यस वर्ष (सन् २०२५) मा ‘विश्व क्यान्सर दिवस’ मूल सन्देश ‘युनाइटेड बाइ युनिक’ अर्थात् ‘पृथकतामा एकता’ छ। यसमा क्यान्सर पीडितको भोगाइका कथाहरू समेट्नमा ध्यान दिइएको छ।
यो सन्देशले क्यान्सर रोग विरुद्धको लडाइँमा व्यक्तिगत र बिरामीकेन्द्रित हेरचाहको महत्त्व उजागर गरेको छ। यो सन्देश केवल एक वर्षको होइन, सन् २०२५ देखि २०२७ सम्मका लागि तय भएको हो।
यसले क्यान्सर उपचारमा प्रत्येक बिरामीको व्यक्तिगत कथा र अनुभवलाई केन्द्रमा राख्न लागि ध्यान केन्द्रित गर्छ।
क्यान्सर विश्वव्यापीरूपमा मानवमृत्युको प्रमुख कारण हो। सन् २०२० मा लगभग १० लाख मृत्यु क्यान्सरकै कारण भएको देखिन्छ जुन प्रत्येक ६ मृत्युमध्ये एक हो।
विश्वमा सबैभन्दा धेरै स्तन, फोक्सो, कोलोन, मलाशय र प्रोस्टेट क्यान्सर देखिएको छ।
संसरभरमा प्रत्येक वर्ष करिब चार लाख बालबालिकालाई क्यान्सर हुने गरेको एक अध्ययनले देखाएको छ।
विश्व स्वास्थ्य संगठनको सन् २०२२ को तथ्यांकअनुसार नेपालमा क्यान्सरको प्रभाव बढ्दो क्रममा छ। उक्त वर्ष नेपालमा क्यान्सरका २२ हजार नयाँ घटना दर्ता भएका थिए। यसमा महिलाको संख्या बढी थियो।
सोही अध्ययनले नेपालमा कुल ४४ हजार ८०३ बिरामी रहेको देखाएको छ। तीमध्ये उक्त वर्ष क्यान्सरका कारण १४ हजार ७०४ जनाको ज्यान गएको थियो।
नेपालमा सबैभन्दा बढी देखिने क्यान्सरमा फोक्सोको, पेटको, स्तनको, पाठेघरको मुखको (सर्भिक्स) र कोलोरेक्टल क्यान्सर छन्।
समग्रमा हेर्दा नेपालमा फोक्सोको क्यान्सर सबैभन्दा धेरै देखिन्छ जो कुल क्यान्सर बिरामीको ११ प्रतिशत हो। पुरुषहरूमा फोक्सोको क्यान्सर झन् बढी देखिएको छ जसको संख्या १५.६ प्रतिशत रहेको छ।
पुरुषमा ओठको र मुखको क्यान्सर कुल क्यान्सर घटनको ७.१ प्रतिशत रहेको छ। महिलाहरूमा सबैभन्दा बढी स्तन क्यान्सर (१८.५ प्रतिशत), त्यसपछि पाठेघरको क्यान्सर (१७.८ प्रतिशत) देखिएको छ।
महिलामा फोक्सोको क्यान्सर तेस्रो स्थानमा (७.४) प्रतिशत रहेको देखिएको छ।
क्यान्सर र अन्य नसर्ने रोगको जोखिम बढाउने मुख्य कारक सुर्तीजन्य पदार्थको प्रयोग, मदिरा सेवन, अस्वस्थकर खानपान, शारीरिक निष्क्रियता र वायु प्रदूषण हुन्।
एक अध्ययनआनुसार विश्वव्यापीरूपमा क्यान्सर ५० जोखिम रोक्न सकिने खालका छन्। धूमपान र रक्सी सेवन यस्तै जोखिममध्येका हुन्।
विभिन्न अनुसन्धानहरूले देखाएको तथ्यांकअनुसार विश्वमा हुने फोक्सोको क्यान्सरमध्ये ९० प्रतिशत धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन नै हो।
चुरोटको धुवाँबाट निस्किने निकोटिन, टार, कार्बन मनोअक्साइड, लिड, बेन्जोपाइरिन, हाइड्रोजन साइनाइड, कार्बन मोनोअक्साइड, अमोनिया, नाइट्रोसोमाइन जस्ता सात हजारभन्दा बढी रसायनमध्ये कम्तीमा २५० हानिकारक मानिन्छन्।
यीमध्ये कम्तीमा ६९ वटाले क्यान्सर निम्त्याउन सक्छन्।
धूमपान तथा धुवाँरहित सुर्तीजन्य पदार्थको सेवनले मुख, ओठ, घाँटी, फोक्सो र खानानलीको क्यान्सर गराउने देखिएको छ। यसले मुटुरोग, दीर्घकालीन श्वासप्रश्वास अवरोध (क्रोनिक अब्स्ट्रक्टिभ फल्मोनरी डिजिज), दमखोकी लगायत २५ वटाभन्दा बढी घातक रोगको जोखिम बढाउँछ।
विभिन्न अनुसन्धानहरूले प्रमाणित गरेअनुसार सुर्तीजन्य पदार्थ सेवनले २० प्रकारका क्यान्सर गराउन सक्छ। शरीरका विभिन्न भागमा क्यान्सर हुन सक्छ जसमा मुख, घाँटी, अन्ननली, पेट, आन्द्रा, मलद्वार, कलेजो, प्यान्क्रियाज, स्वरयन्त्र, श्वासनली, ब्रोन्कस, मिर्गौला, पिसाब थैली र पाठेघर मुख्यरूपमा प्रभावित हुन्छन्।
धूमपान र धुवाँरहित सुर्तीजन्य पदार्थ दुवै अत्यन्त हानिकारक छन्। सेवनकर्ताको मृत्युको जोखिम अत्यधिक बढाउँछ। पीडादायी स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
विश्वभर क्यान्सरका कारण हुने मृत्युमध्ये करिब २५ प्रतिशत सुर्तीजन्य पदार्थकै कारण हुने देखिएको छ।
धूमपान गर्ने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने सम्भावना धूमपान नगर्नेको तुलनामा २२ गुणा बढी हुन्छ। विश्वभर फोक्सोको क्यान्सरबाट हुने कुल मृत्युमध्ये दुई तिहाइ धूमपानकै कारणले हुने गरेको छ।
हाल देखिने गरेकोमध्ये ३० देखि ५० प्रतिशत क्यान्सर जोखिम कारकहरू घटाएर तथा वैज्ञानिक प्रमाणमा आधारित रोकथाम रणनीतिहरू अपनाएर नियन्त्रण सकिन्छ।
प्रारम्भिक पहिचान, समयमै निदान, उचित उपचार र प्रभावकारी हेरचाहमार्फत क्यान्सरको असर कम गर्न सकिन्छ।
प्रारम्भिक चरणमै क्यान्सर पत्ता लागेमा धेरैजसो बिरामी पूर्णरूपमा निको हुने सम्भावना रहन्छ। क्यान्सर नियन्त्रणका लागि रोकथाम, चाँडो पहिचान र प्रभावकारी उपचार आवश्यक छ।
प्रत्येक क्यान्सर बिरामीको अनुभव फरकफरक हुन्छ। उपचार पनि उनीहरूको व्यक्तिगत आवश्यकताअनुसार अनुकूलित गर्नुपर्छ।
यस वर्षको विश्व क्यान्सर दिवसको सन्देशले प्रत्येक बिरामीको अद्वितीयता सम्मान गर्दै उसको आवश्यकताअनुसार उपचार योजना बनाउनुपर्ने महत्त्व उजागर गर्छ।
क्यान्सरको उपचार केवल औषधिमा सीमित छैन; बरु बिरामीको मानसिक र शारीरिक अवस्थालाई ध्यानमा राखी समग्ररूपमा उपचारका उपायहरू अपनाउनु आवश्यक छ।
क्यान्सर उपचार प्रभावकारी बनाउन बिरामी केन्द्रित दृष्टिकोण आवश्यक हुन्छ। प्रत्येक बिरामीको जीन, जीवनशैली र शारीरिक स्थिति फरक हुने भएकाले उपचार योजना पनि त्यसैअनुसार तयार गर्नुपर्छ।
क्यान्सर शारीरिक रोग मात्र होइन, यसले मानसिक र भावनात्मकरूपमा पनि गम्भीर असर पार्छ। यसकारण बिरामीलाई मनोवैज्ञानिकरूपमा बलियो बनाउनु अत्यन्त जरुरी हुन्छ।
उपचार प्रक्रियामा बिरामीको सक्रिय सहभागिता सुनिश्चित गर्न सकियो भने उपचारको प्रभावकारिता वृद्धि हुन्छ।
क्यान्सर उपचार सबैका लागि समान र पहुँचयोग्य हुनुपर्छ। समान अवसर सुनिश्चित गर्न उपचारका स्रोत र सेवा सबैलाई उपलब्ध गराउनुपर्छ।
बिरामीको अनुभव र आवाज पनि उपचार प्रक्रियामा समावेश गर्नुपर्छ। यसले उपचारको प्रभावकारिता बढाउँछ, बिरामीको सन्तुष्टिमा पनि सुधार ल्याउँछ।
समग्रका भन्नु पर्दा क्यान्सर उपचार व्यक्तिगत आवश्यकताअनुसार अनुकूलित गर्दै मानसिक, सामाजिक र आर्थिक दृष्टिकोणबाट समान पहुँच सुनिश्चित गर्नु अत्यावश्यक छ।
नेपालमा स्वास्थ्य सेवामा भएको बिरामीको खुद खर्चका कारण १३ प्रतिशत परिवारले आर्थिकरूपमा ठूलो संकट बेहोर्नुपरेको तथ्य विभिन्न अध्ययनहरूले देखाएका छन्।
क्यान्सर उपचारका लागि ४२.९ प्रतिशत बिरामीहरू आर्थिकरूपमा असह्य खर्च सामना गर्न बाध्य छन्।
आर्थिक रूपमा कमजोर नागरिकहरूलाई सहयोग गर्न नेपाल सरकारले हाल क्यान्सर उपचारमा प्रतिबिरामी अधिकतम एक लाख रुपैयाँसम्मको आर्थिक अनुदान दिने गरेको छ।
यो अनुदान क्यान्सर बिरामीहरूलाई आर्थिक संकटबाट जोगाउन पर्याप्त छ कि छैन भन्ने विषयमा कुनै ठोस जानकारी उपलब्ध छैन। क्यान्सर उपचार महँगो हुने भएकाले यो सहयोगले बिरामीलाई आर्थिक संकटबाट कति हदसम्म बचाउन सक्छ भन्ने विषयमा अनुसन्धान आवश्यक छ।
नेपालमा क्यान्सरमुक्त भविष्यका लागि एक समग्र र बहुआयामी दृष्टिकोण आवश्यक छ। यसमा रोकथाम, प्रारम्भिक पहिचान, उपचार र उपशामक हेरचाहका महत्त्वपूर्ण पक्षहरू समावेश हुनुपर्छ।
एक तथ्यांकअनुसार ३० देखि ५० प्रतिशत क्यान्सर रोक्न सकिन्छ। यसका लागि जीवनशैलीमा सुधार महत्त्वपूर्ण हुन्छ। सुर्तीजन्य पदार्थ र मदिरा सेवनबाट बच्नुपर्छ, स्वस्थकर तौल कायम राख्नुपर्छ, नियमित शारीरिक गतिविधि गर्नुपर्छ र आहारा सन्तुलित हुनुपर्छ।
यसअतिरिक्त ‘एचपिभी’ र ‘हिपेटाइटिस बी’ जस्ता भाइरसविरुद्ध खोप लगाउनुपर्छ। यी खोपले क्यान्सरको जोखिममा रहेका व्यक्तिका लागि क्यारोकथामको काम गर्छ।
प्रारम्भिक पहिचानले उपचारको सफलता दरमा ठूलो भिन्नता ल्याउँछ। समयमै उपचार सुरु गर्न र रोगको फैलावट रोक्न मद्दत पुर्याउँछ। यसका लागि जनचेतना र चिकित्सकीय मूल्यांकन अत्यन्त आवश्यक हुन्छ।
स्क्रिनिङ कार्यक्रमहरू प्रभावकारी छन् तर यसका लागि पर्याप्त स्रोत र संरचनागत व्यवस्थापन आवश्यक पर्छ।
व्यक्तिगत उपचारमा शल्यक्रिया, रेडियोथेरेपी र प्रणालीगत उपचारजस्ता विधिहरू समावेश छन् जसबाट जीवनको अवधि विस्तार गर्न मद्दत पुग्छ।
अन्तिम वा टर्मिनल चरणको क्यान्सरको अवस्थामा उपशामक हेरचाहको महत्त्व धेरै हुन्छ। यसमा बिरामीको पीडा कम गर्न र जीवनको गुणस्तर सुधार गर्न समुदायमा आधारित रणनीतिहरू लागू गर्नु आवश्यक हुन्छ।
क्यान्सरको अन्तिम चरणका ८० प्रतिशतभन्दा बढी बिरामीलाई मध्यमदेखि गम्भीर पीडा हुन्छ। यस्तो अवस्थामा ओरल मर्फिनको पहुँच दिनु अत्यन्त आवश्यक हुन्छ।
यस प्रकारको समग्र रणनीतिमा खोपको समावेशले भाइरसजन्य क्यान्सरको जोखिम कम गर्न महत्त्वपूर्ण योगदान पुर्याउँछ। यसले नेपालमा क्यान्सरको दर घटाउन र क्यान्सरमुक्त भविष्यको दिशामा अघि बढ्न मद्दत गर्छ।
नेपालको संविधानले स्वास्थ्यलाई प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। संविधानको धारा ३५ अनुसार सबै नागरिकलाई स्वास्थ्यको अधिकार प्राप्त छ।
स्वास्थ्य सेवाको सर्वसुलभता र गुणस्तर सुनिश्चित गर्नु राज्यको कर्तव्य हो।
क्यान्सर जस्ता गम्भीर रोगहरूको सामना गर्न नेपालमा स्थानीय, प्रदेश र संघीय सरकारका बीचमा प्रभावकारी समन्वय र सहकार्य आवश्यक छ।
यी तीन तहका सरकारसँग संसाधन र विशेषज्ञता समृद्ध भएमा मात्र क्यान्सरका बिरामीको उपचार र रोकथामका उपायहरू प्रभावकारी हुन सक्छन्।
स्थानीय तहले समुदायस्तरीय जनचेतना र प्रारम्भिक पहिचानमा भूमिका निर्वाह गर्न सक्छ। प्रदेश र संघीय सरकारले स्वास्थ्य नीति, उपचारका कार्यक्रम र स्रोतको प्रबन्धमा आवश्यक सहयोग र मार्गदर्शन गर्न सक्छन्।
यस प्रकारको समन्वय र सहकार्यले क्यान्सर रोकथाम, उपचार र उपशामक हेरचाहका सबै पक्षमा एकीकृत प्रयास सुनिश्चित गर्न मद्दत गर्छ। यसबाट नेपालीको स्वास्थ्य र जीवनको गुणस्तर सुधार गर्न ठूलो योगदान पुग्छ।
तीन वटै तहका सरकारहरू एकजुट भएर काम गर्न सक्ने हो भने प्राणघातक रोग क्यान्सरको प्रभाव कम गर्न र नेपालीलाई जोखिमबाट बचाउन सम्भव हुनेछ।
नागरिक स्वस्थ भए मात्र मुलुक समृद्ध हुनेछ।