वृत्ति भन्नाले मानव जीवन यापनका लागि गरिने कुनै पनि पेसा, व्यवसाय, नोकरी आदि भन्ने बुझिन्छ। जसअन्तर्गत व्यक्तिले आफ्नो सीप र क्षमताको प्रयोग गरी नियमित आयमूलक क्रियाकलापबाट जीवन यापन गर्दछ।
वृत्तिलाई बुझ्न जागिर पनि बुझ्न जरुरी छ। जागिर एउटा भूमिका मात्र हो र जुन आयआर्जनका लागि गरिन्छ। यो वृत्तिको एउटा अंश मात्र हो। यो व्यक्तिको क्षमता तथा योग्यता अनुरूप नहुन पनि सक्दछ। अझ भन्नुपर्दा जागिरमा मानिसले करले काम गरिरहेको हुन्छ र निश्चित समयपश्चात् व्यक्ति अवकाश हुन्छ। जागिरको दायरा सीमित हुन्छ।
जब कि वृत्ति एउटा लक्ष्य सहितको लामो यात्रा हो; यो वृहत् हुन्छ। यसमा व्यक्तिले प्राप्त गर्नुपर्ने शिक्षा, भूमिका, अनुभव र गन्तव्यमा पुग्ने स्पष्ट मार्गचित्र हुन्छ। यसमा निरन्तर पेसागत विकास भइरहन्छ साथै वृत्तिमा मानिस स्वतःस्फूर्त रूपमा कटिबद्धतापूर्वक र प्रतिबद्धतापूर्वक काम गरिरहेको हुन्छ।
वृत्तिभित्र धेरै जागिरहरू पर्दछन्। वृत्तिका विभिन्न क्षेत्रहरू (शिक्षण, चिकित्सा, इन्जिनियरिङ आदि) मध्ये शिक्षा क्षेत्रको उदाहरणमा शिक्षण एक वृत्ति हो भने खेलकुद शिक्षक, गणित शिक्षक, योगा शिक्षक, विज्ञान शिक्षक,वृत्ति मार्गनिर्देशक शिक्षक आदि जागिर हुन्।
विद्यालयमा किशोर अवस्थाका विद्यार्थीहरू भविष्यको बारेमा सोच्ने र यस सम्बन्धमा धेरै अन्योलमा पर्ने गर्दछन्। विद्यार्थीको लागि वृत्ति छनोट सहज विषय होइन। नेपालमा बहुसङ्ख्यक विद्यार्थीहरूले आफूसँग भएको सीमित ज्ञान र सीपको आधारमा वा कसैको निर्देशन/दबाबमा कुनै एउटा वृत्ति अँगाल्ने र आफूलाई त्यसअनुसार ढाल्ने अभ्यास गरिरहेका छन्। यसै कारणले माध्यमिक तहका विद्यार्थीहरूलाई वृत्ति मार्गनिर्देशन सम्बन्धी विभिन्न कार्यक्रमहरू प्रभावकारी किसिमले व्यापक र निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने आवश्यक देखिन्छ।
विद्यार्थीहरूको रुचि, खुबी र क्षमता पत्ता लगाई वृत्ति छनोट गर्न सहयोग गर्नु, जागिर र वृत्तिको बिचमा फरक छुट्टाउन सहयोग गर्नु, आफ्नो रुचि र खुबीको लेखाजोखा गरी वास्तविक क्षमता पत्ता लगाउन सहयोग गर्नु, आफ्नो क्षमतासँग मेल खाने वृत्ति रोज्न सहयोग पुर्याउनु, वृत्तिका चार सिद्धान्तको जानकारी प्रदान गर्दै वृत्ति पथको ज्ञान प्रदान गर्नु आदि वृत्ति मार्गनिर्देशन कार्यक्रमका उद्देश्यहरू हुन्।
नियमित र लामो समयको तयारीपश्चात् मात्र वृत्ति छनौट गर्नुपर्दछ। तसर्थ, विद्यार्थीहरूलाई अन्योल तथा दोधारे हुने अवस्थाबाट हटाउनुका साथै उनीहरूको क्षमताअनुसारको वृत्ति छनौट गर्न सघाउ पुर्याउन सम्बन्धित निकायहरूले वृत्ति मार्गनिर्देशन कार्यक्रम तीव्र गतिमा सञ्चालन गर्न जरुरी देखिन्छ।
हार्वर्ड गार्डनरको बहुआयामिक प्रज्ञाको सिद्धान्तअनुसार क्षमता ५ प्रकार हुन्छन्:
भाषिक क्षमता (विचार र भावनालाई शब्द, वाक्य, कथा, कविता आदिमा रूपान्तरण गर्न सक्ने गुण जस्तै: पत्रकार, शिक्षक, टुर गाइड आदि)
विश्लेषणात्मक- तार्किक क्षमता (कुनै पनि क्रियाकलापको कारण र त्यसले पार्ने असर बुझ्न सक्ने गुण जस्तै: कृषि वैज्ञानिक, औषधि विक्रेता, कम्प्युटर हार्डवेयर प्राविधिक आदि)
स्थलगत क्षमता (कुनै पनि स्थानलाई आफ्नो कल्पनाअनुसार सजाउन, मिलाउन सक्ने गुण रूपरंग आकारलाई नयाँ रूप दिन सक्ने विशेषता जस्तै: सङ्गीतकार, वास्तुकला इन्जिनियर, फोटोग्राफर आदि)
व्यक्तिगत क्षमता (अरूको सम्मान र विश्वास जित्न सक्ने, अरूको समस्या बुझ्न सक्ने आदि। जस्तै: चिकित्सक, सामाजिक कार्यकर्ता, मनोविमर्शकर्ता आदि)
शारीरिक यान्त्रिक क्षमता (हातको सीप तथा मेसिन सँग सम्बन्धित काम गर्न सक्ने व्यक्ति जस्तै: पाइलट, सिभिल इन्जिनियर, कम्प्युटर अपरेटर आदि।)
यिनै माथि उल्लेखित विविध क्षमताहरूलाई सम्बोधन गर्दै विद्यार्थीहरूको रुचि, खुबी पत्ता लगाई सही मार्गनिर्देशन गरेमा उनीहरूको सही भविष्य निर्धारण हुन सघाउ पुर्याउँछ र देशका लागि एक योग्य, सक्षम र सफल नागरिक बन्न सक्दछन्। त्यसैले विभिन्न किसिमका अन्यौलताहरूलाई हटाउन उचित सहयोगको खाँचो हुन्छ। नेपालमा वृत्ति छनौट गर्ने मुख्य आधार प्रतिस्पर्धात्मक परीक्षाको प्राप्ताङ्कलाई मानिन्छ। विद्यार्थीले प्राप्त गरेको उच्च अंकको आधारमा व्यक्तिको रुचि खुबी र क्षमता नहेरी इन्जिनियरिङ, चिकित्सा शास्त्र आदि पढ्नको लागि अभिभावक, आफन्तजन शिक्षक आदिबाट सुझाव दिइन्छ, जसले गर्दा केही युवाहरू भविष्यमा असफल हुने सम्भावना रहन्छ। जसको परिणामस्वरूप विद्यार्थीको मिहिनेत साथै अभिभावकको लगानी खेर जाने पनि उत्तिकै सम्भावना रहन्छ।
दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजना नेपाल सरकार र स्विस सरकारको सहकार्यमा सन जनवरी २०१६ देखी २०२२ सम्मको लागि थियो र दोस्रो चरण सेप्टेम्बर २०२२ देखी २०२५ सम्मको लागि सञ्चालनमा छ। यस परियोजनाको पहिलो चरणको कार्यान्वयन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीले गरिरहेको छ भने दोस्रो चरणको कार्यान्वयन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले संघीय स्तरमा, प्रदेश स्तरमा सामाजिक विकास मन्त्रालय र स्थानीय तहमा नगरपालिकाहरूले गरिरहेका छन्।
दुवै चरणमा हेल्भेटास नेपालले प्राविधिक सहयोग गरिरहेको छ। केही विद्यालयहरूमा औपचारिक रूपमा वृत्ति परामर्श सत्र, वृत्ति परामर्श सूचना केन्द्र, वृत्ति मेला आदि जस्ता विभिन्न विधिहरूबाट वृत्ति मार्गनिर्देशन भइरहेको छ। यद्यपि, वृत्ति मार्गनिर्देशन कार्यक्रमहरूले तीव्र गति लिन सकिरहेका छैनन्। शिक्षालाई वैज्ञानिक, व्यवहारिक, व्यावसायिक, प्रविधिमैत्री बनाउन, सीपमूलक तथा आय आर्जनको मुख्य कसीको रूपमा मार्गनिर्देशन गर्न, दिगो तथा सम्मानित रोजगारीका लागि व्यक्तिलाई सार्थक तुल्याउन सकेमा यस प्रतिको लगानी दिगो तथा अर्थपूर्ण देखिन्छ।
त्यस कारण यस प्रति सम्बन्धित निकायको ध्यान आकर्षण भएमा यो विषयले प्रश्रय पाई अग्रणी भूमिका खेल्न सक्ने देखिन्छ र यसलाई प्राथमिकतामा राखी निरन्तरता दिनु आजको आवश्यकता देखिन्छ। त्यसैले शिक्षाको गुणस्तर सुधार गर्दे विद्यार्थीहरूलाई एक सक्षम र योग्य नागरिक बनाउनको लागि वृत्ति मार्गनिर्देशन कार्यक्रमलाई प्राथमिकतामा राखी यस्ता कार्यक्रमहरूलाई वृहत् रूपमा निरन्तरता दिनुपर्ने देखिन्छ।
विद्यालयहरूमा वृत्ति मार्गनिर्देशन शिक्षक व्यवस्थापन गरी विद्यार्थीहरूलाई उचित मार्गनिर्देशन गर्न सकेमा विद्यार्थीहरूले विषय र रुचिअनुसार उपयुक्त वृत्ति पथ खोजी गरी देशमै दिगो र सम्मानित रोजगारीका लागि आफ्नो भविष्य निर्माण गर्नुका साथै आफ्नो जीवन रेखा कोर्न सक्षम हुन्छन्। विगतदेखि वर्तमान समयमा शिक्षाको गुणस्तर माथि प्रश्नवाचक चिन्ह उठिरहेको अवस्थामा वृत्ति मार्गनिर्देशन/परामर्श, विद्यार्थी मनोसामाजिक परामर्श जस्ता संवेदनशील विषयहरूलाई पनि प्राथमिकतामा राखी अगाडि बढाउनु उपयुक्त र सान्दर्भिक देखिन्छ। जसको परिणामस्वरूप शिक्षा थप व्यवहारिक र गुणस्तरीय बन्न पुग्दछ।
वर्तमान परिवेशमा वृत्ति सम्बन्धी मार्गनिर्देशनको अभावमा कतिपय विद्यार्थी/युवा उत्पादन अन्योलमा पर्न गई अनायकै बिदेसिन खोज्ने प्रवृत्ति बढिरहेको छ। त्यसैले शिक्षा क्षेत्रमा भएको राज्यको लगानीलाई सही सदुपयोग गर्दै आ/आफ्ना रुचि, खुबी र क्षमताअनुसार दिगो तथा सम्मानित रोजगारीका विभिन्न विकल्पहरूको छनौट गर्न सघाउ पुर्याई उत्पादित शैक्षिक जनशक्ति देशमै टिकाई राख्न र देश विकास गर्नको लागि वृत्ति मार्गनिर्देशन कार्यक्रम एक आधारशिला हो।
साथै वृत्ति मार्गनिर्देशन सम्बन्धी विषयवस्तु राष्ट्रिय पाठ्यक्रममा नै समावेश गर्नु पर्ने आवश्यकता साथै राष्ट्रिय स्तरबाटै वृत्ति मार्गनिर्देशन सम्बन्धी कार्यक्रमहरूलाई व्यापक र निरन्तर रूपमा अगाडि बढाउनु समय सान्दर्भिक र अर्थपूर्ण देखिन्छ।
तसर्थ, विद्यार्थीहरूको सिर्जनात्मक क्षमता, रुचि, खुबी/झुकाव आदि फरक/फरक हुन्छन्। त्यसैले अभिभावक, शिक्षक तथा स्याहारकर्ताहरूले हस्तक्षेप नगरी उनीहरूको बहुआयामिक क्षमता प्रस्फुटनमा सघाउ पुर्याउँदै साथै विद्यार्थीहरूलाई आफू प्रतिको बुझाइप्रति जागरूक बनाई शिक्षा र वृत्ति बारेको खोजी तथा योजनाको तयारीप्रति सक्षम, सबल र सन्तुष्ट बनाउन विद्यालयहरूमा वृत्ति मार्गनिर्देशन कार्यक्रमको अति अपरिहार्यता देखिन्छ।
(लेखक शिक्षा अधिकृत हुन्।)