मानिसहरू अक्सर भन्छन्- समाज परिवर्तन भइरहेको छ।
विज्ञान र प्रविधिको चमत्कारले संसारले साँच्चै कोल्टो फेरिसकेको छ। आज सिङ्गो विश्व एउटा सानो गाउँजस्तै भएको छ। साक्षरता दर दिनदिनै उकालो चढ्दै छ। औपचारिक शिक्षा लिने अवसर पनि पहिलेभन्दा सहज भएको छ।
इन्टरनेटको विकासले सूचना र ज्ञान प्राप्त गर्न झनै सजिलो बनाएको छ। आज चिया गफदेखि औपचारिक सभासम्म शिक्षा र प्रविधिको महत्त्वको चर्चा छ। तर यथार्थलाई नजिकबाट नियाल्दा र सार्वजनिक अभिव्यक्तिहरू हेर्दा गम्भीर प्रश्न उब्जन्छ- के हाम्रो शिक्षा र साक्षरता स्तरले साँच्चै समाजलाई चेतनशील बनाएको छ?
के हाम्रो चेतनाको स्तर शिक्षित समाजमा पुग्न सफल भएको छ?
र, सबभन्दा महत्त्वपूर्ण प्रश्न— हाम्रो शिक्षा कता जाँदैछ?
भनिन्छ, शिक्षा जीवनको अपरिहार्य तत्त्व हो। तर शिक्षा के हो भन्नेमा हाम्रो सोच सीमित छ। धेरैजसो मानिसहरू औपचारिक शिक्षा प्राप्त गरेर प्रमाणपत्र हासिल गरेपछि मात्र आफूलाई शिक्षित ठान्छन्।
शिक्षाको परिभाषा यति मात्र होइन। शिक्षा भनेको आत्मबोध, इमानदारी र सामाजिक चेतनाको सम्मिश्रण हो। औपचारिक शिक्षाले व्यक्तिलाई पाठ्यक्रम र प्रमाणपत्र दिन सक्छ तर चेतनशील बनाउन सक्दैन। कुनै पनि व्यक्ति स्कुल-कलेजको संरचनामा नरहे पनि शिक्षित हुन सक्छ। तर हामी यो कुरा किन आत्मसात् गर्न सकिरहेका छैनौँ।
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका थिए, ‘शिक्षा तथ्यहरूको ज्ञान हासिल गर्ने प्रक्रिया मात्र होइन, तर दिमागलाई सोच्न र तर्क गर्न सिकाउने अभ्यास हो।’
के हाम्रो शिक्षा प्रणालीले विद्यार्थीहरूलाई सोच्न, तर्क गर्न र मानवीय संवेदनालाई बुझ्न सिकाइरहेको छ?
शिक्षा कुनै पनि समाजको विकास र रूपान्तरणको आधार हो। यसले व्यक्तिलाई मात्र होइन, सम्पूर्ण मानवतालाई उज्यालोतर्फ लैजान मद्दत गर्दछ। प्राचीन कालमा शिक्षा गुरुकुल प्रणाली, चौतारी र पाटी पौवासम्म सीमित थियो। त्यहाँ नीतिशास्त्र, धर्म र भाषा जस्ता आधारभूत ज्ञान सिकाइन्थ्यो। तर आज समयसँगै शिक्षा प्रणाली आधुनिक रूप धारण गर्दै कक्षा कोठामा सीमित भएको छ। यसको विकासले शिक्षा लिने अवसरलाई त फराकिलो बनाएको छ, तर के यसले चेतनाको स्तरलाई पनि उचाइमा पुर्याएको छ?
महान् दार्शनिक जोन डेवीले भनेका थिए, ‘शिक्षा जीवनका लागि तयारी मात्र होइन, शिक्षा आफैँ जीवन हो।’ तर के हाम्रो शिक्षा प्रणाली जीवनको सारलाई आत्मसात् गर्न र जीवनोपयोगी सीपहरू सिकाउन सक्षम छ?
आजको शिक्षा प्रणालीलाई हेर्दा, यसले सैद्धान्तिक ज्ञानलाई प्राथमिकता दिएको देखिन्छ। आलोचनात्मक सोच, सृजनशीलता र नैतिक चेतना जस्ता महत्त्वपूर्ण पक्षहरू अक्सर ओझेलमा परिरहेका छन्। शिक्षाले व्यक्तिलाई केवल रोजगारयोग्य बनाउने उद्देश्य राख्नु हुँदैन। बरु यसले उसलाई सामाजिक उत्तरदायित्व र मानवीय संवेदनासँग जोड्नुपर्ने आवश्यकता छ।
आजको शिक्षाले चेतनाको स्तर माथि उठाउन, व्यक्ति र समाजबिचको सहकार्यलाई प्रवर्द्धन गर्न र विश्वव्यापी नागरिकता निर्माण गर्न काम गर्नुपर्छ। शिक्षा प्रणालीलाई मात्र दोष दिएर कुनै फाइदा छैन। हाम्रा अभिभावक, शिक्षक र विद्यार्थीहरूको संयुक्त प्रयासले मात्र यो सम्भव छ।
यसैले, शिक्षा प्रणालीको मूल उद्देश्य के हुनुपर्छ?
यो प्रश्नले हामीलाई आज सोच्न बाध्य बनाएको छ। शिक्षाले केवल एक दक्ष कर्मचारी उत्पादन गर्नुपर्छ कि एक सचेत नागरिक? यस प्रश्नको जवाफ मात्र हामीले भविष्यको सही मार्ग पहिल्याउन सक्नेछौँ।
पहिला-पहिलाको समयमा सूचना र समाचार प्राप्त गर्न मानिसहरूलाई निकै कठिनाइ हुन्थ्यो। रेडियो र टेलिभिजनजस्ता साधन सीमित थिए र पत्रपत्रिका पनि सबै ठाउँमा पुग्न सक्दैन थिए। परिणामस्वरूप धेरै घटनाहरू दबिएर रहने गर्थे र सार्वजनिक भए पनि न्याय पाउन हम्मे हम्मे हुन्थ्यो। कतिपय अवस्थामा भएका घटनाहरू जनतालाई थाहा नहुने र अन्याय झेलिरहेका व्यक्तिहरूको आवाज दबिइरहने अवस्था हुन्थ्यो।
समयमा सूचना र समाचार प्राप्त गर्न नसक्दा कतिपय समस्या समाधान हुन नसक्ने अवस्थामा पुग्थ्यो। तर आज विज्ञान र प्रविधिको चमत्कारिक प्रगतिले यो अवस्था धेरै सुधार गरेको छ। मोबाइल फोन, इन्टरनेट र सामाजिक सञ्जालको कारणले सूचना, समाचार र जानकारी क्षणभरमै मानिसहरूको पहुँचमा पुग्ने भएको छ। अब दबिएका आवाजहरूले पनि सामाजिक सञ्जालको माध्यमबाट आफ्नो समस्या र पीडा सार्वजनिक गर्न सक्छन्। जसले सम्बन्धित निकायहरूलाई समस्या समाधान गर्न बाध्य बनाउँछ।
यसको विकाससँगै केही गम्भीर चुनौतीहरू पनि देखिएका छन्। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसहरूलाई मानसिक रूपमा विचलित तुल्याएको छ। गलत जानकारीको प्रसारले समाजमा भ्रम सिर्जना गरिरहेको छ। अनावश्यक आलोचना, द्वेषपूर्ण टिप्पणी र व्यक्तिगत जीवनमा हस्तक्षेपले मानिसहरूको मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारेको छ।
मानिसहरू आफ्नो वास्तविक जीवनभन्दा पनि सामाजिक सञ्जालमा समय बिताउन रुचाउन थालेका छन्। कतिपय अवस्थामा यो प्रविधि सकारात्मकभन्दा पनि नकारात्मक प्रभावकारी भएको छ। यसैले विज्ञान र प्रविधिको सही र सन्तुलित उपयोग आवश्यक छ। प्रविधिको प्रयोगले दबिएका आवाजलाई अवसर दिनु र अन्यायका विरुद्ध लड्न मद्दत पुर्याउनु पर्छ। तर यसको दुरुपयोग रोक्न र यसलाई संयमित रूपमा चलाउन सबैले सचेत हुनु जरुरी छ।
यदि यसको सकारात्मक पक्षलाई प्राथमिकता दिइयो भने मात्र समाजलाई सही दिशामा अगाडि बढाउन सकिन्छ।
कुनै सेलिब्रिटी वा सार्वजनिक व्यक्तिले दिएको अभिव्यक्तिलाई बुझ्ने क्रममा हामीले त्यसको प्रसङ्ग, उठाउन खोजेको विषयवस्तु र त्यो अभिव्यक्ति दिने समयको परिस्थितिलाई विचार गर्ने बानी छोडिसकेका छौँ। मानिसहरूले विषयवस्तुको गहिराइ बुझ्नुभन्दा पनि आफ्नै पूर्वाग्रहका आधारमा टिप्पणी गर्ने प्रचलन बढ्दै गएको छ। सार्वजनिक व्यक्तिहरू ट्रोलको सिकार मात्र होइन, उनीहरूको व्यक्तिगत जीवनलाई लिएर नकारात्मक टीकाटिप्पणी र गालीगलौज पनि गर्न पछि पर्दैनन्।
के सही छ र के गलत भनेर तर्क गर्नुभन्दा पनि पक्ष-विपक्षको अन्ध समर्थन र विरोधले सामाजिक संवादलाई नै विकृत बनाएको छ। सार्वजनिक रूपमा मानहानि गर्ने, घृणित शब्द प्रयोग गर्ने र मानिसको आत्मसम्मानमा प्रहार गर्ने प्रचलनले हाम्रो सामाजिक चेतनाको स्तरलाई गम्भीर प्रश्नचिन्ह लगाएको छ।
यो प्रवृत्ति नियाल्दा हाम्रो शिक्षा प्रणालीमा गहिरो समस्या रहेको देखिन्छ। औपचारिक शिक्षा लिएका र आफूलाई शिक्षित भन्ने मानिसहरू नै किन चेतनशील र विवेकशील छैनन्? कुनै पनि विषयलाई नबुझी, तथ्य जाँच नगरी र सही-गलतको मूल्याङ्कन नगरी किन अरूमाथि खनिन्छन्? यस्तो अवस्थामा सामाजिक सञ्जालको उपयोगलाई विवेकपूर्ण र जिम्मेवार बनाउनेतर्फ ध्यान दिनु आवश्यक छ।
हामीले हाम्रो शिक्षाको उद्देश्यलाई पुनः मूल्याङ्कन गर्नुपर्छ— के हाम्रो शिक्षा प्रणालीले तथ्यको खोजी गर्ने, तर्क गर्न सक्ने र सहिष्णु बन्न सिकाइरहेको छ? यदि होइन भने यसलाई सुधार्न अब सोच्ने बेला भइसकेको छ। जहाँ अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै जिम्मेवारी र चेतनाको विकास पनि सुनिश्चित गर्न सकिन्छ।
अहिले त कहिलेकाहीँ यो सोच्नुपर्ने अवस्था आएको छ कि हाम्रो मानवीय संवेदनशीलता कहीँ हराउँदै गएको त होइन! कुनै व्यक्ति मृत्यु शय्यामा छ र ऊसँगको अन्तिम क्षणको फोटो तथा भिडियो खिचेर सार्वजनिक गरिन्छ। यसलाई श्रद्धाञ्जली दिने नाममा, उनका परिवारको समवेदना नबुझी आफैँले सेल्फी खिचेर त्यस्ता क्षणलाई सार्वजनिक गरिन्छ।
यसभन्दा पनि गम्भीर कुरा त, घाटमा गएर तँछाड मछाड गर्दै फोटो र भिडियो खिच्ने प्रवृत्तिमा वृद्धि भएको छ। यस्तो देखेर प्रश्न उठ्छ, के हाम्रो मानवीय संवेदनशीलता नै समाप्त हुँदै गएको हो? मनुष्य त चेतनशील प्राणी हो तर हाम्रो चेतना कहाँ जान लागेको छ?
श्रद्धाञ्जली लेख्नु र दिनु कुनै पनि हालतमा गलत होइन। तर आजकल यसलाई आफ्नो प्रतिस्पर्धा र पहिचानको रूपमा लिइने प्रवृत्ति बढ्दो छ। यो अवस्थामा यस्तो लाग्छ कि अब यो एक प्रकारको दौड बनिरहेको छ— कसले सबैभन्दा पहिले श्रद्धाञ्जली लेख्छ र कसको अगाडि हुन्छ भन्ने कुरा महत्त्वपूर्ण बन्न गएको छ। यद्यपि सबै व्यक्तिहरू असंवेदनशील छन् भन्ने होइन। केही व्यक्तिहरूको हर्कतले यो विषयलाई चिन्तित गर्न खोजिएको हो।
समाजमा अरूको दुःख र पीडालाई लाइक र भ्युजको मापदण्डमा नाप्ने प्रवृत्ति बढेको छ। केही दिन पहिले एउटा व्यक्तिको निधन भयो र त्यहाँ फेक आइडी बनाएर उनका नाममा प्रचार गर्दै विरहका गीतहरू राखेर प्रचार गरिएको देखियो। कतिपय अवस्थामा त लासलाई पनि बेचेको देखिन्छ। यसले हाम्रो समाज, सामाजिक संरचना र शैक्षिक पद्धतिलाई गम्भीर प्रश्नचिन्हको अधीनमा राख्दछ।
आखिर सामाजिक सञ्जालका लाइक र भ्युजहरूले हामीलाई के दिन्छ?
मानिसहरूले नजिकका व्यक्तिहरूको मानसिक र शारीरिक पीडासँग खेलबाड गरेर किन यस्तो हर्कत गर्छन्?
यो सबैले हामीलाई हाम्रो चेतनाको स्तर र सामाजिक मूल्य र मान्यताबारे सोच्न बाध्य बनाउँछ।
मानिसहरूले सामाजिक सञ्जालमा अरूको क्रियाकलापलाई हेरेर छिट्टै धारणा बनाइरहेका हुन्छन्, जसले कहिलेकाहीँ त्यहाँका तथ्य र वास्तविकतासँग मेल खाँदैन। एक व्यक्तिले के भन्यो वा के पोस्ट गर्यो, त्यसको सत्यता र आधिकारिकता विचार नगरी हामी त्यसमा छिट्टै प्रतिक्रिया जनाउँछौँ।
हामी पक्ष र विपक्षमा केवल शब्दहरूको सन्दर्भमा तर्क गर्छौँ तर यस प्रक्रियामा हामी कहिले पनि मुद्दाको गहिराइमा पुग्दैनौँ। यो हाम्रो शिक्षाको स्तरलाई प्रश्नमा पार्छ।
के एउटा शिक्षित व्यक्तिले यस्ता आधारहीन आरोप र अफवाहहरूको पछि लाग्नु पर्छ?
जब कुनै व्यक्तिले मुद्दा दर्ता गर्छ वा कसैलाई आरोप लगाउँछ, त्यसको सत्यता पत्ता लगाउन हामीसँग आधिकारिक निकायहरू छन् जसले प्रक्रियाअनुसार छानबिन गर्न सक्छन्। तर हामी सामाजिक सञ्जालमा ती अफवाहहरूलाई मात्र बढवा दिँदै वास्तविक समस्यालाई अझ जटिल बनाइन्छ। यसले कहिलेकाहीँ अनुसन्धानको प्रक्रियामा अवरोध पुर्याउँछ र कतिपय अवस्थामा मानिसहरूले सम्बन्धित निकायको अनुसन्धानभन्दा सामाजिक सञ्जालका कुरा र भनाइलाई बढी महत्त्व दिन थाल्छन्।
यसबाट हाम्रो शिक्षा प्रणालीको विषयमा ठुलो प्रश्न उठ्छ— हाम्रो शिक्षा कता जाँदैछ?
के हामी केवल विचार र तर्कको स्तरमा सीमित भएका छौँ वा सत्यको पहिचान गर्ने क्षमता गुमाएका छौँ?
हाम्रो समाजले के त्यस्तो मानसिकता निर्माण गर्दै छ जसले केवल तात्कालिक प्रतिक्रिया र भावनामा आधारित निर्णय गर्न प्रेरित गर्दछ?
कतिपय मानिसहरू भन्छन् कि हाम्रो समाज बिग्रिनुको मुख्य कारण इन्टरनेट हो। उनीहरूको धारणा छ कि इन्टरनेटकै कारण हाम्रो सामाजिक र मानवीय संवेदनशीलता हराउँदै गइरहेको छ, जसले गर्दा मानिसहरू अराजक र असंवेदनशील बन्दै गएका छन्। तर यो तर्क सम्पूर्ण रूपमा सान्दर्भिक मान्न सकिँदैन। इन्टरनेट त केवल मानवद्वारा निर्माण गरिएको उपकरण हो जसले संसारलाई जोड्ने, सूचना प्रवाह गर्ने, र ज्ञान आदानप्रदान गर्न सहयोग पुर्याउँछ।
सामाजिक सञ्जालमा देखिने अमर्यादित व्यवहार र अराजक गतिविधिहरू भने हाम्रो समाजको संरचना र चेतना स्तरको प्रतिविम्ब हुन्। यी गतिविधिहरूले इन्टरनेटलाई होइन, हाम्रो समाजले लिएको दिशा, हाम्रो मूल्य प्रणाली र चेतनाको स्तरलाई स्पष्ट रूपमा देखाउँछन्। त्यसैले इन्टरनेटलाई दोष दिएर समस्या समाधान हुने होइन।
प्रश्न उठाउनुपर्ने कुरा यो हो— हामी कस्तो समाज निर्माण गर्दैछौँ?
हाम्रो सामाजिक संरचना कस्तो बन्दै गएको छ?
यसबारे गम्भीर रूपमा विचार गर्ने र आवश्यक सुधारका उपाय अपनाउने समय अब आइसकेको छ।
हामीले पक्कै पनि स्वीकार गर्नुपर्छ कि हाम्रो शैक्षिक अवस्था सुधार हुँदै छ। अन्तर्राष्ट्रिय स्तरका क्रियाकलापहरूलाई हाम्रै देशमा अवलम्बन गर्दै परिमार्जन गर्दै लगिरहेको छ। कक्षाकोठाहरू अब प्रविधिमैत्री हुँदै गइरहेका छन् र हाम्रो परीक्षा प्रणाली र मूल्याङ्कन गर्ने तरिकाहरू पनि प्रविधिमैत्री बनिरहेका छन्।
शैक्षिक अवस्थाको सुधार त भइरहेको छ तर जब मानिसहरूले अभद्र व्यवहार गर्छन्, अरूको मानसिक स्वास्थ्यको ख्याल नगरी ‘जे पनि भन्न पाइन्छ’ भन्ने धारणा बनाउँछन्। त्यसले हामीलाई चिन्तित पार्छ। यसले स्पष्ट संकेत गर्छ कि हामीलाई यसबारे गम्भीर विचार गर्न आवश्यक छ। हामी सबैका लागि यो समय आएको छ कि सम्बन्धित निकायहरूले यो विषयमा गहिरो अनुसन्धान गरेर कडा नियम र कानुन बनाई त्यसको पालना कडाइका साथ गर्नु पर्छ।
हाम्रो पूर्वीय दर्शनले सधैँ जीवनका मूल्य र मान्यतालाई प्राथमिकता दिएको छ। त्यहाँ गालीगलौज र मानसिक पीडादायी शब्दहरूको प्रयोगलाई कुनै ठाउँ दिइएको थिएन। तर आजको समयमा अभिव्यक्ति स्वतन्त्रताको नाममा मानिसहरूले अरूको भावनालाई नबुझी असंवेदनशील व्यवहार देखाइरहेका छन्। अभिव्यक्ति स्वतन्त्रता निःसन्देह महत्त्वपूर्ण छ तर यो स्वतन्त्रता जिम्मेवारी र मर्यादासँग जोडिनु अनिवार्य छ।
हाम्रो समाजले प्रजातान्त्रिक बाटो लिइरहेको छ तर यस यात्रामा मर्यादा र आचारसंहिताको ख्याल गर्न आवश्यक छ। अब हामी सबैले सोच-विचारसहितको प्रयास गर्नुपर्छ जसले समाजलाई शान्त, सम्मानजनक र संवेदनशील बनाउँछ। शिक्षाको सहायताले समृद्ध समाज निर्माण गर्दै क्रूरता र असहिष्णुतालाई रोक्नु नै हाम्रो लक्ष्य हुनुपर्छ।
प्रसिद्ध दार्शनिक एरिस्टोटलले भनेका छन्, 'शिक्षाबिना हृदयको शिक्षा केही पनि होइन।'