समय समयमा केही न केही नयाँ कुरा सिक्दै गर्नुपर्छ मान्छे भएर जन्मिसकेपछि। सिकाइको प्रक्रिया निरन्तर नै रहन्छ। सिक्नु एउटा निरन्तर प्रक्रिया पनि हो। तर पनि, त्यसमा केही कुराहरू जीवनभरको सिक्नुपर्ने शिक्षा 'सिक्नु नै जिन्दगी हो' मैले पनि सिकेँ। किन्न र चिन्न नसकेका आफन्त!
मैले हरेक कुरामा प्रतिक्रिया नदिने बारेमा सिकेँ। मेरो प्रतिक्रिया सही हो या गलत मेरो अगाडिको व्यक्तिलाई गलत नै लाग्छ, किनकि उसले त्यो दृश्य/घटनालाई आफ्नो दिमाग अनुसार देख्छ। जुन मेरो दृष्टिकोणभन्दा बिल्कुलै फरक हुन्छ। अनि संसारमा सबै मान्छेको विचार एकै छ जस्तो तपाईंलाई लाग्छ भने त्यो तपाईंको भ्रम हो। तपाईंको लागि तपाईं बाहेक अरू कोही छैन यो कुरा तपाईंले सम्झिराख्नुहोला।
यो लेख्नुपर्ने कुरा त त्यत्ति होइन। तर मभित्र घटेको घटना वा अरूमा पनि यस्तै भइरहेको छ मैले उनलाई धेरै सम्झाएँ, उनकै लागि धेरै सोचेँ कि आफू धरापमा पर्नु र आफ्नो जीवनसाथी धरापमा पर्नु एकै लाग्थ्यो। हामीसँग यो समयमा कुनै निर्णय निश्चित थिएन। तर जसै गर्दा पनि हामी खुसी हुन र अरूलाई खुसी बनाउन सकिएन अझ भनौँ कोसिस नै गरिएनछ क्यारे!
हिजोका दिनहरूमा अरूलाई सम्झाउने, बुझाउने म आज आफै पनि एउटा बन्द कोठामा भनौं एउटा अन्डा भित्रको चल्ला जस्तै यताउता ठोक्किँदै बस्न बाध्य छु। त्यो पनि आफ्नै कारणले।
एकछिन टोलाएर सोच्छु जिन्दगीमा के हुँदैछ यत्ति साह्रो हिम्मत किन हराको होला? प्रश्न गर्छु!
फेरि आफै उत्तर दिन्छु- ह्या कति तनाव र चिन्तामा बस्नु एकदिन सब ठिक हुन्छ आखिर समय पनि त सधैं एकैनास हुँदैन! त्यति साह्रो नै के भएको छ र? मन बेचैन र छट्पटी हुन्छ।
कुनै समयमा मैले आफ्नो बलियो शरीर अनि स्वस्थ शरीरको महत्त्व बुझ्ने मौका पाएँ! कसैले मलाई अल्छीको उपनाम दिए, कसैले घमण्डी, घुसघुसे भन्दै हिँडे तर मलाई बुझ्ने कोसिस अझ भनौं मभित्र के बितिरहेको थियो भित्री पीडा के हो। त्यो बुझ्ने चेस्टा नै नगरी सबैले विभिन्न उपनाम दिँदै नहिँडेका भने होइनन्।
जुन समयमा मसँग कसैलाई केही जबाफ दिने हिम्मत नै थिएन। बोल्ने बाटो नै थिएन, यो समयमा मेरा धेरै कमीकमजोरी भेटिए, यसबाट मैले धेरै राम्रो पाठ सिक्ने मौका पनि पाँए।
कसैसँग सवालको जबाफ नदिने अठोट लिएँ। आफूलाई केही हदसम्म पीडा लुकाएर कसैको अगाडि कमजोर नहुन सिकेँ। सायद जिन्दगीमा यस्तै भोग्दै जाँदा मान्छे खरो सटिक जबाफ दिन पुग्ने रहेछ क्यारे!
हुन त मैले सेतोलाई सेतो भन्दा अरूले कालो देखेपछि मेरो के दोष! कसैसँग केही कुराको गुनासो गर्न नखोज्ने सायद म जस्तै उनलाई पनि एकान्त अनि एक्लोपन प्यारो भएको भएर हुन सक्छ। आफैले उनी भित्रको पीडालाई बुझ्ने चेस्टा गर्छु। मौन बस्छु।
आफ्ना सपनाहरू बिथोलिएको छरपस्ट हुँदा पनि अरूलाई देखाउन खुसी भएको जस्तो गर्छु। चर्को स्वरमा बोलेर पीडा नभएको जस्तो गर्छु! कुनै समय झ्याप्प रिसलाई भन्दा पनि भित्रको पीडालाई पोख्न नपाउँदा केही शब्दहरू चर्को र नमिठो आउने रहेछन्।
मबाट कोको टाढिए त्यो मलाई पनि थाहा भएन। उनीहरू टाढिनुको कारण पनि बुझेँ! मैले दु:ख दिने मान्छेहरूलाई बदला लिने ठाउँमा उनीहरूलाई बेवास्ता गर्न सिकेँ।
मैले हरेक समय नकारात्मक कुरा फैल्याउने मान्छेबाट टाढै बस्न सिकेँ। मेरो अगाडि एउटा कुरा, पछाडि अर्कै कुरा गर्नेहरूबाट पनि दुरी बढाउने निर्णय गरेँ। किनकि उनीहरूमा मेरो सकारात्मकताले कुनै प्रभाव गर्दैन। तर उनीहरूको नकारात्मकताले मेरो मानसिक शान्तिलाई खल्बल्याइरहेको हुन्छ। उथलपुथल पारेको हुन्छ। अनि म सही हुँदा पनि गलत साबित गराइदिन्छ।
मैले आफ्नालाई चिन्न सिकेँ। जसले मलाई माया गर्दैनन्, उनीहरूले मभित्र सधैंभरी गल्ती नै खोजिरहन्छन्। उनीहरूलाई मेरो कुनै पनि राम्रो कामले केही फरक पार्दैन। अन्ततः मैले मेरो गल्ती खोजी हिँड्ने मान्छेलाई मेरो ऊर्जा खेर नफाल्न सिकेँ।
कसैले मलाई अज्ञानी सोच्छ भने म अझै उसलाई आफू बुद्धिमानी छु भनी साबित गर्न प्रयास गर्दिनँ किनकि सबै कुरा सुनेर मौन बस्नु उचित हुन्छ। आफू कुनै कुरा सही बोल्दा नराम्रो भइन्छ भने त्यहाँ आफ्ना कुरा राख्नु बेकार छ। मैले हरेक परिस्थितिमा सहज हुन सिकेको छु।
मान्छेभित्र शारीरिक र मानसिक रूपमा पीडा छ भने उसलाई कुनै पल पनि खुसी लाग्दैन मैले भोगेअनुसार उसलाई कुनै कुराको वास्ता नै हुँदैन। त्यो पीडा अरूले बुझ्दैन। ऊ घमण्डी हो कहिले उज्यालो कहिले अँध्यारो हुने बानी छ भन्न समेत भ्याउने रहेछन् तर यो रहर कसैको हुँदैन।
कसैको स्वभाव त्यस्तै हुन सक्ला त्यो स्वाभाविक नै हो तर कुनै मान्छे हाँस्ने बोल्ने, कुराहरू सबै सामु राख्ने गर्दा गर्दै पनि ऊ गलत हुन्छ भने बुझ्नुस् ऊ होसमा आइसकेको हुन्छ कि बोल्नुभन्दा चुप रहनु उसको लागि ठूलो उपलब्धि हो।
कहिलेकाहीँ सही भएर पनि मौन बस्नु हितकार हुन्छ। किनकि मेरो बोलीले अगाडि बस्नेको मन दुख्दा म स्वयंको मन दुख्छ, त्यसैले चुपचाप बस्न सिकेको छु।
मैले आफ्नो व्यवहारलाई संयमित राख्न सिकेँ। मैले आफ्नो गल्तीलाई स्वीकार गर्न सिकेँ। गल्ती स्वीकार गर्दा कुरा बनोस् या नबनोस्, तर मेरो मनमा असिम शान्तिको अनुभव हुन्छ। मैले हरेक मानिसलाई उसको स्वभाव अनुसार स्वतन्त्र छोड्न सिकेँ।
मेरो कठोर प्रयासले मलाई सबैको नजरमा राम्रो बनाउन सक्दैन। त्यसैले त्यसतर्फ मैले प्रयास गर्नु ब्यर्थ हुन्छ। मैले मप्रतिको मानिसको दृष्टिकोण बदल्ने प्रयास नगर्नका लागि धेरै प्रयास गरेँ।
जीवनमा हरेक व्यक्तिले कहिलेकाहीँ आफ्नो कमजोरी अरूबाट लुकाउनुपर्ने अवस्था भोग्छ। हाम्रो समाजले धेरै हदसम्म "मजबुत हुनु"को अर्थ, शारीरिक र मानसिक रूपमा कठिनाइहरू सहनुमा मात्र देख्छ। तर के हामीले कहिल्यै सोचेका छौं कि कमजोर हुनु भनेको पनि एउटा मानवीय गुण हो?
धेरै पटक हामी अरूलाई हाँसेर, बोल्ड भएर र आत्मविश्वासको आवरण लगाएर प्रस्तुत गर्छौं, चाहे हाम्रो भित्री मनमा आँधीतूफान चलिरहेको होस्। यो हामीले बनाएको त्यस्तो जाली छ जसमा हामी आफै फस्छौं। आफ्नो कमजोरीलाई लुकाएर राख्न सक्नु भनेको आफूलाई बलियो बनाउनु हो भनेर हामीले सिकेका छौं, तर यो सोचाइ हामीलाई मानसिक तनावको कारण बन्छ।
यस संसारमा कमजोर देखिनु भनेको जीवनको असल भोगाइमा समर्पण गर्नु हो। जब हामी हाम्रो कमजोरी अरूसँग बाँड्छौं, तब हामी एउटा सत्यको करिब पुग्छौं, जुन हाम्रो र अरूको बीचको सम्बन्धलाई बलियो बनाउँछ। तर हाम्रो डर र शंका हामीलाई यस बाटोमा जानबाट रोक्छ।
हाम्रो समाजले नारीहरूलाई अनेकौं भूमिकामा राखेको छ - आमा, पत्नी, छोरी, बहिनी, कामदार, मित्र र मार्गदर्शक। यी सबै भूमिकामा एक नारीलाई सक्षमता देखाउनुपर्ने अपेक्षा राखिन्छ।
समाजको दृष्टिकोणबाट हेरौं भने, "पूर्ण नारी" भनेको सायद त्यो हो, जसले घरलाई मात्र राम्रोसँग सञ्चालन गर्छे, परिवारको हेरचाह गर्छे, आफ्नो काममा पनि उत्कृष्टता देखाउँछे, संस्कार र अनुशासनमा समर्पित रहन्छे र समाजको आदर्श नमूना बन्छे।
तर यो सोच एकदमै संकुचित छ। यसले नारीलाई केवल आदर्श गुणहरूको परिधिमा बाँधेर राख्छ। त्यस्ले बाहिरी रूपमा पीडा नदेखिए पनि भित्री रूपमा ऊ हार मान्न बाध्य हुन्छे। प्रत्येक नारीको आफ्नै विशेषता हुन्छ, आफ्नै गुणहरू हुन्छन्। कुनैमा सहनशीलताको गुण हुन्छ भने कुनैमा साहसको गुण; कुनैमा नेतृत्व क्षमता हुन्छ भने कुनैमा गहिरो करूणाको भाव हुन्छ। यसकारण, प्रत्येक नारी आफैमा अद्वितीय र महत्वपूर्ण छन्।
समाजले अपेक्षा गरेको "पूर्णता" हासिल गर्न कठिन छ। सबै गुणलाई एकै व्यक्तिमा खोज्ने सोच नै व्यर्थ हो। एउटा नारीले एकै समयमा सबै भूमिकाहरूमा उत्कृष्टता हासिल गर्न कठिन हुन्छ, र यो असल कुरा पनि होइन। मानिसको आफ्नो कमजोरीहरू हुन्छन्, र उनीहरूको आफ्नै संघर्षको कथा पनि।
यो पनि बुझ्न जरूरी छ कि पूर्णता भनेको केवल सबै गुणहरूको संकलन मात्रै होइन, तर आफ्नो गुणहरूलाई आत्मसम्मान र आत्म-स्वीकृतिका साथ स्वीकार्नु पनि हो। कतिपयले संस्कार सिकाउने बुवाआमाले हो भन्नुहुन्छ तर आफ्नै छोराछोरीको संस्कार कस्तो छ हेर्नुहुन्न। यो सम्भव पनि छैन सबैको आफ्नै इच्छा हुन्छ जस्तो कि तपाईंका छोराछोरीलाई कस्तो बनाउने भनेर त्यसमा तपाईंको हात हुने भए त सबैको बुवाआमाले राम्रै बनाउने कोसिस गर्नुहुन्छ गर्दा गर्दै पनि नहुनुमा तपाईं के भन्नुहुन्छ त?