुन्छ भन्ने मेरो बुझाइ छ।नागरिकका ससाना समस्यालाई पनि नजिकबाट नियाल्नु हुन्छ। त्यसमा पनि युवा र बालबालिकाका समस्या र मनोविज्ञानलाई बोध गर्न सक्ने प्रधानमन्त्रीको रूपमा मैले बुझेको छु।
तर म प्रधानमन्त्रीप्रति नेपाली नागरिक भएर गर्व गर्न सकेकी छैन किनकि नेपाली नागरिक हुँदाहुँदै पनि मैले नेपाली नागरिकता पाउन सकेकी छैन।
मेरो घर सिन्धुली जिल्ला हो। मैले नागरिकता प्राप्त गर्न भनेर जिल्ला प्रशासन कार्यालय सिन्धुली जाँदा मेरो बुबाको नागरिकता नबनेको कारण मेरो पनि नागरिकता बन्न नसक्ने जानकारी पाएँ। मेरो बुबा र म नेपाली नागरिक हो। मेरो बुबाको वंशतर्फको कोही पनि छैनन्। मैले बाबुतर्फको केही छन् कि भनेर खोज्दा कोही जीवित नभएको भन्ने जानकारी पाएकी छु।
मेरो हजुरआमाले मेरो बुबालाई माइतमा जन्माएर अर्कैतिर बिहे गरेर जानु भएछ। हजुरबाको हो ठेगान छैन सायद।मेरो बुबा मावली घरमा हुर्किनु भएछ र बुबाले बिहे गरेपछि म, दिदी र भाइ जन्मेछौँ। मैले प्रमाण खोज्दै जाँदा मेरो हजुरआमा (बुबाको आमा) को चाहिँ नेपाली नागरिकता बनेको रहेछ तर उहाँ पनि धेरै पहिले नै अर्कैसँग विवाह गरी उतैको थर र ठेगानाबाट नागरिकता लिनुभएको रहेछ। उहाँको पनि मृत्यु भइसकेको छ।
हाल म पच्चीस वर्षकी भएँ। मेरो आमाको पनि मृत्यु भइसकेको छ। कमजोर आर्थिक अवस्थाका कारण मलाई काठमाडौँको एक बालगृहले आश्रय दियो र म त्यही बसेर पढेँ। हाल मैले स्नातक गरेको छु। चित्रकलामा मेरो विशेष रुचि छ। चित्रहरू बनाउँछु। मास्टर्स डिग्री पढ्न चाहन्छु। जागिर खानुपर्ने रहर र आवश्यकता दुवै छ। म यही देशमा बसेर केही गर्न चाहन्छु।
मेरो नागरिकता लिने उमेरदेखि नै म पटक-पटक जिल्ला प्रशासन कार्यालय धाएँ तर नागरिकता पाउन सकेको छैन।सधैँ एउटै जवाफ आउँछ- तिम्रो बाबुको नागरिकता छैन, त्यसैले तिम्रो पनि बन्दैन।
मेरो बुबाको नागरिकता बनाउन दुई पटक वडा कार्यालयले सिफारिस गरेर जिल्ला प्रशासन कार्यालय सिन्धुली पठाइयो तर जिल्ला प्रशासन कार्यालयले मेरो बुबालाई नागरिकता दिएको छैन। मेरो आमाको केही वर्ष पहिले मृत्यु भइसकेको छ।
हाल मेरो बुबा बिरामी हुनुहुन्छ। स्वास्थ्य अवस्था निकै खराब छ। उहाँ आफैँ हिँडडुल गर्ने र पहल गर्ने अवस्थामा हुनुहुन्न। मेरो बुबाको एसएलसी पास गरेको शैक्षिक प्रमाणपत्र छ अनि माओवादी सेनाको परिचयपत्र छ। उहाँ माओवादी युद्ध कालमा माओवादी सेनाको सेक्सन कमान्डर हुनुहुँदो रहेछ।
तिनै दुई वटा प्रमाण र सनाखत गर्ने मान्छेसहित वडा कार्यालयबाट सिफारिस हुँदा समेत मेरो बाबुको नागरिकता बन्दैन। उहाँ युद्ध कालको माओवादी सेनाको मान्छेमाओवादीकै प्रधानमन्त्री र गृहमन्त्री हुँदा कसो नबन्ला, नेपालमा माओवादी सेना तालिवानहरु त भएका थिएनन् होला, नेपाली नागरिक नै थिए होला भन्ने ठानेर नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा २०८० जेठमा मेरो बुबा र मैले गृह मन्त्रालयमा नेपाली नागरिकता दिलाइ पाउँ भनेर निवेदन दियौँ।
मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीका लागि भनेर निवेदनसहित पठायो। त्यसपछि म र मेरो बुबा वडा कार्यालयमा गएर सनाखत गर्ने एक जना जनप्रतिनिधि र दुई जना नेपाली नागरिकता प्रमाणपत्र भएका सोही वडाका व्यक्तिसहित जिल्ला प्रशासन कार्यालयमा सिफारिस लिएर गयौँ।
जिल्ला प्रशासन कार्यालयमा जाँदा तपाईँहरूको नागरिकता अहिले बन्दैन, हामी बैठक बसेर आफै बोलाउँछौँ भन्नु भयो। त्यसपछि हामी काठमाडौँ फर्कियौँ। काठमाडौँबाट बारम्बार कल गर्दा अलिक पछि हुन्छ भन्नुभयो। त्यसपछि कल नै उठाउन छोड्नु भयो।
त्यसपछि मैले सामाजिक सञ्जालमा प्रधानमन्त्रीले गृह सचिवलाई बोलाएर गोरखा चुम भ्यालीबाट फर्किएका प्रकाश तामाङलाई नागरिकता दिलाउन चासो दिएको समाचार पढेँ। अनि मलाई पनि अब मेरो बुबाले नागरिकता पाउनु हुन्छ अनि मैले पनि नागरिकता पाउँछु भन्ने आशा पलायो।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा फोन गरेँ। 'तपाईँहरूको केस जटिल छ' भन्ने जवाफ पाएँ। फेरि एक जना कर्मचारीको सहयोगमा गृह मन्त्रालयमा निवेदन बोकेर गएँ। गृहमन्त्रीको निजी सचिवालयमा गएर उपसचिव कर्मचारीलाई निवेदन दिँदै आफ्नो कुरा राख्न सुरु गरेँ।
'सर मैले यही निवेदन पहिले पनि पेस गरेको हो। जिल्ला प्रशासनमा जाँदा सिडिओ साहेबले चासो नै दिनुभएन।उहाँको क्षमताको समस्या हो कि के हो? अब चाहिँ सहयोग गरिदिनु पर्यो' भन्दै थिएँ, 'सिडिओको क्षमतामा प्रश्न गर्ने तपाईँ को हो? नागरिकता सिडिओले चाहेमा दिने हो, यहाँबाट केही हुँदैन' भन्दै जंगिनु भयो।
'सर निवेदन त लिनु न' भनेपछि 'हामीले यो निवेदन उतै पठाउने हो, जे हुन्छ उतै जिल्ला प्रशासनबाट हुन्छ' भन्दै झर्किँदै तोक लगाइदिनु भयो।
प्रकाश तामाङलाई नागरिकता दिलाउन चासो दिने प्रधानमन्त्रीको मन्त्रालयमा नागरिकताको समस्या लिएर जाने व्यक्तिलाई यस्तो व्यवहार होला भन्ने मैले सोचेकी थिइनँ। हिजोआज जिल्ला प्रशासनमा कल गर्दा तपाईँको केस जटिल छ, अरू पनि केही त्यस्तै खालका छन्, गृह मन्त्रालयबाट आदेश आयो भने मात्र जारी हुन्छ' भन्ने जवाफ दिनुहुन्छ।
गृह मन्त्रालयमा जाँदा व्यवहार त्यस्तो हुन्छ। मन्त्रालयबाट पत्र गए पनि आवश्यक कारबाही गर्नु मात्र भनेर जिल्ला प्रशासनमा लेखेर पठाउने रहेछ। त्यस्तो पत्र जिल्ला प्रशासनमा पहिल्यै गइसकेको छ। त्यसको आधारमा उहाँहरूले नागरिकता दिनुहुन्न। म के गरौँ?
मैले र मेरो बुबाले नागरिकता नपाउने कानुनमै लेखेको छ त भनेर नागरिकता ऐन २०६३ पनि पढेँ। उक्त ऐनको दफा ८ को उपदफा १ मा नागरिकताका लागि निवेदनसाथ पेस गर्नुपर्ने कागजातमा बाबु वा आमा वा आफ्नो वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र भन्ने रहेछ तर सोही ऐनको दफा ८ को उपदफा ४ मा दफा (१) बमोजिमका प्रमाणहरू निवेदनसाथ पेस गर्न नसकेको अवस्थामा तोकिएको अधिकारीले स्थलगत सरजमिन र निवेदकलाई चिन्ने सोही वडामा बसोबास गर्ने दुई जना नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका व्यक्ति र सम्बन्धित स्थानीय तहको एक जना पदाधिकारी वा सदस्यले सर्जमित स्थलमै गरेको सनाखतको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गर्न सक्नेछ भन्ने व्यवस्था रहेछ।
ऐन कानुनको व्यवस्था हेर्दा मेरो बुबा र मैले अनागरिक बन्नुपर्ने अवस्था छैन जस्तो लाग्छ तर मेरो बुबा र मैले नागरिकता पाउन सकेको छैन।
हालसम्म मैले वडा कार्यालयदेखि जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसम्म कति हारगुहार गर्दा समेत नागरिकता प्राप्त गर्न नसक्दा प्रताडित बनेकी छु। मेरो बुबा बिरामी हुनुहुन्छ। काठमाडौँको बसाइ ज्याला मजदुरी गरेर कमाएको पैसा नागरिकता बनाउन काठमाडौँ-सिन्धुली आवतजावत गर्दा सकिन्छ। मैले स्नातक तह पास गरेको छु। देशमै बसेर केही गर्न चाहन्छु, केही बन्न चाहन्छु तर म यो देशको नागरिक हो भन्ने प्रमाण 'नागरिकता' मसँग छैन।
प्रधानमन्त्रीज्यू, मैले नागरिकता कहिले पाउँछु? मेरो बुबा र म नेपाली नागरिकलाई मेरो देश नेपालको नागरिकता दिलाइ दिनुहोस् न!